बंगलादेशको राजधानी ढाका कविता र संगीतको सहर हो, यहीँ कुनै समय नजरुल इस्लामका कविता गुञ्जिन्थे। कुनै समय यहाँ चलचित्रकर्मी ऋत्विक घटकका कविताजस्ता सिनेमा बन्थे।
यही सांस्कृतिक सहरको निकटवर्ती सहर चित्तगोओ (पहिलेको चट्टगावँ) मार्च महिना त्रिकेटमय भयो।
त्यहीँको भूमिमा नेपाली क्रिकेट खेलाडीले विश्वका क्रिकेटप्रेमीको दिल, दिमाग र ताली तानिरह्यो। र, सम्भवत: पहिलो पटक बंगलावासीको भूमिमा नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली…’ गगनचुम्बित भयो, यसअघि झुक्किएर पुरानै राष्ट्रगान गुञ्जिएको थियो त्यसैले।
नेपाली क्रिकेट खेलाडी क्रीडामैदानमा उत्रिँदा एकसाथ दुई गीत गाउँदा रहेछन्। देश चिनाउन राष्ट्रगान र खेल जित्न आत्मगान। दोस्रो गीत ती सबै खेलाडी अँगालो हालेर मधुर स्वरमा ओष्ठबद्ध गर्दा रहेछन्। र, यही गीत तिनको शक्तिको स्रोत बन्दो रहेछ।
खेलाडीलाई मैदानमा युद्धस्तरमा जोड्ने चीज त्यो ब्याट वा बलमात्र होइन, एउटा गजलजस्तो गीत थियो, नेपाली गद्य कविताका पिता गोपालप्रसाद रिमालले रचेको,
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि बल्दो यो शान हाम्रो
कवि रिमालको रचनाको यो गीतलाई अम्बर गुरुङले संगीत भरेका हुन् र अम्बरले नै गाएका छन् फत्यमान राजभण्डारीका साथमा।
‘खेलअघि यो गीत गाउँदा हामी सबैलाई आज खेल जित्छु भन्ने स्योर हुन्छ’, क्रिकेटका कमान सम्हालेका पारस खड्काले सञ्चारमाध्यमा यो गीतको शक्ति र नेपालीपनको चिनारीबारे धेरैपटक भनेका छन्।
थाहा भो, कविता मर्ने चीज होइन रहेछ, कविताका श्रोता पनि मर्दैन रहेछन्। क्रिकेटले यसपालि कविताको पहिचान दियो। प्रमाणित भयो, कविताको शक्ति सायद ठूलो सत्य हो।
संयोग त्यस्तै पर्यो। नेपालले अफगानिस्तानमाथि विजय वर्षा गरिरहेका बेला नेपालगन्जस्थित रानी तलाउको महेन्द्र पुस्तकालयमा नेपालका विभिन्न भाषामा कवि विश्व कविता दिवस मनाइरहेका थिए।
कार्यक्रमको अन्त्यमा बाहिर बाजा बजाएर जुलुस आइरहँदा सभापति खगेन्द्र गिरी कोपिलाले भने, ‘…विवाहको मौसम छ। बाजा घन्किरहेको छ।’ त्यति नै बेला दर्शकदीर्घाबाट कसैले भन्यो, ‘होइन, यो नेपालको क्रिकेटमा विजयको जुलुस हो।’ कविता र क्रिकेटको सम्बन्ध जोडियो सुमधुर रूपमा।
चीनसित युद्धमा हार्दा नरुने भारतका दिवंगत प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि कविताले नै रुवाएको थियो तीनकिलाको मैदानमा। कवि प्रदीपको रचना र लताको आवाज।
६२-६३ को जनआन्दोलनको उभारमा पनि गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ नगुञ्जिएको होइन।
कविता स्वभावत: एक स्वच्छन्द कला हो। यो कुनै प्रकारको बाधा वा अधिदेश स्वीकार गर्दैन। कविता वास्तवमा हो के त, यसबारे धेरै विचारविमर्श भएका छन्। कवितामा शब्द प्रमुख हो कि अर्थ? पण्डितराज जगन्नाथले यसलाई क्लिञ्च गर्दै भनेका छन्, ‘शब्द र अर्थ दुवै मिलेर एक रमणिय अर्थ देओस्, त्यही काव्य हो।’
कविरले कवितामा तीन तत्त्व भएपछि मात्र कविताको प्रकृति पूरा हुन्छ भनेका छन्, ‘सबद, साखी र रमैनी।’ सबद कविताको मूल आधार हो। साखी साक्षीभावले हेर्नु, यो हेर्नुको अर्थ हो, पश्य जुन पछि पश्यन्ति बन्यो। अनि तेस्रो रमैनी अर्थात् रमण गर्नु, घुम्नु फिर्नु। चित्रकार देगा र कवि मलार्मेका बीच पनि कवितालाई लिएर घनघोर संवाद भएका छन्। तर, कविता कविता नै भएर टिक्छ।
नेपालको तीन राजनीतिक परिवर्तनमा कविताले बनाएको भूमिकालाई देख्यौं : ३६ सालमा सुरु भएको सडक कविता आन्दोलन, ४६ साल चैत ३ गते कवि लेखकको सामूहिक कालोपट्टी आन्दोलन वा ६२-६३ को आन्दोलनमा कवि लेखकको कविता वाचन र कविता प्रदर्शन।
यी घटनाले कविताको ऊर्जस्विता कमोवेश रूपमा जनजीवनसित गाँसिएको र नटुंगिएको भावबोध हुन्छ। नभएको सत्यलाई कविता स्वीकार्दैन। कविता गुञ्जिँदा दरबार र देश हल्लिएका प्रशस्त इतिहास छन्, कवितासित डराएर आतंकवादीले पञ्जावी कवि पास अनि स्पेनी कवि लोर्कालाई गोली हानेको इतिहास साक्षी छ।
कविताले सबैलाई जोड्छ, तोड्दैन। यसपालि मार्चमा विश्व कविता दिवस यही सन्देश लिएर आयो जनस्थानमा। नेपालमा सबभन्दा बढी कविताको पुस्तक प्रकाशन गर्ने र सबभन्दा बढी बेच्ने संस्था साझा प्रकाशन अहिले अर्धमृत अवस्थामा छ भने नेपाल प्रज्ञाप्रतिष्ठानले कविता डम्पिङ भइसक्यो भनेर आफ्नाबाहेक अरूका कवितासंग्रहको पुस्तक प्रकाशन नगरेको इतिहास भइसक्यो।
कवितामा ठूल्ठूला पदवी वा सम्मान महाकवि, कविशिरोमणि, आँसुकवि, युगकवि, राजकवि, युवक कवि, जातीय कवि, आदिकवि, छन्दकवि, राष्ट्रकवि, विम्ब कवि, जनकवि, तालकवि, फूलकवि, भावकविजस्ता अनेकानेक पद त खुब दिइन्छन्। ठूल्ठूला पुरस्कार वा सम्मान कवितालाई नपरेको धेरै वर्ष भइसक्यो, त्यो चाहे नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार होस् वा साँच्चैको नोबेल पुरस्कार। कवितामाथि यो नबर्सेको जुग भइसक्यो। कवितामाथि हेला र अपदृष्टि पहिलेदेखि नै छ। कोही बुझ्छन्, कोही बुझ्दैनन्।
भारतका चर्चित कवि सत्येन्द्र शरत्लाई धेरै कविता सुनाएर बोर गर्ने कवि भनेर रिक्सावालाले रिक्सा नै चढाउन इन्कार गर्थे रे। एकपटक उनले सधैं खाना खाने भोजनालयमा उनले भुलेर गएको आफ्नो पाण्डुलिपि फर्केर लिन आउँदा ढोका नखोलेर सटर आधा मात्र खोलियो रे, कारण उनी भित्र आए भने कविता सुनाएर सुत्ने समय नाश गरिदेलान् भनेर।
कविता अलोकप्रिय हुनुका पछाडि पनि दुई कारण छन्, एक कवि आफैं कविता लेखनमा गुणगम्भीर नहुनु र दोस्रो कविता सुनाउनका निम्ति मञ्च वा स्थानको तयारी नसोच्नू। कविता सस्तो रूपमा सुनाउँदा वा कविता नबुझ्ने दर्शकमाझ पस्किँदा कविताको हत्या हुन जान्छ र पाठकमाथि हिंसा।
अचेल कविता बार, क्याफे वा भट्टीमा सुनाएर यसलाई फोहोरी बनाउन थालिएको छ, यो कविताको लोकप्रियतामाथि आत्मघाती हमला हो।
अग्निपूराणमा स्पष्ट भनिएको छ,
अपारे काव्यसंसारे कविरेव प्रजापति
यथास्मयी रोचते तत्थैद म परिकल्पते
कविमात्र एउटा यस्तो प्राणी हो जो आफूपछि आउने समयलाई आफूअनुसार परिकल्पना गर्न सक्दछ। वा, कवि नै त्यो प्राणी हो जो समयको सत्तालाई आफूअनुसार ढाल्न सक्छ।
हाइडेइगरले आफ्नो लामो लेखको छोटो टिप्पणीमा भनेका छन्, संसारमा सम्पूर्ण रचना कविता हुन्। कविता कुनै गद्यको विलोम होइन बरु राम्रो गद्य उत्कृष्ट कविता हो।
विश्वसम्पदाको सूचीमा अन्य मूर्त र अमूर्त कलाजस्तै कवितालाई पनि सुरक्षित र संरक्षित राख्न युनेस्कोले मार्च २१का दिनलाई ‘विश्व कविता दिवस’ घोषणा गरेको छ। यस वर्ष छापामा आएअनुसार पोखरा र चितवनमा दुई अलगअलग संस्थाले विश्व कविता दिवस मनाएको खबर पाइयो। नेपाल प्रज्ञाप्रतिष्ठानलगायत अन्य साहित्यिक नामधारी संघसंस्थाले यस वर्ष मनाएको पाइएन तर पहिलोपटक नेपालगन्जमा विश्व कविता दिवस मनाइएको छ, त्यो पनि सर्वदा साहित्यिक समाजले। यसबाट बुझिन्छ, कविताप्रति नवपुस्ताको आकर्षण छ।
विश्व कविता दिवस मान्ने चलन सन् १९९९बाट युनेस्कोको तीसौं साधारणसभाले पेरिसमा पारित गरेको थियो। नेपालमा सन् २००२मा भावक अभियान नेपालले सुरु गरेको हो।
शंकर लामिछाने निबन्ध कोशले निरन्तर तीन वर्ष बहुभाषिक कवि गोष्ठी गरेर विश्व कविता दिवस मनाउँदै आएपछि लिज: नामक् संस्थाले यसलाई निरन्तरता दिन सकेन भने शंकर लामिछाने निबन्ध कोशले सन् २००८सम्म यसलाई कायम राख्यो। यसपछि काठमाडौंमा साउथ वेस्टर्न कलेजले यसलाई हरेक वर्ष मनाउँदै आएको छ।
काठमाडौंपछि मुफस्सिलमा पहिलो पटक मनाउन सुरु गरिएको विश्व कविता दिवस चितवनका अग्रज स्रष्टा प्रेमविनोद नन्दनको संयोजकत्वमा किचेन क्याफेमा सन् २००९ मार्च २१का दिन तेत्तीसजना कवि, लेखक, पत्रकारको सहभागितामा मनाइएको थियो।
यसपालि पहिलोपटक विश्व कविता दिवस मनाउँदै गरेको नेपालगन्जमा सर्वदा साहित्यिक समाजले सातभन्दा बढी भाषाका कवितालाई मञ्चमा उठाएका थिए भने कविता, गजल र हाइकुलाई एकसाथ प्रस्तुत गरेका थिए। नेपाली, उर्दु, मगर, भोजपुरी र थारू भाषाका सशक्त कविका कविताले नेपालगन्जस्थित महेन्द्र पुस्तकालयका पुस्तकका पंक्तिपंक्ति ब्यूँझाएको थियो।
बाहिरी दुनियाँमा विश्व कविता दिवसले कविताको सम्बन्ध वाद्यवादक, चित्रकार अनि अन्य पेसाकर्मीसित पनि जोडेर मनाएको पाइन्छ। यसपालि नेपालमा पनि एउटा आधारशीला बनाउन जायज हुन्छ जसले गर्दा पुस्तकमा छापिने र गोष्ठीमा सुनाउने मात्र विधा नभएर जनजनमा जान सक्छ।
अन्त्यमा कविता लेखून्, कविता पढून्, कविता बाँचून्।
मिति : २०७० चैत २२, शनिबार
