Skip to content

“मेरो शहर” नियाल्दा


“मेरो शहर” कवितासङ्ग्रहका कृतिकार हुनुहुन्छ प्राध्यापक, डा. धनपति कोइराला । डा.धनपति कोइरालाको जन्म, २०२७ साल मंसिर २१, सतासीधाम–५, झिलझिले, झापामा पिता स्व. चन्द्रलाल कोइराला र माता स्व. विष्णुमाया कोइरालाका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँको कार्यक्षेत्र तथा बसोबास कावासोती (शिवमन्दिर, साधना कुटी) मा रहेको छ । उहाँको पेशा प्राध्यापन र पत्रकारीता देखिन्छ । उहाँ एक मध्यविन्दु क्याम्पसका संस्थापक, समाजसेवी, साहित्यिका आधिकारिक विद्वान संस्कृत वाङ्मयका ज्ञाता, मृदुभाषी, साधाररण बेशभुषा, उच्च बिचारको धारणामा रही सबैको भावनालाई बुझ्न चाहने र सबैलाई कदर गर्ने व्यक्तित्व पनि हो । उहाँको मानवीय व्यवहार र मिलनसारताले मेरो मनमा उहाँप्रति उच्च आदरभावले स्थान लिएको छ ।

संलग्नता

माथिनै भनिउको छ कि उहाँको पेशा प्रध्यापन र पत्रकारिता हो । यसो हुँदा मध्यविन्दु बहुमुखी क्याम्पस र पशुपति साङ्गवेद सं.मा. विका प्राध्यापक, सामर्थ साप्ताहिक,न.प.का प्रधान सम्पादक, आजीवन सदस्य नारी साहित्य समाज, न.प. सदस्य नवलपरासी साहित्य परिषदको साथ्रै लक्ष्मीस्मृति साहित्य समाज न.प, साहित्य कुञ्ज नवलपरासी, नप, नवलपरासी साहित्य समाज, मध्यविन्दु साहित्य प्रतिष्ठान, न प, मध्यविन्दु साहित्य समाज नपको सल्लाहकार हुनुहुन्छ ।

प्रकाशित कृतिहरू

साधारण नेपाली लेखन (२०६६) सहलेखन, अनिवार्य नेपाली (२०६८) सहलेखन, भाषा विज्ञान (२०६९) सहलेखन, “मेरो शहर” (२०६९) कवितासङ्ग्रहको साथै विभिन्न पत्रपत्रिकाहरूमा गजल, लेख तथा निबन्धहरू प्रकाशनमा आइरहेका छन् ।

विभिन्न साहित्यकारको नजरमा धनपति कोइरालाजी

प्रकाशकीयमा प्रा. डा. नारायण प्रसाद खनालजी लेख्नुहुन्छ –‘लेख–समीक्षक र शृजनशील व्यक्ति कोइराला नेपाली साहित्यमा आधिकारिक विद्वान हुनुका साथै संस्कृत बाङ्मय पनि उहाँको क्षेत्रभित्र्रै पर्दछ ।’

‘शुभ सम्मतिका शब्दहरू’ शीर्षकमा गोविन्दराज विनोदी लेख्नुहुन्छ –‘यो कविता नेपाली समाज र राजनीतिको कवितात्मक दस्ताबेज हो । यसमा नेपाली जनताका पीडा, आर्तनाद, आकाङ्क्षा आशा र आस्थाका भावहरू अन्तनिर्हित छन् ।’

‘”मेरो शहर” डुल्दै हिड्दा’ शीर्षक दिएर भूपेन्द्र शर्मा भट्टराई लेख्नुहुन्छ–‘पल्पसा क्याफे शुकरातका पाइला छापामारको छोरो जस्ता उपन्यास भित्रको युद्ध साहित्य बर्तमानमा धनपति कोइरालाको “मेरो शहर”सम्म देखा परेको छ ।

‘आत्मा कथन’ शीर्षकमा कवि सव्य म भन्नुहुन्छ –जीवन र जगतलाई आफूले अवलम्बन गरेका दर्शन र निजानुभूतिमा घोलेर पुनः सृर्जन गर्न सक्ने भएकैले सृजना कालजयी बन्न पुग्दछ भन्ने मान्यता काव्यमनिषीहरूको छ र यसमा मेरो पनि पूर्णतः सम्मति छ ।’ मेरो दर्शन, मेरो निजी जीवन भोगाइ र म बाँचेको परिवेशको उपज हो यो रचना ।’ बास्तवमा साहित्य समाजको दर्पण हो र कविता पनि साहित्यकै एउटा विधा भएकोले, यो पनि समाजकै दर्पण हो । कवितामा कविले आफ्नो अनुभव र भवनालाई कलात्मकरूपमा अभिव्यक्त गर्दछ जो कोमल, रसमय र हृदयस्पर्शी हुन्छ ।

कविता भित्र पस्दा

कविले आवरण पृष्ठमा नै आफ्नो शहरलाई नियालेर हेरोका छन् जो घना त छ तर जो घनारूपमा हुनुपर्ने जुन आकर्षण हो त्यो भने पाए जस्तो देखिदैन । यस कविता सङ्ग्रहमा ४२वटा पुष्पगुच्छाले आकार लिएका छन् । यी पुष्पगुच्छामा कविले कलात्मकरूपमा र आजको परिवेशलाई टपक्कै टिपेर भावनालाई पस्कन सफल देखिनु भएको छ ।

कविको प्रथम कविता ‘सडक’जसलाई हामीले सृष्टिसँगै निर्माण भएको सिर्जना र निरन्तरता हो भन्न सक्छौं । यस कवितामा कविले सडक मार्फत संसारिक हरेक कर्मको साक्षीको रूपमा रहेको र गन्तव्यमा पुर्याउन अठोठ लिएको सडकलाई सूर्य चन्द्र झै चल्न दिनुपर्ने धारणा राख्नुहुन्छ भने सडकले पनि विकृतिको अन्तहुनु पर्ने र सुकृतिको सिर्जनामा सबै लाग्नु पने सन्देश दिएको छ ।

‘”मेरो शहर”’ कविताबाट यस कृतिको नामा करण गरिएको छ । यस कविता मार्फत कविले आज आएर विकासको साथै विकृति पनि बढेको पाउनुहुन्छ आज मानवले मानवलाई चिन्न छाडेको छ, जति जति परिवर्तन हुँदैछ परिचय हीनताको खाल्टो पनि गहिरिँदै भएको छ, हत्या, बलत्कार, चोरी, डकैति, दुराचार, वेृश्याबृति, कालो धन्दा महामारी, ड्रग्स, कलुषता, द्रव्यमोह, स्वार्थअन्धता, पाशविकता, फोहोर, दुर्गन्ध, पश्चिमा विकृति र पहिरन, महङ्गी, शैक्षिक ब्यपारीकरण धोका अविश्वास, संवेदनहीनता, असुरक्षा, अपहरण आदिले व्यपकता लिँदो छ । तर कविको भने मूल्य र मान्यताको चरमोत्कर्ष, मानवता, सुसभ्यता, उच्चगरिमा, विकासको गतिमा तीब्रता, शान्ति समुन्नति र प्रगतिको अग्रसरताको धारणा आएको देखिन्छ । बास्तबमा आजको विश्व विकास र विनासको दुवै मार्गलाई अवलम्बन गर्दै अघि बढेको छ तर आजको आवश्यक्ता भनेको सुकर्ममा तीब्रता हो ।

‘गतिरोध’ यस कवितामा कविले आजका सत्तामालिप्तमा रम्ने प्रवृतिप्रति ब्यङ्ग, जनताको आशामुखी धारणा, परनिर्भरता, गतिहीनतालाई त्याग्दै, कठोर परिश्रम गरी कर्मशील र स्वावलम्बी बनी यथार्थताको धरातलमा टेक्नु पर्ने धारणा देखिन्छ ।

‘मेरो मन’ यस कवितामा कविले, मानवमा राग कल्मष, आवेग, संवेग, अहम्ता छ साथे उसले केही गर्न थाल्दा बाटोभरी अबरोध खडाहुन्छन् तर आँट धैर्य, अभेद्य सङ्कल्प, आत्मविश्वास, अग्रसरतालिदैं लघुताभासलाई त्याग्दै दीर्घयात्रामा सरिकर्भै सम्पूर्णता हाँसिल गर्ने सकिन्छ भन्ने धारणा आउको छ ।

‘जटायु रेष्टुरेन्टप्रति’ यस कवितामा कविले आज लोपहुँदै गइरेहको जटायु संरक्षण तर्फ लक्ष गर्दै प्राकृपतिक ‘संपदाको संरक्षण हुनु पर्ने धारणा राख्दै न्यायको खोजी, वाताबरणीय समृद्धिको चाहना, प्राकृतिक सौम्यता, माटो र शान्तिको चाहनाको प्रस्तुति पाइन्छ–

यस्ले पायोस् जगतमा ख्याति ठूलो कमाल
बढ्दै जाओस् परिसर अँझै साध्यता निर्बिकल्प
भाले बासी नवयुवकले लक्ष रोज्ने मुहूर्त
सानो माछो जीवित रहने सोच ल्यायौ सगर्व

‘म हराएको बेला’ यसकवितामा कविले न्यायको खोजी, मानवले आफ्नो पतन भएको ज्ञानहीनता, आज देशमा सबै खाले आन्दोलनी नारा (स्याल, फ्याउरा, बाघ, भालु, सिंह, हात्ती, खरायो, हरिण, मृग, घोरल, आदिलाई विम्ब बनाएर देखिएका आन्दोलनी नारा) लाई समेटिएको र व्यङ्ग गरिएको छ । न्याएको लागि नभएर निरङ्कुशता लाद्ने प्रबृति, निरिहमाथि भएको निर्म म प्रहार, ठूलोमाछाले सानो माछालाई निल्ने प्रबृति, जनताद्वारा सोधनी भएका प्रश्नमा निरुत्तरताजस्ता आजका यथार्थतालाई पस्कने कोसिस गरिएको छ ।

‘माटोको माया’ यस कवितामा कविले आफ्नै देशको मुद्रा आफ्न्र देशमा नचल्नु, नागरिकता बोकेर परायको कहरकाट्न बाध्यता, संविधान नबन्नु, सुस्ता,कालापानी, लक्ष्मणपुरा बाँधका सवालमा सत्तामा रम्नेहरू चुप रहनु र सत्तामुखी भएर जनताका दुःखकष्टप्रति कुनै ध्यान नदिनु,लाई राज्यले ध्यान दिनुपर्दछ । राष्ट्रप्रति सबैको प्रेम र राष्ट्रराष्ट्रको पहिचान जनतामा हुनुपर्दछ भन्ने अभिव्यक्ति देखिन्छ । जेष्ठ नागरिक – यस कवितामा कविले जेष्ठ नागरिकहरू ज्ञानशीप अनुभव, आदर्शका पर्याय, मानव सभ्यताका धरोहर,प्रेम, स्नेह र श्रद्धाका, स्मारक, बंश परम्पराका उच्चतम, सम्बन्धशूत्र संस्कृति संस्कार, मानवताका प्रतिस्थापक, जीवनका सूत्रधार, साक्षात् भगवानतुल्य हुँदाहुँदै पनि आज उपेक्षा र अनादरको शिकार बन्दैछन् । संसारका क्रियाकलाप कुमालेको चक्र हो त्यो हामीमा पनि बज्रिन सक्छ त्यसो हुँदा जेष्ठ नागरिकलाई आदर गर्दे आशीर्वाद लिनु पर्छ भन्ने धारणा राख्नुहुन्छ ।

‘म नेपाली हुँ’ यो राष्ट्रप्रेमले भरिएको कविता जस्मा नेपाली हुनको गौरव र नेपी भै बाँच्न पाउने आग्रह छ भने ‘मेरो देशको राष्ट्रियतामा’ आज देशका युवा तथा युवतीहरू तथा नागरिकहरू अमेरीका लगायतका देशको डी.बी. र पी.आर.को खोजीमा छन् र यहाँको रहनसहन र रीतिरिवाज डुङडुङती गनाउन थालेको छ भन्ने धारण राख्ने प्रति चिन्ता भन्ने तर्फ राख्नेप्रति र राजनेताहरूलाई पनि दिल्लीको र चिनको आशीर्वाद चाहिएको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को भावना केवल मिथक बन्न पुगेको धारणा ।

‘आमा’ यो कवितामा कविले जन्मदिने माता र राष्ट्रमाताप्रतिको आदरभावलाई समेट्ने प्रयास गर्नुभएको छ । तलका पंक्तिहरूबाटै मनन गरौं–

‘बिग्रेको यो मुलुकभरिको राजनीति सपारी
टुक्रेको यो मनमुटुहरू एकतामा संगाली
सारा द्रोही असुरजनको मृत्युघाटै उतार्छु
आमा तिम्रो सरल मनमा शान्तिको दीप बाल्छु ।’

‘आत्मतन्व चिन्नुपर्छ’ यस कवितामा कविले छन्दबद्ध लयमा आध्यात्मिक चिन्तनको प्रस्तुति गर्दै सेवामा समर्पित हुने भवनाको धारणा देखिन्छ –

मान्छे बन्दछ सेवाले देव बन्दछ कर्मले
चिन्नु पर्दछ मान्छेले यो आत्म तन्वको गति
सारा साधन मात्रै हुन् साध्य हो मोक्ष सद्गति

मनवतामाथि निर्मम प्रहार – यो द्वन्द्वसँग गासिएको क बिता हो ।

मार्गको पूर्णिमामा मेला लागेको राती ९ बजे मेलास्थल सरकारी पक्षबाट निर्दोष व्यक्तिहरूलाई मारिएकाले रुधिरमय भएको कविले मानवीय भावबाट धनजनको रक्षागर्दै शान्तिको स्थापना गर्न आग्रह गरिएको छ ।

‘भावजागोस् एकताको’ यसकवितामा आफ्नो स्वार्थ त्यागि, देशको स्वार्थ अङ्गाल्दै अशान्ति, उग्रजिद्दी सामन्तिको कलुषता, ढीला, सुस्ति, आदिलाई त्याग्दै, आन्दोलनका घाइते कर्णालीका क्षुदित मनका नाद, दलितमयदर्दे, वेपत्ता नागरिक, दोहोरो द्वन्द्वको मार सहन विवश वर्गलाई सम्झेर आज सबैलले एकताको सूत्रमा बाँधिने भावना जागोस् भन्ने आग्रह गरिएको छ । गणतन्त्रको नयाँ अध्याए– जनआन्दोलन २०६२/२०६३ले ल्याएको देशको आमूल परिवर्तन, तथा जनताका सपना, नयाँ युगको थालनी, भाषा, धर्म, संस्कृति, सभ्यता, बिराट परम्परामा उठेर नेपाली सभ्यता विश्वका लागि आदर्श बनोस् भन्ने कामना तथा गणतन्त्रको संरक्षण गर्न आग्रह गरिएको छ ।

‘कार्तिकेय देउः’ यस कवितामा कविले सत्तालिप्सामा ताराकासुरकाजस्तो प्रबृती, देशको भयावह स्थिति, आफ्नैबाट आफ्नैमा शिकार खेल्ने प्रवृति, देशको राजनीतिमा खग्राससूर्यग्रहण लाग्न थालेको अनुभूति र अहङ्कारको रापमा परी सभा दक्षप्रजापतिको महासभाजस्तै ध्वस्त भएको हुँदा धर्तीमातासँग यो देशमा अधर्म, अन्याय, र अन्योलतापूर्ण राजनीतिक सङ्कटबाट उन्मुक्ति दिन सक्ने कार्तिकेय देऊ भन्ने आग्रह गरिएको छ ।

‘आमा मेरी सपनामा’- कविले आमाले सपनामा कविलाई बोलाउँछिन् र भन्दछिन् कि आफ्नै छोराहरूले द्रौपतीलाई झै चिरहरण गरे, ड्रायाकुलाले भैm रुधिर पान गरे, आफ्नो स्वार्थ अनुसार छ, सातर्, घार, चौध र पचहत्तरमा बिलो लगाउन तयार छन् र अस्त्रशस्त्र लिएर शिकार गर्ने दाउमा छन् भन्दै गुहार माग्दछिन् । कविले प्रतिकार गर्दा देव शमशेरझै लखेटिन्छन् । उनको मुखमा पट्टी लगाइन्छ र गोर्खेलौरी लगाइन्छ तर बिपनामा भने कवि पसिनाले निथु्रक्क भिजेका हुन्छन् । देशले भोगेको आजको द्वन्द्वको यथार्थ प्रकटीकरण भएको छ कवितामा ।

‘आफै हराएको देश ’कविले यस कवितामा देशमा भएका/घटेका घटना/दुर्घटनाहरूलाई प्राकृतिक प्रकोपसँग तुलना गर्दै नेपालीका सपनाहरू सुनौलो भविष्यको निर्माणको प्रतिक्षामा आशावादी हुँदै देशमा सुन्दर अरूणोदयको आशामा भएको अभिव्यक्ति प्रकट छ कवितामा ।

‘गर्भाशय’ यस कवितामा कविले विश्व शान्ति, भौतिक र आत्मिक समुन्नती, पृथ्वीको र भावी सन्ततिको सुरक्षा, मान्छे मान्छे बीचको भेदभाव र कटुताको अन्त्य गर्नको लागि विदुर बुद्ध, माक्र्स, फ्रायड, गान्धि, देवकोटा र पारिजात जन्माउन सक्ने स्वस्थ गर्भाशयको आग्रह छ ।

‘लक्ष्मी पुनः आऊ’ यस कवितामा कविले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा पुर्याएको योगदान र उनका अमर कृतिहरूको स्मरण गर्दै नेपाली साहित्यलाई समुन्नत गराउन पुनः देवकोटालाई नेपाल आउने आग्रह गरिएको छ ।

‘दोहोरो भिडन्त ’यसकवितामा डल्ली मार्फत बैंशले मस्त युवतीका पतिहरू पल्टनमा भर्नाभई दोहोरो भिडन्तमा वीरगतिप्राप्त दुःखद घटनालाई मार्मिक तथा कारुणिकरूपमा प्रस्तुत गरिएको कविता हो यो ।

‘पश्चाताप ’ यस कविता मार्फत कविले भानु जयन्तीमा भानुभक्तसँग देशका यथार्थपरक घटनाहरू (राजनीति आग्रह–विग्रह, विदेशी हस्तक्षेप, अपहरण महामारी, भोकमरी, अभावै अभाव, दण्डहीनता, बेइमानी, ह्रासोन्मुख नेपालीत्व, फस्टाउँदो देह व्यपार, मानव बेचबिखन, बढ्दो मानव कुसंस्कृति, बर्तमान नेपाली प्रबृति आदि) बारे टेलिफोनमा बार्ता गर्दा भानुले खिन्न भै रिसिभर राखेको आवाज आउनु र कविले जन्म दिनको बधाई र शुभकामना दिन नपाएकोमा पश्चताप हुन्छ तर देशको यथार्थता यही हो भन्ने धारणा प्रस्तुत गरिएको छ ।

‘स्वयत्तत्रताको अधिकार’ यस कवितामा कविले राज्य पुनसंरचना गर्दा हार्दिकतालाई कसिलो, जातीयत, भाषा, धर्म, संस्कृति र आर्थिक पक्षमा आमूल समुन्नतिको लागि महत्वपूर्ण आधार सामार्थ्य र भावनात्मक आधार पहिचनाको ठहर गर्दे, प्राकृतिक सम्पदा उत्पादकता, जनसंख्या, भौगोलिक पक्ष, आदिमा सबैलाई समान अधिकारको स्थापना सद्भावको सुसञ्चार मिल्नेगरी गरिनु पने धारणा आएको छ ।

‘भद्र अवज्ञा’ यस कवितामा कविले अवज्ञा प्रत्युत्पादित भएको, बन्द नै संस्कृति बनेको, जनतालाई नेताले शकुनी पाराले उचाल्ने र जनता दुश्शासनवत उचालिने, संयमितहीन, क्षणिक स्वार्थमा लिप्त, हरेक जाति, बर्ग, लिङ्ग, क्षेत्र र समुदाय र यो धर्ती त्राण पाउनबाट बञ्चित, देश कङ्गो, बुरूण्डी र सिरियामाझै जातीय सङ्ग्रामतिर धकेलिएको, हिजोको राणा, पञ्चायत, संसदीय बन्धक आज जातीयतावाद र क्षेत्रीयतावादले बन्धक भएकोले आज यी व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथि उठी, हरेकमा राष्ट्रप्रेम र श्रद्धाभाव जगाउँदै सबैको हितमा परिणत गर्नुपर्ने धारणा ।

‘नयाँ भाँडो ’ यो कवितामा कविले क्रान्तिको भाँडोमा प्वाल परेको, टाल्नेप्रयास पनि निरर्थक भएको सायद रसायन कच्चा भएर पो हो कि ? या टालटुलको दृढ मनस्थितिको अभाव, बिस्फोटित हुने चाहना, सुप्रिम हुने चेतना, अपरीपक्क अभियन्ताको कारण, जडसूत्रमा आधारित मेटेरियलहरू रक्तबीजझै अनन्ततामा बाँडिने, प्रतिफलहीन हुने, निरर्थक प्रयास चलिरहने, कदापि अन्त्य नहुने आशङ्काहरू पोखिएका छन् कवितामा ।

‘हुँ म सच्चा नेता ’ यस कवितामा कविले नेताहरूको क्रियाकलापमा तीखो व्यङ्ग कसेका छन् । आकाशको तारा झारिदिने, जनतालाई मुर्गाबनाउने, कोइलीको फुल चोर्ने, निर्णय गरेपनि कार्यन्वयन नगर्ने, द्वन्द्व चर्काउने, संविधान सभालाई अर्थहीन तुल्याउने, स्वाभीमानहीन, उत्तरदायित्व विहीन, मानवताहीन, संवेदनाहीन, न जनता, न राष्ट्रियता, न नैतिकतामा संवेदनशील, मात्र नेताले लक्ष लिए सत्ता सत्ता अनि सत्ता, शक्ति, शक्ति अनि शक्ति जसले यो धारणा राख्छ आज त्यही नै बनेको छ सच्चा नेता भन्ने अभिव्यक्ति ।

‘सती सावित्री’ यो नारीवादी कविता हो । यसमा गार्गी, सीता, भृकुटी र अनुराधा नेपाली धर्तीका नारी हस्ताक्षर हुन् र जिउँदी देृवी कुमारी शोभा, सती सावित्री सरह नै चिरअविस्मरणीय छन् । तर आज यस धर्तीमै नारीहरू देहव्यपारमा देखिदा कविमन दुखित बन्छ र कविले नारीहरू जगतजननी नवदुर्गा,लक्ष्मी, सरस्वती, सती सावित्री, सीता, गार्गी, र भृकुटीजस्ता, देवत्व शक्ति बोकेकी देवी भएकोले आफ्नो अस्तित्व जोगाउन आग्रह गर्नुभएको छ ।

‘सच्चा क्रान्तिकारी’ यस कवितामा कविले आज क्रान्तिकारी हु म भन्दै गरिएका विकृतिमा व्यङ्ग गर्नुभएको छ । आफू भने जेगर्दा पनि ठिक अरुले भने सहीकुरा गर्दा पनि वेठिक भन्ने प्रबृति नेपाली राजनीतिमा देखिएको हुँदा कविले आजका क्रान्तिकारी नेताको कर्तुतको यथार्थ चित्रण यस कवितामा उतार्नुभएको छ ।

‘म इतिहासकर्मी युवा’ यस कवितामा कविले युवाहरूमा देश निर्माण गर्ने शक्ति हेर्दा बराह र हनुमानको जस्तो छ भने सूर्यको जस्तो गति र प्रमिथस जस्तो सेवा र कुर्वान, यो धर्ती सजाउने अतुल्य सीप छ । देशमा कसैले कुदृष्टि लगाएमा चट्टान, विद्युत र कालचक्र तथा बज्र भएर पड्कने र यो देशको संरक्षण गर्ने र स्वर्गतुल्य बनाउने क्षमता युवामा छ भन्ने कविको धारणा छ । आज यस धर्तीमा असिना, तुषारो, भाइरस, व्याक्टेरिया, फौजीकीरा, लाही आदि लागेकोमा चिन्तित भै हरेस नखाइ यी सबै रोगलाई नष्टपार्दै बाहिरन गएका युवा पनि फर्केर यस धर्तीलाई सारा सौन्दर्यले सजाएर नयाँ इतिहासको सिर्जना गर्नु पर्छ भन्ने देश प्रेमले भरिएको छ कविता ।

‘साहित्य ’समाजको दर्पण हो । साहित्यलाई बृस्तित क्षेत्रहरूसँग तुलनागरेर प्रस्तुत हुनु भएको छ कविजी । यहाँ कविले मानवताको भावनासँग मितेरी गाँस्ने, पीडा र दर्दमा मल्हम लगाउने, सूर्यभन्दा गतिशील, कमल सरह कोमल मातृवात्सल्यमय, कोमलाङ्गगी भार्याजस्तै, कोइलीको जस्तो स्वर, जीवनसार, दीपजस्तै उज्ज्वल, चन्द्रको जस्तो शीतलता, इन्द्रेणीजस्तै सप्तरङ्गी, हिमालको उच्चाई र अटलता, सागरका जस्तो गहिराई, गङ्गाजस्तै पवित्र, प्राञ्जलपदपदावलीले सजिएको, मानवमन मन्दिरमा रमण गर्ने अलङ्कारबाट अलङ्कृत, रीति, प्रीति, रसभावबाट संयोजन, समयसँग गतिशील, वेद, त्रिपिटक, मुन्धुम, कुरान, वाइवल, सत्यं, शिवं, सुन्दरं आदि आदिलाई साहित्यले बोल्ने धारणा राख्नु र्भको छ कविजीले –

‘साननता स्वतन्त्रता र–न्यायको पक्षमा उभिन्छ साहित्य
हरेक संस्कार र संस्ंकृतिको उन्नयनमा लाग्छ साहित्य’

‘संवेदना ’ आजको संसारमा मानवीय संवेदना हराउँदै गएको छ ।

‘अतिथि देवो भव’ आज औपचारिकतामा सीमित छ । मानव मानवप्रति कुखुरा र कुकुरलाई देखाइने संवेदनजति पनि देखिदैन । माता पिता बृद्ध आश्रमतिर घसेटिदै छन् नारी बेच बिखन, लुटपाट, किड्नी तसकरी, नास्तिकतामा बढवा, जस्ता कृयाकलापले स्थानलिएकोमा कविले चिन्ता व्यक्त गर्नुभएको छ ।

‘विज्ञापन’ यसमा कविजीले आजको जमाना विज्ञापनमा अघिबढेको छ तर विज्ञापनमा भनिएका कुरा सबै स्वस्थ र टीकाऊ भने नहुने कविको धारणा छ।

‘विडम्बना’ यस कवितामा कविले सहमतिको राजनीतिमा व्यङ्ग गर्नुभएको छ । नेपालीहरू चन्द्रमा र मङ्गल ग्रहमा पुग्नको सट्टा चर्पी सभ्यताभन्दा माथि उठ्न नसकेको धारणा । खेल यसमा कविले सभ्यताको उषाकालबाटै खेलिदै आएका खेलहरू नै असीमित दर्घटनाहरूका सिर्जना बने । सत्ताको खेलमा दुर्योधनले पाण्डवसँग खेलेको खेल मुसोलिनी, नेपोलियन बोनापार्ट, चंगेज खाँ, हिटलर नेपालमा थुप्रै राजाहरूले, जनप्रतिनीधिले खेले । देशमा राजतन्त्र, प्रजातन्त्र, पञ्चतन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै चलिरहेको छ तर यसले उपलब्धी हाँसिल गर्न नसकेको अवस्थामा भएको कविको धारणा छ ।

‘बादल’ आज देशमा वेमौसमको कालारङ्ग पोत्ने बादलका टुक्राहरू मडारिन थालेका छन् । यी बादलले आकाश विषाक्त पार्ने काम, कालो आतङ्क खडागर्ने, आगोसँग खेल्नेकाम मायावी रक्तबीज बनेर,महिषासुर, तारकासुर, भष्मासुर, पूतना, लादेन, हिट्लर, रावण, कंशबनेर आफ्नै स्थलमा रुधिरमय पार्न सक्छन् । यिनको बहुरूपमा नफस्न र द्रोणचार्यझै स्वार्थमा लिप्त यी बादलहरूसँग एकलव्य नबन्नको लगि कविको आग्रह छ ।

‘धम्की’ यो देशको विडम्बना भनेको धम्की, बन्द, आतङ्क, भोट र नोटको भुँमरी, अपहरण,आदि थुप्रै बिकृतिहरू छन् र तिनबाट मुक्तिको चाहना छ कवितामा ।

‘सेतो बाघ’ यस कवितामा कविले आजको नेतृत्वप्रति सेतो बाघको संज्ञादिंदै व्यङ्ग कस्नुभएको छ र सेतो बाघले आफ्नै बंशको रूधिर पान गरिरहेको छ ।

टाटेबाघको आतङ्कबाट माटोलाई आजाद तुल्याउनु छ । त्यसो हुँदा सबै मानवताका पुजारीहरू एकजुट हुनुछ, सबैले सम्मान पाउने परिवेशको निर्माण गर्नको लागि ‘संगच्छध्ब म संवदध्वम्’ र ‘सर्बे भवन्तु सुखिन’को नारा उराल्नु छ भन्ने धाराणा छ कवितामा ।

‘मनोविज्ञान’ यस कवितामा पनि कविले आजको छलछाम र ढाँटको खेतीमा सत्ताहत्याउनेहरू प्रति व्यङ्ग गर्दै कम्तीमा राष्ट्रिय ढुकुटी रित्याएर पार्टी खान पाउनु पर्ने, अकुत सम्पत्ती कुम्ल्याउनु पर्ने, सत्यलाई असत्य र असत्यलाई सत्य भन्न पाउनु पर्ने, सामाजिक सद्भाव खलल, जनतामा निराशा, व्यभिचार, भ्रष्ट्रचार, कालोबजारिया, वेथिति र वेनियम प्रबृतिप्रति सहमतिका लागि सहमति गर्नुपर्छ भन्दै व्यङ्ग कस्दै देश र जनताप्रति भए गरिएका व्यवहार र स्थितिप्रति चिन्ता गरिएको छ ।

‘परदेश बिजाउँछ ’यस कवितामा कविले प्रदेशीयकाको मनको कारुणिक व्यथालाई पोख्नुभएको छ र प्रदेश जे जति सुख भोग गरे पनि परदेश बिजाउँछ /दुखदायी हुन्छ भन्ने धारणा पोखिएको छ ।

‘खै त हाम्रो आफ्नै जीवन’ यस कवितामा कविले आजको स्वदेश विदेशमा काममा व्यस्तरहनेहरूको मानवीय जीवनको बारेमा प्रष्टयाउने प्रयत्न गर्नुभएको छ ।

‘मान्छे बन’ मानिसमा भएको अह म भावलाई त्यागिसकेसम्म देवत्व धारण गर्ने देवत्व धारण गर्न नसके मानिस त बनौं भन्ने धारणा पस्किएको छकवितामा ।

‘बिदा ’ यसमा कविले जाति, धर्म, बर्गको सम्मानार्थ गरिएका बिदाहरूको लामो सूचीले, आवश्यक हुँदा हुँदै पनि, देश निर्माणको लागि यी बिदाहरू बधक होइन साधक बन्नु पर्दछ भन्ने धारणा आएको छ ।

माथि सबै कविताहरूलाई केलाउने प्रयत्न गर्दा कवितासङ्ग्रहले आजको राजनीतिक विकृति विसङ्गति, नेतृत्व बर्गको नियति, प्रबृति, जनताले भोग्न परेका यथार्थताहरू कवितामा समावेश भएको पाइन्छ । कवितामा हामी जहाँ पनि कविले आफूले देखेका र भोगेका कुराहरूलाई प्रवेश गराउने प्रयत्न गर्नुभएको छ र सफल पनि हुनुहुन्छ । यस कवितासङ्ग्रहलाई हामीले राजनीति र सामाजिक दस्तावेजका रूपमा अध्ययन गर्न सकिन्छ ।

नेपाली समाज र समाजप्रति कविताले दिएको सुसन्देश राष्ट्रनिर्माणका भावहरू मार्गदर्शनको रूपमा लिन सकिन्छ । नेपाली राजनीति र त्यसले देशमा निम्त्याएको विसङ्गतिप्रति कविले पोखेका व्यङ्गबाँणहरू अति चोटिला छन् । देश र जनतालाई राजनीति र राजनेताबाट प्राप्त हुने मार्गदर्शनको अभावलाई यहाँ राम्रोसँग पस्कने प्रयास भएको छ । यो कवितासङ्ग्रह भित्रका हरेक कवितामा विविधता छ ।

यहाँ देशले भोगेको द्वन्द्व, त्यसले निम्त्याएको विकृति, जनताले भोगेका दर्द/पीडा राष्ट्रियतामा देखिएको असर, देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा परेको नकरात्मक प्रभाव, जनताका आशा, आकांक्षा, आस्थाका भावनाहरू सरल सहज रूपमा सबैले बुझ्ने गरी प्रष्टिने गरी कवितासङ्ग्रह हामीले पाएका छौ । कवितामा हामीले ऋतुहरू, वर्षा, बाढी, आदि विविध विम्बलाई सजाउँदै गद्यलय र पद्यलयमा रचिएका कविताहरू पढ्न पाइन्छ । अतः कविता मार्मिक, भावनामा बगेका, राष्ट्र र राष्ट्रियतालाई बलियो डोरीले तगेका मानवतावादी धारणाले भरिएका, छन्द र गद्यदुबैलाई समायोजन गरिएका, विविधतामा सजिएका नेपाल र नेपालीप्रतिका सारा भावना, धारणा, राष्ट्रनिमार्णको लागि चाहिने आवश्यक तत्वहरूलाई समावेश गर्नेगरी समेटिनेगरी रचिएका हुँदा कविता सङ्ग्रह सङ्ग्रहणीय र पठनीय र अनुकरणीय भएकोमा कवि धनपति कोइरालाजीलाई हार्दिक बधाईको साथै काविकयात्रा अघिबढोस् भन्दै बिदा चाहन्छु ।

धन्यवाद !

सदानन्द अभागी
कावासोती, मिति २०६९/१०/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *