जब हप्तामा एकदिन शनिबार आँउछ । तब म रोमाञ्चले केही प्रफुल्ल बन्छु । शनिबार एक दिन, मेरो लागि आफ्नो मौलिक जीवन आफ्नै ढंगले भोग्ने दिन । म यो दिन अरु दिनभन्दा बढी स्वायत्तताको अनुभूत गर्छु । यस दिनलाई अलि छुट्टै ढंगले सदुपयोग गर्ने कोसिस गर्छु ।
अरु दिन मेरो लागि आफैं पराधीन हुने दिन । मैले आफ्नो स्वायत्तता गुमाएको दिन । आफू आफूबाटै वन्धित, वाधित र परतन्त्रमा जकडिएको दिन । चारैतिर सिक्री नै सिक्रीले कसिएको दिन । समयको विवश वाँधा हुनु मेरो नियति । समयको कठोर करिया बन्नु मेरो वाध्यता । बाहिर तपाईले मेरो जीवन सग्लो, निखुना र अविभाजित देखे पनि म विभाजत छु । म खण्डित छु । थुप्रै थुपै्र टुक्रामा टुक्रिएको छु । मेरो जीवन टुक्रा टुक्रा भाग लागेर विभिन्न व्यक्तिमा बाँडिएको छ । मेरा परिवार जनहरूमा, नातागोता, आफन्तजनहरूमा, साथीसंगीहरूमा र मसँग शिक्षार्जन गरिरहेका विद्यार्थीहरूमा म भाग लागेको छु । अरुमा भाग लाग्दा लाग्दै म आफू भने रित्तो छु । कहिलेकाहीँ आफ्नो भागमा जीवनको सानो टुक्रा पनि नपाउँदा म बिचलित वन्छु, निरास हुन्छु । जीवनका टुक्राहरू छोराका भागमा, छोरीका भागमा, श्रीमतीका भागमा, पिताजीका भागमा, भतिजा भतिजीका भागमा, दाजुभाउजूको भागमा र अन्य आफन्त परिजनहरूको नाममा भाग लागेर म रित्तिएको छु । मलाई यतिखेर संसार नै अपूर्ण भए जस्तो लाग्छ । पूर्णबाट पूर्ण प्रकट भएको र पूर्णमा पूर्ण जोडदा पूर्ण भएको अनि पूर्णमा पूर्ण निकाल्दा शेष पनि पूर्ण नै रहेको बोध छैन । आफू टुक्रिएको, भाग लागेको अनि अपूर्ण हुँदै गएको र शेष पूर्ण होइन, शून्य भएको तथ्य बोध भइरहेको छ । त्यसैले उपनिषदको सूक्ति ‘ ॐ पूर्णमद: पूर्णमीद्म, पूर्णात् पूर्ण–मुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते ’ गलत लाग्न थालेको छ । एकचोटि प्राप्तहुने जीवन फेरि दोहेर्याएर वाँच्न सकिन्न । यस्तो जीवन खालि अरुमा वण्डा लाएर वाँच्नु कति पीडा हुन्छ, त्यसलाई महसुस गरिरहेकोछु । म आफ्नो जीवन आफ्नै हिसावले भोग्न पनि स्वतन्त्र छुइनँ । चारैतिर कर्तव्य र जिम्मेवारीका साङ्लाहरूद्धारा वाँधिएको छु ।
म विगत वीस वर्ष देखि दाइंको गोरु भएर मियो वरिपरि घुमिरहेकोछु । कोलमा घुम्ने या दाइँ घुम्ने गोरुको कुनै गन्तव्य हुँदैन । उसको नियति खाली घुम्नुमा छ । लाखौंलाख पाईला हिंडेर पनि ऊ जाहीँको ताहीँ रहन्छ । मियो वरिपरि निरर्थक, निरस र एकोहोरो घुमिरहन विवश गोरुको छाती निराशाले र थकानले कति पोल्दो हो । आफू गोरु भएर त्यो पीडालाई छामिरहेछु, गोरु कति विवश छ, लाचार छ तर त्यो लाचारीलाई प्रकट गर्न सक्दैन । ऊसँग शब्द छैन, सार्थक वाणी छैन । अभिब्यक्तिको माध्यम छैन, स्वयं ऊ अचेतना पशु भएकोले विद्रोहको बाटो पनि रोज्दैन ।
तर म शब्द र वाणी भएर पनि निरीह हुँदै गएको छु । बोली भएर पनि लाटो हुदैं गएको छु । मुटुभित्र संबेदनाको तार भएर पनि निर्जीव हुदै गएको छु, झंकृत हुन छोडेको छु । अवस्था अनुसार आवाज निकाल्न र बज्न छोडेको छु । म निरन्तर यात्रारत छु, हिँडिरहेको छु, केवल मियोको वरिपरि । बर्तुलाकार घेरामा नै म जस्ताको जीवन सकिँदो रहेछ । निरन्तर पाइला चालिरहेको छु, देवकोटाले लेखेझैं एउटा गँजेडी गाँजाको सुरमा हिँडिरहेको छ, हिँडदा हिँडदै उसको पाइला खिइसके, घुँडा खिइसके, तिघ्रा खिइसके, कम्मर खिइसक्यो, पेट छाती हुदैं घाँटी खिइसक्यो, टाउको मात्र निरन्तर हिँडिरहेको छ, टाउको पनि खिँइदै खिँइदै अब टुप्पी बाँकी छ, त्यो टुप्पी पनि निरन्तर लिखुर लिखुर हिँडिरहेको छ । म पनि टुप्पी लिखुर लिखुर पारेर हिँडिरहेको छु । मेरो हिँडाइको कुनै सार्थक गन्तव्य छैन । दाल भात जुटाउने सिँगाने धन्दाको वरिपरि कुँई कुँई घुमिरहेको छु । छोराछोरीको पेट पाल्ने लुसे धन्दाको वरिपरि परिक्रमा गरिरहेको छु । बिहान देखि बेलुकासम्म हिँड्छु तर पुग्दिन कहीँ पनि । बडो बिचित्रको यात्रा गरिरहे छु म ।
दाँईंमा घुमिरहेको गोरुको मालदाम्लो खोलिदिने हो भन्ने त्यो गोरु दिनभर हिँड्दा कहाँ पुग्दो हो म कल्पना गर्छु । त्यस्तै म पनि वृताकार यात्रा पथबाट लम्बोत्तर यात्रापथमा हिँड्ने हो भन्ने कति गन्तव्य शिखर चुम्थेँ होला । कति दुर्लभ यात्राका मोड पार गर्थेँ होला तर दिन दिनै गोरुमा रुपान्तर भइरहेको छु । गोरु जस्तै बिवश, निर्लिप्त, निरुपाय तथा निर्बीकार यात्रामा हिँडिरहेको छु । जीवनको मौलिकता र जीवनको स्वतन्त्र अस्तित्वलाई भोग्ने मेरा आकांक्षाहरू भित्रभित्रै तुहुँदै गएका छन् । म भित्रका स्वत्वका सिरहरू बाँसको टुप्पो झैं नुँहुदै गएकाछन् । आफ्नो मनको भण्डारमा कहिलेकाहीँ हेर्ने गर्छु – आखिर मेरो भागमा परेको जीवन कति छ त ? जब सिंगो भण्डार रित्तो देख्छु, अनि म साँच्चै नराम्ररी कहालीन्छु । अनि सबैको भागमा विभाजित जीवनका एक एक छुस्की निकालेर आफ्नो रित्तो भाँडामा हाल्ने कोसिस गर्छु ।
म सानो छदाँ मेरी दिदीले खाजा (भुटेको मकै) भाग लगाउँदा विर्सिएर आफ्नो भाग छुट्याउनै भुलिदिन्थिन् । त्यो कुरा अरुले मकै चवाउन थालेपछि थाहा हुन्थ्यो । अनि सबैको भागबाट एक एक पसर निकालेर आफ्नो भाग संचित गर्थिन् । आज म दिदीले सबैको भागको एक एक पसर मकै निकालेझैं अरुको भागमा बाँडिइसकेको जीवनका हिस्सा झिक्तै छु । यसरी अरुबाट उबारेको जीवन भोग्न मेरो आफ्नै शैली छ । शनिवार र अन्य बिदाका दिनहरूलाई भर्सक म आफ्नो भागमा पार्ने प्रयत्न गर्छु । मेरो भागमा परेका यी दिनलाई विशेषत: लेखपढमा केन्द्रित गर्छु । आफ्नो आयुरेखाहरूमा मौलिक जीवन वाँच्न पाएको छुइनँ । जीवनलाई स्वतन्त्र भोग्न पाएको छुइनँ । समय म भर्सक उपलब्धिमूलक काममा खर्च गर्ने गर्छु । पढ्न, लेख्न र केही सिर्जना गर्न पाउँदा म आफ्नो मौलिक जीवन बाँचेको बोध गर्छु ।
तर समय कति कठोर रुपमा प्रस्तुत छ मेरो सामु । क्रुरताका पंजा फुकाएर मलाई हर्दम झम्टिन खोज्छ । मेरो रुचि र शोखको साधन पुस्तक खतराको धरापमा छ । लेखपढको काम खतराजनक हुदैं गएको छ । आजभोलि किताव बोकेर हिँड्नु कति खतरा ! किताव संकलन गर्नु पनि खतरा ! पढ्नु लेख्नु त झन खतरा ! मेरो एक अध्ययनशील साथी हिजो पक्राउ खायो । पढ्नको शौखिन थियो ऊ । झोलामा एक दुई थान किताब बोकेर हिँड्नु उसको नियमित धर्मभित्र पर्थ्यो । बाटोमा, घाटोमा, मेलामा, खोलामा, बस रुङ्दा, बसचढ्दा, सबै सबै बेलामा थोरै समय पाउने वित्तिकै ऊ पढ्ने गर्थ्यो । संम्बेदनालाई छाम्ने गर्थ्यो । ज्ञान र सूचनालाई सँगाल्ने गर्थ्यो, त्यो ज्ञान अरुलाई वाँड्ने गर्थ्यो । ती किताबकै निहुँमा ऊ हिरासतमा पुगेको छ यतिखेर । थाहा छैन मलाई उसको जीवन अब के हुने हो । राष्ट्रमा यस्तो पनि समय आँउदो रहेछ, जतिखेर पढ्नु खर्तनाक काम हुन्छ, लेख्नु, चिन्तन गर्नु र सत्य बोल्नु झनै जोखिममूलक काम हुन्छ । पढ्ने आदत मेरो लागि खतर्नाक हुदैछ । लेख्ने आदत मेरोलागि आफैंलाई संकटमा धकेल्ने साधन बन्दैछ ।
इतिहासमा पढेको थिएँ, चन्द्रशमशेर महाराजले नेपालको पहिलो कलेज उद्घाटन गर्दा मैले आफ्नो खुट्टामा आफैंले बंचरो हानेँ भनेर बोलेका थिए । त्यो समयमा कलेज खोल्नु राणाहरूको निम्ति खतर्नाक काम थियो । पढ्नु र सचेत हुनु पनि युवाहरूको निम्ति खतर्नाक काम थियो । चन्द्रशमशेरको नजरमा पढ्ने काम खतर्नाक भएर नै उसलाई कलेज खोलेकोमा अपराधबोध भएको थियो । उनकै पालामा देवकोटाहरूले पुस्तकालय खोल्ने सुरसार गर्दा उनीहरूलाई दण्डित गरिएको थियो । त्यतिखेर लेखपढ गर्नु, पुस्तकालय खोल्नु, स्कुल खोल्नु, कति खतर्नाक र दण्डनीय काम थियो । आज सत्तरी असीवर्षपछि त्यही नियति दोहोरिएको छ । उबेला कृष्णलाल अधिकारीहरू किताब लेखेको अभियोगमा जेल पर्थे । नेल भिर्थे र कारागारको कालो कोठरीमै कुहेर मर्थे । लक्ष्मिनन्दन चालिसेहरू जाचँको कपीमा सत्य लेखेवापत कठोर काराबासमा कैद हुन्थे । राणाहरूको कठोर दण्डविधानबाट उनीहरूको चोला उठ्थ्यो । सिद्धिचरणहरू केवल कविता लेखेको अभियोगमा हत्कडी भिरेर थुनिन्थे । नेपालमात्र होइन विश्व साहित्यको इतिहासमा नै लेखे वापत जेलनेल, मृत्युदण्ड र कठोर कारावास ब्यहोरेका थुप्रै सन्दर्भ छन् । नाजिम हिक्मत जसलाई एउटा कविताले १४ वर्षसम्म कारावासको सजाय दिलाएको थियो । इतिहासमा स्रष्टाहरूले रगत वगाउनु परेका घटना थुप्रै थुप्रै छन् ।
म यतिखेर समयको पुनरुत्थान टुलुटुलु हेरिरहन्छु । चन्द्रशमशेर र जुद्धशमशेरको समय पुनर्उदय भएको छ । सिर्फ कविता लेख्ने कवि पूर्णविराम कुन अज्ञात कालकोठरीमा थुनिएकाछन्, थाहा छैन । कविता लेखेकै अपराधमा इच्छुक मारिएकाछन् । अक्षरकर्मलाइनै जीवनको उदेश्य तुल्याउने विभास बेपत्ता पारिएकाछन् । किताव छाप्ने, बेच्ने र लेख्ने विजयराजहरू राज्यबाट चरम यातनाको क्रुर शिकार बन्नु पर्छ । कति अज्ञात, अनाम पढन्ताहरू, लेखन्ताहरू सत्ताको दुर्नाम अँध्यारो यातानागृहमा यातना भोगिरहेका छन् ।
शासकहरू जनमनमा पैदाहुने संवेदनाको शक्तिबाट कति सारो विचलित बन्छन् ? पढ्ने कर्मले केवल ज्ञान, संबेदना र भावनाको उचाइलाई उठाउने गर्छ । मानवीयताको क्षितिजलाई फराकिलो पार्ने गर्छ । शासकहरू त्यही संबेदना, करुणा र मानवियताबाट बेस्सरी झस्किने गर्छन् । लेखकले कागजमा उमारेका अक्षरहरूले खाली पाठकमा संबेदनाका विरुवा उमार्ने न हो, बन्दुक त उमार्ने होइन तर उनीहरू त्यही संबेदनाबाट बिचलित बनिरहेकाछन् । उनीहरूका छाती भावी अनिष्टताको कल्पनाले विदग्ध वनिरहेकाछन् । संबेदनाको समूल समाप्ति गर्न सत्ता कविलाई झम्टिरहेछ् । पाठकलाई कठबाँसले कम्टिरहेछ ।
सत्ताको बिक्षिप्त बर्वराहटजीच मेरो नीजि जीवन चेपिएको छ, अर्थात मेरो लेखपढ र पुस्तक संकलन गर्ने शौख आफूलाई नै खतरामा पार्ने साधन वनिरहेछ । साथीहरू चेतावनी दिइरहेकाछन् – यसरी किताब नराख है कोठाभरि । हिँड्दा पनि झोलामा किताव वोकी हिँड्छस्, यो काम तुरुन्त छाडिदे । मेरी श्रीमती कराइरहिछिन् – दुनियाँ भरि के के लेख्नुहुन्छ नलेख्नुहै नलेख्नु । समय यस्तो खतरनाक आएको छ । म टुलुटुलु आफन्त परिजनका आवाजलाई सुनिरहन्छु । उनीहरू मेरो जीवनका शुभचिन्तक हुन् भन्ने ठान्छु । जुन जुन कोणबाट मलाई लेखपढ नगर्न, चिन्तन नगर्न, किताब नराख्न सुझाब सल्लाह दिइरहेछन्, त्यहाँ मप्रतिको मोह र मेरो जीवन रक्षाको चर्को लालसा गुन्जिएको सुन्छु । आफ्नो मौलिक जीवन बाँच्ने मेरा उपक्रम र कार्यब्यापारहरू आफ्नै लागि घाँटी निमोठ्ने साधन वनिरहेछन् । खौलामा पार्ने खजाना तुलिइरहेछन् । कलम र कुचिलाई हतियार सम्झेको छ सत्ताले । कागज र क्यानभासलाई युद्ध मैदान देख्छ ऊ । कलम र कागजसँग खेल्नेलाई, कुची र क्यानभाससँग बोल्नेलाई अनि ऊ सोधी सोधी खोजी खोजी खोरमा थुनिरहेछ । उनीहरूलाई धरापमा पार्ने जाल बुनिरहेछ ।
म आफ्नो छरिएको बिगतलाई आँखाँमा ल्याएर केलाउने गर्छु । भन्छन् एक बोरा भुस केलायो भने एकमुठी कनिका निस्किन्छअरे । तर मेरो बिगत जति केलाए पनि एकमुठी त के एक छुस्की कनिका दिन पनि असफल छ । विगतलाई पनि आफूले आफ्नो निम्ति मौलिक रुपमा भोग्न नपाएका पीडाका डामहरू कतिछन् कति । वाल्यकालको अतिततिर फर्किन्छु – मेरो उमेर मेरो आयु छरिएरै बितेछ । मेरो आयु त अलिकति भस्मेको जंगलमा छरिएछ, अलिकति वीरेको ढाँड र कडुजे पाखामा पोखिएछ । जीवन अलिकति त्रियुगाको तातो बगरमा पनि पोखिएछ । बरुवा र वावरीका जंगलमा पनि पोखिएछ । जीवनका धेरै टुक्रा त कालोपाटीमा चकका टुक्रासँगौ घोटिएर निशेष भएछन् ।
जीवन त छरिएर पोखिएर बित्ने बिस्कुन जस्तो रहेछ । आँगनमा सुकाएको बिस्कुन अलिकति कुखुराले टिप्छ, अलिकति परेवा, हाँस, भँगेरा, काग र रुपीले ठुङ्छ । बिस्कुनको केही हिस्सा बोकाले दार्छ । केही भाग माटोमा छरिन्छ, केही भाग बाटोमा छरिन्छ । यसरी चुँहुदा चुँहुदै बाँकिरहेको विस्कुन जाँतो, घट्टा र मिलमा पिधिएर सामल बन्छ, पीठो बन्छ । त्यो भात बनेर रोटी बनेर पेटपेटमा कैद हुन्छ । एउटा अन्नको दानाको जीवन विर्सजन हुने चक्रलाई हेरेर म आफू बनेको तथ्यबोध गरिरहेछु । अन्न दानामा रुपान्तर हुदैं गएको भान भैरहेछ मलाई । मलाई चराहरूले ठुङ्गिरहेछन्, मुसाहरूले कोतिरहेछन्, परिजनहरूले जाँतोमा घोटिरहेछन् । यसरी निशेष हुन लागेको म, आफू भने अरुलाई अघाएर जीवित राख्न सकेकोमा अपार गौरब बोध गरिरहेछु । यतिखेर महाकविको सुखबोध सम्झिरहेछु –
खोज्छन् सबै सुख भनी त्यो सुख कहाँ छ ।
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।
२०६० भाद्र २२ गते
