Skip to content

लक्ष्मीदत्त ‘सत्यप्रेमी’को “बहर सागर” नियाल्दा


परिचय

लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा –५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी –५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ । उहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ खण्डकाव्य (२०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), आमाको स्मृतिमा (२०६९) र “बहर सागर” (२०६९), प्रकाशन भैसकेको छन् । यो “बहर सागर” उनको र्चौथो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ । हरेक विद्यामा उहाँको कलम चल्दछ । उहाँ थाइल्याण्ड र जापानको भ्रमण गरिसक्नु भएको छ भने उहाँमा निकै लामो प्रशिक्षण क्षेत्रको अनुभव पनि छ । नेपाली साहित्य जगतमा उहाँले आफूलाई छन्द र बहरमा कविता र गजल लेखकको रूपमा स्थापित गरी सक्नु भएको छ । गजलमा चलेको बहरयुक्त गजल र बहरमुक्त गजलको बहसमा बहरको पक्षमा उभ्याउन सफल हुनु भएको छ ।

पुरस्कार तथा सम्मान

सत्यप्रेमीले नेपाल सरकारबाट प्रदान गरिने शिक्षा पुरस्कार (२०५८), जापान सरकारबाट प्रदान गरिने Special award (२०००), पल्लव साहित्य सम्मान (२०६९) चितवन, अभिनन्दन–बाल कल्याण एवम बाल–साहित्य सोध संस्थान न्यास, उत्तराखण्ड भारत (२०१२), अभिनन्दन–तृतीय इन्डो–नेपाल महिलाबाल साहित्य सम्मेलन,२०१३, भारत,२०१३)बाट पुरस्कृत तथा सम्मानित भैसक्नुभएको छ ।

साहित्यिक आवद्धता

लक्ष्मीदत्त भट्ट साहित्यिक तथा सामाजिक क्षेत्रमा धेरै ठाउँमा आबद्ध भएर सेवा पुर्याउनु भएको छ । उहाँले आवद्धता यस प्रकार देखिन्छ– अध्यक्ष– महाकाली साहित्य सङ्गम डोटी शाखा, आजीवन सदस्य पल्लव साहित्य प्रतिष्ठान, चितवन, आजीवन सदस्य–नेपाल स्रष्टा समाज नेपाल, काठमाण्डौं, आजीवन सदस्य– महाकाली साहित्य सङ्गम केन्द्रीय कार्यालय कञ्चनपुर, आजीवन सदस्य–सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलाली, आजीवन सदस्य– दिप्लेश्वर सनातन समाज, आजीवन सदस्य– नेपाल रेडक्रस सोसाइटी, आजीवन सदस्य/सल्लाहकार– सिद्धनाथ युनेस्को समाज, आजीवन सदस्य/सल्लाहकार– त्रिवेणी कला सङ्गम, संस्थापक सदस्य–महाकाली गजल प्रतिष्ठान,कञ्चनपुर, गुगुल्डी मासिक साहित्यिक पत्रिका र चिनारी दुई मासिक साहित्यिक पत्रिकाको डोटी प्रतिनीधि र हिमिका गजलप्रधान पत्रिकाको व्यवस्थापक /सह–सम्पादक ।

“बहर सागर”को संरचना–

“बहर सागर”को संरचना (२३+१२२)=१४५ पृष्ठको छ । यो गजलसङ्ग्रह पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले प्रकाशन गरेको छ । गजलसङ्ग्रहको थालनी तीन फर्दबाट थालनी गरिएको छ । यी तीन फर्दमा भुजङप्रयातका दुई फर्द र पञ्चचामर एक फर्द समावेसबाट “बहर सागर”को प्रारम्भ भएको छ । पहिलो गजल बहरे हजज मुसम्मन् मक्बूज (पिङ्गल छन्द –पञ्चचामर)बाट थालनी गरिएको छ । अन्तिम गजल बहरे मुतकारीब मुसम्मन् मक्बूज (पिङ्गल छन्द–भुजङ्गी)मा समाप्त गरिएको छ । सबैभन्दा बढ्ता प्रयोग गरिएको बहरमा बहरे मुतकारिब मुसम्मन् सालिम (पिङ्गल छन्द–भुजङ्गप्रयात ६६वटा गजलहरू समावेश गरिएका छन् । बहरे मुजारे मुसम्मन् अखरब (पिङ्गल छन्द– दिक्पाल)का १० गजलहरूले दोस्रो स्थान लिएका छन् । बहरे मुतदारिक मुसम्मन् सालिम (पिङ्गल छन्द–स्रिग्वणी)का ८ गजलहरूले तेस्रो स्थान लिएका छन् भने बहरे हजज मुसम्मन् मक्बूज(पिङ्गल छन्द –पञ्चचामर)का ७ वटा गजलहरूले चौथो स्थान ओगट्न सफल देखिन्छन् । बहरे मुतदारिक मुसम्मन् मख्बून(पिङ्गल छन्द –तोटक)का ४ गजलहरू देखिन्छन् । यसैगरी बहरे हजज मुसम्मन् अखरब मक्बूज अबतर (पिङ्गल छन्द–इन्द्रबज्रा)का ३वटा गजलहरू, बहरे मुतकारीब मुसम्मन् मक्बूज( पिङ्गल छन्द–भुजङ्गी)का ३ गजलहरू, बहरे वसितका २ गजलहरू, बहरे हजज मुसम्मन सलिम (पिङ्गल छन्द –विधाता)का २ गजल, बहरे हजज मुसम्मन महफूज मक्फूफ (पिङ्गल छन्द–क्रन्द)का १ गजल, छन्द वंशस्थका १ गजल, बहरे मुजारेको १ गजल, बहरे हजज मुसम्मन अस्तरको १ गजल, मुरब्बा सालिम (पिङ्गल छन्द–संयुक्ता)को १ गजल, पिङ्गल छन्द –शालिनीको १ गजल, बहरे रजज मुसम्मन सालिम (पिङ्गल छन्द–वीभत्स)को १ गजल, बहरे हजज सद्दस महसुफ ( पिङ्गल छन्द–दिगम्बर)को १ गजल, बहरे हजज मुरब्वा अस्तर मक्बुज (पिङ्गल छन्द–समानिका)को १ गजल, बहरे मुतदारिक मुजाहिफ –पिङ्गल छन्द –दु्रता)को १ गजल, बहरे मुन्सरेहे मुसम्मन मुतब्बी मन्हुर (पिङ्गल छन्द –चम्पकमाला)को १ गजल, बहरे रमल मुसम्मन सलिमको १ गजल, बहरे हजज मुसम्मन अस्तरको १ गजल, बहरे कवीर मुसद्दस मारफोको १ गजल, बहरे रमल मुसम्मन मशकुलको १ गजल र बहरे मुतदारिक मुसदद्स सालिम (पिङ्गल छन्द–महालक्ष्मी)को १ गजल गरी “बहर सागर”को निर्माण भएको छ । बहरे मुतकारिब मुसम्मन् सालिम (पिङ्गल छन्द–भुजङ्गप्रयात)मा गजलकारले आफ्नो गजल लेखनमा बाहुल्यता जमाएका छन् । यस गजलसङ्ग्रहको मूल्य ने रु २५०/–शास्त्रीय बहरमा गजल लेखनमा यस सङ्ग्रहले एउटा कोशेढुङ्गा थप्न सफल देखिन्छ र गजलकारको गजल लेखाइमा पनि उच्चाइमा पुर्याएको छ ।

गजलकारप्रति साहित्यकारको धारणा

कृतिकार र कृतिप्रति भूमिका लेखन र शुभकामना पुष्पहरूको बृष्टि गर्दै धेरै साहित्यकारहरूले आफ्ना सार गर्भित धारण र भावनाहरू बगाएका छन् । जसले गर्दा यस गजलसङ्ग्रहको गरिमा बढाएको छ । ती अमूल्य धारणा तथा भावनाको पोखाइहरू यस प्रकार छन्–

‘प्रकाशकीय’मा हुसैन खाँ लेख्नुहुन्छ– ‘सुदूरपश्चीमको गजलको सैधान्तिक र पूर्वप्रचलित बहर धावकका रूपमा देखिनु भएका भट्टले आफ्ना समकालीन सहपाठी गजलकारहरू सबैलाई नै पछाडि पार्दै आफूलाई अग्रपङ्क्तिमा उभ्याउन सफल हुनुभएकोछ ।’

