छायो वसन्त ऋतु लौ जगतै रमायो
उत्साहले विगतको पिर नै भुलायो
नौलो खुसी र सपना अव सल्वलायो
बिर्सौं कुभाव सवले नव वर्ष आयो ।।१।।
कर्तव्य के छ जनको यति बुझ्नु होला
ऐले सुकर्म नगरे पछि चित्त रोला
सद्बुद्धि लिन्छ जसले उसले सपार्यो
त्यागौँ मुटाव सवले नव वर्ष आयो ।।२।।
रोयो दुखेर मन हर्दम देश दुख्दा
खप्नै सकिन्न यसरी सुख शान्ति लुक्दा
खोजौं जवाफ कसले गति यो वनायो ?
राखौँ मिलाप सवले नव वर्ष आयो ।।३।।
ठूलो र सानु नभनौं अति पर्छ चोट
केको विभेद यिनमा जव छैन खोट ?
त्यो हो विसाल जसले समता जनायो
मायाँ छरौं न सवले नव वर्ष आयो ।।४।।
मेरो छ है सकलमा ‘शुभकामना’ यो
फ्यालौं विचार ननीका नगरौं ढिला त्यो
साँच्चै उमङ्ग अनि कोमलता पलायो
बाँडौ कि प्रेम सवले नव वर्ष आयो ।।५।।
(वसन्ततिलका छन्द)
८ अक्षरमा विश्राम
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क
