जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले।
शुभेच्छुकले तारन्तार फोन गरे। उठेन। पछि कतिपय साथीले भनेछन्, ‘पुरस्कार पाएपछि फोनै नउठाउने भइस्?’
मंगलबार कमलपोखरीस्थित थापा निवासमा कुरा गर्दा सुनाए, ‘दुईजना पत्रकार भाइ यहीँ आएर बधाई भनेपछि पो छक्क परेँ।’
पाँच दिन सम्पर्क विच्छेदपछि टेलिफोन सुचारु भइसकेको छ। सम्पर्क स्थापित गरेर म कमलपोखरी दौडिएको थिएँ।
केही बेरअघि मदन पुरस्कार गुठीका कमलमणि दीक्षितले थापालाई चिठी थमाएर फर्किसकेका रहेछन्। ‘उनी आफैं चिठी बोकेर आएका थिए। मेरो योगदान र इमानदारीको मूल्यांकन गरेर पुरस्कार दिन लागेको बताए,’ थापा खुसी व्यक्त गर्छन्, ‘आफ्नो कामको मूल्यांकन गरेर कसैले सम्मान गर्छ भने हरेकलाई खुसी त लाग्छ नै।’
असोज ५ गते बसेको मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बा–श्रीको घोषणा गरेको थियो। ‘घोषणा गर्नुअघि एकपटक मलाई साधेको भए हुन्थ्यो। अरूबाटै पो पछि थाहा पाएँ,’ उनी ठट्टा गर्छन्, ‘मजस्तो झ्वाँक्की मान्छेले पछि बहिष्कार गर्ने हो कि भनेर सोच्नुपर्ने नि!’
उनको हाउभाउ र बोलीले ७५ वर्षमा हिँड्दै छन् भनेर पत्याउन गाह्रो पर्छ। कुरा गर्दागर्दै दिन बिताइदिन सक्छन्। समकालीनसँगका घटना प्रसंग खरर्र भन्न सक्छन्।
केही वर्षयता खुट्टामा समस्या देखिएपछि हिँडडुलमा नियमिता छैन। चुरोटको लत छँदै छ। ‘एउटै चुरोटलाई काटेर तीन टुक्रा पारेर पनि खाएँ,’ मक्किइसकेका फाट्टफुट्ट काला दाँत देखाउँदै उनी भन्छन्, ‘यसलाई चाहिँ छोड्न सकिनँ।’
आफ्ना प्रायः रचना उनलाई कण्ठस्थै छ। हाइकु, तांका होस् वा मुक्तक। लामा कविताकै टुक्रा किन नहोस्, जुरुक्क उठेर हाउभाउसहित भावमा डुबेर सुनाउन तम्सिहाल्छन्। लाग्छ, २०१६ सालतिरै लेखेको ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीतका यी सर्जकको जोसिलो बोली र ठट्यौलोपनले उनको बैंस अँझै जीवित छ।
‘पाँच दशकदेखि नेपाली गीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत’ जगदम्बा–श्री पाएका थापाले आफ्ना सिर्जनाको चर्चा र प्रचारमा उति ध्यान दिएनन्। ‘साहित्य–संगीतमा लागेका पछिल्लो पुस्तामा खालि हल्ला–खल्ला र आफूलाई विज्ञापन गर्ने मोह छ,’ उनी भन्छन्, ‘आफूलाई चिनाउने यो शैली मन पर्दैन।’ एक/दुईवटा गीत लेखेर हिट भएँ भन्नेहरूलाई उनको सुझाव छ– ‘हरेक सिर्जनामा निरन्तर साधना र तपस्या चाहिन्छ। मूल्यांकन गर्नेहरूले गरिरहेकै हुन्छन्।’ उनको यही ‘निरन्तर साधना’ले हुनसक्छ, स्थापना भएको २५ वर्षपछि जगदम्बा–श्री पड्काएका। २०४५ सालमा पहिलोपटक यही पुरस्कार थापाका समकालीन नारायण गोपालले पाएका थिए।
सिर्जनाका पाइला
थापा संयुक्त परिवारमा हुर्किए। पारिवारिक माहोल नै सांगीतिक। काकाहरूसँग तबला थियो। बजाउँथे/गाउँथे। बुबा पनि त्यसमा सघाउनुहुन्थ्यो। ‘गाना–बजानाभन्दा पढाइमै राम्रो गरूँ भन्ने बुबाको चाहना थियो,’ थापा बाल्यकालीन अतीततिर फर्कन्छन्, ‘लुकीचोरी काकाहरूले बजाउने तबलामा हात बसाउन थालेँ। काममा या खाना खान गएको मौका पारेर कोठामा सुटुक्क पस्थेँ। बजाउन थालिहाल्थेँ।’ ८/१० वर्षदेखि नै तबलाको तालमा रमाउन थालेका उनले न त संगीतको औपचारिक ज्ञान लिनुपर्यो न गुरु नै थाप्नुपर्यो। बैठक कोठामा राखिएको तबला देखाउँदै उनी भन्छन्, ‘कहिलेकाहीँ म त्यसमै डुब्ने गर्छु।’
साहित्यभन्दा पहिले उनलाई संगीतले तानिसकेको थियो। ८/९ सालदेखि कविता कोर्न थालेका उनले सुरुका दिन प्रकाशनका लागि खासै चासो दिएनन् । त्यसबेला हस्तलिखित पत्रिका निस्कन्थ्यो ‘भिरालो’। त्यसमा रचना त छापिए तर त्यसको प्रमाण छैन। ‘म गुप्त नै रहन चाहन्थेँ,’ उनी भन्छन्, ‘लेखेको थाहा नपाऊन् भनेर अर्कै नाममा लेख्थेँ।’
उनको पहिलो कविता पटना युनिभर्सिटीबाट निस्कने ‘उकालो’ पत्रिकामा छापियो। त्यसमा पनि उनले छद्म नाम लेखे– आरएस मधुर। ‘१५/१६ सालतिर होला, ‘मन पर्छ त्यो रात’ शीर्षकको कविता छापिएको थियो,’ उनी सुनाउँछन्। त्यसपछि उनको लेखनले तीव्रता पायो। रूपरेखा पत्रिकामा पनि उनका मुक्तक छापिन थाले। ‘पछि एउटा साथीले आरएस मधुर भनेकै रत्नशमशेर हो भनेर हल्ला गरिदियो,’ थापा भन्छन्, ‘अनि त आफ्नै नामबाट लेख्न थालेँ।’
सानो छँदा देवकोटा, सिचिद्धरण र लेखनाथका कविता खुब पढेका उनी छन्दलाई रुचाउँथे। पछि साहित्यिक र सांगीतिक वृत्तका मान्छेसँग संगत भएपछि लेखन परिष्कृत–परिमार्जिन भयो। ‘कैयन् कविता र गीत च्यातेर/जलाएर फालिदिएको छु,’ उनी सुनाउँछन्, ‘भाव र शैलीमा परिपक्वता आउन थालेपछि पहिले लेखेका सिर्जनाको वास्तै गरिनँ। कति टुक्रा त हराए।’
गीतमात्रै होइन थापाका मुक्तक र कविता पनि उत्तिकै चर्चित छन्। नाटक, तांका, हाइकुदेखि लिएर उनले कवि मोहन कोइरालासँगसँगै लामा कविता पनि लेखे। तीमध्ये ‘कुहिरोले आँखा उघार्दा’ र ‘क्षितिजको भुत्ला आज बोकाको सपनामा’ चर्चित छन्। ‘एकपटक क्यालेन्डरको पछाडिपट्टि लेखेको लामो कविता छाप्ने बेलामा एक सय हरफ नै काट्नुपरेको थियो,’ उनी सम्झन्छन्।
उनको नाटक बीबीसी नेपाली सेवामा पनि प्रसारण भयो। उपेन्द्र श्रेष्ठको पत्रिका ‘शिलान्यास’मा छापिएको ‘चर्केका विम्ब’ प्रसारण भएको थियो। ‘खगेन्द्र नेपालीले ५६ पाउन्ड पारिश्रमिक नै दिएका थिए,’ थापा सुनाउँछन्।
कालजयी गीत
ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, गोरेटो त्यो गाउँको, बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा, उकाली ओराली गर्दै, आँखैमा रात गली, जाग लम्क चम्क हे जस्ता कालजयी गीतका सर्जक थापा कुनै बेला आफैं गाउँथे। ‘१४ सालतिर एक प्रतियोगितामा गाएर गोल्ड मेडल पाएको थिएँ,’ उनी भन्छन्। आफ्नै रचना र कम्पोजको ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा’ गीत गाउँदा कल्याण रिमालले हार्मोनियम बजाएका थिए। अहिले यो गीत नारायण ओलीको संगीतमा डा. गोपाल महर्जनले गाएका छन्।
थापाको पछिल्लो गीत ‘आऊ सुटुक्क’ ओलीकै संगीत र स्वरमा रेकर्ड भएको छ। ‘२०६८ सालमा म्युजिक नेपालले रेकर्ड गरे पनि बाहिर आइसकेको छैन,’ थापा भन्छन्।
‘गाजलु आँखा मोहनी रूप हँसिलो मुहार’ गीतलाई १६ सालमा नारायण गोपालले गाएका थिए। त्यसबेलै कलेजको कार्यक्रममा ‘स्वर्गकी रानी’ गाएका नारायण गोपाल एकाएक हिट भए।
समकालीनहरू रेडियो नेपालका जागिरे। उनलाई भने जागिरको मोह कहिल्यै भएन। ‘त्यहाँको विचार र व्यवहार मलाई ठिक लागेन,’ भन्छन्, ‘साहित्य–संगीतका सिर्जनात्मक कुरा हुनुपर्ने मन्दिरजस्तो पवित्र ठाउँमा सस्ता गफ र चाकडी हुन्थ्यो। त्यो मलाई पचेन।’ दुई–तीन महिनामा एकपटक रेडियो पुग्दा त्यहाँका हाकिम उनलाई अर्कै दृष्टिले हेर्दा रहेछन्। गायक माणिकरत्न सुनाउँथे रे– ‘तपाईं यहाँ आएपछि त आतंक नै आएजस्तो हुन्थ्यो।’
थापालाई रेडियोमा जागिर खान दरबारबाटै पनि प्रस्ताव नआएका होइनन्, हक्की स्वभावका उनले पदमा पुग्ने लोभ पालेनन्। ‘ममा कुनै पदमा पुग्ने लालसा छैन। त्यही भएर एकेडेमी, नाचघर या रेडियोमा कतै जागिर खाइनँ,’ उनी भन्छन्।
उनको स्वभावलाई ‘घमण्डी’ भन्नेहरू रेडियो नेपालमा थिए।
रेडियोमै उनका गीत प्रतिबन्ध भएपछि झन् चर्चामा आए। नारायण गोपाल र तारादेवीले गाउन लागेको ‘हाँस्छौं गाउँछौं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा, धन्दा लिन्नौं हामी केही उनको विरोधमा’ गीत प्रतिबन्धित भयो। ‘उनको’ भनेर राजालाई संकेत गरियो भन्दै बज्न दिइनन,’ थापाले भने।
१८ सालतिर लेखेको ‘बिहानीका तारा हामी सर्वहारा, धुलोमा लडी ओढ्दछौं शीतका धारा’ गीतमा पनि प्रतिबन्ध लाग्यो। ‘कम्युनिस्टले गाउने खालको’ भनेर रेडियोले रेकर्ड गरेन। ‘तारादेवी र नारायण गोपालले रिहर्षल गरेका थिए। केही पूर्वाग्रही कर्मचारीले ब्यान्ड गरिदिए,’ उनी भन्छन्, ‘त्यस्तो जमाना पनि थियो। एकदमै सचेत भएर लेख्नुपर्ने। गीतको मार्मिकतालाई अर्कै अर्थमा बुझिदिन्थे।’
नारायण गोपालले नै गाएको ‘सल्किन्छ यो नगरमा ठट्टैमा यो जिन्दगानी, छल्किन्छ यो नजरमा मोती होइन पानी’ गीतले पनि प्रसारण अनुमति पाएन।
रेडियो नेपालले आफ्ना गीत पटक–पटक प्रतिबन्धित गरिरहेका बेला गोरखापत्रले सम्पादकीयमै माणिकरत्नले गाएको ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ’ गीतलाई अश्लील भनेर लेखिदियो। यसपछि त गीत सुन्ने झनै बढे। साथीहरू सुनाउँथे रे, ‘यसले झन् राम्रो भयो। अब नडराई लेखिरहू।’
यस्ता आरोपले उनको साधनालाई किन विचलित पार्थ्यो! यसैले त उनले भटाभट गीति संग्रह निकाले– ‘ओभानो सिउँदो’ (२०२०), ‘रुझेका परेला’ (२०२६) र ‘दोभान’ (२०४२)। उनका दुई कविता कृति पनि प्रकाशनमा छन्– ‘चकलाभरिको घाम’ (२०३६) र ‘ताराका काँचा रङ’ (२०६०)। योगेश वैद्यले गाएको उनको गीत ‘आँखैमा रात गली’ स्नातक नेपालीका विद्यार्थीले पढिरहेका छन् ।
अँझै गर्नु छ
झन्डै पाँच दशक लामो सिर्जनाकर्म साहित्य–संगीतमै बिताएका थापाले २०५९ सालमा एक लाख रुपैयाँको ‘स्रष्टा सम्मान’ पाए। उनको कोठाका भित्तामा राखिएका सम्मान र पुरस्कारका प्रमाण पत्र हेर्ने हो भने लाग्छ– जति गर्नु गरिसकेका रहेछन्, अँझै गर्न बाँकी केही छ र!
छिन्नलता गीत पुरस्कार (२०४०), हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार (२०५०), युगकवि सिद्धिचरण पुरस्कार (२०५५), मुक्ति पुरस्कार (२०५६), देवकोटा काव्य सम्मान (२०६३), पहलमानसिंह स्वाँर दीर्घ साहित्य साधक सम्मान (२०६५), निर्झर दिलचेत काव्य सम्मान (२०६६), दायित्व वाङ्मय विशिष्ट सम्मान (२०६८), नातिकाजी संगीत पुरस्कार (२०६७), भीमदर्शन रोका साहित्य सम्मान (२०६८)जस्ता कैयन् पुरस्कार थापिसकेका थापाको कलम अँझै थाकेको छैन। ‘नेपाली समाजका लागि अँझै गहकिला कृति दिने सोचमा छु,’ डायरी र कागजका टुक्रामा कोरिएका कविता, मुक्तक, गीतका खेस्रा देखाउँदै भन्छन्, ‘खोजी गर्ने हो भने ४/५ वटा कृति बन्न सक्ने सामग्री छन्।’
जगदम्बा–श्रीको दुई लाख रुपैयाँलाई कसरी उपयोग गर्दै हुनुहुन्छ?
उनी भन्छन्, ‘छोराको पढाइमा बढी खर्च हुन्छ। उसको बाँकी पढाइमा लगाउँछु होला।’
संगत
१० सालमा म्याट्रिक गरेका थापाले १६ सालमा मात्रै आइएस्सी पढे, त्रिचन्द्र कलेजमा। निकटका साथी थिए, नारायण गोपाल र नातिकाजी। त्यसपछि त के चाहियो! क्लास नभएका बेला टेबल र बेन्च ठटायो गीत गायो।
एकपटक कलेजले गर्ने पाँच दिनको कार्यक्रम सिंहदरबारमा भयो। कार्यक्रमको दौरान सहपाठी रूपचन्द्र विष्ट भ्यान हाँक्थे। अरू कसैले घचेटेपछि मात्रै गाडी स्टार्ट हुन्थ्यो। ‘त्यही बेला गाएको ‘स्वर्गकी रानी’ गीतले नारायण गोपाल हिट भएका थिए,’ थापा भन्छन्।
भूपि शेरचनसँग पनि थापाको खुबै दोस्ती चल्यो। ‘रोमान्टिक खालका थिए। बोलीमै मिठास। विम्बमा बोल्थे,’ उनी सुनाउँछन्, ‘एकपटक नारायण गोपाल र म बसिरहेका थियौं। भूपिले बाहिरबाट बोलाए– सानुबाबु…सानुबाबु…। हामी नारायणलाई सानुबाबु भन्थ्यौं। नारायणले भने– आइये…आइये। भूपि कोठामा आएपछि ठट्यौली पारामा भने– मैलै आइएमात्रै पढेको भन्ने यिनले कसरी थाहा पाए हँ…! त्यसरी ठट्टा गरिरहन्थे भूपि।’
भूपि र थापा दुवै मिलेर गीत लेख्थे। नारायण हार्मोनियम समाएर गाउन बसिहाल्थे। ‘कहिले माग्नेहरूले गाउने खालको लेख भन्थे, कहिले तन्नेरीको, कहिले लाहुरेको गीत लेख भन्थे,’ नारायणलाई सम्झन्छन्, ‘उनकै लागि सबै गीत लेखिसकेको छु।’
नारायण गोपाल, नातिकाजी, भूपि शेरचनमात्र होइन सोमध्वज विष्ट, माणिकरत्न, हरिभक्त कटुवाल, रुपचन्द्र विष्ट, ध्रुवचन्द्र गौतम, उत्तम कुँवर, अम्बर गुरुङजस्ता साहित्यिक र संगीतिक क्षेत्रका धेरै व्यक्तिसँग थापाको दोस्तिरह्यो। कति साथी चुरोट र रक्सीमै डुब्थे। तर उनले रक्सी कहिल्यै पिएनन्।
…
महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, संस्कृत विद्वान चक्रपाणि चालिसेसँग उनले पढ्ने मौका पाए।
बुबाका साथी थिए, देवकोटा। ‘मैतिदेवीबाटै मलाई पढाउन घरमै आउँथे,’ उनी सम्झन्छन्, ‘एसएलसीको बेला हप्ता दिनजति अंग्रेजी पढाए।’ नाकेनाके स्वर भएका देवकोटा घुम्लुङ्ङ मन्डी ओढेर आउँथे। ‘नेपोलियन एन्ड द सोल्जर भन्ने कविता पढेको जस्तो लाग्छ,’ उनी भन्छन्।
समले पढाएको पनि उनलाई याद छ। ‘स्कुलको कोर्समै ‘तलतल’ भन्ने कथा थियो। त्यसबारे सिक्न उनको घर ज्ञानेश्वर गएँ,’ थापा भन्छन्, ‘पहिले दिन त आफूले र छोरीले बनाएका पेन्टिङबारे व्याख्या गरेरै पठाइदिए। कोठाभरि पेन्टिङ रहेछन्। भोलिपल्ट मात्रै मज्जाले पढाएका थिए।’
28 Sep 2013
१२ असोज, २०७०
