Skip to content


महिला हिंसा विरुद्ध १६ दिने अभियान र नयाँ नेपाल बनाउने दोस्रो संविधानसभा निर्वाचनपश्चात कुमार नगरकोटीको कथा संग्रह फोसिल पढें। कथाहरू पढिसकेपछि दाहिने हातको अर्ध–मुड्कीमा टाउको अड्याएर एकटकले हेरिरहेको कथाकारको तस्वीर नियालें। उनका आँखा, कथाका शब्द अनि दैनन्दिनका समाचार र समाजमा छरपस्ट परिदृश्यहरूलाई खेलाउँदै मैले पनि एकटकले चिन्डे अनुहार हेरिरहें।

फोसिल को कभरमा छापिएको ‘हेलो सरकार! म योगमाया हुँ। नेपालको पहिलो विद्रोही नारी। यो कथाको सम्पूर्ण घटनाहरूको जिम्मा म लिन्छु। यो यदि अपराध हो भने अपराध नै सही। सजाय भोग्न तयार छु। सक्छौ भने मलाई जेलमा कोचिदेऊ। पक्राउ आदेश जारी गर। सत्तामा हालीमुहाली गर्ने ओइ बुझ्क्कडहरू! क्याच मी इफ यु क्यान!’ले योगमायाको अभाव खट्कायो। राणा शासकलाई चुनौती दिने योगमायाले जातपात, छुवाछूत जस्ता कुसंस्कार विरुद्ध सशक्त आवाज उठाइन्। नारी शोषणका विरुद्ध अभियान चलाइन्।

बालविधवा योगमायाले पुनः विवाह गरेर तात्कालिक सामाजिक मान्यताको विरोध गरिन्। राणाहरूले उनलाई तीन महिना जेल हाले। जेल मुक्त भएपछि योगमायाले सामूहिक यज्ञ समाधिको तयारी गरिन्, जसलाई शासकहरूले भाँडिदिए। त्यसपछि देशमा धर्मराज्य अर्थात् सुशासन नभएको विरोधमा २२ असार १९९८ को हरिशयनी एकादशीका दिन योगमायाले ६८ जना सहयोगी सहित अरुण नदीमा सामूहिक जल समाधि लिइन्। सरकार लाश खोज्न लाग्यो, तर एउटै पनि फेला पार्न सकेन। त्यो नै नेपालको इतिहासमा महिला हिंसा विरुद्धको पहिलो संगठित विद्रोह थियो।

त्यसपछिको समय योगमायाको आत्मा प्रवेशका लागि नारी पात्रको खोजीमा छ। नगरकोटीले फोसिल को नारी पात्रमा योगमायाको आत्मा उतारेका छन्– ‘पुरुषहरूलाई आफ्नो सो–कल्ड लिङ्गमाथि ठूलो घमण्ड भयो। आत्मगौरवले ती अन्धा भए। नारीलाई देवी मान्ने अनि मौका छोपेर बलात्कार गर्ने? आफ्नै चेलीबेटी करणी गर्ने? विधवा, वृद्धाहरूलाई पनि देखिनसहने? बलात्कार गरिहाल्ने? स्कुल, कलेज हिंडेका कलिला नानीहरूको सामूहिक बलात्कार गर्ने? बसमा बलात्कार। अफिसमा बलात्कार। विश्वविद्यालयको ट्वाइलेट जोनमा बलात्कार। ओछ्यानमा बलात्कार। यहाँसम्म कि दिसा बस्न गएकी ग्राम्य बालालाई बलात्कार। युगौंदेखि नारीलाई अपमान गर्ने घरेलु पुरुषहरूको ग्रान्ड डिजाइन अहिलेसम्म जारी छ। सीतालाई आगोमा हिंडाउने? द्रौपदीको पेटीकोट तान्न जाने? सीतालाई घर–घरमा आगो लगाउनेहरू छ्यापछ्याप्ती छन्। दाइजो, तिलक नल्याएको भनी एउटी अवलालाई ज्यूँदै पेट्रोल, डिजल, मट्टीतेल छर्केर जलाइदिने? सुत्केरी महिलालाई, रजस्वला भएकी द्रौपदीलाई छाउपडीको गोठमा मर्न पठाउने? गोठमै गई पेटीकोट तान्ने? बलात्कार गर्ने? अनि गोठसितै जिउँदै जलाइदिने? हे प्रभु! मेरो दिमाग सनक्क भयो र मैले ती सबको लिङ्ग भष्म गरिदिएँ। ती सबलाई पिचास योनीको श्राप लाग्यो।’

सत्य घटनामा कल्पनाको लेप नलगाई नगरकोटी भन्छन्– ‘मूला अकुपाई बालुवाटारले के गर्छ? सो–कल्ड प्रधानमन्त्रीलाई मूला ज्ञापनपत्र बुझाएर के हुन्छ? प्लेकार्ड देखाएर के हुन्छ?’

अब बुद्धिजीवी र पत्रकारहरूले पनि छाउपडी, बोक्सी, बलात्कार, दाइजो, चेलीबेटी बेचविखन आदि विकृतिहरूलाई थालमा पस्केर कचौरामा डलर थाप्ने कथित अधिकारवादीहरूसँग नेपालमा महिला हिंसा विरुद्धको अभियान सञ्चालनका नाममा भित्रिने रकमको हिसाब माग्न थालेका छन्। विदेशी ‘डेट’मा मनाइने अभियानहरूले समाजमा झ्न् हिंसा भड्काएको अनुमान गर्न थालिएको छ।

अहिलेका आन्दोलनको मुख्य शक्तिस्रोत डलर नै भएको आम धारणा छ। त्यसैले ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’लाई आन्दोलन नभई उत्सव भएको आरोप लाग्न थालेको छ। यस्तो आरोपको खण्डन गर्ने आधार हामीसँग छैन। नारी हिंसा विरुद्ध योगमायाले चलाएको अभियान, दबाबस्वरुप लिएको सामूहिक जल समाधि र त्यसपछि बेपत्ता भएका ६८ जनाको खोजीका लागि कुनै महिला अधिकारवादीले एक शब्द बोलेका छैनन्, हामीले यो खबर विश्वसामु पुर्‍याउन सकेका छैनौं।

योगमायाको आत्माले कुनै नेपाली महिला अधिकारवादीको शरीरमा प्रवेश पाएको भए आन्दोलन सफल भएर संविधानसभामा ५० प्रतिशत महिलाको उपस्थिति हुन्थ्यो होला। योगमायाको नारी हिंसा विरुद्धको अभियान पनि विश्वको कुना–कुनामा पुग्थ्यो होला!

नेपालमा महिला हिंसा विरुद्धको अभियानलाई सफल पार्ने हो भने अब २२ असारलाई शुभ–साइत बनाउनुपर्छ, अगुवाई पनि योगमाया जस्ताको हुनुपर्छ।

हिमाल खबरपत्रिका
२८ पुस २०७०
12 January 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *