Skip to content


चालीसको दशकसम्म जम्माजम्मी ६ वटा सिनेमा हल थिए- काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा। भक्तपुरमा नवदुर्गा चलचित्र मन्दिर थियो तर सबै भक्तपुर सिनेमा हल भनेर नै चिन्थे। ललितपुर पाटनमा अशोक सिनेमा हल थियो। तर, पाटन सिनेमा हल भन्थ्यौं हामी।

त्यो आज अशोक पार्टी प्यालेसमा परिणत भएको छ। काठमाडौंमा चाहिँ नयाँसडकमा रञ्जना सिनेमा हल थियो। केही वर्षअगाडि मात्र सिनेमा हल बन्द भयो। त्यो घर भत्काएर भव्य व्यापारिक केन्द्र निर्माण भएको छ आज त्यहाँ- रञ्जना ट्रेड सेन्टर। पुरानो रञ्जना अर्धगोलाकार थियो अलि भिन्न वास्तुकलामा। त्यो घरको बाहिरी भित्तामा चलिरहेको सिनेमा र त्यसपछि फेरिने सिनेमाका ठूलाठूला पोस्टर टाँस्ने बेग्लै ठाउँ थिए।

एकातिर लेखिएको हुन्थ्यो, चलिरहेछ अनि अर्कातिर, आउँदैछ। यदि आउँदैछ सिनेमा कुनै कारणवश नआएर अर्कै सिनेमा परिवर्तन भयो भने काठमाडौंमा ठूलै खैलाबैला हुन्थ्यो किन यस्तो भयो भनेर ! हल सञ्चालकलाई काउसाको माला लगाएजस्तै हुन्थ्यो सायद !

त्यस्तै जमल रानीपोखरीनजिकै विश्वज्योतिको पुरानो हल थियो। साह्रै जीर्ण भएपछि त्यसलाई भत्काएर करिब २० वर्षअगाडि नयाँ हल ठड्याइएको छ। अनि अर्को हल थियो, जयनेपाल चित्रघर नक्साल जाने बाटोमा। त्यो हल पनि प्राय: बन्दबन्दकै अवस्थामा पुगिसकेको थियो। तर, नयाँ व्यवस्थापनको हातमा आएपछि सन् १९९९तिर हिमालय क्याराभान भन्ने १०८ मिनेटको छोटो सिनेमा चलाइयो त्यही थोत्रै हलमा।

काठको साधारण फलेकका लामालामा बेन्जहरूमात्र थिए त्यसताका हलभित्र। पुराना छुट्टाछुट्टै मेचहरू थिएनन् र माथिल्लो तल्ला ‘बाल्कोनी’ पनि जीर्ण भएकाले सञ्चालनमा थिएन। त्यसै हलमा म र मेरी श्रीमतीले पनि हिमालय क्याराभान हेर्‍यौं। एरिक भ्यालीको निर्देशन र फ्रान्सको एउटा संस्थाबाट आर्थिक सहयोगमा निर्मित यो सिनेमा पाँच हजार मीटर उचाइमा रहेको नेपालको हिमाली क्षेत्र डोल्पाको गाउँ र गाउँलेहरूको कथामा आधारित छ।

यो ७२औं आकाडमी अवार्डमा राम्रा विदेशी सिनेमाअन्तर्गत मनोनीतसमेत भएको थियो सन् १९९९ मार्चमा अमेरिकाको लस एन्जलसमा। प्रचलित भाषामा ओस्कार अवार्ड पनि भनिन्छ यस समारोहलाई। यो सिनेमापछि हलले अर्को जीवन पायो। केही वर्षभित्रै हललाई मर्मत गरी अर्कै रूपमा ल्याइयो।

हलभित्र छिर्ने ढोका नै परिवर्तन भयो। उत्तरबाट छिर्ने ढोका पूर्वमा सारियो। टिकट काउन्टरदेखि खाजाघर अनि बस्ने मेचदेखि हलको रङरोगनसम्म परिवर्तन भयो र नयाँ सिनेमाघर बन्यो। हालै रामलीला भन्ने रंगीन हिन्दी सिनेमा हेरियो त्यो हलमा।

२७-२८ वर्षअगाडि तुलनात्मक रूपमा अलि नयाँ सिनेमा हल पनि थियो काठमाडौंमा- कुमारी सिनेमा। धोबीधारामा खुलेको त्यो हललाई पनि केही वर्षअगाडि मर्मतसम्भार गरिएको थियो। त्यहाँ अहिले एकैपटक दुईवटा सिनेमा देखाउन मिल्ने बनाइएको छ।

२०४१-४२ सालतिर त्यसै हलमा मैले साथीहरूसँग नेपाली चलचित्र कुसुमे रुमालको प्रथम प्रदर्शनी हेरेको थिएँ। मेरा मित्र सुमनध्वज विष्टको कोपुण्डोलस्थित घरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य कर्णबहादुर धिमाल डेरा लिएर बस्नुहुन्थ्यो। उहाँ मोरङबाट निर्वाचित भएर आउनुभएको थियो। उहाँले नै सुमनलाई तीनवटा ‘फ्री टिकट’ दिनुभएको रहेछ।

सुमन, म र जयदेव भट्टराई फुर्किंदै फुर्किंदै सिनेमा हेर्न गएका थियौं। तृप्ति नाडकर, नीर शाह, भुवन केसीजस्ता तत्कालीन जाज्वल्य कलाकारहरूको जीवन्त अभिनय आजपर्यन्त हाम्रा आँखाअगाडि छन् र हामी बेलाबेलामा चर्चा पनि गर्छौंसँगै भेट भएको बेला।

सिनेमा साँच्चिकै एउटा पर्वझैं लाग्छ सधैंभरि। सिनेमा, सिनेमाकर्मी, सिनेमामा लगाइने लुगा, सिनेमा हल, फेसन, सिनेमा हेर्ने कार्यक्रम, सिनेमाका लगानी, सिनेमासम्बन्धी पत्रिकाहरू जसरी ज्यादै महत्त्वका साथ तीसौं चालीसौं वर्षअगाडि हेरिन्थ्यो, त्यस्तै महत्त्वका साथ आज पनि हेरिन्छ। माध्यम र प्रविधिमात्र फरक भएका छन्- समय र परिस्थितिले।

म जन्मिएको साल २०२२ ताका काठमाडौंबाट मानिस जिप रिजर्भ गरेर पाटन अशोक हलसम्म सिनेमा हेर्न आउँथे भन्ने कुरा मैले बारम्बार बुवा, हजुरबुवाबाट सुनेको छु। पाटनबाट पनि काठमाडौं त्यसैगरी जाने गर्थे मानिसहरू खासगरी साँझ ६ बजेको ‘सो’ हेर्न। बुबाले सुनाएअनुसार सार्वजनिक यातायातको राम्रो व्यवस्था पनि थिएन त्यसताका।

थापाथली-कोपुण्डोलमा नै एउटामात्र पुल थियो। फलामको बार भएको पुल। त्यो पुल भत्काएर २०५२ सालमा पाटनबाट काठमाडौंतिर जाने एकतर्फी नयाँ पुल बनाइएको छ। काठमाडौंबाट पाटन, ललितपुर आउने हालको एकतर्फी पुलचाहिँ २०२५ सालमा मात्र उद्घाटन भएको थियो, जुन २०५२ सालको लगभगसम्म पनि दुईतर्फी नै थियो।

२०२५ सालमा त्यो नयाँ पुल बनेकै वर्ष हामी नयाँसडकबाट कोपुण्डोल सरेका थियौं। सिनेमा हेर्ने कार्यक्रम बारम्बार बनिरहन्थ्यो। रातिको ‘सो’ हेरेर आउनेलाई खानदानमा खाना राखिदिने चलन थियो। ठूलो हरियो बट्टा थियो- पहिले तातो पानी हालेर एकैछिन रन्काउने अनि पानी फालेर खानदानहरू हाल्ने। घन्टौंसम्म तातो रहन्थ्यो खानेकुरा तीनजनासम्मलाई पुग्ने।

म अलि ठूलो भएपछि हजुरआमासँग बारम्बार सिनेमा हेर्न जान्थेँ। जाडोको छुट्टीमा हामी एकपटक भक्तपुरसम्म गएर सिनेमा हेरेको सम्झना छ मलाई। ६५/७० वर्षकी हजुरआमा र म एकाबिहानै जाउलो, साग र अचार खाएर भक्तपुरका लागि कोपुण्डोलबाट ९ बजे नै निस्केका थियौं। सधैंको खानापट्टि लाग्यो भने समयमा पुग्ने सम्भावना थिएन।

हामी एकडेढ घन्टामा पुग्यौं नवदुर्गा चलचित्र मन्दिर कोपुण्डोलबाट रत्नपार्क अनि रत्नपार्कबाट भक्तपुर सार्वजनिक यातायातमा। जाडोको समयमा ११ बजे नै सुरु हुन्थ्यो पहिलो सो, दिन छोटो हुने हुँदा राति अबेर नहोस् भनेर। देव आनन्द र वायदा रेहमान मुख्य कलाकार भएको गाइड भन्ने अति आकर्षक सिनेमा हेरेका थियौं त्यस दिन।

आरके नारायणजस्ता प्रसिद्ध लेखकको उपन्यासमा आधारित यो सिनेमा विजय आनन्दले निर्देशन गरेका थिए। सन् १९६५ डिसेम्बरमा यो सिनेमा पहिलोपटक प्रदर्शनीमा आएको थियो भारतमा। भारतवर्षमा पनि अत्यन्त महत्त्वका साथ हेरिएको यो चलचित्रको टाइम म्यागजिनमा समेत चर्चा भएको थियो। सिनेमा बनेको १४-१५ वर्षपछि मात्र मैले हेर्न पाएको थिएँ काठमाडौंमा।

लता मंगेशकर, मोहमद रफी, किशोर कुमार, सचिनदेव वर्मन तथा मन्ना डेका सुमधुर गीतहरूले भरिपूर्ण सिनेमा अनि देव आनन्दको अमर अभिनय आज पनि आँखाअघि आइरहन्छन् कहिल्यै नमेटिने गरी।

इतिहास हेर्दा काठमाडौंमा अरू सिनेमा हलहरू पनि देखिन्छन्। खासगरी सार्वजनिक हलमा चाहिँ नयाँसडकको जनसेवा सिनेमाको नाम बारम्बार आउँछ “सिनेमा चर्चा” गर्दा। तर, सन् १९६१ को भीषण आगलागिमा भष्म भयो त्यो। मैले तस्बिरमात्र देखेको छु, त्यस हलको जहाँ आज विशाल बजारको भव्य भवन ठडिएको छ। त्यसबाहेक थुप्रै निजी सिनेमा हलहरूको चर्चा सुनिन्छ बूढापाकाबाट।

खासगरी २००७ सालपूर्व र २००७ देखि २०२७ को दुई दशकविचको समयमा सिनेमा र रंगमञ्चको कुरा चल्दा काठमाडौंका प्रज्ञाभवन, नाचघर, सभागृहजस्ता हलमा पनि च्यारेटी सो भनेर बेलाबखत सिनेमा देखाउने चलन थियो। कहिलेकाहीँ सेन्सर बोर्डबाट पास नभएका हिन्दी एडल्ट मुभीलाई पनि च्यारेटी सोका नाममा प्रदर्शित गरिएका इतिहास पनि छन् काठमाडौंमा। ती सिनेमा हामी केटाकेटीलाई आकाशको फल नै थिए।

मेरी हजुरआमाका हामी दुवै नाति औधी प्यारा थियौं। तर, उहाँसँग सिनेमाचाहिँ म नै धेरै हेर्न जान्थेँ। म र मेरा दाजुको व्रतबन्ध एकैचोटि भएको थियो। व्रतबन्धको अघिल्लो दिन पूजापाठपछि शिरमा जुटिका बाँध्नुपर्ने रहेछ भोलिपल्ट काट्ने कपालको तयारीका लागि। हामी दुई दाजुभाइलाई अँगालोमा राखेर तस्वीर खिचाउनुभएको थियो हजुरआमाले।

सिनेमाको टिकट पाउन सधैंजसो धौधौ हुन्थ्यो। भारतमा महिनौंमहिना कहिलेकाहीँ त वर्षौंपहिले चलेका सिनेमामात्र आउँथे काठमाडौंमा। त्यही पनि सजिलै टिकट नपाइने। टिकट बिक्री सकिएपछि हाउस फुलको बोर्ड टाँसिन्थ्यो अनि कालो बजारमा टिकट बेच्नेहरू निस्कन्थे, पोखरीमा दाना हालेपछि माछा उत्रेझैं गरेर। ‘ब्ल्याक’ भनिन्थ्यो त्यस्ता व्यक्तिलाई- कालो बजारिया।

अचेल त्यस्तो देखिँदैन। मोलमोलाइबाट टिकटको परल मूल्यभन्दा बढी तिरेर किनेपछि त्यसलाई ब्ल्याकमा किनेको भनिन्थ्यो। सिनेमा हेरेको कुरा कसैलाई सुनाउनुपहिले उसैले सोध्ने चलन थियो ब्ल्याकमा किनेको कि प्वालमै? त्यसताका प्वालमा टिकट पाउनु ठूलो विषय हुन्थ्यो। प्वाल अर्थात् टिकट सेल्स काउन्टर !

भित्रबाहिर केही नदेखिने काठका झ्याल डम्म लगाएको अँध्यारो प्वाल। पैसा समातेको हात भित्र छिराएर टिकट संख्या र कुन क्लासको टिकट भनेर चिच्याएपछि टिकट र फिर्ता पैसा आउँथ्यो उताबाट। हूल थामिनसक्नु छ भने पुलिस पनि बोलाउनुपर्थ्यो कहिलेकाहीँ। लाठीचार्ज भएका पनि छन् कतिपटक। मचाहिँ सिनेमा हेर्न जानुपूर्व सधैं गणेशलाई सम्झन्थेँ र वरदान माग्थेँ टिकट पाउने। अँझ फस्ट डे फस्ट सोको कुरै बेग्लै।

प्राय: सिनेमा आइतबारमात्र परिवर्तन हुन्थे। त्यो दिनको पहिलो सो हेरेकाहरू सिनेमा चलुन्जेल मैले त फस्ट डे फस्ट सो हेरेको भनेर डिङ हाँक्ने गर्थे। फस्ट डेको कुनै सो हेर्ने कोसिस धेरैको हुन्थ्यो र म पनि त्यसमा सामेल हुन प्राय: मौका खोज्थेँ। तर, त्यस्तो मौका नै मलाई मुस्किलले एकदुई चोटि पर्थ्यो वर्षमा। आइतबार बिदा पर्दा र जाडोको लामो छुट्टीमा कहिलेकाहीँ मौकामा चौका हानिन्थ्यो।

बोकाले दाइँ हुने भए गोरु केलाई चाहियो भनेझैं हामी फुच्चेको केही लाग्दैनथ्यो टिकट हात पार्न। तर कोपुण्डोलका साँढेजस्ता मिचाहा दादा दाइहरूको पछि लागेपछि कहिलेकाहीँ फस्ट डे फस्ट सोका टिकटहरू पनि हात लाग्थ्यो। तीसको दशकसम्म पनि नेपाली सिनेमा धेरै बनेका थिएनन्। फाट्टफुट्टमात्र आउँथे।

नेपाली भाषाका सिनेमाचाहिं काठमाडौं उपत्यकाका प्राय: सबै हलमा एकैचोटि प्रदर्शन गरिन्थे। त्यसैले सिनेमा भन्नासाथ ‘हिन्दी’ नै मानिन्थ्यो र त्यसैको चमक हुन्थ्यो। सिनेमा छुटेपछिका दर्शकहरूलाई ध्यानमा राखेर त्यसै सिनेमाका गीतहरू छापेर पातलो पुस्तिकाजस्तै बनाई बेच्ने चलन पनि थियो त्यसताका। १०-१० पैसामा बेच्थे मानिसहरू हलको मूलढोकामा बसेर।

अंग्रेजी सिनेमा ज्यादै कम प्रदर्शित हुन्थे। तर, तीसको दशकको मध्यतिर प्राय: शुक्रबार र शनिबार अंग्रेजी सिनेमाका चर्चा हुन्थे काठमाडौंमा। गतिला सिनेमाहरू भरभराउँदो जवानीका युवाहरूलाई आकाशको फल आँखा तरी मर्झैं थिए। २०३४-३५ सालतिर ब्रिटिस काउन्सिलको तत्कालीन अफिस कान्तिपथमा राम्रा अंग्रेजी सिनेमाहरू देखाइन्थ्यो। काठमाडौंका युवा ती सिनेमा हेर्न लालायित हुन्थ्ये, मरिहत्ते गर्थे।

ती सिनेमा प्राय: शनिबार साँझ र कहिलेकाहीँ शुक्रबार नै पनि झम्सिखेल, ललितपुरस्थित शशिभवनमा ल्याइन्थ्यो- प्रधानसेनापतिको निवासमा निजी प्रदर्शनीका लागि। अरूतिरबाट पनि सिनेमा ल्याइन्थ्यो होला त्यहाँ तर त्यसको स्रोत हामीलाई थाहा हुँदैन थियो। थाह पाउन जरुरी पनि थिएन। त्यसैताका नयाँसडकस्थित अमेरिकी पुस्तकालय र भारतीय सांस्कृतिक केन्द्रमा पनि बारम्बार ‘फिल्म सो’ हुन्थे।

हजुरबुवा केशवदेव भट्टराई गणितका प्रोफेसर हुनुहुन्थ्यो। हजुरबुवा ९६ वर्षसम्म बाँच्नुभयो। उहाँले ६५ वर्षजति त शिक्षण पेसामै बिताउनु भयो- कक्षाकोठामै गएर। तत्कालीन सेनापतिका छोराछोरीलाई शशिभवनभित्र ट्युसन पनि पढाउनुहुन्थ्यो उहाँ। त्यसैले हामी शशिभवनमा बिनाअनुमति प्रवेश गर्थ्यौं। मूलढोकामा पुगेपछि नाम बताउनुपर्थ्यो अनि भित्र जाहेर हुन्थ्यो- मास्टर बाजेका नाति भनेपछि छोडिदिनू भन्ने उत्तर आउँथ्यो।

मुख्य भवनको मूलद्वारबाट छिरेपछि सिनेमाका जस्तै ठूलठूला दुवैतिरबाट भर्‍याङ जान्थे माथिसम्म। जीवजन्तुका सजाइएका थुप्रै आकृति थिए त्यहाँ। सायद सबै सक्कली नै होलान्। कहीँ गैंडाका टाउका, कहीँ बाघ, कहीँ मृगका सिङ सजाइएका चित्ताकर्षक रूपमा। ठूलो बैठकमा अस्थायी पर्दा हालिएको हुन्थ्यो अनि त्यसमा सिनेमा, त्यो पनि अंग्रेजी।

मैले त्यही बैठककोठाको ठूलो पर्दामा जोन ट्राभोल्टाका स्याटर्डे नाइट फिभर, चाल्स ब्रम्सनको द हाउट वफेलो, जोन ट्राभोल्टा र ओलिभा न्युटल जोन्सको प्रख्यात सांगीतिक सिनेमा ग्रिज, अलिकजान्द्रा डुमासको शास्त्रीय साहित्यमा आधारित द थ्री मस्किटर्सलगायत सांगीतिक ब्यान्ड आब्बाको अस्ट्रेलिया भ्रमणसम्बन्धी अत्यन्त प्रख्यात सिनेमा पनि हेरेँ।

त्यसैताका नेपाली युवामाझ आब्बाका गीतहरू अत्यधिक सुनिन्थे-क्यासेट चक्कामा। रेडियो नेपालको अंग्रेजी गीत बज्ने कार्यक्रममा पनि धेरैपटक प्रसारण हुन्थे ती गीत। आब्बा लेख्ने तरिका पनि अचम्मको थियो- अंग्रेजीमा अक्षर ए अनि बायाँ फर्केको बी अनि दायाँ फर्केको बी र फेरि ए। मैले करिबकरिब ३०-३५ वटा प्रख्यात सिनेमा हेरेँ होला त्यसताका।

एक दिन जेम्सवन्डको सिनेमा प्रदर्शन हुने भयो- द स्पाई हु लभ्ड मी। बुबा, काका र हजुरबुवामात्र जाने हुनुभयो। जेम्सवन्डको सिनेमा छ भनेपछि घरमा खुब चर्चा भयो। मेरो जिज्ञासा झन् बढ्यो र मैले टिप्पा लिएँ, म पनि जान्छु भनेर। नङले चिमोटे हुनेलाई बन्चरो किन लाउनु भनेझैं हजुरबुवा मान्नुभयो र उहाँको विशेष अनुमतिमा जाने भयौं हामी चारपाँचजना नै।

