रोजीरोटी जुटाउने सुसे धन्दामा दिनका सुन्दर हिस्साहरू खर्च हुँदाछन् । सातामा एकदिन आउने शनिबार फाइल भित्र चेपिएका कागज पल्टाउछु । अधुरा कविताका पानाहरू, अधुरा कथा, अधुरा निबन्ध र अधुरा समीक्षाका थुप्रै रचनाहरू वर्षौंदेखि बेबारिसे भएर फाइलमा थुप्रिएका छन् । अधुरो सिर्जनाका पीडा छातीभरि चस्किन थाल्छन् । कुन क्षण् कुन संबेगमा बेगिएर लेखिएका ती अपुरा सिर्जना पूरा गर्ने आँट आउँदैन । तिनलाई पूरा गर्न पुन: भावनाको मुल फुट्नुपर्छ मुटुभित्र; अहँ फुट्दैन, फुट्दैन फुट्दैन । जति गर्दापनि फुट्दैन । कोसिस गरेर लेख्दापनि त्यो मात्र कृतिम बन्छ । प्राकृतिक मुटु रसाउदै रसाउन्न ।
यो बेला कतै पढेको कलरिजको जीवनी याद आँउछ । महान् कलरिजको मृत्यु पछि थाहा भयो कि उनले चालीस हजार थान कविताहरू अधुरो छाडेर गएका रहेछन् । चालीस हज्जार अधुरा कविताहरू कुनै मात्र एक पंक्ति लेखिएका, कुनै दुई पंक्ति, कुनै चार पंक्ति, कुनै सात पंक्ति लेखिएका थिए । कतिपय कविताहरू यस्ता थिए, अन्तिम एक पंक्तिमात्र लेख्न बाँकी थिए । मात्र एक हरफमात्र लेख्न बाँकी भएर अधुरो भएका ती कविताहरूमा कलरिजले एक हरफ थपेका मात्र भए ती कविता अत्यन्त उत्कृष्ट गनिन्थे रे । पछाडि यतिबिघ्न रचना अधुरा छोड्नुको रहस्य पनि थाहा लाग्यो उनले पुन: संबेगको त्यो क्षणको प्रतिक्षा गरे, जुन संबेगमा कविता लेख्न कलम उठाए । संबेगको एउटा झोँक्काले थप्पड हानेपछि उनी कविता लेख्थे, त्यो बेग हृदयपटमा दौडिन्जेल उनी लेख्थे, जब बेग थामिन्छ, उनको कलमले पनि बिश्रान्ति लिन्थ्यो । कलमले बिश्राम लिएपछि उनी एकअक्षर पनि अगाडि लेख्न सक्तैनथे । अनि उनको सामु ती क्षणहरूको प्रतिक्षागर्नु सिबाय कुनै उपाय हुन्नथ्यो । तर भागवत्ताका ती क्षणहरू अक्सर कहिले दोहोरिएर फर्किएन् । संबेगहरू आए पनि अर्कै संबेग, भावको अर्कै तुमुल ध्वनि लिएर आए, जसले गर्दा पहिले लेखिएर छोडिएका भावहरूसँग मेल खाएनन् । हाम्रो दुर्भाग्य त्यसैले ती रचना अधुराको अधुरा रहे ।
महान् कलरिजका अगाडि म जस्तो तुच्छ प्राणीले सार मिलाउनु, हात्तीसँग छुचुन्द्रो दाँजिए जस्तो हुन्छ । अक्सर मुड आएपछि मुडमा बगेर लेख्नेहरूमा एउटा समानता के छ भने लेख्ता लेख्तै लेखनको मुड जब बिघटित हुन्छ, त्यसपछि उसले एकअक्षर पनि लेख्न सक्क्तैन । हाम्रै महाकविका कति रचना अधुरा रहेका चर्चा कायम छ । लेखनाथको गंगागौरी महाकाव्य नै अधुरो छ । सबै स्रष्टाहरूका धेर थोर रचनाहरू अधुरा अपुरा होलान् भन्ने लख काट्छु । भवका तरंग घटित भएपछि, अनुभूतिका झिल्का झुल्किन थालेपछि मनोलोकमा सृजनाको द्वार खुलेपछि लेखेका कुराहरू निकै जीवन्त, निकै गहन र निकै मर्मस्पर्शी हुन्छ भन्ने मेरो धारण छ । रविन्द्रनाथ टैगोरलाई स्फुरणको झुल्का मिलेपछि खाँदा खाँदैको चियाको गिलास हातबाट गिर्थ्यो । समुहमा बसेर चिया पिइरहेका उनका मित्रहरूले उनलाई तुरुन्तै छोडेर हिडँथे रे । भाव घटित भएपछि उसलाई लेख्ने एकान्त वातावरण मिलाइदिनुपर्छ भन्ने साथीहरूले कुरो बुझेका थिए । त्यसैले पिँउदा पिँउदैको चिया अधुरो छाडेर फात्तफुत्त उसलाई एक्लो पारेर हिडँथे अनि उनी चैं पूरा आफू मेटिएर सिर्जनामा पोखिन्थे । सिर्जन समयमा पूरा भावमा उनी अनुदित हुन्थे, त्यसैले टैगोरका रचना उत्तिकै जीवन्त, सशक्त र अलौकिक भावले भरिएका छन् । लेखनको मुड बिघटन नहुन्जेल लेखिरहनु आवश्यक छ । ऊर्जाको आन्नदमयी आबेग अन्तरबाट रसाउन्जेल लेख्तै जानुपर्छ । ऊर्जाले जब विश्रान्ति लिन्छ तब नथामियूँभन्दा पनि थामिनुपर्छ ।
शारदा गुरु भन्नुहुन्छ – घाँस झार्न खन्युको टुप्पामा पुगेपछि कविताको भाव स्फूरण हुन्छ । झारेर घाँस गोठमा राखेर सारै राम्रो कविता लेख्छु आज भन्यो । घरमा पुग्दा त्यो भाव हराइसकेको हुन्छ । अनुभूतिको तीक्ष्ण आबेग जुनबेला घटित भयो, त्यहीबेला लिपिबद्ध गरियो भने गरियो । पुन: त्यसलाई सोचेर संझेर लेख्ता त्यो जीवनदायी नहुन सक्छ । भावका लहरहरू क्षणभंगुर हुन्छन्, क्षणभरिमानै त्यसलाई टिपेर लहरिन सक्ता त्यो अनन्तसम्म लहरिन सक्छ । असीम आकासमा तरंगिन सक्छ । तर त्यो असीम अलौकिक क्षण त्यसै गुमाइयो भने त्यसलाई पुन: प्राप्ति गर्न सकिंदैन । बगेको खोला नर्फकेको झैं त्यो जान्छ अचेतन आकासतिर । शारदा गुरुलाई कहिले भैंसी दुहुँदादुहुँदै, कहिले हलो जोत्ताजोत्दै कविता फुरे जस्तो मलाई पनि कक्षाकोठामा चक घोट्ताघोट्दै कविताका आवेगहरूले ठुङछन् । कहिले नुहाँउदा नुहाँउदै, कहिले खाँदाखाँदैका क्षणमा भावका तरंगहरू प्रकम्पित हुन्छन् । अनुभूति र भावको तीक्ष्ण आबेगको यो चस्काले मुटु रोपेपछि मलाई महाकविको याद आँउछ । अनि बिचरा देबकोटाले तीन महिने मन्त्री हुँदा मन्त्रालयका फाइलहरूमा टिप्पणी सदर नगरेर कविता किन नलेखून् !
महाकविले एक ठाउँ उल्लेख गर्नुभएको छ – एकचोटिउहाले हंशवाहिनी सरस्वतिमातालाई सपनामा देख्नुभयो । कुराकानी हुँदा सरस्वतीले देवकोटालाई ’ कविता लेख ’ भन्नुभयो । उनले म जान्दिन भनेर उत्तर दिए । त्यसपछि सरस्वति आफैले देबकोटाका स्वर्गबासी पिताका जस्ता हस्ताक्षरमा रातो मसीले एक श्लोक लेखेर सुनाइन् । त्यो कविता देबकोटालाई तुरुन्तै कण्ठ भयो । ब्यूँझेर कपीमा लेखी राख्नु पनि जरुरी ठानेनन् किनभने त्यो मुखाग्र भैसकेकोथ्यो । तर बिहान फेरि ब्यूँझदा त्यो बिस्मृतिको गर्भमा बिलिन भैसकेको थियो । त्यसैले देबकोटाले ठूलोपश्चाताप गरेका छन् – … तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चारपंक्तिको दौलत मेरै बेपरबाहीले गुम भयो । सरस्वतिले दिएको त्यो श्लोक गुमाएकोमा उनी जीवन भर पछुताइरहे । हामीलाई पनि कुतुहल छ, कस्तो थियो होला त्यो सरस्वतिले आफ्नै हस्ताक्षरमा लेखिदिएको श्लोक । देबकोटाले रातिनै टिप्नु पर्थ्यो । कापीमा नटिप्दा कतिठूलो नोक्सान भयो ।
अनुभूतिका अमर छालहरू मनस्तलमा नाँच्ने भावातित दिब्य स्फुरणहरू कति हराए, कति बिलाए त्यसको कुनै हिसाब छैन । आँखा चिम्लिदा आज्ञाचक्रमा झुल्किने बेगिन्ती चित्रपटहरू कति पुछिए पुछिए पलक खोल्दा । भावना गंगाको अतुल प्रबाहहरू मनको मनै कतिचोटि सुक्यो सुक्यो । कति कविताको घाँटी रेटियो भनी साध्य छैन, कति काव्यकोपिलाका मुन्टो निमठियो गनी साध्य छैन । स्रष्टा भित्रभित्र यति निच हत्यारा हुन सक्छ, कवि भित्रभित्र हिंस्रक व्यक्ति हुनसक्छ । हत्या र हिंसाका पनि आयाम छन् । मान्छेको घाँटी रेट्नु, पशुपंक्षीका प्राण हर्नु मात्र हिंसा होइन मेरो बिचारमा । भावनाको हत्या गर्नु पनि हिंसा हो, कविताको गला दाब्नु पनि हत्या हो । स्रष्टाले कविता माथि हिंसा गर्दा कति अनमोल कविताहरू गुमनाम बनेर भावलोकबाट बिलाए होलान् । त्यसैले भावना गंगालई बाँध कस्नु हुँदैन, कल्पना तरंगलाई छाँद कस्नु हुदैन । स्वच्छन्द बग्न दिनुपर्छ, तरंगिन दिनुपर्छ लहरिन दिनुपर्छ । अनिमात्र प्रकट हुन्छ सृजनाको सुरम्भ्य संसार ।
स्रष्टा बग्नुपर्छ सिर्जनाको धारैधार । पानी जस्तै बग्नु पर्छ । पानीको तरल स्वाभाव आफूमा आरोपित गरेर, भावनाका पंखहरू उचाल्नुपर्छ हावामा । तरलतामा आरोपित मात्र होइन अनुदित हुनसक्नुपर्छ । पानीको मौलिक स्वभाव हो सामान्य अवस्थामा तरल हुने । अर्थात तल तल बग्ने, ओरालो भू–भाग खोजी खाजी बग्ने । उकालोसँग बिरोध छ पानीको । कठोरपनसँग बिरोध छ पानीको । यो बग्छ, जम्छ, भाँडामा पनि कैद हुन सक्छ । तापको संसर्गमा पानी बाफिन्छ अर्थात पर्याप्त तातोपन भेटेमा पानीले आफ्नो स्वभाव रुपान्तरण गर्छ । यो वाफमा परिणत भएर आकासमा उचालिन्छ । बाफको मौलिक यात्रा ऊध्र्वगामी हुन्छ, यो आकाशे पथमा बातासिन्छ । यो भाँडोको सीमारेखाबाट असीम र अगम्य स्थानतिर उचालिन्छ आज स्रष्टा पनि सिर्जनाको ऊष्ण पंख फिजाएर फर्फराउनु परेको छ । अगम्य, अबोध र अगोचर लोकको रहस्य खोल्नु परेको छ ।
बस्तुजगतका रहस्यहरू विज्ञानका कुंजीले खोलिदैछ दिनप्रतिदिन मनस्तल र भाव लोकका अज्ञात, अनाम, अगोचर ढोकापनि कति हो कति बन्द छन् । रहस्यका शृंखलाहरू कति हो कति अगम छन्, त्यसमा प्रबेश गर्न बग्नै पर्छ स्रष्टाहरू अबिरल रुपमा ।
‘खेतमा जाने होइन खाना पाको त !’ श्रीमतीजीको आवाजले झसँग हुन्छ । लेख्तालेख्तैको बेग थामिन्छ । हो आज शनिबार स्कुल र क्याम्पसका कक्षाकोठामा जानु नपरे पनि खेतले मलाई पर्खिबसेको छ । चुहुने छानो टाउको माथिबाट चिहाइरहेको छ, ’यही हिउँदमा टालिनु पर्छ म’ भन्दैछ हो बालबच्चाको मुखमा माड लाउन म आज खेतमा जानै पर्छ । चुहुने छानो पनि टाल्नै परेको छ । घरका कपडाका फोहोर मैला र मयलपनि फाल्नै परेको छ । यो बेला एकाएक मेरा भावनापंख कुँजो बन्छन्, लेख्तालेख्तैको निबन्ध अधुरो बन्छ । शनिवारपनि फाइलमा अधुरा रचना त्यसै छोडेर खेततिर लाग्छु उही रोजीरोटी जुटाउने सुसे धन्दामा ।
२०६१ मंसिर २५ गते
