उद्माद
उद्माद छ भन्छ तर रहर हैन
कचौभरि छ भन्छ तर जहर हैन
रहर गर्दागर्दै बल्झेको जहर हो ऊ
भन्छ रहरले जहर पिउने ठहर हैन
कर्मशील
पूर्बमा लाली छायो कर्मशीलहरूको दिन भयो
आबद्धतामा रम्नेहरूलाई कर्ममा लिन भयो
लाटा कोशेराहरूलाई के काम हुन्छ र दिनमा
उनको लागि त प्रकाशपुञ्ज नै घीन भयो
मात
सुरूपमात्र कहाँ हो र उनमा मात थियो
मातमा रुमलिने भमराको त्यो रात थियो
चाँदनी र उनी थिए साथै थियो शयनगार
के चाहियो मनमन्दिरमा मिलनको साथ थियो
मगन्ते
मगन्तेको गरीखाने कहिल्यै पनि सोच हुन्न
झोली थापी थापी हिड्छ हलो जुगा छुन्न
त्यस्तै भयो सरकार आज मागी मागी हिड्छ
थाप्ने थैली दुले रैछ भरिदैन कहिलै टुन्न
रोजगारी
रोजगारी छैन देशमा विदेशमा जानै पर्छ
दालभात कहाँ पुग्नु आटो पीठो खानै पर्छ
जुन जोगी आए पनि कान चिरेका हुँदा रैछन्
देश जनता हेर्नुभन्दा आफ्नै छानु छाउनै पर्छ
विकास
विकासका कुरा नगर सानी
निकासका कुरा नगर ज्ञानी
जालै जालले बेरिएको देश
हिड्न परेको छ लाज मानी
माया
छुटाएर छुट्ने माया रैछ कस्तो
लुटाएर लुट्ने माया रैछ कस्तो
लुटको धन फुपूको श्राद्ध भन्छन्
जुटाएर जुट्ने माया रैछ कस्तो
जालझेल
कहिले सदनमा र कहिले सडकमा राजनीति खेल रहेछ
शत्रु भनौ या मित्रु भनौ स्वार्थ पर्दा राजनीति मेल रहेछ
शुद्ध राजनेता कहाँ पाउनु छ र यस देशमा जनताले
राजनीति गर्नु भनेको त यहाँ साच्चिनै जालझेल रहेछ
उपलब्धी
जब यात्रा गरिन्छ त पुरा गर्ने पर्छ सानु
अर्ध कर्म पर्छ मर्म जीवकोष मर्छ सानु
फलप्राप्ति हुन्नभने त्यस्तो यात्रा गर्न हुन्न
उपलब्धी हुनै पर्छ नत्र रोग सर्छ सानु
सदानन्द अभागी
