हाँसेको प्रकृतिमा देवत्व हुन्छ । सुन्दर प्रकृति, सुकोमल हृदय मानवीय चेत प्रष्ट पारेर देखाउने देवत्वका प्रमाण हुन् । देवत्व मुस्कुराउँछ विशेष गरी बाल मुस्कानबाट । बाल मुस्कानमा सहज, सहृदयी भाव हुन्छ किनकि ऊ मुस्कानमा मात्र हुन्छ । कपट हुँदैन, उसले झापट पनि दिँदैन । कपट बोकेको कालो अनुहार भित्र राक्षस हुन्छ । राक्षसी प्रकृतिको राजकाजले देवत्व मुस्कान दिन सक्ला तर त्यसभित्र देवत्व हुँदै हुँदैन । हुने, छुने सहज प्रकृतिमा हुन्छन् । कतै कसैको हृदय छुनै नसक्नेहरू आफैं भित्र आफैं रुन्छन् र एक दिन पोलेका पीडाले त्यसै डढेर जान्छन् । जानु प्रकृति हो, प्रकृति सहज हुन्छ । घुमेर फिरे पनि लुकेर छिरे पनि आफूभित्र आफ्नै सहजता हुन्छ । सहजता चरित्र नापनको पक्का र प्रष्ट प्रमाण दिने यन्त्र हो । कालो ओडार बनेर बसेको हृदयको भँडारमा देवत्व छिर्ला, मुस्कुराउला पनि तर सहज देवत्वमा आउँदै आउँदैन । देवत्वमा सद्भावको सहजता हुन्छ । प्रकृतिले त्यो दियो, मानवले पायो, ल्यायो र लियो यो अस्वाभाविक कुरा त होइन तर सबैलाई त्यस्तो सौभाग्य प्राप्त हुँदैन । देवत्व प्राप्ति सानो सौभाग्य हो त Û
मान्छेले प्रायः आफूले आफूलाई खाइदिन्छ । त्यो उसलाई थाहा हुँदैन । उसका मुखमा उसैको नै मासु परेको छैन । उसले उसैलाई खायो भनी पत्याउनु पनि कसरी ! तर विकृत र नकारात्मक मनोविज्ञान उसलाई खाने मुख्य आधार हुन्छ । ऊ जलिरहेको हुन्छ तर ऊ गलिरहेको हुन्छ । सहज चेतना, सहज प्रकृतिमा उसको शारीरिक र मानसिक ऊर्जा जति प्रवल रूपमा प्रयोग भएर शरीर परिपूर्ण र परिपुष्ट हुन्छ, मानसिक पीडा र वेदना बढेका खण्डमा त्यो सहज प्रकृति प्रायः विलयनमा जान्छ । प्राकृतिक सहजताको विलयनले र वेदनात्मक पीडाको वृद्धिले उसलाई सहज कमजोर बनाइ नै दिन्छ । कमजोरी यसरी बढ्दै गएर उसबाट उसैको आत्मशिथिलतामा वृद्धि गरेपछि स्वाभाविक रूपमा ऊ घटेर जान्छ, यो साह्रै वास्तविक कुरा हो । त्यसो हुँदा हुँदै अर्को के कुरा पनि देखिन्छ भने मानिसले मानिसलाई नियन्त्रण गर्न सक्तैन । अनियन्त्रित र असन्तुलित हुँदै गएपछि उसले सहजै आफैंलाई खाँदैजान्छ । आत्मपीडक मनोविज्ञानले आफूलाई बिस्तार बिस्तार बढी भन्दा बढी पीडा र वेदना थप्तै गएपछि त्यही मानिसले त्यसैलाई सहज रूपमा घटाउँदै र जलाउँदै जान्छ । त्यसपछि ऊ सहजरूपमा कमजोर हुँदै र खिइदैजान्छ । आफ्नै कारणले खिइनु आफैलाई आफैंले खानु त हो !
माथिका कमजोरी जुन कारणले देखिन्छन् वास्तवमा देवत्वको अभाव नै मुख्य कुरा हो । आज आशा छ किनकि समय खासा छ । समयले समयको सेतु बनाउँछ । सेतु वा पुलले वारि पारिको सम्बन्ध बढाउँछ । यो यथार्थको वास्तविक यथार्थ जानेर व्यवहार गर्न सक्ने मानिसमा देवत्व हुन्छ र देवत्वले देवत्वमै जोडदै मुक्ति मोहको मानसिक मञ्चमा पुर्याउँछ । देवत्वयुक्त मानसिक मञ्च केवल मझेरीमा सीमित भएर पनि अर्को परिवेशमा बढेर दह्रो हुन्छ । दह्रो त्यो मञ्च जति हो त्यस भन्दा धेरै बढी काम त्यसभित्रको देवत्वको हुन्छ । देवत्व मुस्कुराउँछ यदाकदा सहज बनेर जीवनमा पलाउँछ । आफूभित्र आफ्नो अस्तित्व दह्रो छ भनी प्रमाणित गर्ने आधार देवत्व हो । आज पाएको जीवन आजै वा भोलि सकिने गरी अनेक कुकर्मतिर प्रवृत्त गराउने आधार राक्षसी यथार्थ हो । कसैमा देवत्वले त्यस दानवीय यथार्थलाई पेलेर काम गर्ने शक्ति हुन्छ कसैमा त्यो हुँदैन । आज मुस्कान छरेर बाँचे सहज बाँच्छ । त्यस्तो सहजताको त्यो सही सोपान देवत्वबाट प्राप्त हुन्छ । देवत्वमा घनत्व प्रदान गर्ने क्षमता हुन्छ तर दानवत्वमा त्यत्रो र त्यस्तो सहज उपकारी र उपचारी शक्ति हुँदैन पनि ।
बाल मुस्कानकालदेखि नै बढेको देवत्व सहज सहज र अझ सहज हुँदै अघि बढेर मानव हुँदै देवत्वसम्म पुग्ने प्रकृति मानवभित्रै छ र त्यो मानवले नै देखाउँछ । मानवले मानवको भलाइमा जब केही गर्छ त्यहाँ, त्यसमा पनि देवत्व हुन्छ । मानव हुन्छ मानवमा, मानव हाँस्छ मानवमा अनि मानव सफल बन्दै जान्छ र देवशिखरमा पुग्छ । एउटा मानव उही गतिमा आउँछ तर उसको संस्कार यति बलियो हुन्छ – ऊ त सत्कर्मद्वारा धेरै-धेरै माथि पुग्छ । आफूले आफूलाई अड्कलेर पस्कने कति हो र कस्तो छ त्यो आफ्नै ठाउँमा छ तर जसमा सहज देवत्व छ त्यसले सामाजिक अनुशासनिक व्यवहार विस्तार-विस्तार सपारेर बढाएर लगेको हुन्छ । जसमा देवत्वको प्रताप बढी छ त्यसमा कर्मले पहिल्यैदेखि निर्मलता उपहारस्वरूप पाएको हुन्छ । प्राकृतिक उपहार, सहज उपहार उसको पारिवारिक संस्कार विशेष गरी मातृसंस्कारको प्रवलताबाट प्राप्त भएको हुन्छ । आफू सहज भए संसार सरल हुन्छ । सरलता बलियो संस्कारको प्रमाण पनि हुन सक्छ । आफूभरि आफैं भए, सबैका हृदयमा सजिलैसँग गए मानव देवत्वमा पुग्छ र सजिलैसँग मुस्काउँछ । प्राकृतिक प्रेमको दानशिखरमा देवत्व मुस्कुराउँछ ।
बालक प्रकृतिले पहिले, सहज प्रकृतिले फेरि र साधक प्रकृतिले आखिरीमा देवत्वमा पुर्याउने कुरा सहज हो । आफू उदाएको आकाश, आफ्ना वरपर भएका तारा र तिनका तेज तरङ्गहरू अनि त्यो मुस्काएको गगन यी सबै कुराले देवत्वमा साथ दिन्छन् । सानु सत्य हो, तीब्र यथार्थ हो र वरपरको सही र सहजकर्म हो त्यसैका वरपरबाट देव भूमि मुस्कुराउँछ । हामी देवता खोज्छौं, घुम्छौं र फिर्र्छौं । कहाँ छ र कसरी देखिन्छ त्यस प्रति वास्ता पनि गर्दैनौं । बाल मुस्कानदेखि साधना संयमसम्म त हेर्नै पर्छ । उहीँ छ, कतै छिर्छ, त्यसको अत्तोपत्तो छैन । आज पनि मानिसले स्वार्थ सम्वेदनालाई संयममा राख्न सके देवत्व खोज्न अन्यत्र कतै जानै पर्दैन । पाखण्ड, इर्ष्या र बदलाका भावले त मानिस भित्रको दानवतालाई नराम्रो सँग प्रयोग गरेका हुन्छन् । सृष्टिको प्रकृति नै देवत्व र दानवताको संयोजनबाट भएको हुन्छ । शारीरिक प्रकृति त्यसै हिसावले सञ्चालित हुन्छ । मानवता देवत्वको प्रमाण हो भने दानवता अथवा अति इर्ष्या, डाह र स्वार्थ आदि त्यसका विपरीत प्रमाण हुन् । आफू संयमित भई, सन्तुलित रही कर्म गरेर मानव कल्याणतिर प्रवृत्त रही सफल मार्ग दर्शक र एक विशिष्ट साधक भए देवत्व त्यहीँ प्राप्त हुन्छ ।
२०६२।१२।१७।५