‘”बहर सागर”मा डुबुल्की मार्न खोज्दा’ शीर्षकमा गोर्खे साइँलो लेख्नुहुन्छ– शास्त्रीय बहरमा गजल लेख्न खप्पिस स्रष्ट ा‘सत्यप्रेमीको’ प्रस्तुत सङ्ग्रहमा समेटिएका गजलहरूमा राष्ट्र, राष्ट्रियता, देश–परिवेशको समसामयिकता, र केही बढी ओजन भनेृ सिङ्गारिकतामा नै केन्द्रित रहेको छ ।

‘शुभकामनाका गुच्छाहरू’ शीर्षकमा पज्ञा प्रा. डा. महादेव अवस्थीनुहुन्छ–‘उहाँ साहित्यिक विधा कविताका खासगरी बद्धलयात्मकप्रकारहरूको रचनामा लगनशील देखिनुहुुन्छ र उहाँले फुटकर कविता, गीत गजल, एव म खण्डकाव्यको पनि रचना गरेर सिद्धहस्त कविको रूपमा आफूलाई चिनाउनु भएको छ ।’

‘शुभकामना के गुलदस्ते’ शीर्षकमा हनुमान मन्दिर खटीमा– ‘उत्तरा खण्ड भारतका डा.राज किशोर सक्सेना ‘राज’ लेख्नुहुन्छ –‘दिलमे उतरतेभाव । चुनिँदा शब्द, और लय,ताल और गतिका अद्भुत समन्वय, कवि/ गजलकार लक्ष्मीदत्त भट्ट जीकी काव्य समज और कवित्व क्षमताका श्रेष्ठ प्रदर्शन करती है’ ।

शुभकामना शीर्षकमा महाकाली साहित्य सङ्गमका अध्यक्ष वीरबहादुर चन्द ‘बिश्राम’ लेख्नुहुन्छ – …त्यस्तै सानो अवस्थादेखि नै संघर्षमय जीवनपथका पथिक कवि लक्ष्मीदत्त भट्ट आफ्नो साहित्यिक उपनामको रूपमा ‘सत्यप्रेमी समेत लिई भाषिक कला कलाकारूपमा रहेको साहित्यको सिर्जनात्मक धरातलमा साह्रै जाँगरिलो गतिशीलता देखाएको पाउँदा मलाई अत्यान्त हर्षानुभूति भएको छ ।
आशीर्वचन शीर्षकमा महाकाली साहित्य सङ्गमका विशिष्ट सदस्य पञ्चमराज भट्ट लेख्नुहुन्छ –‘सत्यप्रेमी’को शास्त्रीय बहरबद्ध “बहर सागर” …..भित्र भएका गजलहरू पाठकको मन छुने किसिमका चोटिला देखिन्छन् । तिनमा अनुभूतिकनो गहिराइ भेटिन्छ । भावहरूको सन्तुलन र प्रस्तुतिको गतिशीलता गजलहरूमा पाइन्छन् ।

कवि तथा गजलकार लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ले आफ्नै मनका धारणा पनि राख्नु भएको छ – साहित्यिक धरातलको नितान्त मौलिक र अति नै लोकप्रिय सशक्त र युवाहरूको मनमन्दिरको ढुकढुकी काव्य विधा गजलमा आफ्नो साहित्यिक पाइलाहरू उजागर गर्ने मौका पाएको छु’ भन्दै बहरमा गजल लेख्न थालनी गरेको र यसको लागि आशीर्वाद गोर्खे शाइँलोबाट प्राप्त भएको जो जसबाट गजलको लागि हौसला प्राप्त भएको छ ती सबैमा साहित्यिक अभिवादन गर्नु भएको छ ।

गजल भित्रका केही कुराः–

माथि उल्लेखित सबैका धरणालाई केलाउँदा र अध्ययन गर्दा के देखिन्छ भने– गजलकार ‘सत्यप्रेमी’ले नारीसँगको प्रेमप्रणयमा आधारित प्रगाढ शृङ्गारिक गजलका “बहर सागर”मा सागरका छालहरूले सिञ्चित गर्दै, मानवमा सिर्जित हुने प्रेम, प्रेमबाट सिर्जित हुने असीम आनन्द, पीडा, बिरह, मिलन, बिछोड, सुख र दुःखका अनुभूतिलाई सङ्गाल्दै, परिवारभन्दा टाढा भएको पीडाका दर्दहरूमा कहराउँदै, प्रेमका विविध पक्षमा ओतप्रोत भावनालाई बगाउँदै, बहरबद्ध र लयबद्धरूपमा आफ्नो गजल प्रतिभालाई गजलकारले पस्केका छन् । विविध भावनारूपी अनुभूतिको गहिराईमा पुग्ने प्रयास भएको छ । भावनाको बगाइ सरल, सहज र सन्तुलित देखिन्छ । गजल प्रस्तुतिमा शिष्टता, शालीनता, बहरमा विविधता, लयबद्धता आदिले गर्दा यो गजलको अध्ययनमा राम्रो रसस्वादन गर्न सकिने छ भन्ने लाग्दछ । हेरौं गजलकारले पस्केका गजलका केही शेरहरू–

म टाढा बसेको इशारा कुरी
भिकाई जवानी लुटायौ प्रिया
गजल– १२२ पृष्ठ १२२

मानव जीवन सबै प्रकारको भोकले ग्रस्त छ । भोकको तिर्षनालाई जहाँ त्यहाँ, जेमा, तेमा, जसरी तसरी, हैन सम्बन्धित ठाउँमा आधिकारिकरूपमा आधिकारिक व्यक्तिबाटै तृप्ति हाँसिल गर्नु पर्दछ भन्ने धारणमा गजलकारले आफ्नै अनुभव / अनुभूतिलाई माथिको शेरबाट पस्केका छन् ।

‘सत्यप्रेमी’ले प्रेमको आगो जलेको पाउँछन्, गुलावी ती गाला चुम्नलाई पो धाउँछन्, जहाँ त्यहाँ हैन नाता जुराएर प्रेम लाउँछन्, बाहुमा कसेर दिललाई सजाउँछन् । शारदी रातमा प्रेमीका आउँदा, कल्पना दाउमा प्रेमलाई दाउँदा, के नै बाँकिरहन्छ र मानिस जोसले मात्तिन्छ अनि प्राप्तकालमा ऊ सूर्यको तेज झै फैलिन्छ र चाहनाको साथमा पोखिन्छ अनिमात्र ब्यूँझिन्छ । गजलकारले कहिले पातमा परेको शित मोतीका दानामा टल्के झैं देख्छन् भने, प्रेमको वागमा फूल झै मोहनी मातमा रहेको र कहिले जोशिलो घातको जालमा फस्छन् । यति मात्र हैन गोधुलि साँझकी रोशनी, रातमा चाँदमा परिणत भएर प्रेमको जित हात पार्न पनि गजलकार पछि पर्दैनन् –

फूल झै प्रेमको वागमा
मोहनी मातमा प्रेयसी
गजल ११८, पृष्ठ ११८

गजलमा प्रेमका विविध पक्षमा विविधता छ मान्छेले काम खोज्छ तर घात पाउँछ, मान्छेले भात खोज्छ तर बात पाउँछ । बास खोज्दा चाहिने दाम तर त्यो पनि प्राप्त हुन सक्दैन र लात पाउँछ । माया नै गर्नुपरे विहानीमा, परानीमा, जवानीमा, निसानीमा, गरिबीको सिरानीमा गर्नु पर्दछ भन्ने धराणा पनि त राखेका छन् लक्ष्मीदत्तले । यो “बहर सागर” बहरको मात्र नभएर प्रेमको सागर पनि हो । गजलसङ्ग्रह शृङ्गार रसले भरिएकोछ, शृङ्गार रस नै छरिएको छ, शृङ्गार रसमै दरिएको छ, शृङ्गार रसमै रसिएको छ र शृङ्गार रसमै कसिएको छ । अब गजलसङ्ग्रहमा श्रङ्गार रसले भरिएका केही गजलका शेरलाई हेरौं–

न बोल सुन्दरी तिमी लुकाइ मात षोडशी
न देऊ चाल नैनको लगाइ हात षोडशी
(गजल नं २१)

♥ ♥ ♥

उम्रेछ प्रेम–पानी फुल्ने भयो जवानी
प्यूने बसेछ बाँनी झुल्ने भयो जवानी
(गजल नं २७)

♥ ♥ ♥

अन्त्यमा “बहर सागर” मात्र न भै प्रेम सागरका गजलकार लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’लाई सफल बहरबद्ध गजल रचनामा धन्यवाद दिँदै भावी जीवनको सफलता चाहँदै, अर्को सारगर्भित कृतिको कामना राख्दै विदा चाहान्छु ।

धन्यवाद

सदानन्द अभागी
२०७० साल मुङ्गसिर ५ गते,
शान्तिचोक, नवलपरासी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *