Skip to content


साहित्यमै मात्र केन्दि्रत रहेर एउटै क्षेत्रमा सीमित हुने स्रष्टाहरू निकै कम भेटिन्छन् । प्रायः स्रष्टाहरू जागिरे जीवनमै संलग्न भएको बढी पाइन्छ । व्यापार-व्यवसायमा धेरै कम स्रष्टाले हात हालेका छन् । राजनीति गर्दै साहित्य लेख्ने र साहित्य लेख्दै राजनीति गर्नेहरूको सङ्ख्या चाहिँ उल्लेख्य छ । डाक्टरी पेशा, कलाकारिता, अभिनय, पत्रकारितामा लाग्ने साहित्यकारहरू पनि छन् । मान्छेको स्वभावै हो- एउटै क्षेत्रमा सीमित भएर नबस्ने । अहिले सन्दर्भ यी पेशासँगभन्दा अलग छ । रेडियो, टेलिभिजन अनि सांस्कृतिक कार्यक्रमहरूमा आफ्ना आवाज मार्फत दर्शक/स्रोताको मन जित्ने कतिपय, स्रष्टाहरू छन् जसले साहित्य र सङ्गीत क्षेत्रमा आफूलाई राम्ररी चिनाएका छन् । सङ्गीत क्षेत्रमा गीत लेखन र सङ्गीत दिने बाहेक गायनमा मात्र संलग्न स्रष्टाहरू खोज्ने हो भने थुप्रै स्रष्टालाई अघि सार्न सकिन्छ ।

लोककवि अलि मियाँ, जनकविकेशरी धर्मराज थापाबाटै थाल्ने हो भने यी दुवै व्यक्तित्वको परिचय साहित्य र सङ्गीतमा उत्तिकै छ । लोकगीत गाएर प्रसिद्धि कमाउने अलिमियाँ र धर्मराज थापाले नेपाली गीत-काव्य-कविताको क्षेत्रमा त्यत्तिकै योगदान दिनुभएको छ । ‘मङ्गली-कुसुम’ जस्तो कृति लेखेर मदन पुरस्कार पाउने धर्मराज थापा र अलिमियाँ दुवै स्रष्टा ‘जगदम्बाश्री’ बाट समेत सम्मानित भइसक्नुभएको छ । चर्चित सङ्गीत साधक कोइलीदेवी सङ्गीत जगत्मा जति चर्चित हुनुहुन्छ, साहित्यमा त्यति हुनुहुन्न । ‘सेवा’, ‘समर्पण’ दुईवटा उहाँका गीत सङ्ग्रह प्रकाशित भएबाट नै प्रष्ट हुन्छ कोइलीदेवीको संलग्नता साहित्यमा थियो भनेर । गायन र साहित्यमा चिनाउन सफल साहित्यकारको नाम लिनुपर्दा प्रेमप्रकाश मल्ल र अम्बर गुरूङ्गको नाम लिनुपर्छ । गीत, कविता, नाटक निबन्ध, कथा लेख्न रुचाउने जगत्मर्दन थापा सङ्गीत क्षेत्रमा जति नै साहित्य सिर्जनामा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । जगत्मर्दन थापाका ‘दिलको आवाज’ गीत सङ्ग्रह, ‘पलाँसको फूल’ कथा सङ्ग्रह प्रकाशित भइसके । ‘सङ्गीताञ्जलि’ ‘गीतमञ्जरी’ जस्ता कृतिका स्रष्टा, गीतकार गोपाल योञ्जनको विशेष परिचय सङ्गीत जगत्मा स्थापित छ । साहित्य क्षेत्रमा उहाँको परिचय माथिका कृतिहरूले स्थापित गरेको छ ।

स्वर, सङ्गीत र शब्दमा थुप्रै गीत प्रस्तुत गर्ने रामेशको परिचय सङ्गीत जगत्मा खासगरी जनताका गीत गाउनेमा स्थापित छ । गीतका अतिरिक्त कथा, कविता, निबन्ध लेखनमा पनि रामेशले आफूलाई केन्दि्रत गर्नुभएको छ ।

गायन र साहित्यमा समानरूपले नाम कमाउनेमा गणेश रसिकको नाम लिनुपर्ने हुन्छ । कथा, कविता, गीत, नाटक, उपन्यास, संस्मरण विधामा कलम चलाएर कैयौँ कृति प्रकाशित गराइसक्नु भएका गणेश रसिक साहित्य र सङ्गीत क्षेत्रमा सफल साधकको रूपमा चिनिनुहुन्छ । हिरण्य भोजपुर, उर्मिला श्रेष्ठ, शशिराम भण्डारी आदिको नाम साहित्य र गायन दुवै क्षेत्रमा जोडिन पुगेको छ । गीत गाएर चर्चित बन्ने हिरण्य भोजपुरे साहित्यमा पनि त्यत्तिकै सक्रिय भएर लागि पर्नु भएको छ । कविता-गीत-उपन्यास-संस्मरण लेखेर साहित्यमा चर्चित बन्ने ‘मञ्जुल’ साङ्गीतिक फाँटमा त्यत्तिकै परिचित हुनुहुन्छ । गायन र लेखन दुवै माध्यमबाट उहाँले आफूलाई चिनाउनु भएको छ ।

गीत र कवितामा गरी चारवटा सङ्ग्रह प्रकाशित गराइसक्नु भएकी हरिदेवी कोइराला लोकसङ्गीतको क्षेत्रमा चर्चित गायिकाको रूपमा चिनिनुहुन्छ । रेडियो बारम्बार सुनिने नाम चन्द्रकला नेवार, माया ठकुरी, पद्मावती सिंहको परिचय नेपाली साहित्यमा खासगरी कथा विधामा बढी चर्चित छ । कविता, उपन्यास लेखनमा सक्रिय यी स्रष्टाहरूको अलग परिचय भनेको गायन क्षेत्र पनि हो । साहित्य क्षेत्रमा आफूलाई चिनाउन चाहने कोमल वली गीत मात्र गाउनु हुन्न, कविता पनि त्यत्तिकै समय दिएर लेख्नुहुन्छ ।

कवि एवं गीतकार रत्नशमशेर थापा, कवि एवं उपन्यासकार चेतन कार्की, साहित्यकार श्रीधर खनाल, निबन्धकार एवं उपन्यासकार मनुजबाबु मिश्रको नाम साङ्गीतिक क्षेत्रसँग जोड्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । चेतन कार्कीले दुई दर्जनभन्दा बढी लोकगीत गाउनुभएको छ, रत्नशमशेर थापाले गायनमा स्वर्णपदक जित्नुभएको छ । श्रीधर खनालले २००८ सालमै रेडियोबाट गीत गाउनुभएको थियो । उहाँ प्यारोडी गायनमा बढी केन्द्रित हुनुहुन्थ्यो ।

‘मेरो पाटी पौवालाई…………’जस्तो लोकपि्रय गीत गाउने डा. भोला रिजाल, ‘हे भगवान्……’ ‘पसलबाट बिकेकेा…….’जस्तो चर्चित गीत गाउने मदनकृष्ण श्रेष्ठ, मात्र होइन अचेल चर्चित गीत गाएर श्रोताको मन जित्ने हरिवंश आचार्यको नाम गायन र साहित्यमा जोडिन्छ । एक दर्जनभन्दा बढी कृति प्रकाशित गर्ने टङ्क के.सी. लोक साहित्यमा मदन पुरस्कार पाउने गीतकार प्रदीप रिमाल, गीत-गजलमा कृतिहरू प्रकाशित गर्ने शम्भुकुमार मिलन आदिको नाम गायन र साहित्यमा सँगसँगै लाग्ने साधकको रूपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *