तनभित्र मन
तनभित्र मन छ अनि मन भित्र तर्क
कुतर्कको बाढी आए जीवन बन्छ नर्क
यी तन, मन, धन सबै कर्तव्यमा जुट्दा
यही धर्ती नै स्वर्ग बन्छ, कर्तव्यमा फर्क
नदीका कुरा
नदी भनी कुरा गर्छौ त्यसलाई पनि सुख छैन
गन्तव्यको मार्ग खन्दै अघिबढ्दा कहाँ हुन्छ चैन
नदीसरि मानव जीवन संघर्षमा अघि बढ्छ
गन्तव्य–मार्ग कठीन हुन्छ संघर्षरत नभै भैन
आशामा अडेको जिन्दगी
आशामा अडेको जिन्दगी बसेछ तिम्रो बासमा
पढेछ प्रेमको कहानी बितेछ रात त्रासमा
के हो आशा के भो प्राप्ति को छ प्रेममा लिन
बुझेन मनुले आज दीगोप्रेम कहानी खासमा
कुशलमङ्गल
आउनु थियो कुशलमङ्गल नशा बोकी आयौ
बग्नु थियो सुवासमा आँधीबेरी ल्यायौ
कर्म कर्तु सबै सबै हुन गयो छत विछत
तिर्खा मेट्नु थियो मेटेऊ तर कस्को माया पायौ
दिनको संकेत
दिनको संकेत प्रदान गर्छ प्रभातको लाली
भोकको संकेत प्रदान गर्छ पेटरूपी थाली
प्राप्त हुन्छ सारा संकेत धर्म कर्म थाल्दा
अन्ध संकेत फाल्नैपर्छ विकासबत्ती बाली
प्यासी नजर
प्यासी नजर चुलबुले छन्
पानी बबल बुलबुले छन्
चुलबुल बुलबुल सबै
व्यवहारमा सुलसुले छन्
कालो चश्मा
कालो चश्मा किन लायौ चारैतिर कालो देख्ने
सबैलाई मिचि मिचि आफ्नो मात्रै पालो देख्ने
सुभ हुन्छ मुहुर्त त सुभ हुन्छ काया कर्म
तिम्रा दृष्टि खराव छन् शुद्धतामा टालो देख्ने
सदानन्द अभागी
२०७०/८/२९, कावासोती–१, नवलपरासी
