देश निकै छट्पटायो, आऊ न फेरि गौतम बुद्ध
सुख शान्ति लड्खडायो, आऊ न फेरि गौतम बुद्ध
छाडातन्त्र भएको छ, प्रजातन्त्र अचेल भरि
सद्भावना डगमगायो, आऊ न फेरि गौतम बुद्ध
काम, क्रोध, लोभ, मोह, व्याप्त भयो जताततै
हत्या हिंसा जुर्मुरायो, आऊ न फेरि गौतम बुद्ध
कुकर्मका बोट सबै, फुलेका छन् मुस्कुराउँदै
सदाचार नै अक्मकायो, आऊ न फेरि गौतम बुद्ध
बलिया बाङ्गा ढाल्न थाले, सद्प्रेमका खम्वा सबै
थिचोमिचो सल्बलायो, आऊ न फेरि गौतम बुद्ध
बिकृति र विसंगति बढिसके अचाक्ली नै
‘कोमल’ मुटु भतभतायो, आऊ न फेरि गौतम बुद्ध
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
