“औडाहा नगर न यार । ए दुर्योधन, एक ट्रिप्स ले न । मान्छेलाई यहाँ कस्तो छटपटी भइराख्या छ ।”
एकान्त स्थल । अपरान्हको समय । १३ देखि १७ वर्षका किशोर किशोरीहरू कोही स्म्याक्सको ट्रिप्स लगाइरहेका छन् । कोही स्म्याक्सको तालमा झुमिरहेका छन् । अभिमन्यु १४ वर्षे किशोर ट्रिप्स नपाएर छटपटाइरहेको छ । उसलाई ट्रिप्स दिन कोही मानिरहेको छैन । आँखाबाट आँसु र मुखबाट र्याल चुहाउँदै अभिमन्यु १७ वर्षे दुर्योधनसँग ट्रिप्सको लागि अनुनय बिनय गरिरहेको छ ।
“औडाहा त तैंले बनाइस् स्साले । सधैं फोकटमा ट्रिप्स माग्न तँलाई लाज लाग्दैन ? जा। पैसा लिएर आइज ।” दुर्योधनले अभिमन्युलाई कठोरतापूर्वक हकार्यो ।
“मसँग पैसा छैन यार अहिले । भोलि पर्सी दिउँला, बाबा लाहुरबाट छुट्टीमा आएपछि । आमाले दिनु हुन्न,” अभिमन्युले दुख पोख्यो ।
“अहँ म तँलाई आज पैसा नदिई मरे पनि दिन्न । आमाले नदिए चोरेर भए पनि ल्याउथिस् । आमाको सिक्री थुतेर ल्याउथिस् ।”
“मा ….च् स्साले दुर्योधन ! पैले पैले ट्रिप्स तान्दाको मज्जा कस्तो हुन्छ लौ तानेर हेर भन्दै कर लगाउँथिस् । अहिले अब यो नभई बाँच्नै नसकिने अवस्थामा पुर्याएर पैसा नदिई दिन्न भन्छस् ? आमाको सिक्री थुतेर ल्याउन भन्छस्, स्साले ? ओइ सोफिया ! तँलाई भालु ! मलाई यो कुलतमा फसाउने तँ पनि होस्, तँहरूलाई म एक एक गरेर मारी दिन्छु ।” अभिमन्यु जंगियो ।
अभिमन्युको त्यो छटपटी सोफियाले सहन नसकेर भनी, “ओइ दुर्योधन ! दे दे आजलाई एक ट्रिप दे कराएर मर्ने आँट्यो ।”
“तैंले कुरा बुझ्दिनस् सोफिया । यो धन्दा हो । धन्दामा भावनाको कुनै मोल हुदैन । बोसले थाहा पायो भने हाम्रो धन्दा चौपट हुन्छ । हाम्रो आम्दानीको मुहान त सुक्यो सुक्यो ट्रिप्स पनि बन्द हुन्छ । यो धन्दामा यस्तो अवस्था आइरहन्छ । मलाई पनि सुरुमा यस्तै भएको थियो । यसलाई पनि रोएर कराएर मर्न दे । बाँचेछ भने भोलि या आजै अहिल्यै आफ्नो ट्रिप्सको लागि कुनै न कुनै उपाय यसले गर्ने छ ।”
एक डेढ घण्टा पछि …
“ला, स्साले यो सिक्री लिई । आज जिन्दगीमा पहिलोपल्ट आफ्नै जन्म दिने आमाको गलाबाट सिक्री थुतेर ल्याउने कुकर्म मैले गरेँ । अब त तेरो इच्छा पुरा भयो खोइ छिटोले ट्रिप्स ।”

पहिलो पटकमै अामाको सिक्रि नै
पहिलो पटकमै अामाको सिक्रि नै थुतेर ल्याउने दुस्साहस त गर्ने थिएन होला, पछि पछि भने भन्न सकिन्न ।
राम्रो लाग्यो
समय अनुकूल छ ।
पोख्रेली युवाको वास्तविकता
पोख्रेली युवाको वास्तविकता जस्ताको तस्तै !