Skip to content

उनलाई कुर्ता किनेको साँझ


उनलाई कुर्ता किनेको साँझ
आपसमा सम्झौता गर्दै निलाम्य भएका थिए रङहरू।
त्यहीबेला अविमोचित हृदयको देशबाट
हज्जारौं भिन्चीहरू आएर मेरो छातीमा बसे
र, एउटा मोनालिसाको तस्बिर कोरे
त्यो चित्र उनकै बन्यो।

चित्रमा अल्झिएको नीलो कुर्ताको किनारासम्म ओर्लिएर
यस्तो चञ्चल भइरहेथ्यो यो मन, जस्तो हुन्छ
कुनै युवतीले छातीमा फूलको ट्याटु भरिदिँदा !
नीलो लिपस्टिक लगाएको पहाडले
गहिरो/नीलो दहमा आफ्नै नांगो छाया हेरिरहँदा
वा, माग्नेले कचौराभरि सुनका सिक्काहरू बटुल्दा !

समय नरोकिए पनि
घडीका काँटाहरूलाई एकछिन विश्राम दिएर
मेरै छातीमा बास बस्न आइपुग्यो–
प्रेमको गति दौडाउने वीरगञ्जको घण्टाघर।
प्रेमकै दराजमा राखिहेरें मैले
घण्टाघर बास बसेको मेरो छाती, चञ्चल मन,
उनलाई किनेको नीलो कुर्ता र भिन्चीहरूले बनाएको
उनको चित्र….. सबथोक राखें।
भित्रैबाट उनले मुस्कानको आलाप सुसेलिन्
मैले मुस्कानको सारंगी रेटें कसैले सेन्सर लगाउन सकेनन्
हाम्रो मुस्कानको संगीतमाथि

त्यही साँझ हो –
आकाशले नदीको रंगमा प्वाख चोपेर
धर्तीलाई प्रेमपत्र लेखेको !
त्यही साँझ हो–पहाडले तल ओर्लिएर
मैदानका घाउहरूमा फूलका बेर्नाहरू सारेको !
त्यही साँझ हो –
समय पनि नीलै रंगमा बदलिएको !

अपसोच ! सपनाको वैजनी किरणले
उडाउँदै लग्यो नीलो रंग !
नीलो साँझको आयु छोटो हुन्छ भन्थे
हो रहेछ क्यार !
निमेषले हरायो–
कुर्ता किनेको नीलो साँझ !
हरायो, आफ्नै भाग्यको गोजीबाट हरायो !

बिहान भयो तर उज्यालो भएन !
शंख बजाउँदै आयो– समयको अखबार
के अचम्म हो यो ! म त मरिसकेको रहेछु !
पहिलो पृष्ठमै मेरो शवयात्राको फोटोसहितको
समाचार छापिएछ अखबारमा
र, त्यहाँ लेखिएको रहेछ–
‘उनलाई कुर्ता किनेको साँझ ढल्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *