कवितालाई लिएर वारि र पारि गर्ने मान्छे धेरै छन् नेपाली समाजमा। आसाम, दार्जिलिङ, भाक्सु, सिक्किम, देहरादुनबाट आएका कैयन् कविको कवितामा नेपाली छाप परेको छ। नेपालमा कविता सुनाउन आएर ‘यो मेरो पुर्खाको घर हो’ भन्दै नेपालै बसेका कवि पनि कति छन्। तर, कवि अगमसिंह गिरीले हिम्मत गरेरै भने :
नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली
हामीलाई माया लाग्छ हाम्रै पाखा चियाबारी।
कविताको बल भनेको यही हो। नेपालका धेरै कवि लेखक विदेशमा गएर कविता वाचन गर्ने मोह राख्छन्, जान्छन्। प्राय: फर्केर आउँदैनन्। बरु उनले अरू कवि लेखकलाई पनि कविता पढ्न बोलाइरहेका छन्।
केही वर्षअघि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान हुँदा एक प्राज्ञले अमेरिकामा बसेका नेपालीलाई ‘मालती मंगले’ देखाउन लगे, गीतिनाटक ‘मालती मंगले’को प्रदर्शनपछि मालती अर्थात् अभिनेत्री लक्ष्मी श्रेष्ठ अमेरिकामै अन्तरध्यान भइन्। नाटक देखाउन गएका प्राज्ञ सरुभक्त फर्केर त आए तर मालतीबिनाको मंगले लिएर।
गुरुकुलको एउटा कार्यक्रममा कवि शैलेन्द्र साकारले दनक दिइहाले, उहाँ प्राज्ञज्यू नाटक लिएर अमेरिका जानुभयो तर मालती उतै छोडेर आउनुभयो। बरु मालतीको बदला एकदुइटा मुनामदन, एकदुईवटा मालती मंगले एकदुईवटा बीपीका किताब छोडेर आएका भए कति ज्ञान बढ्थ्यो।
विषय जेसुकै भए पनि अमेरिकामा नेपाली कविता सुन्छन् मान्छेहरू त्यो सार्वजनीन सत्य हो। तर, अमेरिकी कवि, लेखक वा पत्रकारले नभई विचरा दु:ख गरेर बसेका नेपालीले नै सुन्छन्, दुबईमा, कतारमा वा कोरियामा जहाँ गए पनि त्यही अवस्था छ। सम्भवत: ल्हासा गए पनि हामीले हाम्रो कविता अरनिकोको सालिकलाई सुनाएर फर्किन्छौं, यो हाम्रै कवि वा कविताको दोष हो।
इतिहासमै हाम्रो कविता पहिलोपटक कुनै अनेपाली कविले सुनेको भनिएको भारतेन्दु हरिश्चन्द्रले हो। भारतीय कवि हरिश्चन्द्रको त्यो घटना इतिहासको मानक मानिछ। करिब एक सय आठ वर्षअघि भारतको बनारसमा मोतीराम भट्ट अध्ययनार्थ जाँदा एउटा जलसामा उनले ‘कपडा फाड्के’ भन्ने कविता पढेर १० रुपैयाँ जितेका थिए। त्यही दस रुपैयाँको बलमा आजसम्म पनि हाम्रा गजलकार ज्ञानुवाकर, हाम्रा गजलगुरु प्राडा सनतकुमार इतिहासको पुनर्व्याख्या गरिरहेका छन् र नेपाल भारतको टक्करमा गजल लेखिरहेका छन्।
नेपाल र भारतको संयुक्त कविता वाचनको इतिहास पनि छ। नेपालका लागि भारतीय राजदूत भगवान सहाय नियुक्त हुँदा उनका प्रथमेव सचिव शिवमंगल सिंह सुमनले दिल्लीसम्म नेपाली कविलाई पु:याएर कविता वाचन गर्न लगाएका थिए। यसमा महाकवि देवकोटाको पनि देन छ। फेरि उनैले कवि डा. हरिवंश राय बच्चनलाई नेपाल आएका बेला यस्तै पारा मिलाए।
काठमाडौंमा व्यापार गर्न बसेका महाराज रसगोत्राका छोराको बिहेमा आएका बच्चनले त्यति बेला धेरै नेपाली कवि, लेखक, नाटककारका कविता सुने, पढे र बुझे। ती कविता सुनेको चालीस वर्षपछि पनि उनले ती स्रष्टालाई सम्मानपूर्वक सम्झे। यो इतिहासको न्यायिक पक्ष मान्नुपर्छ।
बच्चनले त्यति बेला सुनेका नेपाली कविमा बालकृष्ण सम, महाकवि देवकोटा, माधव घिमिरे, केदारमान व्यथित, टंकप्रसाद आचार्य, भवानी भिक्षु थिए भने उनलाई सबभन्दा बढी प्रभावित पारेका कवि थिए- महाकवि देवकोटा। देवकोटाको कविता र व्यक्तित्वबाट प्रभावित भएर उनले भारतवर्षमा यसको छन्दहार गरे। पछि देवकोटा सुन्न र भेट्न कैयौं भारतीय कवि-लेखक नेपाल आए- राहुल सांकृत्यायन, वेद मेहता, डम मोरे आदिआदि। डम मोरेले उनीमाथि गन अवे नै लेखे भने राहुल सांकृत्यायनले भनेका पंक्ति अझै उद्धृत हुन्छन् वा हुने गर्छन्।
महाकवि देवकोटा पनि त्यसपछि भारत गए, इन्द्रेणी टोली लिएर। जसमा कविवर माधव घिमिरे, मधुश्री, शंकर लामिछाने अनि श्रीप्रकाश घिमिरे थिए। त्यति बेला देवकोटाले आफ्ना कविता साहिर लुधियानवी, रघुवीर सहाय, सर्वेश्ववर दयाल सक्सेनाका अगाडि सुनाएका थिए।
आज पनि यस्तो शृंखला सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल र भारतमा भइरहेको थाहा पाइन्छ तर योचाहिँ भारतीय नेपाली कवि र नेपालका नेपाली कविका बीचमात्र। भाषा एउटै अनुहार एउटै। आदाब र नमनको शैली एउटै। फरक त उही पासपोर्टको रङमात्रै। तर, दुवैको पासपोर्ट त कविता नै हो।
पोखरामा यस्तै एउटा साहित्यिक उत्सव सकियो।
नेपाल र भारतका कविको अझै पाकिस्तान र बंगलादेशका कविको पनि नियति, रचना र भावलोक लगभग एउटै हो। कवितामा संसारमा जहाँ पनि एउटै रचनासत्ता हुन्छ फरक त भाषाले मात्र पार्ने हो।
ललितपुरको यलमाया केन्द्रमा भारतका ओस्कार विजेता पद्मविभूषण कवि गुलजारले नेपाली कविता सुन्दै गर्दा कवि मञ्जुलले हिन्दीमा अनुवाद गर्न खोज्दा उनले (गुलजारले) ‘होइन, म नेपालीमै सुन्छु, बुझ्ने कोसिस गर्छु’ भनेका थिए। वाचनको क्षमता त्यो हो। उनले नेपालीमा पढिएका विप्लव प्रतीक, आभास फुँयाल, रमण घिमिरे, विष्णुविभू घिमिरे, रामेश, सुसन मास्के, तुलसी दिवस, माधव घिमिरेका कविता मनग्गे बुझे। उनले यसरी बुझेर गए, फर्केर गएपछि कैयौं दिनसम्म नेपाली कविताको सम्झना गरेर आफ्नो ब्लगमा लेखिरहे।
अनि भारत भ्रमणमा गएका बेला आयोजकमध्ये एक कनक दीक्षितलाई नेपाली कविलाई सोधिरहे। गुलजारको यसै पनि नेपालप्रतिको लगाव विवाहपूर्व नै थियो, उनले आफ्नी छोरी मेघना गुलजारको जन्मपछि जनकपुरमा जयप्रकाश गिरीको घरमा स्याहारसुसारका निम्ति पत्नी राखीलाई राखेका थिए।
गुलजार अझै भारतमा पैसा तिरेर कविता सुन्नुपर्ने र पैसा तिरेर नै उनलाई भेट्नुपर्ने कविमध्ये एक हुन्। उनले हरिवंश राय बच्चन, साहिर लुधियानवी, प्रदीपपछि कवितालाई सिनेमाका माध्यमबाट ख्यातिप्रिय बनाएका हुन्। उनी भारतमा हुने कुनै पुस्तक महोत्सवमा कविताका कारण आकर्षक मानिन्छन्। जयपुर लिट् फेस्टमा उनले पढेको कविता सर्वाधिक लोकप्रिय भएको मानिन्छ।
त्यस्ता कविले हाम्रो यलमायाको तबेलामा कविता पढ्दा हाम्रा कवि लेखक स्तब्ध भएका थिए। साह्रै सामान्य शैलीको कविता तर जीवनलाई निकट राखेर लेखिएका उनका कविताले हामीलाई पनि छुन्छ, पाकिस्तानीलाई पनि। लडाकूलाई पनि छुन्छ, शरणार्थीलाई पनि।
आजका पुस्ता अक्टाभियो पाज र पाब्लो नेरुदाजस्ता शैलीका कविता लेखेर पाठकबाट भागिरहेका बेला हामीले हाम्रैजस्तै कविता लेखेर किन पाठक नतान्ने भन्ने चिन्तन हुन जरुरी छ नत्र हामी सधैं रिमाल, भूपि, कटुवालभन्दा पछिको कविताको नाम लिनुपर्दा अकालमा कविता भन्न विवश हुनेछौं।
कवि गायकका रूपमा चिनिने गायक नारायणगोपालले किन नेपाली भाषाका राम्राराम्रा कवि भनेर चिनिने कविका गीत गाउने आँट गरेनन्? उनको सूचीमा माधव घिमिरे, भूपि, वल्लभ, कटुवाल, कालीप्रसाद रिजालपछि एकैपटक दिनेश अधिकारी आए। अधिकारीका समकालीन कविका अक्षरले उनलाई किन तानेन गलामा?
अहिले पनि कलेजका पाठ्यक्रममा बैरागी काइँलाको ‘हाट भर्ने मानिस’ पढाउँदा विद्यार्थी कक्षाकोठाबाट भाग्ने कुरा प्राध्यापक डा. सनतकुमार वस्ती सुनाउँछन्। क्लिष्ट कविता लेखेर मोहन कोइरालालाई अल्झेको आरोप लगाइन्छ। यस्ता घटना लाखौं छन् इतिहासमा।
हाम्रो कवितामा यस्तो संकट नआओस्।
साहित्यिक पत्रकार रमेश केसीले बीस वर्षअघि समकालीन नेपाली कविताको पीडा लेखिँदा जे अवस्था छ, त्यहाँभन्दा अलिक माथि नेपाली कविता उठेको छ तर त्यहाँबाट हिँडेको छैन।
भूपिको ‘हामी’ कवितामा किन हरेक नेपालीले आफ्नो अनुहार देख्छ? शंकर लामिछानेको ‘नजन्मेको मेरो छोरालाई’ पढेपछि पारिजातले कथा किन लेखिन्? कटुवालको ‘यो जिन्दगी खै जिन्दगी’मा अझै नेपाल किन झल्किन्छ?
यो कविताको शक्ति हो, कवितामा अकाल परेको छैन। हामीमाझ हाम्रै विम्ब, चेतना, चिन्ता लिएर कविता लेख्ने थुप्रै कवि छन्। फरक यत्ति हो वाद, रंग, जात वा पार्टीका कारणले हामीले कहिले पढ्यौं कहिले पढेनौं होला।
स्पष्ट होस्, सरल कविताको नाउँमा हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’मा राखेको कविता सुनेर वाहवाह गर्ने पाठकलाई ग्रस नगरौं। स्मरणीय रहोस्, हरिवंश राय बच्चनले नेपालमा गरिएको कविता वाचनका बारेमा भनेका थिए, ‘त्यहाँ मेरो कविता मन पराउने र मेरो कविता बुझ्ने बृहत् श्रोता पाएँ।’ अमृता प्रीतमले सन् १९६७ र कुँवर नारायणले सन् १९९१ मा नेपालमा कविता वाचन गर्नुलाई जीवनकै महत्त्वपूर्ण अध्याय मानेका छन्। तिनै कविलाई सम्झेर हामी आफ्नो कवितामा डिको हालौं।
मिति : २०७१ जेठ, ३१ शनिबार
