कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सबै नै, भित्रबाटै हरायो
भत भत भत पोल्दै, दुख्न लागेछ छाती
सहन सकिन पीडा, आँसु बर्षिन्छ राती ।।१।।
नियति अझ कठोरै, रैछ यो आज जानेँ
जनपदसँग टाढा, बस्नु दुर्भाग्य ठानेँ
झलमल छ विदेशै, तै नि लाग्यो अँधेरो
बरु सकस सहौंला, देश आफ्नै छ प्यारो ।।२।।
अति सरस छ भाषा, भेष सारा रिवाज
सब जन सित मायाँ, स्वच्छ ऊँचो छ भाव
सकल जन मिलेमा, बन्छ नेपाल राम्रो
जनम थल नबिर्सौं, त्यै त हो स्वर्ग हाम्रो ।।३।।
छन्द :- मालिनी, ८ अक्षरमा विश्राम
(जनपद = देश)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