शशिभवनको बैठक अटाइनअटाई थियो त्यस दिन, जहाँ फल पाक्छ उहीँ चरी नाच्छेझैं। त्यत्तिका मान्छे कहिल्यै हुँदैनथिए त्यहाँ। मान्छे धेरै भएपछि भुइँमा पनि बस्ने व्यवस्था गरियो। म सानो फुच्चेको भागमा पर्‍यो भुइँ। तर बाक्लो गलैंचा चाहिँ थियो बस्न।

ठाडो घाँटी गरेर जेम्सवन्डको सिनेमा हेरियो पहिलोपटक। त्यो सिनेमाले मेरो मनमस्तिष्कमा कति छाप पार्‍यो भने आज पनि जेम्सवन्डका सिनेमा, ट्रेलर, साउन्ड ट्र्याक म केही छोडदिनँ हेर्न र सुन्न।

सिनेमा हेरेर भोलिपल्ट विद्यालय जाँदा साथीहरूलाई म बारम्बार कथा हाल्थेँ अघिल्लो दिन हेरेको सिनेमाको। मैले अंग्रेजी कथाहरू कति नै बुझ्थेँ र? सायद आफ्नै मनगढन्ते दृश्य पनि थपिदिन्थेँ। तर, एउटा कुराचाहिँ पक्कै हो। म बारबार, तारन्तार नबुझेको कुराचाहिँ मेरा दाइलाई सोध्थेँ भोलिपल्ट पर्सिपल्टसम्म पनि। यसले मलाई कथा भन्ने र बनाउने बानी पार्दै गयो।

तीसको दशकको अन्त्यतिर काठमाडौं उपत्यकामा बिस्तारै भीडियो प्रविधि छिर्‍यो। दिनभरि वा रातभरि भीडियो डेक र स्क्रिन भाडामा लिएर एकैपटक तीन/तीनवटा सिनेमा एकपछि अर्को गरेर हेर्ने चलन पनि आयो। युवाहरू टोलटोलमा पैसा उठाएर भाडा लगाएर सिनेमा हेर्ने, देखाउने गर्थे। तर, एकडेढ वर्षभित्रै भीडियो डेक र स्क्रिन बेपत्तासँग छिर्‍यो काठमाडौंमा।

खासगरी काठमाडौंका टोलटोलका, गल्लीगल्लीका घर, छिँडी र कोठाहरू भीडियो- सो रुम बने। २०४० सालको पूर्वाद्र्धसम्म त सयौं यस्ता मिनी हल बने काठमाडौंका घर, गल्ली र गल्छेडामा। कतै काँक्रीबियाँ दाँतजस्तै एकपछि अर्को लहरै भीडियो देखाउने कोठाहरू हुन्थे भने कतै च्याउ उम्रेझैं जता पायो उतै। एउटा सिनेमा हेर्न पाँच रुपैयाँ पर्थ्यो। शनिबार बिहानचाहिँ तीन रुपैयाँमा विद्यार्थी सहुलियतका शोहरू हुन्थे।

म सिनेमा प्रशस्तै हेर्थें तर भीडियो सो रुमहरू सयौंका संख्यामा आएपछि सम्भव नै भएन धेरै वा सबै हेर्ने। देख्नाको राम्रो, खान लाग्यो चाम्रोझैं भए सो रुमहरू पनि। स्तरहीन सुविधा र तल्लो स्तरका सिनेमाका कारण पनि। कतिसम्म भयो भने नग्न सिनेमाहरू पनि सार्वजनिक रूपमा देखाउन थालियो। तत्कालीन सरकारले पक्रिने पनि गर्‍यो त्यस्ता प्रदर्शकहरूलाई बेलाबखत। तर, चोरका हजार दाउ हुन्थे।

बिस्तारै घरघरै भीडियो डेक र स्क्रिन भित्रियो। फलस्वरूप सार्वजनिक सो रुम विस्थापित भई व्यक्तिगत सो रुममा परिणत भए। सिनेमाहरू भीडियो क्यासेटमा भाडामा लिन पाइने भयो।

अब मैले हेरेका सिनेमाका कथाहरू पनि साथीभाइलाई भन्नुपर्ने अवस्था बिस्तारै सेलाउन थाल्यो। त्यसैले होला, मेरो कथा भन्ने बानीले अर्कै बाटो खोज्यो र म कथा लेख्नपट्टि लागेँ। अनि बिस्तारैबिस्तारै आफ्नै कथाहरू बुन्न थालेँ।

२०७० माघ २५, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *