Skip to content

म शहरको हैन


ए थानकोट
तँ सांक्षी छस
म यो शहरको हैन

मलाई जबर्जस्ती
अनेकौ वाहानाले
लोभ्याएर, डर देखाउदै
धम्क्याउदै, फकाउदै फुल्याउदै
कैद गरिएको छ
कहिले तराईमा गर्मी छ भन्दै
लामखुट्टेले उडाउछ
उडुसले बोक्छ भन्दै
कहिले पहाडमा जाडो छ भन्दै
कहिले हुम्लामा नून पाईदैन भन्दै
बाढीले बगाऊछ
पहिरोले पुर्छ भन्दै
मलाई बाधेर राखेको छ
यो शहरले

जस्ले सम्मोहित गर्न
जादु-टुना सिकेको छ
मायाजाल जानेको छ
यो दल्दलको अथाह खाल्डोले
अब मलाई छानेको छ
म निस्किन, फुस्किन, भाग्न सक्दिन
यी विलासीताका पर्खालहरू
मलाई खेल्दै, पच्याउदै
गाँऊसम्म पुग्छन
र तानेर फर्काऊछन
यही खाल्डोमा
त्यसैले थानकोट भनिदें आज
म यो शहरको हैन

अचेल
मेरो शहरीया घाँटीले
सिस्नोको साग र फापरको ढिडो
निल्न सक्दैन
कोदोको रोटीहरू चपाउन सक्दैनन् मेरा दाँतहरू
आशिंक शहरिकरण गरिएका मेरा अंगहरू
मेरो गाँऊले सोच प्रति लज्जित छन
त्यसैले थानकोट
म मुख लुकाएर
लाज पचाएर
भाग्न चाहान्छु
त आज फैसला गरिदें
र भनिदे यो शहरलाई
म याँहाको हैन
म शहरको हैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *