सम्पादक,
मेरो बाध्यतालाई
अखबारको ‘ब्यानर न्यूज’ बनाउँछ
गिठ्ठा भ्याकुर खाएको फोटो
क्यामेरामा कैद गर्न लगाएर
सम्पादक,
त्यसमा मीठो क्याप्सनसहित
ब्यानर न्यूजमा सजाउँछ
भोको पेटले असह्य भएर मरेकी
महिलाको कथालाई रंगीन अक्षरहरूमा
‘एङ्कर न्यूज’ बनाउँछ
सम्पादक अचेल
आसुका पोखरी खोजी हिड्छ
रगतका फाल्साहरूमा
‘ए’ ‘बी’ ग्रुप बुझी हिड्छ
टपक्क टिपेर विवशता
अखबारको कार्टुन बनाउँछ
मेरो सम्पादक
कैयौ रात सडकमा विताएको प्रसंगलाई
मध्यपृष्ठको ‘पढ्ने’ कथा बुन्छ
दरिद्रता देखिने ‘दामी’ फोटोलाई
बारम्बार छाप्छ
मेरो सम्पादक
सधै विवशतालाई
अखबारभरि सजाउँछ।
हुन पनि हो
‘बबरमहल’ पडि्कन्छ
गरीबको थाप्लोमाथि ‘ड्याम्म’
कालिमाटी बल्छ
मजदूरको सपना जलाउने गरी ‘हुरूरू’
त्यतिबेला सम्पादक
रातो कलमले आदेश लेख्छ
‘बबरमहल’ ब्यानर न्यूज
‘कालीमाटी’ एङ्कर न्यूज
सम्पादक, मेरो बाध्यतालाई
अखबारको ‘ब्यानर न्यूज’ बनाउँछ।
