माटो केहो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।
बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ । यहाँ हामीले बिरुवा उमार्न सक्दछौं । माटोले बिरुवाको लागि उम्रन र बढ्न आधार दिन्छ । खानको लागि खाद्यतत्वहरू प्रदान गर्छ र बिरुवाले माटोबाट खाद्यतत्त्व लिएर आफ्नो जीवनचक्र पुरा गर्दछ । नेपालकोे भौगोलिक वितरण अनुसार नै यहाँको माटोको बनौट र खेती व्यवस्थापन भएको पाइन्छ । नेपाललाई भौगोलिक र माटोको बनौटको रूपमा तराई, शिवालिक, मध्य पहाड, उच्च पहाड, हिमाली, टार, र उपत्याका क्षेत्रको रूपमा विभाजन गरेर अध्ययन सकिन्छ ।
तराई क्षेत्रमा पाइने माटो–
नेपाल सानो देश भए तापनि यहाँको जमिनको बनौटमा भने विविधता । कृयाशिल प्रवाहित लेदो, तत्कालै थुपारेको प्रवाहित लेदो माटो, आदि तराई क्षेत्रमा पाइने माटोको प्रकार हुन् । बलौटे/कवी, बलौटे माटो, दोमट माटो, मसिनो दोमट जस्ता माटोको कणहरूले यो माटो बनेको हुन्छ । यो क्षेत्रमा कही जमिनको सतहसँगै पानीको सतह पनि भेटिन्छ त कहीँ जमिनको सतहदेखि लिएर १० मीटर गहिराई सम्ममा पानी पाउन सकिन्छ । यहाको जमिनमा कहीं सतहमा पानी जमेको पाउँछौ. भने कतै राम्रोसँग पानीको निकास भएका ठाउँहरू पनि पाइन्छन् । वन्यवनस्पतिलाई हेर्दा ठूला ठूला सालका रुखको साथै कडाकाठले भरिएको जंगल पनि पाइन्छन् । धान, गहुं, मकै, तोरी उखु, कपास, चिया आदि मुख्यरूपमा लगाइने बालीहरू हुन् । मानिसहरूको बसोबास पनि मिश्रित किसिमले भएको पाइन्छ । मुख्य जातीहरूको रूपमा ब्राम्हण, क्षेत्री थारु, माझी, मुसहर, मुस्लिम, गुरुङ्ग, मगर तामाङ, दमाई, कामी आदि पर्दछन् ।
शिवालिक क्षेत्रको माटोको बनौटको स्थिति
यो क्षेत्रमा पनि जमिनको बनौट तराईको सरह नै नयाँ प्रवाहित लेदो माटोदेखि फैनआदिबाट निर्माण भएको पाइन्छ । बलौटेदोमट, दोमट, गेग्रीलो, पाँगोदोमट, पाँगो, चिम्टेदोमट, चिम्टे, पाँगोचिम्टे, दोमटचिम्टे तर चट्टानका टुक्रासमेत मिश्रित खालको बनौट भएको माटोको प्रकारहरू पाइन्छन् । यहाँ पानी जम्ने र नजम्ने दुवै किसिमको जमिन पाइन्छ । यहाँको जमिनको बनौट नजाँनिदो भिरालोदेखि अति भिरालो किसिमको छ । बलौटे ढुङ्गा, शेल/पत्रेढुङ्गा, पाँगो ढुङ्गा, हिले ढुङ्गा, चुन ढुङ्गा/डोलो माईट ढुङ्गाबाट यो ठाउँको माटोको निर्माण भएको छ । पानीको सतह पनि फरक फरक हुन्छ । कहींकही सतहदेखि २ मीटर भित्रमा पनि पानी पाइन्छ भने कहीं कही अतिगहिराइ बेडरकसम्म(जहाँबाट माटोको निर्माण सुरु हुन्छ) पनि पुग्नु पर्दछ । पानीको निकास राम्रो भएको पाइन्छ । माटोको व्यवस्थापनमा ध्यान दिनुपर्दछ । यस क्षेत्रमा करीब १०भन्दा तलदेखि लिएर ३००भन्दा बढ्ता भिरालो जग्गाहरू पाइन्छन् । यो क्षेत्रमा बर्षा बढ्ता हुन्छ । हावापानी समउष्ण पाइन्छ । प्रमुख बालीरुमा धान, गहुं, मकै, कोदो, आलु तरकारी, सदाबहार फलफूल, अदुवा आदि पर्दछन् । सामाजिक स्थिति हेर्दा मिश्रित जातीहरू पाइन्छन र यस क्षेत्रको बनस्पतीमा साल तथा कडा काठको साथै सल्लो पनि पाउन सकिन्छ ।
मध्य पहाडको माटो
यो क्षेत्रको माटोको निर्माण अग्नेय र परिवर्तित चट्टानको परिवर्तित खियाईबाट भएको पाइन्छ । फाईलाईट, सिष्ट, निस र क्वार्टजाईट, चुन ढुंगा, स्लेट, मार्बल, आदिबाट यहाँको माटोको निर्माण भएको पाइन्छ । जमिन १०भन्दा कम भिरालो देखि ३००भन्दा बढि भिरालो देखिन्छ । पानीको सतह पनि ठाउँ ठाउँमा फरक फरक दूरीमा पाइन्छ अर्थात सतह देखि (बेडरकसम्म) । पानीको निकास प्रवाहित लेदो माटो बाहेक सबै ठाउँमा राम्रो हुन्छ । यहाँको माटोमा दोमट गेगरिलो तथा ढुंज्ञान युक्त, दोमटपांगो, चिम्टाईलोदोमट, पांगोचिम्टे कणहरू पाइन्छन् । यस क्षेत्रमा धान, मकै, गहुं, कोदो, आलु, तरकारी, सदाबहार तथा पतझड फलफूल, अदुवा, अलैची, कफी आदि लगाइन्छ । सामाजिक स्थिति हेर्दा मिश्रित जातीहरू पाइन्छन् । जस्तैः गुरुङ, मगर, तामाङ, ब्राम्हण, क्षेत्री, नेवार, राई, लिम्बु, दमाई, कामी, सार्की, सुनुवार आदि । यसक्षेत्रको बनस्पतीमा साल तथा कडा काठको साथै सल्लो पनि पाउन सकिन्छ । हाबापानी सम उष्णदेखि शितोष्ण पाइन्छ ।
उच्च पहाडको माटो
यो क्षेत्रको माटोको निर्माण परिवर्तित चट्टानको परिवर्तित खियाईबाट भएको छ । अभ्रख, सिष्ट, निस र फाईलाईट चुन ढुंगा, क्वार्टजाईट शिलाबाट यहाँको माटो बन्दछ । त्यसो हुँदा माटो ढुंज्ञान युक्त हुन्छ । जमिन १०भन्दा कम भिरालो देखि ४००भन्दा बढ्ता भिरालो देखिन्छ । पानीको सतह पनि फरक फरक दूरीमा पाइन्छ अर्थात सतह देखि (बेडरक सम्म), पानीको निकास प्रवाहित लेदो माटो बाहेक सबै ठाउँमा राम्रो हुन्छ ।
यस क्षेत्रमा आलु, फापर, उवा, जौ, तरुल, बेथे, जबी, जडिबूटी, कागती, बदाम, ओखर, स्याउ, आरु, आरुवखडा, नासपाती, खुर्सानी, तरकारीको वीउ उत्पादन आदि बालीहरू लागाएको पाइन्छ । तर धेरै भिरालो जग्गामा खेतीपाती गर्न हुँदैन । यस्तो जग्गा मौसमी चरनको रूपमा प्रयोगमा ल्याइन्छ । जमिनलाई खेती पातीमा प्रयोग गर्दा गह्रा सुधार गरेर मात्र गर्दा कम भू–क्षय हुन्छ र उत्पादन लिन सकिन्छ । माटो बग्नबाट जोगाउने छादनबाली जस्ता संरक्षित बाली प्रणली अपनाउनु राम्रो हुन्छ ।
हिमाली क्षेत्रको माटो
यो क्षेत्रको माटोको बनौट नीस, शिष्ट, चुन ढुंगाबाट बनेको छ । कही कही प्रवाहित लेदे माटो देखिन्छ । यहाँको जमिन धेरै भिरालो हुन्छ । यहाँ हिमप्रभावित, समुद्रले पुरेको, पैह्रोले ल्याएको तथा नांगो चट्टान भएको जमिन पनि पाइन्छ । यहाँको माटोको निर्माण भौतिक खियाइबाट भएको छ । यहाँ को माटोमा बालुवा र मसिनो बालुवाका कणको बाहुल्यता हुन्छ । यहाँ धेरै भिरालो (२०० देखि लिएर ४००भन्दा पनि बढ्ता भिरालो) जमिन पाइन्छ । भिरालो जमिनको साथै चट्टानयुक्त, ढुंज्ञानयुक्त, पातलो तह भएको माटो हुन्छ । अलपाइनदेखि आर्केटीक जलवायु पाइन्छ । केही पकेटहरूमा खेतीयोग्य जमिनहरू पाइन्छन् । मनाङ्, मुस्ताङ्, सोलुखुम्बु, डोल्पामा केही सानो क्षेत्र खेतीमा प्रयागेमा आउनु बाहेक अरु मौसमी चरनमा ल्याइन्छ । यी पकेटमा स्याउ, ओखर, तरकारीको वीउ उत्पादन, आलु, उवा लगाएको पाइन्छ । उच्च हिमाली क्षेत्रहरू प्राय ४ महिना हिउँले ढाकेको हुन्छ ।
टार क्षेत्रको माटो
यो स्थानतरणबाट भएको माटो हो । अर्थात् एक ठाउँबाट अर्को ठाउँमा सारेको माटो हो । हिमनदीको थिग्रोबाट यो माटो बनेको हुन्छ । यहाँ रातो चिम्टाईलो माटो पाइन्छ । पाँगोचिम्टे, दोमट, दोमट पनि पाइन्छ । फलामको अक्साईड भएको कारणले यो माटोको रंग रातो भएको हो । यो माटोको गुणहरूमा प्राँगारिक पदार्थ कम हुन्छ । यस माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र चुनको मात्रा कमी हुन्छ । यो माटोमा प्राँगारिक पदार्थ (घरको मलको प्रयोग) बढ्ता प्रयोग गर्दा जमिन खुकुलो हुन जान्छ र जोतखन गर्न सिजलो हुन्छ ।
उपत्यकाहरूको माटो
यो क्षेत्रको माटो पानी/नदीबाट बगाएर ल्याएर बनेको हो । बाढी क्षेत्र, बगर, डेल्टा, पंखाकार, अग्लोटार, भूमि आदि यस माटोको पैतृक पदार्थमा पर्दछन् । बलौटे दोमट, पाँगो दोमट, गेगरिलो दोमट आदि माटोको कणहरू यहां पाइन्छन् । उपत्यकाको माटोलाई टार क्षेत्रको तुलनामा कम मेहनतमा राम्रो बनाउन सकिन्छ । उत्पादन पनि राम्रो हुन्छ । हावा पानी सहाउँदो बालीहरू यहाँ लगाउन सकिन्छ ।
अतः माटोको उपभोग जो जसले गरे पनि माटो सबैको साझा हो । करिव एक इञ्च खेती योग्य जमिनको तह निर्माण हुन सयदेखि हजारबर्ष लाग्न सक्छ । यसरी बनेको माटोलाई पानी र हावाले केही सेकेण्डमा बगाएर/उडाउर नाश गर्दछ । मलिलो माटोले नै जनतालाई पाल्छ र देशलाई धनी बनाउँछ । माटोलाई जोगाउनु हामी सबैको दायित्व हो । स्वास्थ माटो स्वास्थ जीवन,स्वास्थ देश स्वास्थ संसार सबैको धारणा यहिरहोस् र भावी सन्तति सवल बनोस् ।
सदानन्द अभागी
