वाजले डाँफेको शिकार गर्छ, सिंहले गाईको
श्रमिकले श्रमको पूजा गर्छ, बुद्धिजीवीले टाईको
पतित मान्छे सत्ता र सम्पति प्राप्तिका लागि
बंश बिनास गर्छ, आफ्नै दाजु र भाइको ।
मुसाहरू कानूनमा दुलो खनेर भ्रष्टाचारको जालो बुन्छन्
तल माथि भाग पुर्याएर सबलाई आफन्त तुल्याउँछन्
चमत्कारिक छ उनीहरूको कार्य शैली, महाशय
समुहको वफादारलाई निर्णायक तहमा पुर्याउँछन् ।
भनिन्छ नेपालमा जलस्रोतको थुप्रै संजाल छ
कति चाहिन्छ नदी नाला यहाँ फालाफाल छ
देशको उद्योग धन्दा धरासायी भयो भनेर केको चिन्ता
लोडशेडिङ्गले मोमबत्ती उद्योग मालामाल छ ।
बिद्युतीय तारको सञ्जालमुनि बाँचिरहेका छौं
पोल ढलेर मरिन्छ कि भन्ने सन्त्रास मुनि बाँचिरहेका छौं
साइबर युगमा पनि टुकीको उज्यालो एउटा सहारा थियो
त्यही तेलको अभावमा बल्न नसक्दा अन्धकारमुनि बाँचिरहेका छौं ।
‘टुकीको उज्यालो’ मुक्तकसंग्रह (०६५) बाट
