उसको कुरा गर्ने शैली बौलाहारुपी भए पनि तार्किक कुरा मात्रै गर्दथ्यो । बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन ऊ । धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव । कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता भएको ऊ । उसका विचारहरू कुनै पनि कोणबाट असान्दर्भिक हुदैन थिए तर पनि ऊ यस समाजको तिरस्कृत पात्र नै रह्यो मैले देखेसम्म । मान्छे उसलाई घृणा गर्दथे । शायद उसको पहिरन अस्वभाविक किसिमको भएर होला या त उसको शरीरबाट एकदमै नराम्रो गन्ध आउँथ्यो ।
आज उसका धमिला, मैला पहिरन अनि तिरस्कृत मानिने अनुहार स्मरणका प्रिय विषय बनेका छन् मेरो निम्ति । ज्यादै एक्लोपनको आभास गराएको छ उसको अभावले । उसको पुनरागमनको असफल कामना गर्दैछु । उसले उसको फोहोर हातले लेखेर दिएका जीवनदर्शनरुपी लेखहरू बारम्बार पढ्दैछु ।
आजभन्दा करिब डेढ वर्षअघि एउटा चिया पसलमा देखेको थिए उसलाई । धेरै घिन लागेको थियो उसको म तर्फ टास्सिएर बस्ने प्रयास । माग्ने ठानेर पाँच रुपैया हातनेर फालेको थिए पर जाऊ भन्दै । उसको प्रतिक्रिया देखेर अवाक् भए त्यसबेला ।
“दिनभरि गरेको श्रमको पैसाले चिया किनेर खा न । किन मलाई दिन्छस्? अलि उता जा ।”
ऊ पनि खाजा अथवा चिया खानको लागि आएको रहेछ । हेर्दा भिखारी झै लागेको थियो । पछि आत्मग्लानि भयो । उसको शरीरबाट पसिनाको दुर्गन्ध आइरहेथ्यो । मलाई साह्रै असह्य भयो । तापनि सहेर बसिरहे । ऊ छेउमा थियो । निस्किनको लागि उसलाई उठाउनु जरुरी थियो त्यसैले विकल्प अरु देखिन । गोजीवाट उसले पट्याएर राखेको पत्रिका निकाल्यो । चिया पिउदै पत्रिका पल्टाउन थाल्यो । सोझै विचारपृष्ठमा घोरिन थाल्यो । उसको गतिविधि हेरिरहे । बडो एकाग्र भएर सम्पादकिय, विचार, लेखहरू पढ्दै थियो । ठ्याक्कै मेरो झै रुची । अरु समाचारहरू शीर्षकमात्र सरसर्ती हेर्दै मुख बिगार्दै थियो । मलाई उसको क्रियाकलाप मन पर्यो । पत्रिका पढ्ने शैली, अखबारका विषय अनि पृष्ठ छनौट मेरो जस्तै रहेछ । ऊसँग चिनाजानी गर्ने इच्छा जाग्यो । अघिसम्म उसका शरीरबाट निस्केका दुर्गन्ध अहिले महशुस भएन । उसका हेर्दै टिठलाग्दो पहिरनप्रति कुनै वितृष्णा रहेन । शायद मान्छेको स्वभाव यस्तै हुन्छ । आफ्नो चाह रहेको चिजको नकरात्मकताले कुनै असर नपार्ने । त्यसका राम्रा पक्ष मात्र औल्याउँछौ हामी ।
“तपाईको नाम के होला, जान्न सक्छु?” मैले नम्र भावमा सोधे ।
“नाम र पहिचान जानेर के गर्छस्? आफ्नो कामँग वास्ता राख । बेकारको सम्बन्ध बढाउनुको कुनै अर्थ छैन ।”
उसको कठोर जवाफ सुनेर साह्रै रिस उठ्यो । यस्ता बौलाहासँग शत्रुता बढाएर पनि के फाईदा भनेर चुप लागे त्यसक्षण ।
“के म निस्किन सक्छु, महाशय?” आफूभित्र उम्लिरहेको क्रोध दबाउने प्रयास गर्दै भने । शालीन मुस्कान फर्काएर उसले बाटो छोड्यो । कस्तो विचित्रको मान्छे रहेछ । यस्ताको बारेमा दिमाग खेलाएर मस्तिष्क थकाउनु उचित लागेन । आफ्नो डेरातिर लागे ।
दुईतीन दिन त्यस चिया पसल नपसी सिधै कोठा आउने गरे । चौथौ दिन साह्रै चियाको तलतल लागेर अफिसबाट फर्किदा छिरे सोही पसलमा । टेबलमा बसेको मात्र के थिए, त्यही विचित्रको मान्छे छिर्यो । छेउको टेबलमा बसिरहेको एउटा भर्खरको केटो बोल्यो “साहुनी, एउटा अर्को पनि चिया बनाउनुस त त्यो माग्नेको लागि ।”
केटाले चुरोटको धुवा अस्वभाविक तरिकाले उडाउदै शानका साथ भन्दै थियो । त्यो मान्छे सरासर ऊ भए छेउ आइपुग्यो ।
“साले तँ जस्तो फटाहाले चिया खुवाउँछ कि भनेर यहाँ ढुक्न आको’ जस्तो लाग्छ? बाउको पसिना चुसेर ल्याएको पैसाको चिया खान्छु म? आफै कर्म गर्छु । आफ्नो लागि आफै बाच्छु । तिमीहरू जस्तो बाउआमाको रगत सोस्ने मान्छे होइन म ।” ऊ साह्रै क्रोधित देखिन्थ्यो त्यसबखत । उसका विचार, बोली फेरि पनि प्रिय लाग्यो ।
आज पनि अलि पर जा भन्दै मसँगै बस्न आयो । फेरि उही शैली । ऊ पत्रिका हेर्दै थियो । म उसलाई नै नियाल्न लागे । साच्चै ऊ माग्ने पक्कै होइन । ऊ कतै ग्रील कारखानामा काम गर्छ भनी अनुमान गरे । हो, मेरो अड्कल सही थियो । उसका कपडामा फलामका खिया र ‘वेल्डिङ’ गर्दा परेका छिद्राहरू प्रशस्त थिए ।
“यो अन्तर्वार्ता पढिस् तैले?” ऊ मलाई सोध्दै थियो । म झसङ्ग भए । मैले मित्रता गाँस्न खोज्दा झपार्ने मान्छेले आज यसरी मसँग कुरा गर्ला भन्ने मैले सोचेको थिइन ।
“मैले घुस खाएकै छैन रे । नैतिकता हराएपछि जे बोले पनि हुने रहेछ आजका मान्छेले । देशको जिम्मेवार मानिस यसरी गिरेपछि राष्ट्रको गति कस्तो हुन्छ? सम्पूर्ण प्रमाणका साथ पर्दाफास भइसक्दा पनि कुनै हिनताबोध छैन साले कुकुरलाई । सारा सम्पत्ति, विदेशी बैंकको खातामा राखिएको नगद, ठाउँठाउँमा भएको जग्गा, तीनवटा महल सबै पुर्ख्यौली धन रे । यसका पुर्खा कुन विकट ठाउँमा दश नङ्ग्रा खियाउँथे होलान् । मिथ्या धनले पुर्न खोज्छ मरिसकेकाहरूलाई । विलिन आत्माहरूलाई । आत्मग्लानि पटक्कै छैन । यसका सन्तानले कस्तो शिक्षा लिने अपराधी बाबुबाट? यस्तै विकृति, विसङ्गतिले असमानता र विभाजन जन्मन्छ । परिणाम के त? द्वन्द चर्कन्छ बुझिस ‘कन्फ्लिक्ट’ । देश टुक्राउँछन् यिनीहरूले हेर्दै जा ।” उसका यथार्थपरक कुराले म भावुक हुन पुगे । उसका वचन सम्मानयोग्य लाग्यो । बाहिरबाट फोहोर देखिए पनि ऊ एक स्वच्छ मानव थियो । अरुद्वारा अस्विकृत भए पनि मेरो अन्तरमनले उसलाई सम्मानित पात्रको रुपमा लियो ।
त्यसपछिका साझहरूमा हाम्रो भेट हुने गर्न थाल्यो चिया पसलमा । नियमितरुपमा हामी साझ ६ बजे त्यही भेट्थ्यौ । चियाको पैसा सधै आफ्नो आफैले तिर्नुपर्ने नियम राखेको थियो उसले । न मेरो तर्फबाट कुनैदिन चिया खुवाए न त उसले नै आग्रह गर्यो । हामी देशको राजनैतिक स्थिति, सामाजिक परिवर्तनप्रति विचार विमर्श गर्थ्यौ । उसका तर्कहरू समयसान्दर्भिक हुन्थे । उसलाई म मित्र भनी बोलाउथे । उसले आफ्नो नाम भनेको थिएन । आजसम्म पनि उसको नाम मलाई थाहा छैन । ऊ कहिल्यै आफ्नो जीवनको बारेमा भन्दैनथियो । तर म सधै उत्सुक रहे उसको बारेमा जान्न । एकदिन साह्रै जिद्धि गरेपछि उसले मेरो अनुरोध स्विकार्यो । भन्यो “तँ मलाई ठिक लाग्छ । मेरो बारेमा जान्नु म आवश्यक देख्दिन । म कुनै प्रसिद्धि कमाएको प्रतिष्ठित मान्छे त होइन । तैले लहड गरिस र मात्रै । नत्र मलाई आफ्नो जीवनमा घटित व्यथाहरू सुनाउदै हिड्ने रहर छैन ।”
“मेरो जन्म सुर्खेतमा भएको हो । परिवारको मायाले सुखमा हुर्किए । पढ्नमा जेहेन्दार थिए । एस.एल.सी. पास गरेपश्चात काठमाडौँ पढ्न आए । सरकारी क्याम्पसमा परिवारले पठाइदिने पैसाले पढ्दै गरे राम्रैसँग । अलिपछि आफै पनि सानोतिनो काम गर्न थाले । समाजशास्त्र तथा मानवशास्त्रमा डिग्री गरेको छु । पढाइसकेर गैर सरकारी संस्थामा जागिर खान थाले । कमाइ राम्रो थियो अनि जीवन राम्रैसँग चलेको थियो । अचानक एकदिन गाउँमा पहिरो गयो । त्यसमा मेरो घरपरिवार सबै सिध्धिए । धेरै दु:ख लाग्यो । दुखी हुनु शिवाय अरु केही गर्न सकिएन । एउटीसँग तीन वर्षपछि बिहे भयो । प्रेम विवाह भनौ । त्यसले पनि छाडेर गई । बहुला जस्तो भएर हिड्न थाले । जागिर पनि छाडिदिए । रक्सी खाएर लडि हिड्न सुरु गरे । स्मृतिपटमा त्यो पहिरो अनि पोइल गएकी स्वास्नीको झल्को आइरहन्थ्यो । शायद सहनशीलता विकराल रहेछ ममा । बिस्तारै सम्हालिदै गए । भक्तराज आचार्यको गीत सुन्थे
‘हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ’
साच्चै सपना त हजारौ हुन्छन् । एकदुई सपना तुहिदैमा जिजीविषा लत्याउने कुरा त भएन । एकाध सपना हराए पनि बाकी तमाम सपनाहरूको मायाले बाच्ने रहर जाग्दोरहेछ बुझिस् । आज हेर् मलाई । जीवन बाचिरहेकै छु । खुशी छु आफैसँग । पसिना बगाउँछु, दुई छाक मेहेनतले खान्छु । आङ नाङ्गो राखेको छैन । यति हो मेरो जीवन, ल म गए । त पनि जा ।” यति भनेर मित्र हिड्यो ।
मलाई धेरै दु:ख लाग्यो उसलाई नियतिले गरेको प्रहार सुनेर । उसका विचार सम्झदै शान्त हुने कोसिस गरे । ऊ खुशी छ त मैले ऊप्रति दयावान विचार पालेर शोक लिएर के अर्थ रहन्छ? म जस्तै बाच्नका लागि ऊ पनि संघर्ष गर्छ । फरक यति हो ऊ मभन्दा कडा परिश्रम गर्छ । सुकिलो कपडा लगाउदैन । उसको पसिना गन्हाउँछ । त्यही पसिनाले गर्दा हातमुख जोड्छ भने किन घृणा गर्छन् मान्छेहरू । उसलाई त्यस्ता घृणा र तिरस्कार भरिएका नजरप्रति कुनै वास्ता छैन । कति निश्छल छ मित्रको मन । लाग्छ, कुनै किसिमको जटिलता नरहेको शान्त जीवन । खोक्रो आडम्बर अँगाल्दै धाक लगाउँदै असत् जीवन बाचेर आफैलाई ढाटेर हिड्छन आजका मान्छे । ऊ ठिक विपरित बाचिदिन्छ ।
कोठाछेउकी डेरावालसँग नजर जुध्थ्यो कहिलेकाही । एकदिन ठाडै प्रेमपत्र थमाएर थमाएर भागी । मलाई मन पराउँदिरहिछ । राम्री त मलाई पनि लाग्थ्यो पहिलेदेखि नै । ता पनि त्यस्ता संवेगहरू सल्बलाएनन् । न त कुनै मोह नै थियो उसको सुन्दरताको । पत्र सरसर्ती पढे । केही गम्भीरझै भए । निर्णय केही लिन सकिन । बेलुका मित्रसँग सल्लाह गरे । सुझावको अपेक्षा राखेको थिए । ऊ खित्का छाडेर हाँस्यो पहेलो दात देखाउदै । व्यर्थै भनेछु यसलाई जस्तो लाग्यो एकक्षण ।
“अनि त्यो केटीप्रतिको धारणा के छ? त्यो केटीको बारेमा के जान्दछस्?” मित्रले मलाई पो प्रश्न गर्यो ।
“हेर्दामा केटी राम्री छे । रुपवान छे । हिड्ने शैली भुतुक्कै पार्ने खालको छ । तर हिजोसम्म कुनै भाव थिएन ऊ प्रति । देखेर पनि नचिने झै लाग्थ्यो । आज ख्याल भयो मनका कुरा ।” आफ्नो त्यो केटीप्रतिको हेराई उसलाई भनिदिए ।
“तँ भित्र वासना शिवाय केहीरहेनछ त्यो केटीप्रति । तैले प्रेम गर्न सक्दैनस त्यसलाई, खाली भोग्न सक्छस् । सुन्दर छे भन्छस् । कुरुप भएकी भए तैले यो पत्र पहिल्यै च्यात्ने थिइस । मलाई अवगत गराउने थिइनस । तेरो यो चञ्चलता देख्ने थिइन मैले । तँ भित्र एउटा पशु अँझै जीवित रहेछ ।” उसले कुराले नै मेरो एउटा विकार निकालिदियो । एकतमास रुपले भएको आभास भयो । साच्चै खराब नियतको त म पनिरहेछु । त्यो केटी भर्खरकी । पढ्दै गरेकी । मानसिक उथलपुथल अनि झिनो आकर्षणले प्रताडित । म त्यो उमेर पार गरिसकेको मान्छे । तर पनि आफै भास्सिने सुरमा थिए । आफैदेखि घृणा लाग्यो एक हिसाबले ।
सो केटीलाई त्यस्तो केही जवाफ दिइन । अँझ भनौ उसको अगाडि नै परिन कति दिनसम्म । पछि एकदुई फेर झुक्किएर जम्काभेट भयो । उसले कुनै प्रतिक्रिया जनाइन । मित्रले भने झै क्षणिक आकर्षण शिवाय केहिरहेनछ । ऊ पूर्णतया सामान्य थिई । न कुनै अस्विकृतिको पीडा न त प्रत्युत्तरको अपेक्षा । मित्र यस्तै कारणले मेरो प्रिय पात्र थियो । जीवनका हरेक भोगाई ऊ बुझ्न सक्थ्यो । परिस्थितिसँग जुध्न ऊ सक्षम थियो ।
त्यसपछि कोही केटीप्रति अनावश्यक मोह जागेन । सम्मानित हिस्सा हुन् नारी, यस जगतको भन्ने बुझे । नारीको महत्त्व के कतिरहन्छ एउटा पुरुषको जीवनमा, ती सब सब कुराहरू मित्रबाट बुझ्ने अवसर पाए । यसको मतलव जीवनर ब्रह्मचारी भएर बस्नु होइन । बस्, नारीको इज्जत गर्न, अनावश्यक तृष्णा नपाल्न जाने । कुन चाहि पुरुष असामान्य अवस्था बाहेकको स्थितिमा नारी बेगर रहन सक्छ र? त्यसैले आफ्नै अफिसकी सहपाठीसँग प्रेम गरे । ऊ योग्य थिई । उमेरले योग्य अनि जीवन बाच्न सक्ने साहस भएकी । ऊ पनि कमाउथी, मेरो भरमा बाच्ने परनिर्भर हुन चाहन्नथी । सम्पूर्ण गुण प्रिय लागेर बिहे गरे ।
बिहेमा निम्त्याइएका सबै आए तर मेरो विशेष प्रतिक्षित मित्र आएन । आउदै आएन । धेरै कुरा जितेको भानमा थिए म । उसको अनागमनले आफूलाई रित्तो महशुस गरे । आश सँगालिरहे तर आशा निराशामै मिसिन तत्पर रहे । दबिएका आशा डेढ वर्षसम्म संचित राखेको छु आजसम्म । धेरै कुराहरू परिवर्तनतर्फ अग्रसर भए पनि ती आशाहरू विलिन हुन चाहेनन् । सामाजिक रुपमा वा दृश्यात्मक हिसाबले उच्च सफलता हासिल नगरे पनि परोक्ष रुपमा पाएको सुक्ष्म सफलताहरूमा सन्तुष्ट हुन सिकेको थिए मित्रबाट । त्यसैले त म जीवनप्रति एकदमै सन्तुष्ट हुन सके । जीवनप्रति केही गुनासो रहेको छैन । मात्र एउटा चाहनाको जागरण भइरहन्छ बेलाबेलामा । तब आशाहरू विलिनताको घेरा तोडेर म सामू यावत प्रश्न बनी तेर्सिन्छन् । यसरी मित्रको सम्झनामा उसका चिनोरुपी लिपीहरू पढ्ने गर्छु । उसलाई देख्न, हेर्न तीव्र इच्छा जाग्छ । उसका तस्विरसम्म हेरेर पनि धोको पुर्याउन सक्दिन । उसले कुनै दिन तस्विर खिचेन । मैले पनि कुनै दिन एउटा फोटो लिउ भनी आग्रह गरे ।
त्यो परिचयस्थल अर्थात चिया पसल दिनको दुई पटकसम्म धाउथे । डेढ वर्षसम्म ऊ त्यहाँ मलाई भेट्न नभए पनि चियाको निम्ति पनि आएन । सोधखोज गर्ने कोसिस गरिन । उपेक्षित थियो ऊ अरुको निम्ति । एकदम घृणित । आफै धाउथे चिया पसल । एकदिन साह्रै गाह्रो मान्दै साहुनीलाई उसको बारेमा केही थाहा छ कि भनेर सोधे । कुनै त्यस्तो उत्तर पाउन सकिन, जसले मेरो व्यग्र आशाले फल पाउन सक्थ्यो । उसलाई देख्ने, भेट्ने कुनै उपायहरू बाकी थिएन । छैन । तापनि आजसम्म चियापसल बिहान बेलुका धाउन भने छाडेको छैन ।
बिकास घिमिरे
