Skip to content

कविहरु जटा पाल्‍नेदेखि साङ्लो बाँध्‍नेसम्‍म

राजधानीमा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा उनी छुट्दैनन्। उनी हलभित्र पस्छन्, आफ्नो झोलाबाट बोतल निकालेर घ्वाटघ्वाट पानी पिउँछन्। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म अनुशासित भएर सहभागी हुन्छन्।

निर्भीक राई नामका यी कवि तथा साहित्यप्रेमीको गेटअप भने अलि अराजक किसिमको छ। उनले आफ्नो घाटीमा साङ्लो बाँधेका हुन्छन्। त्यो साङ्लो दाहिने काँधहुँदै दाहिने छातीतिर साङ्लो बेरिएको हुन्छ। उनी निर्धक्क भन्छन्, ‘यो मेरो आफ्नो स्टाइल हो।’ उनलाई हेर्दा लाग्छ, उनी प्रतिस्थापना कलाका एक पात्र हुन्। उनको दर्शनअनुसार मानिस जीवित रहेसम्म समस्याबाट मुक्त हुँदैनन्। ‘मैले पनि मानिस समस्याको साङ्लोले बाँधिएको हुन्छ भन्ने देखाउन खोजेको हुँ’, उनी आफू साङ्लोले बाँधिनुको अर्थ खुलाउँछन्।

सामान्यत: काँधका घरबुना झोला बोकेको, चुस्स दाह्री पालेको, अति सामान्य गेटअप भएको अनि आदर्शका कुरा गर्दै हिँड्ने मान्छेको विम्ब आँखावरपर घुम्छ, कवि भन्नासाथ। तर समयले कति फेरो मारिसकेछ भने आजभोलि बब मार्लीको हेयर स्टाइलमा भेट्न सकिन्छ, कतिपय कविलाई। नपत्याए हेर्नुस्, अहिलेका जल्दाबल्दा कवि उपेन्द्र सुब्बालाई। उनले आठ हजार खर्च गरेर आफ्नो कपाललाई लट्टा पारेका छन्। दुई वर्षअघि उनले झापाको दमकमा कपाल लट्टा पारेका हुन्। भन्छन्, ‘अब केही वर्षसम्मलाई यस्तै कपालमा भेट्न सक्नुहुनेछ।’

प्राय: जिन्स पाइन्ट र चेक टिसर्ट अनि कन्भर्स जुत्तामा ठाँटिएर कवितावाचन वा श्रवणका लागि कार्यक्रममा देखा पर्ने गर्छन्, रंगवादी कवि चन्द्रवीर तुम्बापो। बाक्लो पावरवाल चस्माभित्रका रहस्यमय चिम्सा आँखा चन्द्रको अर्को विशेषता हो। विशेषतामाथि विशेषता थप्दै गएका उनले कपाल नकाटेको पनि डेढ वर्ष भइसकेछ। त्यसमाथि थपिएको छ, गलामा रुद्राक्षको माला।

कुरा के पर्‍यो भने चन्द्रागिरि डाँडामा रोशन शेरचनको नेतृत्वमा कविहरूको एक हूल हाइकिङ गएको रहेछ। त्यहाँको देवीथानमा चढाइएको रुद्राक्षको माला देवीलाई तीन पटक ढोगेर उठाएछन्, संगीतकार पारस मुकारुङले लगाइदिएछन्, चन्द्रवीरको गलामा। त्यहीँ रुद्राक्षको माला लगाएर एक दिन सहरमा निस्कँदा साथीहरूले भनेछन्,’लु, युनिक देखियो है।’ ‘त्यसपछि म नयाँ गेटअपमा देखा परेको है’, चन्द्रवीर भन्छन्।

कवि उपेन्द्र सुब्बालाई साथीहरूले बब मार्लीको उत्तराधिकारीलाई सम्बोधन गरे झैं ‘उपेन्द्र मार्ली’ भन्न थालेका छन्। यसोभन्दा पनि उनलाई मज्जै आउँदोरहेछ। लट्टावाल कपाल केही समय पालेर काट्छु भन्ने सोचेका थिए, उपेन्द्रले। रहरले लट्टा पारेको कपाल अहिले करले पाल्नुपरेको छ। ‘रहर पूरा भइसकेपछि कपाल काट्नुपर्‍यो भन्ने सोचेको त, साथीहरूले काट्नै दिँदैनन् भन्या’, उनी सुनाउँछन्। उनलाई साथीहरूले भन्दा रहेछन्,’किन काट्नु पर्‍यो, यति राम्रो सुहाएको छ, काट्नु हुँदैन है।’ त्यसपछि उनी केही वर्ष कपाल नकाट्ने निष्कर्षमा पुगेका रहेछन्।

यता चन्द्रवीर तत्काल कपाल नकाट्ने निर्णयमा पुगिसकेका छन् भने रुद्राक्षको माला पनि उनको गलाबाट हत्तपत्त हट्नेछैन। यहीँ गेटअपले उनलाई साथीहरूले भन्ने गरेका छन्, ‘ओ जोगी कवि, ओ बाबा कवि !’ ‘यसो भनिँदा मलाई आनन्द आउँछ’, ‘भीरैभीर रंगैरंग’ कविता संग्रह नेपाली साहित्यलाई सुम्पिसकेका चन्द्रवीर भन्छन्।

तीनवटा सांगीतिक एल्बम नेपाली संगीतको क्षेत्रलाई सुम्पेर अहिले आफूलाई पूर्णकालीन साहित्यकारका रूपमा समर्पित गर्ने प्रयास गरिरहेका निर्भीक राईको दाह्रीजुँगाको स्टाइल पनि अनौठो छ। उनले जुँगाको स्टाइल हेर्दा दुईवटा स्टाइललाई विशेष ध्यान दिए, एउटा अनिल कपुरको अनि अर्को हिटलरको। दुवै उनलाई मन परेन, र आफ्नै स्टाइल विकसित गरे। त्यो स्टाइल हो, जुँगा र दाह्रीको बीच भागमा खौरने र छेउछेउमा राख्ने। ‘यो मेरो आफ्नै स्टाइल हो’, उनी स्पष्ट पार्छन्।

सुन्दर र शक्तिशाली कविता लेखेर नेपाली काव्य जगत्मा लोकप्रिय कविका रूपमा स्थापित भइसकेका कवि उपेन्द्र कविहरूको भीडमा कवितामार्फत मात्रै होइन, लट्टाधारी हेयर स्टाइलका कारण पनि नोटिसमा पर्न थालेका छन्। तर लट्टाका कारण उनमा केही दु:ख पनि छन्। खासगरी कपाल धुँदा अर्थात् नुहाउँदा लट्टाधारी कपालका लागि ठ्याम्मै एक दिन छुट्याउनुपर्छ। भिजेको कपाल सुक्कै एक दिन लाग्ने रहेछ। ‘मैले बेहोर्नुपरेको दु:ख चाहिँ त्यतिमात्रै हो, बाँकी रमाइलो छ’, उनी भन्छन्।

यता चन्द्रवीरलाई चाहिँ आफ्नो नयाँ गेटअपका कारण गृह जिल्ला पाँचथरको सदरमुकाम फिदिममा झूट बोल्नु परेछ। उनी एकाबिहानै एक चिया पसलमा पुगेछन्। चिया पसलेले सोधेछन्,’तपार्इं धामी उत्रनुभएको छ हो?’ उनले भनेछन्,’हो।’ पसलेले भनेछन्,’मेरी छोरी बिरामी भएकी छ, झारफुक गरिदिनुपर्‍यो।’ अब पर्‍यो फसाद ! त्यसपछि उनले भनेछन्,’अहिले होइन, भरे आएर झारफुक गरिदिउँला।’ त्यसपछि कुलेलाम।

यस्तै फिदिममै एक शिवभक्त फेला परेछन्। उनले साक्षात् शिवजी देखेकी क्या हो, चन्द्रवीरलाई ढोगेछन्, उनले आशीर्वाद दिएछन्। ‘नयाँ गेटअपले गर्दा यस्तो रमाइलो प्राप्त भइरहेछ’, उनले सुनाए।

साङ्लोले बाँधिएर हिड्ने निर्भीकलाई चाहिँ आफूलाई कसले के भन्छन्, केही मतलव छैनन्। उनी भन्छन्,’मलाई अराजक भनून् कि कोक्ल्याटो, मेरो आफ्नै स्टाइल हो।’

मिति : २०७१ जेठ, ३० शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *