आखिर कहिलेसम्म ?
सुकुम्बासीले
बागमतीको छेउछाऊ निदाउनु पर्ने हो
र सुङ्गनु पर्ने हो
बागमतीले पादेको नमिठो गन्ध
आखिर कहिलेसम्म ?
बेश्याले
कोठीभित्रै रुनु पर्ने हो
र हुनु पर्ने हो
कसैको प्यास मेट्ने भाँडो
आखिर कहिलेसम्म ?
गुराँसले
कोपिलामै ओइलिनु पर्ने हो
र झर्नु पर्ने हो
कसैको स्याहार नपाएर
आखिर कहिलेसम्म ?
गरिबले
परदेश धाउनु पर्ने हो
र पुछ्नु पर्ने हो
आँसु जो सम्झेर देश
आखिर कहिलेसम्म ?
चेलीले
डराइ–डराइ बस्नु पर्ने हो
र धस्नु पर्ने हो
अनुहारमा यो समाजको क्राश
आखिर कहिलेसम्म ?
जनताले
सडकमा उत्रिनु पर्ने हो
र ढाल्नु पर्ने हो
एकपछि अर्को निरंकुश सरकार
आखिर कहिलेसम्म ?
देशले
अरुकै इसारामा नाच्नु पर्ने हो
र बाँच्नु पर्ने हो
अरुकै भरोसामा
आखिर कहिलेसम्म…?
सुशील शाह
(कुपण्डोल, ललितपुर)
