मध्यरात तिर मिटीया (डिमित्री) कुल्दारोफ हतार-हतार आफ्नो बुबा-आमा बस्ने घरभित्र एकाएक पसेर सबै कोठा चाहाऱ्यो। बुबा-आमा आराम गर्न गइसक्नुभएको थियो र उसकी बहिनी उपन्यासको अन्तिम पेज पल्टाउँदै थिइन। स्कुले भाइहरू सुतिसकेका थिए।
“यति हतारमा किन?” अचम्भित बुबा-आमाले सोध्नुभयो। “के भयो?”
“त्यो नसोध्नुस! यस्तो कहिल्यै सोचेको थिइन! अहँ कहिल्यै पनि,–अति अविश्वसनीय कुरा!”
मिटीया अट्टहास लगाउँदै कुर्सीमा पसारीयो, खुशीले उसको भुइँमा खुट्टा थिएन।
“यो साँच्चै अविश्वसनीय छ! तपाईँले सोच्न पनि सक्नुहुन्न! हेर्नुहोस!”
उसकी बहिनी ओछ्यानबाट उठेर दाजु भए तिर बढी, स्कुले भाइहरू पनि उठे।
“के भयो? तर्साउने जस्तो देखिँदै छौ।”
“म असाध्यै खुशी छु। म रूस भरी पुरै प्रख्यात भएँ। आजसम्म तपाईँहरूलाईमात्र डिमित्री कुल्दारोफ छ भन्ने थाहा थियो आजदेखि पुरै रूसले मलाई चिन्नेछ। धन्य हो आमा, धन्य हे भगवान।”
मिटिया उफ्रीयो र पुरै कोठा फेरी चाहारेर कुर्सीमा बस्यो।
“तर भएको के हो? होसमा कुरा गर!”
“के जङ्गली बनेको, यसो खबर-सबर पढ्नुहुन्न। पत्रिका त तपाईँहरूको लागि केही पनि होइन अझ कस्ता राम्रा-राम्रा खबरहरू हुन्छन पत्रिकामा। संसारमा भएको केही लुक्दैन! म आज कति खुशी छु। पत्रिकाहरूले मात्र प्रख्यात व्यक्तिहरूको बारेमा लेख्छ, अनि अहिले मेरो खबर पत्रिकामा छापीएको छ।”
“के हो त्यस्तो? कहाँ छ?”
बुबा जिल्ल पर्नुभयो। आमाले येशुचित्र तिर हेर्दै क्रस गर्नुभयो। स्कुले भाइहरू ओछ्यान छोडेर दाजुतिर दौडँदै आए।
“हजुर! पत्रिकामा मेरो बारेमा खबर छ! आज पुरा रूस यसको जानकार छ। आमा यो पत्रिकालाई जतनसाथ राख्नुहोला, बेला-बेलामा पढ्नु हुन्छ। हेर्नुस!”
मिटीयाले खल्तीबाट पत्रिका निकाल्यो र निलो कलमले सङ्केत गरीएको खबर देखाउँदै बुबालाई दियो।
“पढ्नुस।”
बुबाले चस्मा चढाउनुभयो।
“पढ्नुस, पढ्नुस!”
आमाले फेरी येशु तिर हेर्दै क्रस गर्नुभयो । बुबाले घाँटी सफा गर्नुभयो र शुरू गर्नुभयो–
“दिसम्बर २७, करिब रातको ११ बजे, डिमित्री कुल्दारोफ नाम गरेको एक युवक–”
“देख्नुभयो? अझ पढ्नुस।”
“एक युवक आर्मोरर गल्लीको एक सानो भोजनगृहबाट, मदिरापान गरेको अवस्थामा–”
“हो-हो त्यहि हो, म सिमीयन पेट्रोभिचसँग थिएँ! सबै जानकारी ठीक छ! अझै पढ्नुस! सुन्नुस!”
“–मदिरापान गरेको अवस्थामा चिप्लिएर, युक्नोस्कि क्षेत्रको डुरिङ्का गाउँको इभान ड्रोटोफको बग्गी तान्ने घोडाद्वारा कुल्चिइन पुगेका थिए। भयभीत घोडा कुल्दारोफको ढलेको शरीरमाथि उफ्रीएर गएको थियो र दोश्रो मस्को समाजका व्यापारी स्टेपान लुकोफ सवार बग्गीसमेत केही परसम्म उनको शरीर घिसारीएको थियो। सडक छोडेर दौडेको घोडा घरायसी कामदारहरूद्वारा रोकीएको थियो। केहीबेर अचेत कुल्दारोफ प्रहरीद्वारा उपचारको लागि लगीएका थिए। गर्दनको पछिल्लो भागमा सामान्य चोट–”
“बग्गीको डण्डीमा ठोकीएको थियो, बुबा अझै पढ्नुहोस।”
“–सामान्य चोट लागेका घाइते कुल्दारोफ उपचार पछि घर फर्केका छन।”
“चिसो पानीयुक्त पट्टी बाँधिदिएका थिए। अब त बिश्वास भयो? कस्तो लाग्यो? राम्रो होइन त? अब त यो पुरै रूस भरि पुगिसक्यो! पत्रिका दिनुस!”
मिटियाले पत्रिका तानेर पट्यायो र खल्तिमा राख्दै भन्योः
“अब म माकारोफहरूलाई देखाउन जान्छु, इभानोफहरूलाई पनि देखाउनु छ, अनि नतालिया, र अनासिम – छिटो जानुछ अलबिदा।”
मिटियाले टोपी लगायो र खुशीले उफ्रँदै सडक तिर हिँड्यो।
२०७० कार्तिक २५ सोमबार
मूल लेखक आन्तोन चेखभको लघुकथा Blissको नेपाली अनुवाद,
