Skip to content


खुट्टा भएर पनि हिड्न अरुले जोड़ दिनु पर्छ भने त्यहा आत्मबल र आत्म विश्वासको कमी छ भन्ने बुझ्नु पर्छ । जबसम्म आफूले आफैलाई चिनेर आफ्नो सोच, बिचार, कर्म, शिद्धान्त आफ्नै ब्यवहारमा लागू गरिदैन भने पहिचान र अधिकार खोज्नुको के अर्थ? नारी अधिकारको नारा लाएर मात्र नारी स्वतन्त्रता र नारीले पहिचान पाउने होइन । अरुले अधिकार आफ्नो हातमा राखी दिएर पाउने कुरा पनि होइन । समाजमा नारी अधिकार, नारी स्वतन्त्रता, नारी पहिचान, ……जस्ता मूल नारा लिएर हिड्ने नारीहरू पनि त्यो आवाज उठाउन सानो कष्ट र दुःखले पक्कै त्यो ठाउँमा आएका होइनन । धेरै त्याग बलिदान र संघर्सको परिणाम आज उहाँहरू आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ भने हामीहरू जस्तो शिक्षित तर आत्मबल र आत्म विश्वास कम भएका महिला दिदी बहिनीहरूलाई हामी कमजोर छैनौ हामीलाई कमजोर देख्ने समाजको नजर र मानसिकता कमजोर हो भन्ने अभिव्यक्ति दिए ता पनि हामी किन पछिका पछि छौ? सोचनीय छ ।

कारण हामीले हामीलाई चिन्ने प्रयास नै कहिल्यै गरेनौ, जन्मिए देखि टोल, समाज र परिवारले जति सिकायो जति बुझायो त्योभन्दा बढ़ी बुझ्ने र जान्ने कोसिस कहिल्यै गरेनौ । छोरी ठुली भए पछि विवाह गरी अर्काको घर जाने जात भनेर अप्रत्यक्ष हेला र मानसिकतामा बालापन बिताउछौ । अनि विवाह गरी लोग्नेको घर, परिवार र उनीहरूको खुशीको ख्याल गर्दा गर्दै जीवन समाप्त गर्छौ । सोच्ने गर्छु कस्तो जिन्दगी हो यो नारीको?हजार जुनी पछिको एक जुनी जन्मेर दुःख, पीड़ा, यातनालाई नजिकबाट नियाली सृष्टिको नियम भन्दै फेरि छोरा भए बंशको कुल चलाउने र छोरी भए आफै जस्तो एक निरीह सन्तान यो धर्तीमा छोडेर बिंदा हुनु पर्ने । के यति हो हामी नारीको जीवन र जन्मनुको वास्तविक अर्थ?

अह! तर म मान्न तयार छैन यति संकुचित र लाचार जीवन बाँच्न, ………हिजो मेरो बाल मनोविज्ञानमा असर पर्ने गरी मेरो बालापन जसरी बित्यो त्यसै गरी आज आफ्नो सोच, बिचार, लक्ष्य र गर्नु पर्ने मानवीय कर्तव्यलाई संकुचित समाज अगाडि थैलोको तुना सरि खुमच्याएर मर्न बिवस पार्ने छैन । जति सक्छु त्यति गरेरै छाड्छु समाज र देश परिवर्तनको लागि र मै जस्तो हरेक महिलालाई आफू पर्दा पछाडि होइन अगाडि स्टेजमा आएर आफ्नो मन्तब्य र कला प्रदर्शन गर्न उत्प्रेरित गर्नेछु । किनकि हरेक मान्छे भित्र एउटा कला, एउटा गुण बिराजमान हुन्छ, उ मान्छे हुनुको सार्थकता दर्साउनको निम्ति तर सबै कुन्ठित छन तुच्छ मनका व्यक्तिहरू माँझ तर अबका दिनहरू त्यस्तो नहोस भन्नका लागि सर्वप्रथम नारी हामी आफै जागरूक हुनु पर्छ मेरो मान्यता हो । म धेरै सानो हुँदा एउटा हरफ एउटा नगरपालिका को भित्तामा पढेकी थिएँ जुन आज पनि मेरो मानसपटलमा ताजा छ”नारीको कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छे”त्यो बेला यो हरफ़ले के भन्न खोजेको र यो कस्तो जीवन दर्शन हो भन्ने बुझ्न सकेकी थिइन तर आज यसको गहन भाव र फराकिलो अर्थले नारीलाई चिन्ने अवसर पाएँ र हरेक म जस्तै नारीले आफूलाई चिन्ने प्रयत्न गर्नु हुनेछ, विश्वस्त छु ।

ठुला ठुला प्रतिष्ठित व्यक्तिहरूद्वारा नारी अधिकारको कुरा गर्दै आफ्नै छत्र छाँयामा रहेका नारी प्रति दुर्ब्यवहार गर्नेको पनि कमी छैन हाम्रो समाजमा, तर अब त्यस्तो नहोस, हामीले आफैले आफैलाई प्रण गरौ । एउटा नारीलाई हामी हरेक व्यक्तिले सम्मान, इज्जत, शिक्षा र आत्म विश्वास मात्र दिन सक्यो भने एउटा समृद्ध समाजको निर्माण हुन्छ त्यही समाजमा रहेर आफ्नो पहिचान र सींगो राष्ट्रको गौरब गाथाको इतिहास रच्न सक्ने सामर्थ्य नारीमा छ जसको निमित नारी मन र स्वाभिमान प्रति हेक्का राख्न प्रत्येक नागरिकले जरुरी देख्छु । हो, नारी तिमी यस्तो शक्ति हौ जसको ममतामा संसार फक्रिन्छ भने क्रोधमा संसारको बिनास हुन्छ तसर्थ आफ्नो शक्ति र सामर्थ्यको सही समय, सही ठाउँमा उपयोग गर्नु जस्ले सींगो जीवन र जगतलाई प्रेरणाको मूल स्रोत मान्न सकोस ।

“सम्पूर्ण दिदी बहिनीहरूमा नारी दिवसको शुभ कामना ”

कल्पना राई”ख़ुशी”
दोलखा नेपाल
हाल:-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *