Skip to content

रहस्य (लघुकथा)


शक्तिसम्पन्न देशका बैज्ञानिक म्याकुरेले औषधी विज्ञानको गहन अनुसन्धानबाट एउटा अचम्मको क्याप्सुल निर्माण गरेपछि त्यसलाई गिनिपिग तथा बाँदरमा प्रयोग गरे, सफल पनि भए । त्यो प्रयोगबाट उसले बाञ्छित सफलता प्राप्त गरेका थिए । अँझै पूर्ण सफलता प्राप्त गर्न मानव प्रयोग बाँकी थियो । त्यसै विषयलाई लिएर महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग बैज्ञानिक म्याकुरे सल्लाह गरिरहेका थिए ।

ठिक त्यही समयमा अल्पबिकशित देशका विभिन्न दलका नेताहरू त्यहाँ पुगे र अलख निरन्जन भन्दै सुनको थाली अगाडि सारे । त्यो सुनको थालीमा सुन्दर हिमशृंखलाहरू, ताल तलैया, नदीनाला र झरनाहरू र हरिया जङ्गल आदिको सुन्दर चित्र अङ्कित थियो । ती नेताहरूले बहुमूल्य सुनको सुन्दर थाली थापेर भिक्षा मागेको देखेर महामहिम राष्ट्रपति र प्रधानमन्त्री तथा बैज्ञानिक म्याकुरे समेत आश्चार्य चकित हुँदै एक आपसमा मुख हेरा हेर गर्न थाले ।

केही बेरको मौनतापछि राष्ट्रपतिले भने, “ओहो ! यति सुन्दर सुनको ठालिमा भिक्षा माग्ने टपैहरू जस्तो यस युगका महान महान भिक्षार्थीहरू हामीले आजसम्म देखेका थिएनौं । यहाँहरू जस्तो महान महान भिक्षार्थीहरूलाई भिक्षा दिन पाउनु हाम्रो लागि अहो भाग्य र गौरबको विषय हो भन्ने हामीले ठानेका छौं ।”

“यो सुनको थाली होइन प्रभू । यो त हाम्रो बाजे बराजुको पालादेखिको पित्तलको थाली हो ।” नेताहरू मध्येको नेताले आफ्नो अलौकिक ज्ञान पेश गरे ।

“ल ठिक छ, तपाईँहरू केही बेर यहीँ आराम गर्नुस् । हाम्रो गोप्य मिटिंग छ केही मिनेटमा आउँछौँ ।” प्रधानमन्त्रीले भने ।

गोप्य कोठामा वैज्ञानिकले आफ्नो तर्क पेश गरे, “यिनीहरू धन सम्पदाले गरिब होइनन् बरु नीति ईमान र मस्तिष्कका गरिब अवश्य रहेछन् । मैले निर्माण गरेको क्याप्सुलको समुचित प्रयोग गर्ने लायकको मानव अरु कहाँ भेटिएला र ?”

“अँ मलाई पनि त्यस्तै लाग्छ, “प्रधानमन्त्रीले बैज्ञानिकको तर्कको समर्थन गरे ।

राष्ट्रपतिले निष्कर्ष निकाले र नेताहरू बसेको कोठामा आएर घोषणा गरे, “तपाईंहरू ठिक टाइममा आउनु भो । हामी तपाईंहरूलाई यथायोग्य आर्थिक अनुदानको साथसाथै एक एक वटा उपहार पनि दिने छौं जसको सेवनले तपाईंहरूको मष्तिस्क प्रखर र शक्तिशाली बन्ने छ ।”

नेताहरूले शीर निहुर्याएर भने, “धन्यवाद प्रभू ।”

बैज्ञानिकले एक एक वटा क्याप्सुल ती नेताहरूलाई खान दिए । क्याप्सुल खाएको एक घण्टापछि वैज्ञानिकले रिमोटको बटन दबाए । रिमोटको बटन दबिनेबित्तिकै नेताहरू नाच्न थाले । मदारीको हातको लठ्ठीको ईशारामा भालु बाँदर नाचे जस्तै । बैज्ञानिकले रातो हरियो निलो पहेंलो बटन पालै पालो दबाउँदै जान्थे, नेताहरू रिमोटको ईशारामा कहिले हाँस्थ्यो कहिले रुन्थे । बैज्ञानिकको आविष्कार अभूतपूर्व सफल भएकोमा राष्ट्रपति र प्रधानमन्त्रीले खुशीले गद गद हुँदै वैज्ञानिकलाई बधाई र धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *