Skip to content

आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको सङ्क्षिप्त विवेचना


परिचय

भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक अद्वितीय भानु नै हुन् । जसरी सूर्यका किरणहरूले यस पृथ्वीका कुनाकाप्चा छिचोलेर प्रकाशमय पार्दछ त्यसरी नै भानुभक्तका कृतिहरूले नेपाली समाजका मुटुका धड्कन र रगतका बूँद बूँदमा सञ्चारित भएर भाषागतरूपमा एकताको सूत्रमा बाँधेको छ । आज जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले आफ्नो स्थान लिएको छ र भानुभक्तको स्मरण भई नै रहेको हुन्छ । यो लेख लेख्दा मलाई मेरो अध्ययन कालको याद आयो । मेरो अध्ययन भारतको आसामको डिगवोई भन्ने ठाउँमा भएको थियो । त्यहाँ, वि.सं.२०२०/२१ सालमा, हामी विद्यार्थीहरूले भानुजयन्ती भव्यरूपमा मनाउने गर्दथ्यौं । साहित्यकार स्व. हरिभक्त कटुवालको पनि त्यहाँ सकृय सहभागिता रहन्थ्यो । मेरो साहित्यिक यात्रा पनि त्यहीबाट थालनी भएको थियो । भारतको दार्जिलिङ र सिक्किममा भानुजयन्ती पर्वकै रुपमा मनाइने गरेको पाइन्छ । नेपालमामात्र नभएर भरताका ठाउँ ठाउँमा भानुभक्तका शालिकहरू स्थापना भएका छन् । भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका पुत्र थिए । श्रीकृष्ण आचार्य विद्वान थिए र धर्ममा विश्वास गर्दथे । श्रीकृष्ण आचार्यले धनञ्जयलाई पनि शिक्षित बनाएका थिए भने नाति भानुभक्तलाई पनि उनीबाटै शिक्षा दिइएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको छाप परेको थियो ।

भानुभक्तका कृतिहरू–

एकदेव उपाध्यायले, आदिकवि भानुभक्त लिखित पुरानो सातकाण्ड रामायण, जसको सम्पादन बाबू सोमनाथजीले गर्नुभएको र जयनेपाल प्रकाशनले २०४६सालमा प्रकाशन गरेको, यस रामायणमा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनीमा प्रकाश पार्नु भए बमोजिम उनको, ‘प्रथम पद्यचाहिें शिखरिणी चन्द्रमा बनाइएको दश हरफहरू नै हुन जसले उनको आफ्नै जन्मपत्रिकाको बयान गर्दछ’, भन्ने छ । उनले १८९८ सालसम्ममा बालकाण्ड रामायण तयार पारेका थिए भनिन्छ । उनका बाबु पाल्पा मालमा खरदार थिए । खरदार पदमा रहँदा हिसाब कितावमा फरक परेकोले बाबुको मृत्यु पछि भानुभक्तलाई १९०६ सालतिर हिसाव फस्र्योट गर्ने अड्डाले समात्यो र ५ महिनासम्म नजरबन्दमा राख्यो भन्ने कुरा एकदेवजीले लेख्नुभएको छ तर नरेन्द्रराज प्रसाईद्वारा लेखेको एक लेखमा भानुभक्तले ३७ वर्षको उमेरमा आफै सरकारी जागिर खाएका थिए । हाकिमले दुई वर्षमा नै उनको जागिर खोसेको र रकम हिनामिनाको अभियोगमा कुमारी चोकमा थुनेको भनिएको छ । मोतीराम भट्टका अनुसार पनि वि.सं.१९०७ सालको बैशाख महिनामा तराईमा जागिरे भएर गए र १९०९मा जागिर खोसिएको र हरहिसाव वुझाउन नसकी ५ महिना थुनिएको लेखेको देखिन्छ । मोतीराम भट्टको लेखाइलाई नै आधिकारिक मान्न सकिन्छ । उनी नजरबन्दमा परेका अवसरमा रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्डको रचना गरेका थिए । नजरबन्दबाट निस्केपछि उनले युद्धकाण्ड र उत्तर काण्ड लेखेका थिए । यसरी उनले १९१० सालतिर सम्पूर्ण रामायणको रचना गरिसकेका थिए । उनका कृतिहरूमा रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि हामीले अध्ययन गर्न पाएका छौं, जो अति गहन भावना सहित सरल भाषामा लेखिएका छन् ।
नेपाल राज्यको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए र सन् १७६८मा नेपाल खाल्टोभित्रका देशहरू जितेर पृथ्वीनारायण शाहले नेपाली भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याएका थिए तापनि नेपाली भाषले त्यति व्यापकता लिन सकेको भने थिएन । जब भानुभक्तले रामायण लेखे । यसको रसस्वादन नेपाली जनताले चाख्न थाले तब नेपाली भाषाले व्यापकता लिन थाल्यो र नेपाली समाजलाई भाषागत रूपमा एकबद्ध गर्ने काम भानुभक्त आचार्यले गर्न सफल देखिनु भयो । भानुभक्तभन्दा अघि पनि केही कविहरूले नेपाली भाषामा लेख्ने काम गरेका थिए तर अध्यायात्मक रामायण (सम्पूर्ण राम कथा) प्रदान गर्ने काम भने भानुभक्त बाटै भएको थियो । यो कृति अनुवाद भए पनि अनुवादजस्तो नभएर मौलिक कृतिजस्तो देखिन्छ । खास रामायणको सन्दर्भमा श्रीमती पुष्प शार्म लेख्नुहुन्छ – ‘….. यस काव्यभित्र, जसले जस्तो आदर्श। नीति, प्रेरणा, खोज्न चाहन्छ, त्यस्तै पाउन सक्छ–भनौ रामायण कल्प वृक्ष हो, रामायण चिन्तामणि हो’ । मलाई पनि यस्तै लाग्छ, यो कल्पवृक्ष हो र चिन्तामणि पनि हो ।

मोतीराम भट्टले भानुभक्तप्रति गरेको योगदान

भनिन्छ मोतीराम भट्टले भानुभक्तलाई यो रूपमा चिनाउनको लागि निकै मेहनत गरेका थिए । उनले रामायणलाई सङ्कलन गरेर छपाउने र प्रचारप्रसार गर्ने काम गरे । भानुभक्तको जीवनी लेखे । उनको जीवनीमा भानुभक्तको जन्म मिति १८६९लेखेको पाइन्छ तर भनुभक्तकी नातिनीले भानुभक्तको जन्म सप्रमाण वि.सं. १८७१ साल असार २९ गते भनेपछि भानुभक्तको जन्म मिति यही नै लेखिन थाल्यो । मोतीराम भट्टले भनुभक्तलाई १९४८मा आदिकविको रूपमा नामाकरण गर्नु भया,े तर १९९७ सालमा युद्धशमशेरले यसलाई मान्यता दिए पछि भानुभक्त आदिकविको रूपमा प्रचलित हुनुभयो । आज भानुभक्तलाई आदिकवि भनेकोमा पनि चर्चा उपचर्चा उठेका छन् तापनि भानुभक्तले आफ्नो कृतिलाई नेपालीमय बनाएकै हुन् र नेपालीको रगतको बूँद बूँदमा आफ्नो भावनालाई घोलेकै हुन् । उनको यो सम्लग्नतालाई कसैले जे भने तापनि नेपाली मुटुको धड्कनबाट आदिकवि भानुभक्तलाई अलग्याउन भने सकिदैन । खोज /अनुसन्धान त हुनु पर्दछ । आज आएर भानुभक्तले रामायण लेख्ने प्रेरणा घाँसीबाट पाएका हुन् भन्नेमा तकवितर्क उठेका छन् । यस सम्बन्धमा नरेन्द्रराज प्रसाईले यी तलका पङक्तीहरू भानुभक्तले नभै स्वय म भोतीराम भट्टले नै लेखेका हुन् भन्नुभएको छ –

भर्जन्म घाँसतिर् मन्दिइ धन् कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनी भै कन आज यस्तो ।।१।।

मेरा इनार नत सत्तल पाटि कै छन् ।
जे धन् र चीजहरू छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दियेछ अर्ती ।
धिक्कार हो ! मकन बस्नु नराखि कीर्ति ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ ७–८)

नरेन्द्रराज प्रसाईको तर्क के छ भने, यस श्लोकको चौथो हरफमा लेखिएको ‘मो’ शब्द भानुभक्तको नभै मोतीरामको हो र भानुभक्तले म को ठाउँमा मो कहीं पनि लेखेका छैनन् र मोतीरामको लेखाइमा मो को सट्टा म कहीं लेखेका छैनन् । यही एउटा कारणबाट माथिका श्लोक भानुभक्तका नभै मोतीराम भट्टले नै उनको नाउँमा लेखिदिएको भन्ने तर्क कहाँसम्म सत्य हुन्छ अभैm खोजको विषय भएको छ । रामयण लेख्ने प्रेरणा त वाल्मीकिले पनि निषाद्बाट पाएका थिए । कसरीभन्दा एउटा व्यधाले काम मोहित भएको अवस्थामा कौञ्च पंक्षीलाई मारेको देख्दा उनको मुखबाट अनायास नै श्लोक प्रष्फुटन भएको थियो र त्यसबाटै उनले रामायण लेख्न थालेको भन्ने कुरा हामीले अध्ययन गर्न पाउँछौं । तुलसी दास पनि आफ्नी पत्नीलाई अति माया गर्दथे, एकदिन उनकी पत्नी माइत गएको बेलामा पत्नीलाई छाड्न नसकी खोज्दै माइतै पुगेको देख्दा उनले पतिलाई यो प्रेमको लागि धिकारिन् र राममा(ईश्वरमा) प्रेम गरे राम्रो हुने बताइन् । त्यही प्रेरणबाट तुलसी दासले रामायण लेखे । हामीले भानुभक्तले घाँसीबाट रामयण लेख्ने प्रेरणा पाएको कुरा यत्रतत्र पढ्न पाएँछौं । गोपाल पराजुलीले पनि घाँसीकै प्रेरणबाट भानुभक्तले रामायण लेखे भनेका छन् । मलाई यो विवादमा कता कता दीपक सोतीलाई सम्झे र उहाँको हालको निवास नवलपरासीको पिठौलीमा पुगें घाँसीकुवाको बारेमा र गजाधर सोतीको बारेमा कुराहरू राखें । दीपक सोती नाताले गजाधर सोतीका भाइतर्फका पनातिमा पर्दछन् । घाँसी कुवाको बारेमा सोतीजीले भन्नुहुन्छ –‘आदिकवि भानुभक्त आचार्यको जीवनीमा लेखिएको घाँसीकुवा रिस्तीखोलाको सोती पसल नजिकै अँझै पनि छँदैछ । लम्साल थरका घरमा एउटा घाँसी काम गर्दथ्यो । यो घाँसी मगर थरको भएको र उसले खनेको कुवा भएकोले अँझै पनि बुढापाकाले यसलाई मग्रान्ते कुवा भन्दछन् ।’ यसले के पुष्टि गर्दछ भने घाँसीकै प्रेरणाले भानुभक्तले रामायणको थालनी गरेका हुन् ।

यसरी नै नरेन्द्रराज प्रसाईले, ‘भानुभक्तको जीवन कथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान्’ भन्ने शंकाको प्रश्न खडा गरेका छन् । नरेन्द्रराज प्रसाईको भनाइमा नेपाली समाजमा पाहुनालाई देवतातुल्य मानिने चलन भएको र यहाँ भानुभक्तलाई ढिकी भएको ठाउँसमेतबाट निकालिएको हुँदा यो कविता पनि मोतीरामले नै लेखिदिए होलान् भनिएको छ । मोतीराम भट्टले लेखेको भानुभक्तको जीवन चरित्रमा भने प्रष्ट के लेखिएको छ भने भानुक्तलाई बुहारीले पिढीमा बस्नभन्दा पनि बुढीले बस्न नदिएको र ढिकी भएको छाप्रोमा बुहारीले बस्नभन्दा पनि बुढीले निकाली दिएको र वरपर कसैको घर नभएकोले रुखमनि डल्लिएको । विहान एक ६/७ वर्षको बालक गजाधर्साेतीको कान्छो छोरा हो भन्ने जानेपछि तलका श्लोक लेखेर तनामा बाँधी बाबालाई दिन भनिएको छ –

गजाधर्सोतीका घर बुढि अलच्छिन्किरहछिन् ।
नरक् जानलाई सबसित बिदावादि भइछन् ।।
पुग्यौ साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो ।
निकालीन् साँझैमा अलिक पर गुल्जार गरियो ।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ९ )

यी माथिका श्लोक ती बालकलाई कण्ठ बनाएर छाडेर गएको पनि भएको छ । गजाधर्सोतीले घर आएर जानकारी पाए पछि आफ्नी पत्नीलाई खुब हप्काएको कुरा पनि लेखिएको छ (कवि भानुभक्तको जीवन चरित्रपृष्ठ ९/१०) ।

यो सम्बन्धमा दीपक सोतीसँग छलफल हुँदा सोतीजी भन्नुहुन्छ –‘स्व. आदिकावि भानुभक्तको मावली भोर्लैटार हो । मावली जानेक्रममा कविज्यू गजाधर सोतीको घरमा बासबस्न गएको कुरा पनि सत्य हो । त्यस दिन गजाधर सोती भैंसी किन्न छोरा विष्णुलाई लिएर दुरडाँडा गएको हुँदा, यहाँ आइमाई मात्र छौं सुवेदीको घर तल छ त्यहीं बस्न गजाधर सोतीक्ी बूढीले भन्नुभएको कुरा पनि सत्य हो । भानुभक्त सुवेदीको घर नवसी सोती पसलको चौतारीमा राती सुती, विहान आगोताप्न गजाधरको गोठमा गएर गजाधरको छोरासँग परिचय भयो । गजाधरका छोराले दूध पनि खुवाए । यतिवेलासम्म कविज्यूले कविता लेखेर सोतीका छोराको भोटोको तनामा गजाधरलाई दिन भनेर बाँधीदिए’ । यो कथन सत्यतामा आधारित जस्तो देखिन्छ ।

बालाजी र काठमाण्डौको बर्णन

मोतीरामको कथन छ कि भानुभक्तका वि सं.१८९८देखि १९०५ सम्मका फुट्कर कविताको पत्तो छैन । १९०६मा काठमाण्डौ, जग्गाको झगडाको कारणले, जाँदा बालाजी भन्ने ठाउँमा पुग्दा बालाजीको सुन्दरताको बर्णन गर्दै सिङ्गारिक कविता पनि लेख्नुभएको छ –

ञाहाँ बसेर कविता यदि गर्न पाऊँ ।
यस्देखि सोख अरु थोक म के चिनाऊँ ।।
यस्माथि झन् असल सुन्दरि एक नचाऊँ ।
खैंचेर इन्द्रकन स्वर्ग ञही बनाऊँ ।।१।।

यति दिन पछि मैले बालाजी देख्याँ ।
पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ।।
वरिपरि लहराका झुलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मनलिंदा क्या सुरा छन् ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ १०)

बालाजीवाट भानुभक्त काडमाण्डौतिर लागेर । काठमाण्डौको सुन्दरतामा कविको नजर परेपछि उनले त्यहाँ पनि कविता लेखे –

चपला अबलाहरू एक् सुरमा ।
गुन केसरीको फुल ली शिरमा ।।
हिँडन्या सखि लीकन ओरिपरि ।
अमरावति कान्तिपुरी नगरी ।।१।।

यति छन् भनी गन्नु कहाँ धनिञा ।
खुशि छन् मनमा बहुतै दुनिञा ।।
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ।।२।।

कहीं भोट र लन्दन चीनसरी ।
कहीं काल्भरि गल्ली छ दिल्लिसरी ।।
लखनौ पटना मदारस (मदरास) सरी
अलकापुरि कान्तिपुरी नगरी ।।३।।

तरबार कटार खुंडा खुकुरी ।
पिसतोल र बन्दुकसम्म भिरी ।।
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ।।४।।

रिस राग कपट् छल छैन जहाँ ।
तब धर्म कति छ कति छ ञहाँ ।।
पसुका पति छन् रखबारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ।।५।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ११–१२)

यी माथिका श्लोकहरूबाट हामी के भन्न सकिन्छ भने भानुभक्त प्राकृतिक प्रेमी पनि थिए । उनले अध्ययन पनि संस्कृतमात्र गरेका थिएनन् । उनमा भूगोल लगायत अन्य कृतिको अध्ययन पनि थियो ।

जग्गा झगडा र भानुभक्तको कवित्व

तनहूँमा भानुभक्त र भाटको जग्गाको बीचमा नदिरहेको र नदी कहिले भाटको जग्गा हुँदै बग्ने र कहिले भानुभक्तको जग्गा हुँदै बग्दा जग्गा बगरमा परिणत हुने भै रहन्थ्यो । यसरी नदीले भानुभक्तको जग्गा छाडेर भाटको जग्गाबाट बग्न थाल्यो । भानुभक्तले आफ्नो जग्गा कमोत गर्दा भाटले जग्गा मिचेको भनी उजुरी गरेकाले भानुभक्तले इजहार कविता बाटै दिएको उदाहरण –

ख्यामित् यस् गिरिधारिले अति पिर्यो ब्यार्थै गर्यो झेल्पनि ।
यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा भनी ।।
ख्वामित्लाई चढाउनाकन ञहाँ क्यै श्लोक् कविता गर्याँ ।
मेरा श्लोक् सुनिबक्सियोस्त झगडा छीनिन््छ पाऊ पर्याँ ।।१।

साँचो हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी ।
सावित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्मा जति ।
तोक्याको छ गुनाहजार तिरुला राख्दैन एकदा म रती ।।२।।

यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीं ।।
गन्र्याछैन उजुर्गर्याँ पनि भन्या झुट्टा गराई दिनु ।
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ।।३।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १२–१३)

मोतीर।मको कथन छ कि यती मात्र नभएर अरु श्लोक पनि हुन सक्छन् । यो इजहार् दिए पछि मुद्दा त जोरियो तर मुद्दा फैसला भएन । उनले पुन विन्तिपत्र कवितामै लेखेका थिए कति लेखे तर मोतीरामले भने एक श्लोक मात्र भेटे जो यस प्रकार छ –

विन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् न बोली ।
बोल्छन् ता ख्याल् गर्याझै अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।।
कि ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्छन् यी भोलि ।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १३)

यो विन्तिपत्रले गर्दा भानुभक्तको मुद्दा छिनियो र उनले मुद्दा जिते । घर गएर साँद छुट्याए । मोतीराम भट्टले भानुभक्त थुनामा परेका बेलामा श्री३ कमान्डरइन््चीफ जनरल कृष्णबहादुरका हजूरमा भानुभक्तले लेखी पठाएको विन्तिपत्रको श्लोक पनि प्रस्तुत गर्नुभएको छ जो यस प्रकार छ –

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर्नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
लाङ््खुटया उपिञा उडुस् यी संगि छन् इन्कै लहर्मा बसी ।
लाङ्खुट्याहरू गाउँछन् यी उपिञा नाच्छन् म हेर्छु बसी ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५)

मोतीरामको कथन छ कि यो विन्तिपत्रबाट पनि भानुभक्तको आपद् टरेन । यही ४ महिनाको अवस्थामा उनले अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको भाषा श्लोक तयार पारे । यसै वर्ष छोरा रमानाथको ब्रतबन्ध गर्नु पर्यो र फेरि एक विन्तिपत्र लेखेर श्री३ कमाण्डर इन्चीफका हजुरमा चढाए । जो यस प्रकार छ –

जागिर्छैन धनी म छैन घरको केवल कोदालो खनी ।
खान्थ्या दुक्ख गरेर चाकरी गर्या मान् पाउँला कि भनी ।।
एक् मन् चित्त लगाई चाकरी गर्याँ खुसी भयाछन् हरी ।
मान्माथि पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या गरी ।।१।।

चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल् ब्रतबन्धको नजिकमा बेला त हो हर्षको ।।
क्यारू आज पर्यां विपतमा एक्लो ञहाँ छु फगत् ।
कुन् पाठ्ले ब्रतबन्ध पार्गरु मफेर्मान्छू अँध्यारो जगत् ।।२।।

गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनु माइको ।
बालख्मा पनि वेद् पढी कन सुसार्गर्नू गुरू गाइको ।।
यस्तो मुख्य बखत् छ यो अरु छ कुन् का म पारलाई दिन्या ।
धेरै विन्ति कति गरूँ चरणमा एकै कुराले छिन्या ।।३।।

ख्यामित् आज हजुर्हरू पृथिविमा मालिक् छंदामा पनि ।
ब्राह्मण्को ब्रतबन्ध अड्कन तयार्देख्यां र मालिक् भनी ।।
जाहीरात गर्यां प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित् भनी मर्जि हुन्छ त भन्या क्यारू सहन्छू पनि ।।४।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५–१६)

मोतीराम भट्टले लेख्नुहुन्छ – यो विन्तिपत्रले काम गर्यो र १९०९मा भानुभक्तले फारग्पत्र पाएर घरमा गै छोराको ब्रतबन्ध गरेर १९१०मा पुनः काठमाण्डौमा आएर युद्धकाण्ड र उत्तरकाण्ड पनि तयार गरी रामायण तयार भयो ।

भक्तिरसले पूर्ण भक्तमाला भानुभक्तको स्वकल्पित रचना हो । यो र प्रश्नोत्तर संस्कृतबाट अनुवाद गरेको कृतिको लेखन पनि यसै समयमा भएको कुरा मोतीरामले लेखेका छन् । अब कुरा रह्यो बधु शिक्षाको । यो तयार गर्दाको पनि एउटा कथा छ । भानुभक्त नेपालबाट १९१९मा घर फर्कदा बाटोमा तारापति ब्रह्मणसँग भेट भयो र एक रात उहाँकोमा नै बस्ने कुरा भयो । रातको दशघडी रात बित्ता तारापतिकी पत्नी र बुहारी बीच झगडा सुरु भयो र भानुभक्त सुत्न नसकी रातभरिमा ‘बधुशिक्षा’ तयार पारे र हिड्ने बेलामा तारापतिलाई यो बधुशिक्षा सहित उपदेशका तीन श्लोक दिएर बाटो लागेको कुरा मोतीरामले लेखेका छन् । ती तीन श्लोक यस प्रकार छन्–

एक् थोक् भन्छु न मान्नु दुक्ख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्या छन् अति ।।
सून्या दन्त बझान आज घरको कर्कर्गर्याको उसै ।
भर्रात् जाग्रानझैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

धन् इज्जत् र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ।।
साह्रै झोक उठयो मलाई र बधूशिक्षा बनाया पनि ।
यस्ले पत्नी बुहारी छोरीहरूको तालि म गरौला भनी ।।२।।

हुन त म अतिथि हूँ यस् बिनु के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांचो ।।
घर चतुरइँ गर्छन् बुद्धिमान्ले अगाडि ।
बखत चुकि दिंदामा हुन्छ काहां पछाडि ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १७–१८)

यी श्लोकमा पनि नरेन्द्रराज प्रसाइले भानुभक्तका नभई ‘मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अँझै मसला हाले । भानुभक्तका मित्र तारा पतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । …….. तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न आफैले लेखेका थिए भन्न सकिन्छ’ भनी लेखेका छन् । नरेन्द्रराज प्रसाईको यो लेखमा पोखेका धारणाहरूको अध्ययन र आजसम्म भानुभक्तको बारेमा लेखिएका मान्यतामा गहिरो अध्ययनको खाँचो देखिन्छ । मेरो बिचारमा कुनै पनि लेखकले आफ्नो लेख/रचना अर्काको व्यक्तित्व उठाउनको लागि प्रयोग गर्दैन जस्तो लाग्छ । मोतीरामले जे लेखेका छन् तीनमा सकेसम्म उदाहरण सहित प्रष्ट्याउने कोसिस गरेका छन् जस्तै धर्मदत्त सुब्बा (जोतिषी), रमानाथ आदि । मोतीरामले सकेसम्म दिन, गते, घडीसम्म पनि लेख्न छुटाएका छैनन् । गहिरिएर हेर्ने हो भने यति गहिरो लेखनले सत्यता दर्शाएको छ भन्न सकिन्छ । श्रीमती पुष्पा शर्मा लेख्नुहुन्छ –‘प्रयोजन आविष्कारको जननी हो, उपयोगिता सृष्टि गर्न दुर्भेद्य पहाड तोडिन्छन्–दुर्गम वन छिमलिन्छन्–’ निश्चय पनि अनुसन्धानको सीमाङ्कन हुँदै न । यो निरन्तर चल्ने प्रकृया हो । मोतीरामले भानुभक्तलाई चिनाउन निकै प्रयास गरेकै हुन् । उनले रामयण सङ्कलन गरेर प्रचारमा ल्याएकै हुन् तर नरेन्द्रराज प्रसाईले भने जस्तै आफ्ना स्वरचित कवितालाई भानुभक्तले लेखेका हुन् भनेर लेखेका हुन्, भन्न थप पुष्ट्याइँको आवश्यक्ता मैले महसूस गरेको छु । यसमा मेरो जिज्ञासामा बधुशिक्षाका बारेमा दीपक सोतीले मोती रामले भानुभक्तका कविता सङ्कलनमात्र गरेका हुन् भन्ने ठहर छ ।उनले आफूले लेखेर भानुभक्तले लेखेका हन् भन्न सकिदैन ।

बास्तवमा भानुभक्त नेपाली साहित्यका वाल्मीकि हुन् र रमायाण नेपाली साहित्यको पहिलो महाकाव्य हो । नेपाली भाषामा भानुभक्तको योगदान ठूलो थियो /छ । आज नेपाली भाषा समस्त नेपालीको जनजीव्रो भएको छ । जहाँ नेपाली पुगेका छन् त्यहाँसम्म यो भाषा मौलाउँदै गएको छ । अत यस्ता मुटुका धडकन वि.स.ं १९२५मा भौतिक शरीरलाई त्याग्दै हामीबाट भौतिक सम्पर्क हुनबाट सदाका लागि अलगिन पुग्नुभयो ।

धन्यवाद
सदानन्द अभागी

सन्दर्भ सामाग्री
१. कवि भानुभक्तको जीवनचरित्र, मोतीराम भट्ट, साझा प्रकाशन, साझा प्रकाशन चौथो प्रकाशन २०६८,
२ कैलाश राष्ट्रिय साहित्यिक विविध पत्रिका –२०७०, पृष्ठ ६१–६५,आदि कवि भानुभक्त आचार्य, नरेन्द्रराज प्रसाई
३.जनमत साहित्यिक मासिक, वर्ष ३०, अङ्क ७, साहित्यिक अङ्क १९२, पृष्ठ ४मा ‘सन्दर्भः भानु भक्तीय, रामायणको, चर्चा–प्रेणा स्रोतको’, श्रीमती पुष्प शार्म .
४. पच्चीस प्रतिभा, प्रथम संस्करण, २०६०, गोपाल पराजुली
५ भानुभक्तीय रामायण, जय नेपाल प्रकाशन, सम्पादक, बाबु सोमनाथजी, २०४६, आदि कवि भानुभक्ताचार्यको संक्षिप्त जीवनी
६ साहित्यकार दीपक सोतीजीसँगको अन्तरकृया
मिति, २०७०, पाल्गुण,२४ गते शनिवार, कावास्वती–१, शान्तिचोक, नवलपरासी,

इमेल snjaishy@gmail.com कुनै प्रतिकृया / सुझावको लागि यसमा लेख्नुहुन हार्दिक अनुरोध ।

मझेरीमा प्रथमपटक प्रकाशित मिति: 2014-03-18 14:35:31 +0100

Leave a Reply

Your email address will not be published. Required fields are marked *