Skip to content

एउटा हर्कुलसको खोजी


आजभोलि म एउटा हर्कुलसको खाजीमा छु । हर्कुलसको नाम सुन्ने बित्तिकै धेरै जनालाई विस्मय हुन सक्छ, क्या हो यो हर्कुलस भन्ने ? मान्छे हो कि दानव हो ? तपाईको यस जिज्ञासालाई शान्त पार्ने कोसिस गर्दैछु । हर्कुलस ग्रीस गाथाको एउटा प्राचीनम पात्र थियो । ग्रीकपुराणमा बर्णन भएअनुसार ऊ पृथ्वीमा जन्म लिएका मानिसहरू मध्ये सबैभन्दा शक्तिशाली मानिस थियो । पृथ्वीकै सर्वाधिक बलियो मानिस भएको हुँदा ऊ शक्तिको प्रतीकको रुपमा बिराजमान थियो ।

पृथ्वीबासीलाई बेलाबेलामा अत्यचारी शासकहरूले दु:ख दिदै आएको कुरा नौलो होइन् । हाम्रा पूर्वीय पुराण र पाश्चात्य पुराणमा ती लोमहर्षक कथाहरू अद्यापि मानिसहरू सुनिरहेका छन् । बेलाबेलामा अत्याचारको सीमा नाघ्छ । शासक र राजाहरू यति निरंकुश बन्छन्, जनताहरू उनीहरूको राज्यमा घुन पिसिए झैं पिसिन्छन् । उनीहरूको खुन पसिना शासकको निम्ति सर्बत बन्छ । शासकहरू आफ्नो मधुशालाको मधुप्यालामा आलो रगत पिउँछन्, नरमांशले क्षुधा समन गर्छन् यस्तो कम्भिपाक नरकमा जनता कुहिरहेको बखत कतैबाट झुल्किन्छ एउटा पखर मुक्तिदाता । उसले अत्याचारको एक एक बन्धन चुडाउँछ र मानिसलाई डोर्याँउछ उज्यालो संसारतिर ।

बेलाबेलामा यस्ता वीर पुरुषहरू जन्म लिएर अत्यचारी शासकलाई उच्छेदन गरेको कुरा हाम्रो पूर्वीय इतिहास र पुराणमा बग्रेल्ती पाउँछौ । यतिखेर हामी प्राचीन तथा मध्ययुगीन बर्बरतालाई बिर्साउने अत्याचार र उत्पीडनको सघन अँध्यारोबीच छोपिएका छौं । देश इतिहासमा नै कालो अध्याँरो सुरुङ्गतिर प्रस्थान गरेको छ । काला शासकहरूका राक्षसी नङ्ग्राहरूले राष्ट्रअस्मिता कोतरिएको छ । यो संगिन घडीमा म एउटा आधुनिक हर्कुलसको याचना गरिरहेछु ।

उबेलाको हर्कुलसले पृथ्वीका राक्षस र अत्याचारी शासक मासेर मानव जातिमा एउटा नौलो कीर्तिमान कायम गरेको थियो । वीर हर्कुलसले इमान्दारीका साथ दुष्टहरूलाई नास गरेर आफ्नै बाहुबल र आफ्नै कार्यको आधारमा अमरत्व प्राप्त गरेको थियो । भनिन्छ ऊ आफ्नो शक्तिबाट मनुष्यत्वबाट माथि उठेर देवत्वको स्थान हासिल गरेको पुरुष थियो रे । ऊ जन्मजात देवता थिएन । जन्मसिद्ध रुपमा अमरत्वको पदवीपनि पाएको थिएन । ऊ आफ्नो शौर्यगाथा र पराक्रमको बलबाट पृथ्वीमा सर्बाधिक बलियो, महान् र दुष्ट बिनाशक ब्याक्तित्वको रुपमा पुजित थियो । यो घडी म किन उसको बन्दना लेख्न लागिरहेछु भने युगयुगमा इतिहास दोहोरीँदो रहेछ । उबेलाको ग्रिसको अत्याचारका दृष्यहरू मेरो परिबेशमा पुनर्जीवित भएका छन् । त्यहाँका क्रुरशासकका प्रेतात्माहरू ब्यूँझिएर यहाँ, जनका तनहरू डस्तैछन्, जनका मनहरूमा आगो झोस्तैछन् । त्यसैले एउटा आधुनिक हर्कुलसको पुनर्जन्म यतिबेला यो ठाउँमा अत्यन्त मनासिब ठान्छु ।

त्यो बेला हर्कुलसको ग्रिसमा नेमियन सिंहसँग भीषण युद्ध गरेको थियो । नेमियाको सिंह कतिसम्म खतरनाक थियो भने यसलाई मार्न त के छुनसम्म कसैले सक्तैनथे । हरेक साँझ ऊ त्यसक्षेत्रका भेडाबाख्रा खाएर मात्र सन्तुष्ट हुदैनथ्यो, मान्छेहरूलाई पनि मुला चबाए झैं चपाउथ्यो । उसको शक्तिको बारेमा एउटा हल्ला फिँज्याइएको थियो । यो सिंह सिधै चन्द्रलोकबाट झरेको हो यसकारण यसलाई पृथ्वीमा बनेको कुनैपनि हतियारले चोट लगाउन सकिन्न ।

तर युगयुगदेखि कसैले छुन नसकेको त्यस नेमियन सिंहलाई एक दिन त्यस वीरपुरुष हर्कुलसले मार्ने आँट गर्यो । उसले आफ्नो हतियार फ्याँकेर सोझै सिंहको गर्दन अँठ्यायो । उसले आफ्नो बाहुबलको शक्ति प्रयोग गरेर सिंहको बध गर्यो । बध मात्र गरेन त्यस नरभक्षी सिंहको छाला काढेर त्यस छालाको सुन्दर लुगा बनाएर लायो । जब उसले सिंह मारेर त्यस सिंहशवलाई काँधमा बोकेर फर्किंदा शहरै खुशीले पुलकित बनेको थियो । जनताहरूमा हर्षको सीमा थिएन किनभने युगयुग देखिको उसको अत्याचारबाट उनीहरूले मुक्ति पाएका थिए तर त्यहाँको राजा भने हर्कुलसदेखि डराएर उसलाई शहरको मूलगेट बाहिरै बस्न आदेश गर्यो । राजालाई आफू माथिपनि हर्कुलसदेखी कुनै खतरा आईलाग्छ कि भन्ने डर थियो । डरछेरुवा राजा हर्कुलसको साहसदेखि डराएर पित्ले भाँडो भीत्र पसेर लुकेको कुराले कम्ती हाँस उठाउदैन ।

मलाई ठ्याक्कै त्यही मार्काको हर्कुलस आवश्यकता परेको कुरा जानकारी दिन चाहन्छु । मेरो देशमा पनि परापूर्वकालदेखि पालित पोषित हुँदै आएको एउटा नेमियन सिंह छ । यसमा पनि नेमियनकै जिनको कारणले हो या अन्य कारणले हो नरमांश सेवनको गुण छ । भेडाबाख्राको मासुभक्षणबाट यसको क्षुधासमन हुँदैन; उसलाई मार्न त के अहिलेसम्म छुनसम्म सकिएको छैन । नेमियाको सिंहले त आफ्नो शिकार साँझपख गर्थ्यो । यसले त दिउसै दिनदहाडै शिकार गर्दै आएको छ । नेमियाको सिंह सिधै चन्द्रमाबाट झरेको विश्वास गरे जस्तै यो पनि सिधै बैकुण्ठलोकबाट बिष्णुवतारको रुपमा मत्र्यमण्डल झरेको विश्वास फिंजाइएको छ । यसले आफूलाई साक्षात जंगलराज सिंह नै ठान्छ । यसले आफ्नो बस्ने आसनको नामै सिंहासन राखेको छ । साथै अर्को के भ्रम फिजाइएको छ भने यो सिंहलाई पृथ्वीमा बनेको कुनै पनि हतियारले छुन सक्तैन । यसले दैवी रुपमा शक्ति र सत्ता पाएको छ त्यसले यसलाई कुनै नियमकानून र नैतिकताको मापदण्डले छुन सक्तैन भन्ने अफवाह फिजाँइएको छ । त्यसलै यसले युगयुगदेखि अनेकन उपद्रबहरू मच्चाउदै आएको छ । उसलाई समातेर पछार्ने हर्कुलसको याचना करोड जनको हृदयमा सुरक्षित छ । छाला काढेर लुगा होइन जुत्ता बनाएर टेक्ने, हर्कुलसको आवश्यकता मेरो परिवेशको ज्वलन्त आवश्यकता हो ।

पराक्रम र वीरत्वका अनेकौं कार्यहरू मध्ये हर्कुलसले गरेको अर्को काम थियो; अजियसको तबेलाको सरसफाई । एलिसका राजा अजियसका तीनहज्जर गोरुहरू थिए । गोरुहरूको मलमुत्रले गोठ फोहोरमैलाको सगरमाथा बनेको थियो । हुन पनि त्यो गोठ सफा नगरेको तीस वर्ष भैसकेको थियो । तीसवर्षमा तीन हजार बस्तुहरूले गोब्र्याउँदा कति मल थुप्रिएको थियोहोला, सहजै अनुमान लगाउन पनि गाह्रो छ ।

हजारौं जनको लागि असंभव हुने त्यसकामको निम्ति हर्कुलसलाई आमन्त्रण भयो र एकदिनको समय दिईयो । हर्कुलसपनी के कम थियो । दिएको एकदिनको समयाबधिमै अल्फीयस र पेनियस नदीका मुहान फर्काएर दुईटै नदीलाई गोठमा हुलिदियो । गोठमा नदी पसेपछि तीसवर्षे मल एक पित्को पनि बाँकी नरही साफ भयो । हामीलाई पनि यहाँ यतिबेला त्यही हर्कुलसको खाँचो छ । हजारौं नरपशुहरूले तीसवर्ष होइन, तीनसय वर्षदेखि हाम्रो सुन्दर बगैचाँमा मलमुत्र विसर्जन गरेर दुर्गन्धित पारिआएका छन् । उनीहरूको मलमुत्रको राशीभित्र फूलहरू किचिएका छन्, थिचिएका छन् । बगैचाँमा यति उग्रिगन्ध छाएको छ, जो कसैले स्वच्छ, स्वस्थ प्राणवायु सेवन गर्न सक्तैन । यो उग्रिगन्ध मलको थुप्रो सोहर्न सावेल, बेल्चा र हातहरूको कुनै काम छैन । कोशी र त्रिशुलीका मुहान थुनेर नागार्जुन डाँडाबाट दुई नदीका मूलप्रबाहहरू काठमाण्डौं खाल्डोमा खसाउनु परेको छ । यी नदीका उत्ताल बेगले मात्र सदियौं वर्षदेखिको फोहोर बगाउन सक्छ भन्ने मेरो अनुमान छ । त्यसले उबेला अल्फियस र पेनियस नदी थुन्ने हर्कुलस जस्तै एउटा हर्कुलसको आवश्यकता यस नेपाल खाल्डोलाई खट्किएको छ ।

मानवजातिको उद्दार गर्ने क्रममा हर्कुलसले स्टाईफल्स ताल नजिकका तमाम नरघाती गिद्धहरू स्वाहा बनाएर अनुपम कीर्तिमान कायम गरेको थियो । त्यो कीर्तिमान कस्तो थियो भने त्यहाँ एकथरि यस्ता खतरनाक गिद्ध बस्थे ती गिद्ध हरदम मान्छेको मासु खान्थे । उनीहरू अरु जीवजन्तुको मासु हेर्दा पनि हेर्दैनथे । मान्छेलाई मार्ने क्रुर कला कस्तो थियो भने आफ्नो शिकारलाई माथि आकाशबाटै आफ्नो पित्तले प्वाँखको बाणले लक्ष्य गरेर प्रहार गर्थे; ती मध्ये एउटापनि गिद्धलाई कसैले पनि मार्न सकेका थिएनन् ।

तर ती नरभक्षी गिद्धहरूको हुललाई हर्कुलसले आफ्नो शक्तिशाली बाणको करामतबाट एकएक गरेर मार्यो । ती गिद्ध उसलाई ठुङ्नलाई झम्टेर आउन खोज्थे तर ठुङ्न आउनु अगाडि नै धनुकाँडले सोत्तर बनाई दिन्थ्यो ।

आज मेरो आकाशमा त्यही मार्काको हर्कुलसको खोजी किन छ भने यहाँ पनि डरलाग्दा दुष्ट जातका पंक्षिहरू चौबीसै घण्टा आकाशमा कावा खाइरहेका छन् । डर लाग्दा गिद्धहरू, बाजहरू, बेसारेहरू, बौडाँईहरू, हुच्चिलहरू, झुँडीफोराहरू, हाडफोराहरू कति हुन कति नरभक्षी चराहरूले निरीह चल्लाहरूका टाउका ठुङ्गिरहेका छन्, मुटुकलेजो ठुङ्गिरहेका छन् । इतिहासको उषाकालदेखि घायल शरीर बोकेर बाँच्न विबश छन् चल्लाहरू । ती शिकारी चराहरूले सम्पूर्ण आकाश ढाकेर चाल्लको आँगनमा आउने घामलाई चाटिरहेका छन् । घामको एक डोरो किरणपनि आँगनमा छिर्न नदिएर सदियौंदेखि अध्याँरोमा बाँच्न बाध्य छन् चल्लाहरू । ऊबेलाको त्यहाँका गिद्ध झैं यहाँका शिकारी चराहरू पनि आकाशबाटै आफ्ना प्वाँखेबाण गिराएर जीवनलाई भुतुभुतु लडाइरहेका छन् ।

चल्लाहरू आफ्नो आँगनमा निस्केर स्वतन्त्रतापूर्वक घुमफिर गर्न नपाएको कति भो कति ? त्यसैले आफ्नो निर्मल आकाशलाई भय र आतंकरहित बनाउन एउटा हर्कुलसको खाँचो छ । आकाशबाट शिकारी चराहरू गिराएर भयरहित संसार सृष्टि गर्ने त्यस्तो मनुवाको आवश्यकता छ । त्यस मनुवाले यस्तो काम गरोस्; आफ्नो पिँठ्यूको ठोक्रोबाट शक्तिशाली अग्निबाणहरू निकालेर आकाशका शिकारी चराहरूलाई प्याट्ट प्याट्ट खसाउन सकोस्, ती पंक्षीहरूका भुत्ला काँडेर भुत्लाबाट सिरक छापेर जाडोमा एकएक थान सिरक हरेक चल्लाका जीवनहरूले ओड्न पाउनु पर्ने कामना गरिरहेको छु ।

हर्कुलसले क्रेटनको साँढे समातेको कथापनि कम्ती चित्ताकर्षक छैन । त्यो साँढे यति बिशाल थियो; त्यसले बेलाबेलामा किटको टापु ध्वस्त गरेर मानिसहरूलाई तर्साइरहेको थियो । त्यसलाई सधाउन कसैको तागत पुग्दैनथ्यो । तर हर्कुलसले त्यसको जुरो समोतेर साँढेलाई सजिलै काँधमा बोकेर हिड्यो । यहाँपनि एउटा साँढे छ, त्यो साँढे पनि बेलाबेलामा यति उपद्रव मच्चाउँछ जसबाट निरीह, अकिञ्चन, अबोध जीवनहरू सदैव त्रास र आतंकको परिबेशमा सास फेर्न बिवश छन् । त्यो साँढेले त टापु ध्वस्त गर्थ्यो, यो साँढेले सधैँ हजारौंका सुन्दर जीवनहरू ध्वस्त पारेको छ, त्यसैले जुरो समातेर पछार्ने मात्र होइन कि सिङ्ग फुकालेर बाजा बजाउने शक्तिशाली हर्कुलसको आवश्यकता छ । हर्कुलसको अर्को महान् साहसिक कार्य के थियो भने उसले मृत्युलोकमा गएर केर्बरस नामको कुकुर समात्यो । केर्बरस मृत्युलोकको तीनटाउके कुकुर थियो; त्यसलाई पाताललोकका राजको दरवारको ढोकामा रक्षकको रुपमा राखिएको थियो । धर्तीमा भएका जनावारहरू मध्येको सबैभन्दा डरलाग्दो र खुंखार थियो त्यो कुकुर । कोही त्यस कुकुरको नजिक पर्नु भनेको सिधैँ मृत्युलोकको टिकट काट्नु थियो । त्यस तीन टाउके कुकुरलाई बाँध्न सक्ता धेरैको कल्याण हुने कुरा निर्विवाद थियो । तर यो काम असाध्यै कठिन र खतरैखतराले भरिएको काम थियो । एक त मृत्युलोक पुग्नेबाटो अनेकौं खतराले भरिएको थियो । अर्को कुकुर आफैं यति दुष्ट थियो, त्यसको लेखाजोखा गरी साध्यै थिएन । तर हर्कुलसले अनेकौं चुनौती र बाधा पन्छाएर कुकुरलाई जिउँदै बाँधेर फर्केको थियो ।

मृत्युलोकमा त केर्बरस नामको एउटै कुकुर थियो । यहाँ त अहिले अनेकौं जात र प्रजातिका थरिथरि कुकुरहरू छन् । ती कुकुर मालिकको इशारामा चल्छन्, मालिकको इशारा अनुसार भुक्छन्, मान्छे टोक्छन् । करोडकोटि जनताको जीवनलाई असुरक्षित पारेर एक्लो प्रभुको रक्षामा दरबार वरिपरि फन्को मार्छन्; मालिकको ईशारा अनुसार जनहरूलाई भुक्नु, झम्टिनु, टोक्नु, बगैंचाका फूलहरूमा खुट्टो उचालेर तुक्र्याउनु यहाँका कुकुरहरूको धर्म हो ।

केर्बरस पातालको दरबारको ढोकमा बसे जस्तै यहाँका कुकुरहरूपनि दरबारकै ढोकामा पुच्छर डोलाएर जुठोपुरोको आशामा ढुकिबस्छन् । दरबारकै रखुवारीमा उनीहरू अहोरात्र भुकिरहन्छन् । मानिसहरूलाई आतंकित र असुरक्षित पार्नु उनीहरूको नित्य कर्म हो । दिनहुँ नयाँ नयाँ कुकुरहरू रखुवारीको निम्ति दरवारको पटांगिनीमा लामबद्ध हुँदै गएको दृष्यपनि यहाँको ताजा समाचार हो । यसरी कुकुरहरूको जात दिनप्रतिदिन बढ्दै गएको छ । मालिक रिझाउन, पुच्छर डोलाउन, भुक्न र मान्छे झम्टिन कोभन्दा को तगडा ठूलो प्रतिश्पर्धा हुँदै गएको छ । यी जात जातका बिषलु कुकुरहरूलाई बध गर्न एउटा शक्तिशाली हर्कुलसको जन्म हुनैपर्छ भन्ने सबैको सपना हो । साङ्लाले बाधेरमात्र पुग्दैन यी कुकुरहरूलाई मरुभूमिमा पुर्याएर मार्ने मनुवाको आवश्यकता छ । त्यसैले यी तमाम कुकुरलाई बधशालामा पुर्याउने जब्बर हर्कुलसको याचना युगौंदेखि गरिआएको छु । मरुभूमिमै लगेर कुकुर मार्नु पर्ने कुरा किन गरिरहेको छु भने मरेको कुकुरले अलिकति पानी टेक्न भ्यायो भने त्यो पुनर्जीवित हुने संभावना छ । त्यसैले पानीबिहीन मरुभूमिमा यी कुकुरहरूलाई मारिनुपर्छ ।

हिमवत्खण्डको नेपाल खाल्डोमा यसरी सयौंवर्षदेखि सिंह, कुकुर, साँढे, गिद्ध र फोहोर चिजहरूले सताइरहेको छ । आजसम्म त्यस्तो वीरपुरुष जन्मिन नसक्नु नेपालआमाको दुर्भाग्य नै मान्नुपर्छ । यो दुर्भाग्यलाई अन्त्य गर्न साँच्चै नै म आजभोलि एउटा हर्कुलसको खोजीमा छु । धर्तीका कालो अध्याँराका थेग्ला पुछ्न उही ग्रीसकालीन हर्कुलसका हात सिबाय अन्य हातहरूको पित्ताम चल्दैन भन्ने मेरो विश्वास हो । हर्कुलसका ती बलिष्ठ हातहरू देख्नुभयो भने तुरुन्त मलाई खबर गरिदिनुहोला । अहोभाव र अनुग्रहले म तपाईका चरणकमलमा शीर राख्ने छु ।

अस्तु
२०६२/७/२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *