पुस्तकः भ्रमपूर्ण विज्ञापन र हाम्रो स्वास्थ्य
लेखक/प्रकाशकः डा. अरूणा उप्रेती र लक्ष्मण अधिकारी
पृष्ठः १०८+४,
मूल्यः रू १००
बजारमा जताततै चिटिक्क परेका प्याकेटमा सजाइएका खाना देख्दा जो–कोहीलाई पनि खाउँ–खाउँ लाग्छ। तर, आँखाका लागि ती जति आकर्षक हुन्छन्, स्वास्थ्यका लागि त्यत्तिकै खतरनाक। पोषण विज्ञ डा. अरूणा उप्रेती र स्वास्थ्य विषयमा कलम चलाउने पत्रकार लक्ष्मण अधिकारीले ‘भ्रमपूर्ण विज्ञापन र हाम्रो स्वास्थ्य’ नामको पुस्तक लेखेर जिब्रो लठ्याउने यस्ता फास्टफुड (जङ्कफुड) ले उपभोक्ताको स्वास्थ्यमा कसरी मन्द विष आपूर्ति गरिरहेको छ भनेर सरल रूपमा खुलाएका छन्।
शारीरिक रूपमा बलवान र दिमागी हिसाबले तेज हुन यस्ता उत्पादन खानुपर्छ भनेर छिनछिनमा आउने विज्ञापनको विश्वास गर्दा व्यक्तिको स्वास्थ्यसँगै समाजलाई पनि हानि पुर्याइरहेको विषयलाई पुस्तकले राम्रोसँग प्रस्तुत गरेको छ। लेखकद्वयको विश्लेषणमा, आधुनिकतातर्फ पाइला चालिरहेका नेपाली उपभोक्तामा के खान हुन्छ, के हुँदैन भन्ने विषयमा ध्यान पुर्याउने चलन छैन। यसले गर्दा आम उपभोक्ता सजिलै विज्ञापनको प्रभावमा पर्छन्, तर यसमा कसैको ध्यान गएको छैन। दैनिक उपभोग हुने तयारी खाद्य पदार्थको गुणस्तरमा ध्यान पुर्याउन नसक्दा बालबालिकादेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पुगिरहेको छ। धेरैजसो अभिभावक आफ्ना बालबालिकाको शारीरिक वृद्धिमा यस्ता जङ्कफुडले पुर्याइरहेको असरबारे बेखबर छन्।
खानपान र चालचलनले स्वास्थ्यमा ल्याइरहेको समस्या समाधानका लागि पुस्तकले धेरै उपयोगी खुराक दिएको छ। पुस्तकले सानोतिनो रोग लाग्दा पनि औषधि नखाई निको नहुनुको कारण यस्तै खाद्यवस्तुसँग जोडिएको कुरा बुझाएको छ। खाद्य मिसावटका कारण औषधिको प्रभावकारिता घटेको पुस्तकमा उल्लेख छ। उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोग बढ्दै जानुको मुख्य कारण यिनै बजारिया खाना हुन् भन्ने बुझाउन पुस्तक सफल छ। बढ्दो शहरीकरण, परिवर्तन हुँदै गइरहेको जीवनशैली र गाउँ–गाउँमा पुगेको जङ्कफुडबाट जोगिन अब सानोतिनो होशियारीले नपुग्ने कुरा पुस्तकले बुझाएको छ।
तर, आधुनिकताको आकर्षण कतिसम्म छ भने, तयारी खाद्यवस्तुले स्वास्थ्यमा पुर्याउने असरबारे जानकारी हुनेहरू पनि त्यसको उपभोगमा अग्रसर हुन्छन्। जस्तो, चिनी स्वास्थ्यको लागि हानिकारक हो र कोक, फेन्टा लगायतमा त्यसको अत्यधिक प्रयोग हुन्छ भनेर जान्दाजान्दै पनि ती पेयपदार्थको उपभोग आकासिंदो छ। यस्ता तयारी पेय र खानाहरूमा क्याफिन, अम्ल, कार्वनडाइअक्साइड लगायतका रसायन र कृत्रिम बास्ना स्वस्थकर हुने कुरै आउँदैन। र पनि, आफ्नो बारीमा उब्जिएका खाद्य पदार्थ भन्दा बजारका आकर्षक प्याकेट राम्रो हुन्छ भन्ने मानसिकताप्रति किताबले चिन्ता जनाएको छ।
बजारिया खाद्य पदार्थले मात्र होइन, सुन्दर हुन प्रयोग गरिने प्रसाधनहरूले समेत उपभोक्तालाई कुरूप र रोगी बनाउँदै लगेको तथ्य निकै विचारणीय छन्। कुन समयमा कस्ता खानेकुरा खानुपर्छ भनेर सिकाउनु यो पुस्तकको अर्को शक्तिशाली पक्ष हो।
मीना शर्मा
हिमाल खबरपत्रिका
१६ मंसिर २०७०
1 December 2013
