Skip to content

डिसी साहित्य सम्मेलन भव्यताको साथ सम्पन्न


विजय थापा,
भर्जिनिया, अमेरिका,
मंसिर १५, २०७०

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ । विभिन्न विधामा विशिष्टता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरूलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशी सामाजिक नायकहरूलाई सम्मान तथा अनेसासले हरेक दुई बर्षमा प्रदान गर्ने उत्कृष्ठ पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।

नेपालको प्रतिष्ठा बढाउने दश जना सामाजिक नायक नेपालीहरूमा सम्मान हुनेहरूमा अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा (विद्या वारिधि), लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम, युएस नेपाल अनलाइन डटकमका सम्पादक प्रदीप थापालाई उनीहरूको योगदानको उच्च कदर गर्दै खादा ओडाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ ।

अरु सम्मानित हुने नेपालीहरूमा सी एन एन नायक पुष्पा बस्नेत, क्यानाडाकी महिला अधिकारकर्मी तथा समाज सेवी राधा बस्नेत, गैर आवासीय नेपाली संघका वर्तमान अधक्ष्य तथा अस्ट्रलिया कै धनाड्य ब्यबसायी शेष घले, नेपाल खेलकूद परिषदका महासचिब युवराज लामा नेपाल, अमेरिका नर्थ क्यारोलिनाका हरिहरप्रसाद भट्टराई (विद्या वारिधि), सिक्किमका कवि राजेन्द्र भण्डारी तथा बेलायतका खगेन्द्र नेपालीरहेता पनि वहाहरू आउन असमर्थ रहनु भएको थियो ।

यसै सम्मानित हुने तीन जना विदेशी सामाजिक नायकहरूमा अमेरिकाको फ्लोरिडा राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा एनडर क्रेनसह, सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस, कोलोराडो अमेरिकी प्रतिनिधि सभाका सदस्य जरेड पोलिस, सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस र अर्की बिदेशी युवती म्यागी डोयेंनलाई पनि अभिनन्दन गरिने भएता पनि म्यागी नेपालबाट आउँन नसकेको कारण उनको प्रतिनिधिलाई उक्त ताम्रपत्र हस्तान्तरण गरिएको थियो । सम्मानित हुने दुवै प्रतिनिधि सभाका सदस्यहरू अनुपस्थित रहेका थिए ।

यसै गरी अनेसासका उत्कृष्ठ पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा पुरस्कृत क्रमस अमर न्यौपाने, मदन पुरस्कार बिजेता, नेपाल, खगेन्द्र लुइँटेल (विद्या वारिधि), प्रमुख नेपाली बिभाग, त्रिभुवन विश्व विद्यालय, कुसमाकर न्यौपाने (विद्या वारिधि), पृथ्बीनारायण क्याम्पस-पोखराका प्राध्यापक, सुमल कुमार गुरुङ(बेलायत) श्रीमती गंगा लिगल, सुनिल संगम (पोर्तुगल) प्रकाश नेपाल (अमेरिका), प्राज्ञ प्रेम छोटा(नेपाल) तथा शेखर ढुंगेल (अमेरिका)लाई प्रदान गरिएको छ ।

समुद्घाटन कार्यक्रमको प्रमुख आतिथ्य अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा तथा बिशेष अतिथिमा वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित हुनहुन्थ्यो भने कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालि समुद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाली तथा अमेरिकाको राष्ट्रिय गान प्रस्तुत, महा लक्ष्मीप्रसाद देवकोटाको गीत प्रस्तुत साथै कविताले वाचन गर्दै स्वागत पनि गरिएको थियो ।

स्वागतम मन्तब्य सम्मेलन संयोजक सिता पाण्डेले गर्दै यो सम्मेलन कोशे ढुंगा साबित हुने छ भन्ने बिचार राखेकी थिइन् । देवकोटाको बारेमा साहित्यकार बसन्त श्रेष्ठले देवकोटाको अन्तर्राष्ट्रिय स्तरमा कस्तो भूमिका रहेको थियो भन्ने बारेमा संक्षेपमा जानकारी गराउदै सर्जकलाई जीवन कालमा नै सम्मान गर्न सक्नु पर्छ भन्ने कुरामा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि राजदूत शर्माले साहित्य सम्मेलन सफलताको कामना गर्दै साहित्य तथा भाषालाई दोश्रो पुस्तामा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्दै यस सम्मेलनले यसलाई सम्बोधन गर्ने छ भन्ने विश्वास लिएको लिदै महिलाको सक्रिय भूमिकाको प्रसंसा गरेका थिए । महाबाणिज्य दुत प्रेम राजा महतले सम्मेलनले नेपाल कै झझल्को ल्याएको चर्चा गर्दै शुभकामना दिएका थिए

बिशेष अतिथि मोदनाथ प्रश्रितले अमेरिकाले विज्ञानमा चरम विकास गरेको चर्चा गर्दै नेपाल विज्ञानमा निक्कै पछाडि छ भन्दै नेपालका गाउँ रित्ता भएका छन् । जन्ती र मलामी जाने मानिसको अभाव भैसकेकोले अब अमेरिकामा शिक्षा लिएर नेपाल फर्कन आब्हान गर्दै उराठ भएका गाउँलाई उर्जा दिन आउनु पर्छ । र अगाडि थप विचार राख्दै अब बैज्ञानिक सम्मेलन गर्नतिर लाग्नु पर्ने बिचार राख्दै विज्ञान /प्रविधिको संस्कृति तथा संकल्प लिएर हिड्नु पर्छ भने । त्रिभुवन विश्व विद्यालय नेपाली बिभागका प्रमुख खगेन्द्र लुइँटेल (विद्या वारिधि)ले नेपाली भाषा महाभाषा भैसकेको उल्लेख गर्दै अमेरिकामा जातीय बिभाजन छैन भन्दै यही संदेश लिएर आफू नेपाल जाने बताए ।

सम्मानित हुनेहरूको नामावलीको सिफारिस गर्ने जिम्मेबारी पाएका समाजसेवी राजा घलेले मन्तब्य राख्दै छोटो समयको अवधिमा यो काम फत्ते गर्नु चुनौती थियो भने अवसर पनि उत्तिकै भएकोले अहोरात्र मेहनत गरी सामुहिक रुपमा मिलेर काम गरी सिफारिस गरेको उल्लेख गरे । रामचन्द्र बराल (विद्या वारिधि)ले एटलान्टामा साहित्य सम्मेलन गर्ने योजना बताउदै देवकोटाका अप्रकाशित कृतिहरू प्रकाशित गर्न पहल गर्ने बिचार राखेका थिए भने अन्य अतिथिहरूलाई पनि मन्तब्य राख्न दिएको थियो ।

कार्यक्रममा दोश्रो पुस्ताका युवाहरूलाई प्रोत्साहन गर्न कविता प्रतियोगिताको पनि आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा प्रथम बिबेचना निरौला, द्वितीय प्रिय सुबेदी तथा तृतीय निशान्त ज्ञवाली भएका थिए । दोश्रो पुस्ताका युवाहरूले एउटा संदेश मुलुक नाटक पनि प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरंजन दिलाएका थिए । प्रज्ञा प्रतिस्ठानका कुलपति बैरागी काईलाले पठाउनु भएको संदेश खेम भट्टचन तथा मन्त्री परिषदका अधक्ष्यको संदेश श्याम राज पाण्डेले पढेर सुनाएका थिए ।

कार्यक्रमको अधक्ष्यता केन्द्रीय अधक्ष्य गीता खत्रीले गरेकी थिइन् भने पुस्तक पुरस्कृत हुने पुरस्कृतहरूको संक्षेपमा अनेसासका संस्थापक होमनाथ सुबेदीले दिएका थिए । कार्यक्रममा भानुभक्तको शालिकको अनावरण पनि गरिएको थियो । कार्यक्रम संचालन संचारकर्मी रमा सिंहले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *