Skip to content


भयावह समय तेर्सिएको थियो । जताततै मुखौले कानूनले जरा गाडेको थियो । भन्न पाइन्नथ्यो । सुन्नु मात्र पथ्र्यो । सुन्दासुन्दा कान पाक्थे । जुन प्रश्न सोधिन्थ्यो त्यसकै मात्र सटिक जवाफ पस्कनुपथ्र्यो । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त थियो । मनभरि कुराहरु गुमस्याएर र भित्रभित्रै कुडिएर धर्तिमा पाइला टेक्नुको विकल्प थिएन । मानौं जनताहरु धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरु चाहिँ स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।

तराईको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर किसन किताबका पानाहरु उल्टाइरहेछ । सडक सुनसान छ । एकाध मान्छेहरु साइकल गुडाईरहेका छन् । पैदल यात्रुहरु यात्रामा छन् । यातायातका अन्य साधनहरु रत्तिभर सडकमा देखिदैनन् । चारैतिर बन्दको हल्ला छ । किसनले पनि सुनेको छ– सरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरुप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिदैन । सरकार जनताको आवाज सुन्न तयार हँदैन । कुर्सीको मोह प्रदर्शन मात्र गरिरहन्छ । सनातनी परम्परामा रत्तिभर सुधारको संकेत देखाउँदैन । उल्टै मुलुकमा संकटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतङ्क र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ । किसन किताबका पानातर्फ ध्यान खिच्न खोज्छ तर सक्दैन । उसले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरु अढाई करोड छन् भने धर्ती जलेको तापले तात्तिएका, मात्तिएका, र पात्तिएका मुठ्ठीभर शासकहरु छन् । मुठ्ठीभर शासकहरु र अढाई करोड निमुखाहरु बीचको फरक तुलना गर्नमा नै किसनको ध्यान खिचिन्छ ।

एकाएक किसनको मनमा स्कूल जाने कुरा मनमा आउँछ । साँढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न उसले भुलेको छैन । जताततै बन्द छ , राष्ट्रकै स्पन्दन बन्द छ स्कुलका झ्याल, ढोका बन्द नहुने कारण नै भएन । उसले यही कुरा सोचेर ढिलाई गरेको थियो । एक मनले उसलाई भनिरहेको थियो– शासकहरु चेत्दैनन्, शासितहरु कत्ति जल्नु र पलपल ढलपल भइरहनु ! आफ्ना हक अधिकार र स्वाधिनताका लागि नेतृत्व दिन सकिन्न भने पनि नेतृत्व दिनेको छहारीमा बस्न कन्जुस्याइँ गर्नहुन्न ।

मनभरि कुराहरु खेलाउँदै किसनका पाइलाहरु स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर उसको कानमा ठोक्किन पुग्छ –“सर ! किसन सर, भाग्नुस् । यो शहरबाटै भाग्नुस् । सेनाले स्कूल घेरेको छ । तपाईलाई खोजिरहेछ । मलाई तपाईलाई बोलाउन पठाएको हो । तपाई भाग्नु भयो भने मैले सरलाई भेटिन भनिदिन्छु । तपाईँ बच्नुहुन्छ । कृपया भाग्नुस् ।” सहकर्मी शिक्षकको कुराले उसको मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हून्छ । समयलाई अंगाल्नु नै थियो । उसले भाग्ने कुरालाई रत्तिभर पचाउन सकेन । उसका पाइला अझ छिटोछिटो स्कूलतर्फ लम्किए ।

क्षणभरमै ऊ स्कूल पुग्यो । सैनिक मेजर फउण्डर सरलाई केरकार गर्दै रहेछन् ।

–आज स्कूल किन बन्द ?

–स्कूल बन्द छैन, सरहरु–मिसहरु हुनुहुन्छ । विद्यार्थीहरु चाहिँ आएकै छैनन् ।

–उसो भए तपाईँको किसन सर खोई ? किन भगाउनु भयो ?

–भगाएको छैन, भगाउनु पर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला ।

–किसनको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।

“सर नियमित स्कुल आउँनुहुन्छ । लगातार ५ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रुपमा गनिनुहुन्छ । मर्यादित कुरो गर्नुहुन्छ । यस वाहेक कुनै कुरा उहाँको बारेमा अरु छैन ।” फाउण्डर सरको कुरा सकिना साथ मेजरको नजर किसन माथि पर्यो । उनी भन्न थाले, “उसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतीले अर्थोक केही गर्छु । बुझ्नुभो ?” फाउण्डर सर अक्कनबक्क परे । हेडम्याडमले घृर्णित नजर मेजर तर्फ फ्याक्दै मुख खोलिन्, “किसन सर पनि आइपुग्नुभएछ । जे सोध्नुछ यहीँ सोध्दा भै गयो नि । शिक्षकलाई बाहिर लग्ने कुरा नगर्नुस् ।”

“कुन कुरा मिल्छ, कुन कुरा मिल्दैन । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमका भाँजो हाल्ने काम गर्नु भयो भने बुझ्नुस् । तपाईँहरुले पनि मतियारको रुपमा दर्ता हुनुपर्छ । यो संकटकाल हो । यसबेला हक अधिकारको वकालत नगर्नुस् । यो सकटकाल निम्त्याउने तपाईँकै किसन सर जस्ता बुझ्झक्कडहरु हुनुहुन्छ । बुझ्नुभो ?” मेजरले कुरो टुङ्गयाए ।

किसनलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि ५,६ जना सैनिक जवानहरु छन् । सैनिक गाडीमा किसनलाई अगाडि बसाइन्छ । अरु सबै सैनिक जवानहरु गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रुपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा, घरका छतमा विद्यार्थी, अभिभावक र अन्य शुभेच्छुकहरु कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरु, आशंकाहरु जन्मिरहन्छन् ।

किसन अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्थ्यो, वरपरको दृश्यको अवलोकन गर्दथ्यो । करिव १० मिनेटको यात्रापछि मेजरले यात्रा मन्द पारे । प्रश्नको थुप्रो ठड्याउन थाले । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरह्यो । उत्तर पनि गइरह्यो । मन्दगतिमै यात्रा पनि अघि बढिरह्यो । त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भने, “हेर्नुस् किसन सर ! तपाईँहरु जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँध्एिको मान्छे हुँ । राष्ट्रका सिन्दूर पहिरेको छु । माथिका मनोकांक्षालाई बुझेर मैले काम फत्ते गनुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानव मन हो । वाध्यतावस् यो मनलाई पथ्थरको मनमा परिणत गर्न नलगाउँनुस् । चाँडै सत्य बक्नुस् । तपाइँ कुन पदमा बसेर काम गर्नुहुन्छ ? तपाईँका हेड कमाण्डरहरु र सहयोगीहरु कुन ठाउँमा बसेर काम गर्नुहुन्छ ? सबै नालिबेली बताउनुस् । नत्र पथ्थर मनले नामोनिसान मेट्न सक्छ ।

मेजरका कुराले किसनको मथिङ्गल रन्थनियो । उसका आँखाका सपनाहरु एकाएक च्यातिन थाले । ओठ तालु जम्मै सुक्न थाले । गरुडपुराणमा वर्णित रौरव नरकको नालिबेली उसले सम्झ्यो । पढेको कुरा यथार्थमा परिणत भएको आभाष भयो । त्यही विभत्सकारी दृश्यहरु दोहोरिदै गएर आफूकहाँ आइपुगेको आभाष भयो उसलाई । ऊ मृत्युको भयले असाध्यै विचलित भयो । ऊ आफ्नो भूत, वर्तमान सम्झन थाल्यो । भविष्य विहीन रुपमा आफू दुई दिने पाहुनाको रुपमा मेजरको सामु उपस्थित भएको ठान्यो । मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्यो, “किसनजी, हतास नबन्नुस् । सास रहेसम्म आश गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन, सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ, राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सबालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रुपमा उपस्थित हुनेछु ।”

मेजरले उसलाई सकेजति नचाउन खोजे , तड्पाउन खोजे । ऊ भने चुप नै रह्यो । तेजविहीन, उत्साह विहीन मात्रै हैन ज्यान विहीन स्वरुपझै उसको शरीर देखियो । किसनको मौनतालाई चिर्दै मेजर नै अघि सरे, “किसनजी, निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरु हुन्थे । यत्रो उमेर कसरी एकलरुपमा विताउन सक्नुभएको हो ? सडकमा हिँड्ने राम्रा तरुणी देख्नासाथ तरुणो मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुणीबाट धोका खाएको बबुरो हुनुहुन्छ ?”

यस्तो अनावश्यक प्रश्नले किसनलाई अचम्भित पार्यो । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरु बुझ्न खोजिरहेछन् भन्ने कुरा किसनले बुझ्न सकेन । ऊ अझै मौन भयो । मेजर एकोहोरो बोल्दै गए, “म मात्र बोल्ने, तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापी हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाई पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट चोखिनुहुन्न । जो दोषी छ, जो कलंकित छ, उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छु सत्य बक्नुस् । यो संकटकाल छोट्याउन मद्दत गर्नुस् ।”

किसनलार्ई खपिनसक्नु भयो । ऊ अब मुख नखोलीकन थेगिने अवस्थामा रहेन । उसका मुखबाट पनि आक्रोुशका झिल्का देखिन थाले, “मलाई तपाईँ जे भन्नुस्, जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम, बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवि हुँ । कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षण्प्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने, न्यायमा विश्वास राख्ने र प्रगतिशिल समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोशिस गर्यो होला । त्यो तपाईँहरुले नै ठम्याउनु भएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस्, मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले (वा अरुले) नै समाजका निम्ति पच्य काम गरेँभने तपाईँ समर्थन गर्नुहोला । यस्ता कुरा बाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै, प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नु बाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरुले स्वच्छ, हराभरा, सुखी, शान्ति र प्रगतिन्नोमुख समाजको निर्माण बाहेक अर्थोकको चाहना राखेका छैनन् । समाजमा व्याप्त विकृति, विसंगति र पूरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने ? हेर्नुस्, मेजर साहव, म मात्र भुसुनो हुँ, म मान्छे बन्न लालायित भुसुनो मात्र हँु । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहाना संगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रुपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस्– मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर, बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस्, मैले २८ वर्षे जीवन विताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यत्तिञ्जेलसम्म म न घर भित्रकाको भएको छु, न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनोले राष्ट्रलाई संकटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैन , म असाध्यै डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउँनुस् । मलाई राष्ट्रको कलंकको टीकोको रुपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाई तड्पाई नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ , एकै पटक मर्नु बरु सुखदायक हुँदो हो ।”

उसको लामो कथनपछि मेजर तीन छक्क परे । चुपचाप रहे । किसनले पनि आफ्ना कुरा माथि परेको अनुभव गर्यो र पुनः मुख खोल्यो–“तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीमा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउँनुस् र मलाई आफ्नै सार्वजनिक जीवन विताउन दिनुस् । म अर्थोक….।” उसका कुरा टुङ्गिन नपाउदै मेजरले गाडी किनारामा अड्याए र कुर्लन थाले, “ए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनु भएको । याद गर्नुस्– म मूर्ख हैन । मूर्ख त तपाईँहरु जस्तै व्यक्ति हुनुहुन्छ । २०, २२ जना विद्वान् शिक्षक, शिक्षिकाहरु मध्ये तपाईँलाई चुनेर ल्याउँनु मेरो रहर हो ? तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा शहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ ? म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुर्याउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरु धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झुटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन, उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस्, सुकरातले सत्य बकेर र सत्यकै लागि हेमलेट नामक विष पियर मृत्यु वरण गरेका थिए । त्यसैले पो उनको नाम संसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।”

मेजर आफना तर्कहरु राख्दा भए । किसन पनि आफना मतले आफू निष्कलंकित भएको पुष्टि गर्दो भयो । करिब ४ घण्टे प्रश्नोत्तर पछि मेजर गाडी लिएर किसनको डेरामा पुगे । बाकस खोलियो, ट्रङ्क उघारियो । एक एक किताब, कापी, पत्रिकाहरु उल्टाइए । ओछ्यानमुनि भएका कागजपत्रहरु खोतलखातल पारियो र ५ धोक्राहरु ठड्याइए । ती धोक्राहरुमा खाली किताब, कापी र पत्रिकाहरु मात्र थिए । तिनमा पनि कुनै किसन आफैले लेखिसकेका कापीहरु थिए, कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपीहरु थिए, कुनै आफ्ना रचनाहरु प्रकाशित भएका पत्रिकाहरु थिए तर धेरै जसो आई.ए., बी ए., एम.ए. र शाखा अधिकृत परीक्षाका निम्ति संकलित पुस्तकहरु थिए । एकाध पुस्तकहरु मात्र कम्युनिष्ट पार्टी र नेताहरुका बारेमा थिए । ती पुस्तकहरुमा पनि धेरै जसो साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरु थिए । सैनिक जवानहरु यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्दै थिए । किसनको असहमतीका कारणले केही पुस्तकहरु छाडिए । आखिरमा किसनलाई पुर्याइयो, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा ।

सानो कोठा । १५ जना मुस्किलले सुत्न हुने कोठा । कल त्यहीँ, ट्वाइलेट त्यहीँ जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्चाएको थियो । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने भयो उसलाई । पडका पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरुदेखि लिएर नाती भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ थिए । पक्राउ गर्नु परेपछि खान, बस्न र सुत्न दिनुपर्छ तर ती कुनै कुराहरु पनि त्यहाँ उपलब्ध थिएनन् । मानव अधिकारकर्मीहरु त्यहाँको बिजोग हेर्न कहिल्यै पुगेनछन् । उसले पनि मान्छेको दशा नजिकैबाट हेर्न पायो । प्रायः जसो सबै कैदीका शरीरभरि निलडाम थिए । अर्को कोठामा महिलाहरु थुनिएका थिए । उनीहरुका औंलाका नङहरु उक्काइएका थिए । हाम्रो हविगत यस्तो बनाए , हेर्नुस् न भन्दै उनीहरु रोइरहेका थिए । महिलाहरुमा धेरैजसो थारु समूदायका थिए । जताततै विजोग वाहेक अर्थोक हेर्न, बुझ्न र सुन्न पाइने अवस्था नै थिएन । प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँथ्यो किसन पनि । दिनहरु पनि उस्तै नमीठो तवरले वित्थे । कैदी कोठा बाहिरका कसैले बोलाई हाल्यो भने पनि भन्ने गथ्र्यो, “ए आतङ्ककारी ! खुब पुलिस, सेना मारिस् हैन, बाहिर ? अब भित्रभित्रै मर्ने पालो तेरो ।”

एक रात १२ बजे किसन डाकियो । सोधपुछ, केरकार गरियो । आतङ्ककारी हुँ, आतङ्कक मच्चाउँदै हिँडेँ भन्न कर गरियो । किसनको मनले मानेन । उसले ठाडै भन्दियो, “म मेरो मनले नस्विकारेको कुरा भन्न सक्तिन ।” उसको शब्दकोषमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन्, उनीहरु राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने थियो । ऊ आफूलाई सचेत नागरिक भन्न मन पराउँथ्यो, मुलुकको कुभलो चिताउने नागरिक कदापी हैन । दिनरात सोधपुछको कार्यक्रम भई नै रह्यो । प्रश्नहरु नाना थरीका हुन्थे तर उसको जवाफ एकै थरीको हुन्थ्यो । “आस्था मर्दैन, विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरु असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरु आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।” किसन बेलाबखत यिनै कुराहरु दोहोर्याउँथ्यो ।

पाँच दिनपछि किसन मुक्त भयो तर उसका प्रमाणपत्रहरु मुक्त भएनन् । हप्ता दिन नवित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भने,“ विद्वान् मान्छे भएर पनि विश्वले नै आतङ्ककारीको सूचिमा सूचिकृत गरेको माओवादी संगठनको छहारीमा बस्नुहुन्छ ? त्यस्ता विनासकलाई मलजल पुर्याउँनुहुन्छ ? तपाईँ र तपाईँको संगठन दिवास्पना देखिरहेछ । यो साँढेको राजखानी लिने दाउ तपाईँहरुको हो । यसका लागि ५ वटा घेरा तोड्नुपर्छ । एउटा, दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपथ पछि पर्ला, सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही विगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरुले सैनिकलाई हराएर राज्य कब्जा गरेका छन् ? त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउँनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरुका हरेक आतङ्ककारी गतिविधिहरु निर्मूल गरौँ ।”

मेजर बोल्दाबोल्दा थाके र उसलाई बोल्न कर गरे । उसले उही पुरानो भनाइ दोहर्यायो । अरु केही बोलेन । दुई घण्टे बसाइलाई उसले टुङ्गयाउन चाह्यो । मेजरको पनि मुण्टो हल्लियो । केही प्रमाणपत्रहरु उसले फिर्ता पायो । अहिले आएर किसन सोच्दै छ– जनमतका अघि सारा शक्ति र अहम्ताहरु निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरु, उसका हरेक मतियारहरु र उसका गार्डहरु पनि मुर्छित हुँदै जाँदा रहेछन्, ढल्दै जाँदा रहेछन् ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *