नजिकैको टेबलमा एकसरो फेरफारे लुगाको थुप्रो छ। ऊ पल्टिएको भुइँ खाटको छेवैमा एउटा ससानो काँधे झोला उदांगो लडिरहेको छ। नजिकै पुगिसक्ता पनि ऊ केही हलचल गर्दैन। भित्ताको स्विच थिच्नासाथ उज्यालोको साम्राज्य फैलन्छ कोठामा। तर, अँझ पनि उसले म आइपुगेको थाहा पाउन्न।
उज्यालोको प्रशस्तिमा देख्तछु- टेबलमाथिरहेका उसका लुगामाथि केही फोटा पनि छन्। एउटा उनीहरू बूढाबूढीको, अर्को उसका छोरा र छोरीको। तेस्रो सबै परिवारका सदस्यहरू भएको। फोटाहरू फेरि दोहोर्याएर हेर्छु। अब आँखा दौडिन्छन् उसको अनुहारमाथि। तर, रातभरिको बसयात्राले ऊ थाकेको हुनसक्छ।
म चुपचाप आफ्नो कोठाभित्र छिर्छु र लुगा फेर्न थाल्छु। हुन त मेरो पनि शरीर थाकेको छ दिनभरिको धपेडीले। तर, उसलाई भेट्नेबित्तिकै पुराना स्मृति चित्रहरू एकाएक सलबलाउन थाल्छन् मेरो मानसपटलमा।
सानैदेखि अलिक जिद्दी थियो ऊ। जे नगर भन्यो त्यो गर्नैपर्ने। हजुरआमा साँझमा सुत्नुहुन्न भन्नुहुन्थ्यो। तर, ऊ यसरी नै सुतिदिन्थ्यो साँझमै। भान्छामा मासु पाकेको छाक ऊ दूध-कोला माम खाने भन्थ्यो। तर अर्को कुनै दिन म र सानो भाइ दूध-कोलासँग भात खाने इच्छा गर्थ्यौं। ऊ भने मलाई मासु चाहियो भनेर आमासँग झगडा गर्थ्यो।
हुन त बाल मनोविज्ञानको कुनै परिभाषाले भन्थ्यो होला- ऊ जिद्दी हैन, एउटा फरक बालक थियो- आफ्नै विवेकले चल्न खोज्ने। तर, पहाडबाट तराईको झोडामा भर्खर बसाइँ सरेको हाम्रो परिवारमा दुई छाक पेट भर्ने जोहो नै धानिनसक्नु थियो। उसको फरक स्वभावको सम्मान गर्ने, सोहीअनुसारको व्यवहार देखाउने फुर्सत कसलाई थियो र?
हामीजस्तो अरूको दबाबमै भए पनि पढाइमा घोटिने चेष्टा सुरुदेखि नै देखाएन उसले। जसोतसो माथिल्ला कक्षाहरूतिर त धकेलियो ऊ तर स्कुल छिचोल्न सकेन। उमेर पुगिसकेपछि अल्लारे युवालाई बाँध्ने पुरातन विधि नै रोज्यो परिवारले। उसको चाँडै विवाह भयो। मध्ये बीस नकट्तै दुई सन्तानको बाबु बन्यो ऊ।
यता पढाइको बहानामा म र सानो भाइ काठमाडौं पस्यौं र यतै अलमलियौं यन्त्रवत् सहरिया जिजीविषामा। देख्नेलाई आरिसयोग्य थियो अबको हाम्रो पारिवारिक अवस्था। गाउँमा बुढ्यौलीले समात्दै गएका बाआमासँग भाइ र उसको परिवार थियो। घरैसँग जोडिएको खेत पनि अब त प्रशस्त उर्वरा भइसकेको थियो बाबाले वर्षौं बगाएको पसिनाको बलमा।
मेहनत गरे नगदे बालीले सजिलै खर्च धान्थ्यो परिवारको। अँझ डिप बोरिङ र अन्य आधुनिक कृषि औजारहरूको उपयुक्त चाँजोपाँजो थियो घरमा। तरकारी र अन्य कृषि उपजको उत्पादनमा उसको मन बसेको भए त सञ्चित आयको बाटो पनि उसले पकड्न सक्थ्यो। तर, कहिल्यै चासो देखाएन उसले यो कर्ममा। यता छोराछोरीको बढाइ र पढाइसँगै दिनदिनै उसको आफ्नै पारिवारिक जिम्मेवारी बढ्दै थियो। तर, यी यावत् जिम्मेवारीबाट ऊ बेखबर भएर बरालिएको छिटफुट अभियोग पनि खेप्न थाल्यो उसले अब।
बरु यही मेसोमा खाडी मुलुक आउजाऊ गर्ने नयाँपुराना लाहुरेहरूले उसको ध्यान खिचे। उसले हाते फोन सोझ्यायो काठमाडौंतिर र पासपोर्ट बनाउन यता आउने उद्घोष गर्यो। राहदानी अड्डामा फारम पेसेपछि पनि हामीले खुब सम्झाउन खोज्यौं उसलाई। ऊ गाउँ फिरेपछि पनि यो या त्यो बहानामा हाम्रै सिरानमुन्तिर च्यापिइरह्यो उसको पासपोर्ट झन्डै डेढ वर्षसम्म। सायद जति धेरै पल्सर र स्मार्ट फोन भित्रिए गाउँमा, उसको मन उति नै उड्यो मलायातिर। र त हरेक पटक ऊ बम्कियो हामीसँग उसको उड्ने पालो कहिल्यै नआएकोमा।
देख्दा ऊसँग नभएको त्यही एउटा भटभटेमात्र हो। यताबाट सोच्यौं- उमेर छ। रहर छ। सँगैका दौंतरी उसैगरी हुइँकिएका छन् घरअघिबाट बाइकमा। त्यसैले गाउँमै उद्यम गर्ने सर्तमा हामीले त्यो पनि अफर गर्यौं। तर उसले माने पो? सायद उसलाई तह लाउने अर्को जुक्ति ठान्यो यसलाई। अब त तातो हावा भरिँदै गएको बेलुनजस्तै हुँदै गयो उसको मन। तलबाट जति नै बल गरेर अँठ्याउन खोज्यो, उति नै लर्बर्याइदिन्छ हामीलाई।
छरछिमेकीमार्फत यो पनि सुनियो कि उसले त अब हाम्रै नियतमाथि शङ्का गर्न थाल्या छ रे आजकल। उफ् ! अब चैं उसैको जित भयो, हामी हार्यौं। गाउँकै एक चिनारु दाइ काम गर्ने एजेन्सीमार्फत उसको मलाया जाने भिसा झर्यो। र, ऊ हिँड्यो त्यो काँधे झोला च्यापेर सुन फल्ने देशको यात्रामा।
किन हरिया पहाडको फेदीमा परिवारसँगै बसेर दुई छाक खान पुग्दा पनि रम्दैन हाम्रो मन? तराईका उर्वरा फाँटहरूमा केही थोपा पनि चुहिन सर्माउँछ हाम्रो पसिना। तर, यो किन अरूका मरुभूमिहरूमा भेलसरि भएर बग्न मरिहत्ते गर्छ? मान्छे किन यति आतुर हुँदैछ अचेल आफ्नो गुँड त्याग्न?
विषयले गम्भीर सोसल रिसर्चको माग गर्ने ठम्याइ हुनसक्छ। तर, प्रश्न एकाएक फर्किन्छ मैतिर। आफ्नै गाउँमा मास्टरीको अवसर त थियो नि मलाई पनि। केले रत्यायो मलाई यतिका धपेटीबीच यो महँगो सहरमा? आखिर किन फर्किंदैनन् बचेराहरू आफू हुर्किएको पुरानो गुँडमा? म यसरी अतीतको सुरुङमै दौडिरहेका बेला तर्कवितर्कसँग पनि जम्काभेट हुन पुग्छ।
त्यसै बखत श्रीमतीले भान्छाकोठाबाट खाना पाकेको जनाउ दिन्छिन्। म उसलाई ब्यूँझाउने तरखरमा लाग्छु। तर, थाकेको मानिस निद्रामा मस्त देखिन्छ ऊ। फेरि के थाहा? सपना पो देखिरहेको छ कि? …धमाधम रूखमा फलेका पैसा सोहोरेको, ठूलो सुट्केसभरि सरसामान कोचेर गाउँ फिर्दै गरेको। देश छाडेकै छैन उसले। त्यहाँको हन्डर र कहर खेपेकै छैन। त्यसैले उसमा यो उल्क्याइँ उमार्ने त्यो सपनादेखि मलाई एकाएक रिस उठ्छ। म उसलाई झटपट ब्यूँझाउँछु।
यता आफ्नो हालत जस्तो होस् न, परिवारको म अगुवा हुँ। त्यसैले उसको सम्पूर्ण खर्चको जोहो गर्ने दायित्व मेरो छ। एजेन्सीमा चिनारु दाइ नै किन नहुन् या रेडियोमा बज्ने विज्ञापनले असी हजारमात्र बुझाउनू भनेर हरेक दिन किन नफलाकोस्, झन्डै डेढ लाख नबुझाई भिसा लागेको पासपोर्ट हाम्रो हातमा आउँदैन अर्को दिन। सबै सरकारी नीतिनीयम जान्या बुझ्या छ।
बद्मासी हुँदा उजुरबाजुर गर्ने ठाउँ पनि देख्या छ। तर, मेनपावरको यो हदसम्मको लुटमा म तातेको देख्दा भाइ डराउँछ। मलाई थाहा छ- बल्लबल्ल आएको यो मौका ऊ कुनै पनि बहानामा गुमाउन चाहँदैन अब। फेरि हामी उजुर गर्न हिँडेर मेनपावरलाई के फरक पर्छ र? अरू सयौं युवा त्योभन्दा बढी रकम च्यापेर हाम्रापछि छन्, आफ्नो भिसा थुत्न।
राष्ट्रिय/अन्तर्राष्ट्रिय कम्पनीहरूसँग समन्वय गर्ने निकायभन्दा दासहरूको खुला किनबेच गर्ने सत्रौं शताब्दीको कुनै अखडाजस्तो लाग्छ मेनपावरको काम गर्ने ढाँचा। त्यत्रो पैसा बुझाउँदा पनि हामीलाई चैं कुनै लिखत नदिइने रे। उनीहरूले भने भाइलाई दस ठाउँमा थिचाएर कबुल्न लाएका छन्, भवितव्य जेजस्तो भए पनि स्वयं सहन्छु, बेहोर्छु भनेर।
अब भोलिपल्ट उड्नु छ उसले। बेलुकाको खानापछि हामी तीन दाजुभाइ अन्तिम सरसल्लाहमा यसो जुट्ने तरखर के गर्दै हुन्छौं, मेरा मित्र नारायण श्रेष्ठ झुल्कन्छन् आफ्नो चर्चित साझा सवालको नयाँ एपिसोड लिएर। उफ् ! विषय उही छ- बिदेशिँदा ठगिएका नेपालीको पीडा। औडाहाले त त्यतिखेर डढेलोको रूप लिन्छ जब नियमन गर्ने ठूला निकायका पदाधिकारीकै अघि यस प्रकृयामा संलग्न विभिन्न एजेन्सीका मानिसहरूको बद्मासीको पोल खुल्छ।
न पोल खोलाखोल गर्नेहरूका अनुरहारमा कुनै ग्लानिभाव देखिन्छ न त जिम्मेवार पदाधिकारीको नै उनीहरूलाई कारबाही गर्नसक्ने हैसियत झल्किन्छ त्यहाँ। उता बाआमाले त यो काम नगर भनेकै हो। अब आपत्को यो घडीमा भगवान् नपुकारेर भो र? सधैं श्रीमतीले पूजा गर्ने ठाउँमा भोलिपल्ट बिहानै उभिएर म पहिलो पटक यति गहिरोसँग भगवान्सँग याचना गर्छु- हे भगवान् मेरो भाइमाथि केही नहोस्। अब यसरी नै भगवान् भरोसामा दिन काहिरहेका अरू बीसौंलाख नेपाली परिवारसँग हाम्रो परिवार पनि जोडिन पुग्छ।
ऊ उड्न लाग्दा उताबाट सानो छोराले फोन गरेर भन्यो रे- ड्याडी, काठमाडौंबाट आउँदा यसपटक चैं सानो साइकल ल्याइदिनू है नर्बिसी। सानो नानी, उसलाई के थाहा उसको बाबा अब केही वर्ष घर फर्कन्न भनेर। सानो भाइको मन अलिक दह्रो छ। र त ऊ दिउँसो यस्ता प्रसंगहरू एकपछि अर्को गर्दै कोट्याउन सक्छ साँझमा। खै कस्तो पिलन्धरे मन भएको मान्छे हुँ म? यति कुरैमा मेरो घाँटीमा केही अड्किएजस्तो महसुस हुन थाल्छ मलाई।
यसअघि घर जाँदा देखेका क्रियाकलापहरूका एकएक चित्र अब चल्न थाल्छन् त्यस बखत। हरे शिव ! गाउँमा साइकल कुरेर बसेको त्यो सानो नानीलाई हरेक बेलुकी सुत्नुअघि कस्ले खेलाउला घुघुत्ती र बासुत्ती? उसको ढाड सुमसुम्याउँदै कसले बजाइदेला मोबाइलमा कृष्णको भजन? सबै भनेजस्तै राम्रो भयो भने अलिक महिना पछिदेखि ल आउला रे केही सयको मासिक रेमिट्यान्स्।
तर, अबको तीन वर्षपछि भाइ आउँदा त्यो छोराले आफ्नो बाबुप्रतिको धारणा कस्तो बनाइसकेको हुँदो होला? उता बाबुको पनि के गतिलो हाल हुन्छ होला र? कति हेरोस् तीसँगै लिएर गएका केही थान फोटाहरू?
केही दिनमै भाइले उताबाट फोन गर्छ-सँगै गएको एउटा युवा त फर्कियो रे एक हप्तामै न्यास्रिएर। बाह्र घन्टाको खटाइपछि पनि ऊ रातभरि रुन्थ्यो रे घर सम्झिएर। घरैबाट फिर्ने टिकटबापतको पैसा पठाउनुपर्यो रे। उफ् ! कसरी सहला र एउटा सामान्य नेपाली परिवारले झन्डै दुई लाखको यो जुवा खेलाइ? अब त उसले दु:ख पाए पाओस्। कम्तीमा लागेको खर्चचैं उठाएरमात्र फिरोस् भनेर फेरि एकपटक पुकारा गर्नु परेको भगवान्लाई। कस्तो विडम्बना हो यो हाम्रो?
हलका राँगा बेचिइसके रे ऊ हिँडेपछि। त्यति उर्वरा जमिन पनि अब बाँझिनेछ। किनेको आलु, साग र टमाटरले भान्छामा महँगो रवाफ पस्किनेछ। र, दुई जोडी धमिला आँखासँगै एउटा भर्खर कोपिला बस्तै गरेको उसको परिवारले आधा मासु भएर हरेक महिना कुर्नेछ- यत्रो पारिवारिक मूल्यसँग साटिएको केही सयको रेमिट्यान्स।
अन्नपूर्ण पोष्ट
२०७० माघ २५, शनिबार
