‘गोपे ! ए गोपे ! कता गो हँ यो बज्या ?’
‘हजुर याँ छु मालिक म’
‘के गर्या छस् त्याँ ? यता आइज ।’
‘याँ गोरुलाई भुसा काट्दै छु मालिक ।’
‘बँदेल भोकाइसक्यो, डिँगालाई भुसा काटिराख ।’
मालिक रबिकान्तले यति भनेपछि गोपे भुसा काट्न छोडेर आगो जोर्न थाल्यो । बँदेललाई दूध तताउन कुँडे बसायो । गोपेको मनमा तर्कना उठ्छन्–अचम्म छ हाम्रो मालिकको चाला । नाथे त्यो सुँगुरको बच्चाको कत्ति माया लाग्या होला । दिनको चचार ट्याम दूध खुवाउनु परेको छ । बाउलाई चैँ एक घुट्की दूध चाख्न दिएको होइन पापी मोरो ।
‘तँलाई दिनदिनै भन्नुपर्छ, बँदेलको डुँडमा दूध हालिदिन पनि । एकदिन भनेपछि त अर्को दिनदेखि बँदेललाई दूध खुवाउने बेला भो भनेर थाहा पाउनु पर्दैन । ’
अलिकति रिसाएको मुद्रामा रबिकान्त बोलेपछि गोपे सक्पकायो । मनमा सोचेको कुरा मालिकले थाहा पाए कि भनेर झस्किन्छ । आ यस्तो कुरा के था पाउँथे, गम खाएर मुसुक्क हाँस्छ ।
‘बुझेँ मालिक बुझेँ । आज गोरुलाई भुसा काट्ताकाट्तै थोरै ढिलो मात्रै भएको हो । ट्याम ट्याम मै हालिराख्या छु मालिक ।’
‘खोई ट्याम ट्याममा हालेको भए बँदेल उत्राको उत्रै हुन्छ । छ महिनादेखि जत्राको तत्रै देख्छु । ठ्याम्मै बढेको होइन ।’
यो पटक मालिकको कुरामा कुनै प्रतिक्रिया जनाएन । बरु दूध लिएर बँदेलको खोरतिर लाग्यो । गोपेलाई त्यसको थुतुनो हेर्ने वित्तिकै रीस उठ्छ । क्षेत्रीको घरमा सुँगुर के फाप्थ्यो ? ऊ मनमनै भन्ने गर्छ ।
रबिकान्तलाई बँदेल पाल्नमा ठूलो सोख छ । योभन्दा अगाडिपनि तीनवटा पालिसक्यो उसले । एउटा नब्बे किलोको भएपछि काट्यो । त्यसपछिको बीचमै विरामी भएर मर्यो र अर्को पचासी किलोको भएपछि काट्यो । नाफापनि उसलाई राम्रैसँग दिएको छ । काटेपछि अढाई सय रुपैयाँ किलो हारालुछ हुन्छ । फेरि बँदेल भनेपछि क्षेत्री, बाहुन, मतवाली सबै जातले खोजी खोजी लान्छन् । अँझ मतवालीभन्दा पनि क्षत्री बाहुनको बीचमा ठूलो छिनाझपटी चल्छ । गाउँका गीतामार्गीले समेत मासु खान्छन्, त्यसैले बँदेल खसीभन्दा शुद्ध र राम्रो चिजमा दरिएको छ ।
यो बच्चो चाहिँ छ महिना अगाडि ल्याएर खोरमा हुलिएको हो तर अपेक्षित रुपमा बढेको छैन । घाँसे गोठालाहरूले जंगलवाट पक्रेर ल्याउँदा झण्डै ठूलो मुसाजत्रो थियो । रबिकान्तले साढे चार सय रुपैयाँ गनेर गोठालोसगँ किनेको थियो । यसलाई किन्दा बाँच्छ भन्ने आशा कमै थियो, तर हरहमेसा दूध खुवाएर बँचाएरै छाड्यो ।
त्यति नबढेपनि पहिले ल्याउँदाको अवस्थामा र अहिलेको अवस्थामा बँदेलको स्वास्थ्य स्थिति र स्वरुपमा आनको तान फरक थियो । घरि न घरि मालिक रबिकान्त बँदेलको विषयलाई लिएर गोपेलाई ट्याक ट्याक गरिरहन्छन् । यही सुँगुरको कारणले अपजस खानुपरेपछि यसलाई हाल्दिन्छु मेटासिट दुधमा मिसाएर…………यस्तो सोचेर बँदेल खत्तम गर्न पनि लागेकोथ्यो गोपे ।
फेरि संयम लिएर सोच्यो गोपेले, आखिर क्षणिक आवेशमा आएर बँदेल माँरुला रे । त्यसपछिको परिणाम त ठिक आँउदैन । भेटनरीको डाक्टरलाई बेलाबेलामा बँदेलको स्वास्थ्य जाँच गर्न बोलाई राख्ने रबिकान्ते,झन मरेपछि नल्याउने कुरै हुन्न । ल्याएर जाँच गर्ने बित्तिकै वीष हालेको कुरा प्रमाणित भैहाल्छ । अनि त्यसको परिणाम मैले भोग्नु पर्छ ।
बँदेल मारी दिने झोँक उठ्ने अर्को कारण पचहत्तर काटेर करिबकरिब थला बसिसकेको रबिकान्तको बावुको मायाले गर्दा हो । बँदेलले चाहिँ दिनको चार ट्याम गाईको तातो दूध भेटाउँछ । बिचरा बूढो बिहान फिक्का चिया बेलुका फिक्का चिया पिउँछ । भात खाने वेलामा दाल तरकारीसँग निस्तो गाँस खानुपर्छ । बार्धक्यको शिखरमा जीवनको अन्तिम घडी गनिरहेको वूढाले अरुले दिएको खटाएको गाँस खानु उसको नियति भएको छ ।‘बँदेललाई नभै नभै अरुले दूध खाने होइन’ रविकान्तले घरमा नै यसरी निर्देशन गरेको छ ।
रविकान्तको रवाफले त्यस घरका सबै प्राणी थरथरी काम्छन् । घरको प्रत्येक कुरामा उसको हाइहुकुम चल्छ । वच्चादेखि वूढासम्म उसको अगाडि चुँ वोल्न सक्तैनन् । लाग्छ उसको अगाडि अरु गरुडको छाँया परेको सर्प जस्तो लत्याकलुतुक ओइलाउँछन् । उसको एकल निर्णयले त्यो घर संसार चलेको छ । उसले गरेको निर्णय कसैले काट्न सक्तैनन् । त्यो घर एक्काइसौँ शताब्दीको एउटा ब्यष्टि तानाशाही राज्य जस्तो लाग्छ ।
२
रविकान्तका वृद्ध पिताजी ज्वरोले छोडेर बल्ल तङ्ग्रिएका छन् । नातागतले गर्दा लठ्ठी नटेकी चर्पीसम्म पनि जान सक्तैनन् । पन्ध्रदिन ज्वरो आएकोले मुख मीठो छैन । खानमा त्यति छुद्दे फिरेको छैन तापनि मासुको रस भएचैँ अघाउँजी भात खान्थेकी जस्तो भएको छ ।
इच्छा व्यक्त गर्नुको कुनै अर्थ छैन । त्यसैले चुपचाप दालको रससँग मुस्किलले दुईगाँस भात टिप्छन् ।
‘गोपे! ए गोपे ! कता मरो हँ गोपे !’
‘हजुर मालिक म भान्सामा छु ।’
‘के गर्दैछ हँ यो’
‘हजुरवालाई खाना दिदै छु मालिक’
‘ह्याँ बँदेललाई शिकार ल्याइदेको छु ।बना’र हाल्दे डुँडमा ।’
‘हस् मालिक’ पोलिथिनको शिकार लिएर भित्ताको काँटिमा झुण्ड्याउँछ अनि आगो जोर्न थाल्छ ।
गोपेको मनमा फेरि कुरा खेल्न थाल्छन् –विचरा वूढाले मासुखाने इच्छा राखेको कहिले देखि हो, पूरा हुन सकेको छैन । यो सुँगुरको छाउरो चैँ कत्ति भाग्यमानी । वूढोभन्दा पनि भाग्यमानी । उसजन्ममा हाम्रो मालिकको बाउ नै थियो कि क्या हो यो सुँगुर?
‘यो गोपे वज्या के टोला’र बस्छस् ।’ मालिकको च्याँठिएको आवाजले झसँग बन्छ ।हतरपत्तर खुकुरी झिकेर मासु ठुन्क्याउन थाल्छ ।
राँगाको झण्डै दुई किलोभन्दा बढ्तै मासु;आज बँदेलले खान पाउने भयो । अचेलभरि बँदेलको खान्की दूधवाट मासु र खोलेतिर स्थान्तरणभएको छ । छ महिनासम्म अटुट दूध खायो । छ महिना कटेपछि अब राँगा, भैँसी, गोरुको भेटेसम्म मासु हड्डी दिँदा चाँडो बढ्छ भन्ने मूलमन्त्र रविकान्तलाई थाहा छ ।
त्यसैले हाटखोलामा हटियाको दिन काटिने राँगा भैँसीको सिकार ऊ बँदेललाई टुटाँउदैन । मासुमा लागेपछि बँदेल पनि निकै कुस्तीन थालेको छ ।
चारदिन पाँचदिनमा मासु भेटेन भने अन्य चारो पनि राम्ररी टिप्तैन ।
‘किरियाले मासु खोज्या होला । लेइदिन्छ लेइदिन्छ तेरो वूढो वाउले, नदङ्या ।’ गोपे अनयासै बरबराँउछ । झसँग भएर ओरिपरि पल्याकपुलुक हेर्छ । कोहिपनि नदेखेपछि ढुक्क भएर खिस्स हाँस्छ ।
यस घरमा गोपेलाई नपचेका कुरा कत्ति छन् कत्ति ? तर त्यसको प्रतिवाद गर्न सक्तैन । रविकान्तको इच्छाको प्रतिवाद गर्नु भनेको उसले त्यसघरवाट टिकट काट्नु हो । एक्लै भएको वेला कैल्यै त्यै बँदेलसँग वर्वराएर कहिले गोरुसँग वर्वराएर मनको तितो फाल्छ ।
३
गोरुले खाने ढुटो भुस अचेलभरि बँदेलले खाइदिन थालेको छ । गोरु भने परालको भरमा बाँचेका छन् । ढुटो पाउन्जेल गोरुका पीडाँ कस्ता थिए । अचेलभरि गोरु दिनदिनै दुब्लाउदै गएका छन् । हुन पनि बँदेललाई सात टाइम हेरचाह दिनुपर्छ, गोरुलाई एकटाइम पनि राम्रो छैन । रविकान्तलाई गोरुको कुनै वास्ता छैन । गोरुभन्दा उसलाई बँदेलकै फिकर छ ।
गोपेलाई गोरुको विषयमा कहिल्यै हकारपकार गर्दैन । तर बँदेलको वारेमा दिनमा बारचोटिभन्दा बढी कचकच गर्छ । गोपेको मनमा लाग्छ, यत्रो खेती थाम्ने गोरु चैँ मर्न लाग्या छन् । त्यै सुँगुरको चासो, त्यै सुगुरको चिन्ता । हुन त अधर्मी मोरालाई पापधर्मको के ख्याल होस् । आफ्नो पितृ भएका वाउको त चासो छैन । उसको लागि वावुभन्दा सुँगुरै प्यारो छ ।
‘गोपे ।’
‘ए गोपे ।कहाँ गयो हँ’
‘याँ छु मालिक’
‘के गर्छ हँ त्याँ’
‘गोरुलाई भुसा काट्तै छु ।’
‘बँदेललाई ढूटो दिने वेला भएन ।’
‘ढूटो लगाइसकेँ त मालिक ।’
‘विहान लगाइदेकोले हुन्छ लाटा’
‘भर्खर लगाइदेको’
‘एऽऽ’भन्दै तलामाथि चढ्यो ।
४
ड्डरविकान्तको बाउ पुनःथलिएको दुई हप्ता भयो ।उमेरले पनि उनलाई साथ दिएको छैन ।रातभरि खोक्छन् । जाडो याम परेकोले चीसोको शिकायत अरु वढेको छ । आँखा टोड्का परेर तल काँहा काँहा भासिएका छन् । ती आँखामा सहजै पढ्न सकिन्छ ; जीवनको ज्योति निख्रिँदै गएको छ । अब केही दिनमा उनको नश्वर देह माटोमा मिल्नेछ । उनी जीवनका अन्तिम स्वासहरू मुस्किलले तानिरहेका छन् ।
गहन उदासिनता, निराशा र बाच्नु प्रतिको मोहभोग को स्थिति दुईटा मधुरा निम्न लागेका आँखामा छाम्न सकिन्छ । वुढा अलिक त वाँच्थे होला तर औषधीउपचार र खानाको पर्याप्त सन्तुलन नमिलेकोले अनि यो अवस्थामा पुग्नु नियोजित स्वभाविकता भएको छ ।
उही बँदेलको खोरमा अघिदेखि नै गुन्गुन् आवाज चलिरहेको छ । एउटास्वर त रविकान्तको हो; अर्को अपरीचित आँवाजले रविकान्तसँग सम्वाद गरिरहेको छ ।
‘हजुरको यो खोर उपयुक्त ठाउँमा भएन’
‘के गर्नुपर्छ त ?’
‘यसलाई ऊ त्यता घाम पर्ने पाटोमा सार्नुपर्छ ।’ यो बढी चिस्यान ठाउँ भयो । कम्तिमा न्यानो ठाउ हुन पर्छ ।’
‘म भरे नै सार्न लाइहाल्छु ।’
बँदेललाई खुवाउनु पर्ने खान्कीको एउटा सानो सानो लिस्टनै तयार गरी दियो । बँदेलको फिलमा खाई के जातिको हो दुईवटा सुई पनिलाई दियो ।
बँदेलको स्वास्थ्य जाँच गर्न आएको त्यस मानिस चिया पिएर हिँडेपछि थाहा भयो । ऊ भेटनरीको सुँगुर, वुँगुर, बँदेल विशेषज्ञ रहेछ ।
‘तँ कृया सारै भाग्यमानी रैछस । त्यत्रो डाक्टरले तँलाई जाँचजुँच गरो । निरोगी वनाउने सुई पनि भेटिस् । तँलाई थाहा छ, घरमा वुढाले ओखतीको एउटा गोटी पनि नभेटेर सुँईकुच्चा ठोक्न आटेका छन् ।’
गोपे यतिखेर बँदेलसँग मधुर संवाद गरिरहेको छ । बँदेल पनि भने जस्तो खानी पाएर फट्याकपट्याक कान हल्लाँउदै आफ्नो चुच्चे थुतुनो डुँडमा गाँड्छ । कान हल्लाएको बान्कीले गोपेकोकुरामा मौन या साँकेतिक सहमती जनाएको भान हुन्छ ।
‘तँ सुँगुर हुँनियाकै ठुलो भाग्यमानी…………..?
पछाडि खोकेको आवाजले थरङ्ग हुन्छ । पुलुक्क पछाडि चियाउँदा मालिक रविकान्तलाई देख्छ ।
‘हन के टोलाईराख्या छस् हँ तँ ।’
‘चारो लाइदिएको मालिक’
‘चारो लाएर रुङ्गिराख्नु पर्छ त ?
‘पोखी हाल्छ बसेन भने ।’
घिच्रो तानेर डुँडमातिर हेर्यो अनि थप्यो –‘डुँड अलिक सानो भएछ । यसलाई फेर्नु पर्छ ।’
गोपे नबोली आरी टिपेर घरतिर फक्र्यो । रविकान्त केहीवेर बँदेलको निरीक्षण गरेर त्यतैबाट वजारतिर झर्यो ।
तलमुनिको कोठाबाट एकनाश एउटा मर्धारु ऋावाज आईराख्या छ— हँऽऽ हँऽऽ मरें मरें मरें । खुईयाऽऽखुईयाऽऽ
त्यो आवाजको अन्तरमा एउटा निकट मृत्युको सन्नाटालाई छाम्न सकिन्छ । गोपे हतारहतार तातो पनि लिएर वुढाको कोठातिर लम्किन्छ ।
५
रविकान्तको वाउ बितेको आज पाँच दिन भयो । रविकान्त एक्लो छोरो भएकोले एक्लै कुर िपसेको छ । कहिले छुरा नलगाएको जुल्फी; खौरिएर तालु चिण्डे भएको छ । सेतो धरो बाँधेर टोलाइरहेको छ । पण्डितले आहारविहारका कडा नियम जारी गरेका छन् । जथाभावी हिँडडुल गर्न नहुने, जताभावी चिजविज छुनु नहुने, जो पायो त्योसँग वोलचाल गर्न नहुने र जताभावी हेर्न नहुने कुराले ऊ कष्टप्रद बन्धनमा जेलिएको छ । चञ्चल चित्रको रविकान्तलाई यो स्थिति असहजताको पराकाष्ठा वनेको छ ।
बँदेलको खोरमा नपुगेको पनि पाँचै दिन भएको छ । उसलाई भित्र भित्रै असह्य भएको छ । वस्तुको गोठमा समेत जान प्रतिवन्ध लागेकोले ऊ बँदेलको खोरमा जान सकेको छैन् । सपनामा समेत बँदेललाई देख्यो । सपनामा मरेका वाउलाई पनि देखेन । यस कुराले उसको अन्तर्तहमा बँदेल प्रेम कत्ति मजवुतसँग खिपिएको रहेछ । त्यसलाई सहजै आंकलन गर्न सकिन्छ ।
पण्डित पट्याएको राडीमाथि वसेर दुई घण्टा देखि गरुड पुराण भनिरहेको छन् । उनले नरकका ज्यादै डरलाग्दा रुपहरू को वर्णन गरे ।
सयौं प्रकारका नरकहरू मध्य मुख्य मुख्य एक्काइसवटा महानरकको चर्चा चलाउँदा स्रोताहरूमा छाएको भयातुर मनोदशालाई आँखा र अनुहारमा सजिलै पढ्न सकिन्थ्यो । मृतकको जीवात्माले खतर्नाक बाटार डरलाग्दो वैतरणी नदी पर गरेर यमलोक पुग्नुपर्ने र पाप गर्नेले चौरासी लाख योनी र नरक वास हुनु पर्ने कुराले त कत्ति जना पूरै नसुनी उठेर हिडेँ ।
एक्काइस मध्यका केही महानरकहरू तमिस्र, लोहशङ्कुक महारौरव, महानीरय, अविचि, अन्धतामिस्र, कुम्मीपाकको ब्याख्या हुँदा सुन्दा सुन्दै रविकान्त भुसुक्कै निदायो ।
ऊ गरुड पुराणको आनन्दमा डुवेर निदाएको हो वा त्यसप्रतिको वितृष्णाले हो कसैले अनुमान गर्न सकेनन् । आँखा लोलाएर यस्सो के झकाएको मात्र थियो, उसले एकरिल सपना देख्न भ्याई हाल्यो । बँदेल कत्ति दिन देखि भोकभोकै परेको रहेछ । खान नपाएर आधि नै घटेको रहेछ । बँदेलको त्यो हालत देखेर ऊ गोपेलाई कुटुला र मारुला गर्दैरहेछ ।
सपना सम्झेर मुसुक्क हाँस्यो । अनि अति टाठो भएर गरुड सुन्न थाल्यो । त्यतिनजेलमा पण्डितको पोस्तक पट्याउने वेला भैसक्याथ्यो । पण्डित विदा भए । झ्याकिरीको कर्कश आवाजले संध्याको संकेत दिंदै छ ।
बँदेलको सम्झना असह्य भए पछि राति पिसाव फेर्ने निहु पारेर पिलिपिलि टर्च वालेर ऊ लुसुक्क बँदेलको खोरतिर लाग्यो, धर्ती निचाम्म सुतेको छ । ऊ बँदेलको खोरमा पुगेको दृश्य आकाशका तारा वाहेक अरु कसैले देखेका छैनन् । अँधेरी रातको कालिमा चुक घोप्टेकोभन्दा अघर छ ।
संयोग खोरमा पुगेर टर्च पिलिक्क वालेर बँदेलतिर उज्यालो ताक्न के खोजेको आत्र थ्यो । झ्यापै वुल जल्यो । हातले ठ्याक पार्यो । वल्दै वलेल । रीसले टर्च अध्याँरामा घुँईक्याई दियो । टर्च बँदेलको चल्नीमा वज्रिन पुग्यो ।
‘च्वाँऽऽऽ’ गरेर बँदेल भुक्लुकै ढल्यो । अँधेरी रातमा त्यो दृश्य रविकान्तले देख्न सकेन । उसले बँदेलको आवाजलाई असामान्य रुपमा सोचेन । सामान्य केही भयो होल भन्ने मात्र सोच्यो ।
उसलाई खडर त के भयो भने आफू बँदेलको खोरमा आएको कसैले देख्यो कि ? जुठु वारेको वखत यस्तो काम पनि गर्नुहुन्छ ; यस्तो सोच्यो । अनि दिउँसो सुनेको नरकका दृश्यहरू सम्झेर आफ्ने कुटीतिर फक्र्यो । त्यतिन्जेल बँदेलको अन्तिम प्राणपखेरु उडिसकेको थियो।
पुन्य कार्की
उदयपुर
