Skip to content


हेटौंडाका पत्रकार रामकुमार एलनको स्याउली सिम्फोनी मध्यम कलेवरमा सिर्जित औपन्यासिक प्राप्ति हो। उपन्यासको भूमिकामा सम्पादक दीपक सापकोटाले ‘रामकुमार राम्रो पनि लेख्छ र झूर पनि’ भनेका छन्। नभन्दै, उपन्यासमा राम्रो वर्णनसँगै झुर सन्दर्भहरू यत्रतत्र भेटिन्छन्। रसिलो–खिरिलो भाषामा हुँदाहुँदै पनि सम्पादन र ‘प्रुफरिडिङ’ को अभावले उपन्यासमा बेमजा बढाएको छ। वचन र लिंग समेत नमिलेको पुस्तकलाई प्रकाशनको हतारोले बिगारेको देखिन्छ।

स्याउली सिम्फोनी (उपन्यास) लेखकः रामकुमार एलन
प्रकाशकः बिएन पुस्तक संसार प्रा.लि.
मूल्यः रु.२९९,
पृष्ठः २६२

उपन्यासमा ठकुरी बडाबा र चैते मास्टरप्रति लेखक बढी नै पूर्वाग्रही देखिन्छन्। पूर्व पञ्च भनेपछि पाठकले ठकुरी बडाबाको सामाजिक भूमिका पहिल्याइसक्ने भए पनि लेखकले उनलाई चैते प्रमाणित गर्न धेरै मसी खर्चेका छन्। लेखकले उपन्यासमा पार्वती कट्टेल र कमरेड ज्वालाको आगमनलाई प्रभावशाली देखाउन पिचुर र म्हेन्दोको भूमिकामाथि धावा बोलेका छन्। प्रस्तुतिको हिसाबले भने लोभलाग्दो छ यो उपन्यास। छोटो वाक्यगठन अचार जस्तै जिब्रो फट्कार्ने खालको छ। भिमे, छेवाङ, छेगु आदि पात्रले उपन्यासलाई जीवन्त बनाएका छन्। मेला–पर्वको चित्रणले नेपाली सामाजिक–सांस्कृतिक पक्ष झल्काएको छ।

ठुल्दिदीले महिला भएर महिला बेच्छिन्। लोर्के स्याङ्तानले केटी बेच्ने दलालसँग छोरीको बिहे गरिदिन्छ। पार्वतीलाई लोग्नेले बम्बईमा लगेर बेच्छ। नेपाली समाजमा नारी जातिको दारूण प्रस्तुतीकरण उपन्यासमा छ। यस्ता पात्र र घटना नेपाली समाजका यथार्थ हुन्। माओवादी द्वन्द्वले खण्ड–खण्ड बनाएको परिवेशको तस्वीर उतार्न र युद्धकालीन समाजको आख्यानीकरण गर्न लेखक सफल छन्। निस्वार्थ भावले माओवादी पार्टीमा सेवा पुर्‍याउने पिचुर ‘अयोग्य लडाकू’ को बिल्ला भिरेर क्यान्टोन्मेन्टबाट बाहिरिन बाध्य हुन्छ।

स्याउली सिम्फोनी स्याउलीबाङको मात्र घाउ नभएर नेपालका विकट ग्रामीण इलाकाको सुस्केरा र समायोजनको क्रममा घर फर्किंदा चेक लुटिएका लडाकूहरूको दुर्दान्त कथा हो। पुनर्लेखनमा ध्यान दिएको भए उपन्यास योभन्दा निकै राम्रो बन्नेथियो। र पनि, एलन उपन्यासकारको तहमा उक्लिएका छन्।

जि.के. पोख्रेल
हिमाल खबरपत्रिका
२३-२९ चैत २०७०
6-12 April 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *