इजरायलमा भानुभक्त द्विशतवार्षिकी जयन्ती भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।
तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,
भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।
म आफ्नै भावले तिमीलाई स्मरण गरिरहेकी छु ।
पाटी, पौवा नदी, झरना, ताल उच्च हिमाल,
बोल्छन रामायण र कविता नित्य, छौ है विशाल,
भानुभक्त ! हरेक रामायण, पूराण, पुस्तकहरूको नेपाली अक्षरहरूमा तिम्रो प्रतिविम्ब टासिएको छ । शब्द शब्द भित्र तिमी कुदिएका छौ । तिम्रो साम्राज्य नेपाली समाजमा अटल रहेको छ ।
पृथिवीनारायण अति ठुला, देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता, हामीमा राज गर्ने
स-साना टुक्रिएका राज्यलाई एक बनाई नेपाल देशको एकिकरण गरी स्थापना गर्ने राज्य विधाता पृथ्वी नारायण शाहले सबै नेपालीको गाँस र बास अनि एक जात छत्तिस वर्ण भनेर शान्ति कायम गर्न सबै नेपालीलाई एउटा धागोमा फूलका मालामा गास्ने प्रयासमा जुटे अनि तिमीले पनि सबै नेपालीको बाणीमा सरस्वती झैँ भएर झुण्डियौ ।
नेपालीका तिमी त प्रकृति, सूर्य हौ जड विनासी
आभा, कृति, धन, वल, विभु, शान्ति ऐश्वर्यभाषी
चाहे नेपालमा नेपालीरहुन वा विश्वको कुनै कुना काप्चामा त्यही मिठो नेपाली साहित्यबाट मौलाएका श्लोकहरू र बिभिन्न तिमीले देखाएका नेपालीका संस्कार र संस्कृति बोकेर गएका छन । तिमी धन्य छौ भानुभक्त । तिम्रो कृति जति नै गए पनि कम हुन्छ ।
तिम्रो छायाँ छलकिरहने, रात्री संध्या बिहान,
साथी जस्तै सुख र दुखमा, बोल्छ भानु पूराण
सूर्यको बिहान उदाउने किरण जसरी पृथ्वीमा पर्ना साथ छाच्ल्किदै, डिग्रीको पारा छारिदा झैँ चम्कयमान हुदै आफ्नो पाराले प्रकाश पुँज हुन्छ त्यस्तै तिमी त कहिल्यै नमेटिने अमृत दुध पान गराएर आमाको कोखबाट जन्म लिए पछि शुरुको विद्यालय आमाको नै मुखबाट निस्कने ईश्वर रुपी बोली सिताराम भनेर ताली पिट्दै शब्दको अनुसरण गराउने बाटै तिमी मौलाउँन थाल्छौ र त्यो बालकको जीवनमा प्राण बनेर बसी दिन्छौ भानुभक्त तिमी !
नेपालीको हृदय पटमा, ज्ञान ज्योति जगाई,
छर्दै भाषा मन र मुटुमा, भाव धारा बढाई
पिता धनन्जयआचार्य र माता धर्मावती देवीका पुत्रको रुपमा तनहु को रम्धामा विक्रम सम्बत १८७१ आषाढ २९ गते यो धर्तीमा उदाएका रहेछौ अनि तिम्रो बाल्यावस्थाको पहिलो विद्यालय आफ्नै हजुर वुबा श्रीकृष्ण आचार्यबाट स्कुलको प्रथम शिक्षाको सीडीबाट अनेकौ शिक्षा प्राप्त गर्दै गाउ घरमा गास काट्ने घासिलाई देखेर तिम्रो मुखबाट गुन्जिएका यी नेपाली साहित्य भावहरूले प्यासिएकलाई कुवा र थाकेकलाई पाटी बनाएर शितलता दिन सकियोस् भनेर निर्माण गर्ने तिम्रो सुन्दर चाहना र, इच्छाबाट केही नकेही नाम कमाउने प्रेरणाहरू पाउदा तिमीले मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतिक रागिवन र मूल्यका प्रतिक रामले पाएका राजमहलबाटको बनवास यात्रालाई लोकहितका निम्ति उदारहण बनाउन अवस्था र परिस्थिति अनुरुप क्रम गर्न लोकहितको लागि आई परेका जस्तो सुकै काम पनि कर्तव्य सम्झेर गर्नु पर्छ भन्ने आदर्शको संस्कृति भाषालाई अनुवाद गरी सबैले बुझ्न र मनन गर्न सक्ने होस् भनेर तिमीले नेपाली भाषामा अनुवाद गरी प्राण थप्ने कामको प्रचार गर्यौ ।
मोती दाना टपटप टिप्यौ, अमृतै हो कि कस्तो,
तिम्रो स्रद्धा अजमर रह्यो, जीवितै हो कि जस्तो
जुन कसैले त्योभन्दा पहिला प्रयेत्न गरेका थिएन् । हजारौ वर्षा देखि पूर्वीय जगतमा उपजीव्य बनेका प्रतिनीधि ग्रन्थ रामायणको नेपाली भाषामा पूर्व जन्म गराउन तिमी सफल भयौ जसरी एउटा आमाले सन्तानलाई आफ्नो मुटु चुडालेर जन्मदिन्छिन र अमृत दुधको पान गराएर जीवनलाई मूल्यवान बनाउन हरेक रात र दिन नभनी कोसिस गर्दछिन् त्यस्तै तिमीले पनि कोसिस गरेर हरेक नेपालीको हृदयमा सूर्य उदाए झैँ उदाउँन सफल भयौ भानुभक्त तिमी ।
तिम्रै छायाँ घरघर अँझै, झुल्किने घाम जस्तो,
तिम्रो माया तृषित शिशुको, दुग्धको पान जस्तो
साच्चै भन्नु पर्दा तिमीले गरेको योगदान र सृष्टिको नेपाली जगतमा अतुलनीय छ । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृ प्रेम, भातृत्व, , दाम्पत्य समुग्र विषयको समन्वयन एबं समिष्ट भावहरूको प्रदान गरेर भानुभक्त तिमी नेपालको राष्टीय विभूति जस्ता सम्मानले बिभुसित भयौ .. ।
बाटो खुल्यौ सरस मसिले, लेखिने दौडिए झन्,
साच्चै मेरो हृदय ध्वनि यो, आन्त जादैन यो मन
तिमीलाई कसले पो चिन्दैन र ? जब बाणी मुखबाट निस्कन्छन अनि तिम्रै साहित्य शब्दमा गीतका गुन्जायमान हुने गर्दछन । अनि तिमी त्यहा ठिंग उभिए झैँ लाग्छ । तिमी त जुन सुकै कलम चलाउने लेखकका कलमको टुप्पामा र त्यसलाई अध्ययन गर्ने प्रेमीको मुखको वाणीमा गएर धड्कन भएर बसेका छौ भानुभक्त तिमी ।
आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
फेरि आऊ यस धर्तीमा, सम्झ नेपाल भन्छौ ।
हामी सबै तिम्रा जहाँन विश्वभरी छरिई बसेका छौं यो तिम्रो दाइत्व हो हामी नेपाली साहित्यमा सम्रिद्ध वन्दै विश्व विख्यात बनाउन चाहनछौं र फेरि तिमीलाई मुटुभरी माया र गहभरी आशु अनि हातभरि फूलले श्रद्धा गरी आह्वान गर्छौं हेर भानुभक्त तिमीले फेरि जन्म लिनु पर्छ अनि यो धर्तीलाई सत्सँग र सदभावना र प्रेमको अंकुर उमार्न नेपाल र नेपालीलाई सम्झेर आउनु पर्छ त्यसैले भानुभक्त तिमी अवश्य फेरि आऊ ।
घासी तिम्रो गुरु प्रियशाखा, चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै जहाँन ।
घासी तिम्रो दौतरी प्रिय साथी मात्र नभई चेतनाको श्रोत नै भएर तिम्रो गुरुको रुपमा ठिंग उभिए, त्यस्तै हामी पनि तिम्रो हरेक रचनाबाट अतुलीय साहित्य भावहरू बटुल्दै, काधमा घासको भारी बोकेर हिड्ने किसान र लौरोको भरमा पसिनाले निथ्रुक्क भिजेर हिड्ने मागी खाने अपांगलाई देख्दा पाटी र पौवा बनाउने तिम्रो विशाल चाहनालाई कदर गर्दै, मिठो श्लोकहरूबाट मोहित भएर संसार भरि तिम्रै गुण गाउँन छरिएका छौ । तिम्रो यस्तो कृतिले हामी सम्पूर्ण नेपाल र नेपालीलाई प्रेणा र चेतनाको ज्योति बनेर उदायौ, त्यसैले आज गर्व गर्दै हामी पनि साहित्यको सिर्जना गर्न दुधे कलम समात्दै विश्व भरि छरिएर लागि परेका छौ भानुभक्त ।
नेपालीका तिमी त तुलसी, दास वा कालिदास ?
स्रद्धा बोकी कलम मसिले, गर्छु यस्तै प्रयास
संस्कृति साहित्यलाई काली दासले अलंकारिक संरचना गरी धेरै सम्वृद्ध बनाए उनी संस्कृति साहित्यका उपमाकार (उपमा को अलंकार ) भए जस्तै तुलसी दास हिन्दी (अवधि) भाषा रामायण तयार गरी राम चलित मानश जस्ता अन्य धेरै धार्मिक साहित्यको रचना गरी भारतीय हिन्दूहरूको देवतासम्म बन्न सफल भए त्यस्तै तिमी पनि नेपालीका लागि कालिंदास र तुलसी दासलाई बिर्साउने उपमा हामी नेपालीको लागि तिमी बन्यौ भानुभक्त । आज तिमीलाई म मनन गरिरहेकी छु र मेरो यो भाव पूर्ण तिमो लागि दुई शब्द कोर्दै सद्धा सुमन अर्पण गर्दछु ।
मन्दाक्रान्ता छन्दमा भानुभक्तका लागि समर्पण मेरो कविता :
तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,
पाटी, पौवा नदी, झरना, ताल उच्च हिमाल,
बोल्छन रामायण र कविता नित्य, छौ है विशाल,
पृथिवीनारायण अति ठुला, देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता, हामीमा राज गर्ने
नेपालीका तिमी त प्रकृति, सूर्य हौ जड विनासी ।
आभा, कृति, धन, वल, विभु, शान्ति ऐश्वर्य भाषी
तिम्रो छायाँ छलकिरहने, रात्री संध्या बिहान,
साथी जस्तै सुख र दुखमा, बोल्छ भानु पूराण
नेपालीको हृदय पटमा, ज्ञान ज्योति जगाई,
छर्दै भाषा मन र मुटुमा, भाव धारा बढाई
मोती दाना टपटप टिप्यौ, अमृतै हो कि कस्तो,
तिम्रो स्रद्धा अजमर रह्यो, जीवितै हो कि जस्तो
तिम्रै छायाँ घरघर अँझै, झुल्किने घाम जस्तो,
तिम्रो माया तृषित शिशुको, दुग्धको पान जस्तो
बाटो खुल्यौ सरस मसिले, लेखिने दौडिए झन्,
साच्चै मेरो हृदय ध्वनि यो, आन्त जादैन यो मन
आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
फेरि आऊ यस धर्तीमा, सम्झ नेपाल भन्छौ ।
घासी तिम्रो गुरु प्रियशाखा, चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै जहाँन ।
नेपालीका तिमी त तुलसी, दास वा कालिदास ?
श्रद्धा बोकी कलम मसिले, गर्छु यस्तै प्रयास
निशा खनाल अर्याल
इजरायल
