एक्लै एक्लै बर्बराउन थालेको छु
जसलाई देखे पनि मुर्मुराउन थालेको छु
टाइफायडले मेरो मस्तिष्क विकृत बनाएछ कि
आमा ! कतै म पागल त भइन ?
नयाँ नयाँ जोगीले झैं धेरै खरानी घस्न मन लाग्छ
आजभोलि खोइ कहाँ पाउनु खरानी
आफ्नै घर डढाउन मन लाग्छ
अथवा
चिता दन्केको देखेर खुशीले नाच्न मन लाग्छ
आमा ! कतै म पागल त भइन ?
पाएसम्म बन्दुक खुकुरी
नपाए ढुङ्गा टिपेर हान्न मन लाग्छ
दया करुणा र सम्बेदनाहरू
चिताको आगोमा पोलेर
सुकुटी झैं चपाउन मन लाग्छ
विरोधीको रगत
रेड लेबल ह्विस्की झैँ पिउन मन लाग्छ
आमा ! कतै म पागल त भइन ?
बिरोधका स्वरहरू सुन्ने सक्तीन
घृणा र आक्रोश मन भरि छाउँछ
लोकतन्त्र शब्द एलर्जी भएको छ मलाई
मस्तिष्क चिलाउँछ
वार्ता संवाद र सहमति शब्दहरूले ज्वरो निकाल्छ
लासको छाती टेकेर अट्टहास गर्ने
अधिनायकवादी गीत
यति बिघ्न मिठो किन सुनिन्छ
आमा ! कतै म पागल त भइन ?
