पुराना सपनाहरू
स्थगित गरेर सबै
ढल्नुछ यो अन्तिम रात !
क्यालेण्डरले बसाई सार्ने वेला ।
सधै नयाँ भै वगिरहने
हिमाली खोलाको पानीमा
विसर्जित चैत्र मसान्त
चुँडिएका फूलका थुँगासँगै
बगेका हुन वासी सपनाहरू
नफर्कने खोलाहरूझैं ।
आखिर ! फर्किएका थिएनन् ती
त्यसैगरी, त्यो सालभरि ।
साझा कामना गरेका थियौं हामीले
फेरिएको मुहार हेर्ने
कल्पना गरेका थियौं हामीले
हाँसोको साझा दृष्य !
कसरी अपूरा हुँदा रहेछन् आकाँक्षाहरू
एउटा कथा छोडेर गएको छ उसले
जाम भएको एउटा राजमार्ग !
त्यो वर्ष !
अब मधुरो सम्झना
त्यागेका सपनाहरूको
त्यो वर्ष ।
म !
रोक्न सक्दिन
सती गएका समयहरूलाई
सँक्रमणको यो क्षणमा ।।
बागलुङ, हालः लुभेन बेल्जियम ।
अन्तिम मसान्त २०७०
