सम्पूर्ण ग्रहहरूमा भूइँचालो लाग्न थाले, सम्पूर्ण ग्रहहरूका धरति फाट्न थाले, आकाश फाट्न थाले, ताराहरू झरे अनि भयो दारुण प्रकृतिको लीला । त्यत्तिबेला गुरुत्वाकर्षण शक्तिको मेसो कतै थिएन । छताछुल्ल ग्रह, तारा, नक्षत्रहरू विष्फोटन हुन थाले । समुद्र आकाशमा बहन थाले । बादल हिउँको ढिक्का बन्न थाले । जीवजन्तुहरूले आँखा, मुखबाट आगो बर्साई नामोनिशान समाप्त भइसकेका थिए ।
ग्रहहरूको बडो भयङ्कर हाहाकार कोकोहोलोको छ्याङ्गल्याङ्ग ब्याङ्गल्याङ्गको आवाजले सृष्टिकर्ता ब्यूँझिए । गुरुत्वाकर्षणलाई गाली गर्नसम्मन् गरे तर गुरुत्वाकर्षणले वास्तै गरेनन् ।
कारण के थियो भने गुरुत्वाकर्षणले चाहिँ मरी–मरी २४सै घण्टा खट्नु पर्ने अनि खटन पनि खानु पर्ने अनि संसार दुःखमय हुँदा केही पनि गर्न नसक्ने । तर सृष्टिकर्ता भने मोजमस्ती मै सीमित भै सबै ठाउँमा असमानता बढाउँदै लाने । त्यसैले फेरि गुरुत्वाकर्षणले भने “हेर्नुस् सारा संसार दुःखमय भइसकेको छ त्यसैले यो छ्याङ्गल्याङ्ग ब्याङ्गल्याङ्गले तिम्रो सत्ता हल्लाउन मैले यो गरेको हुँ । कृपा गरेर संसारलाई सुखमय बनाइदेऊ अनि म मेरो नियममा आउँछु । मेरो एउटा शर्त छ त्यो के भने “तिमी पनि २४सै घण्टा संसारको सेवामा खट्नु पर्छ ।”
सृष्टिकर्ता किंकर्तव्य–विमूढ भए । सम्पूर्ण सृष्टिको रखवाला भनाउँदोलाई स्वर्ग सुखभोगको स्वाद अब हलुवामा बालुवा हुन थाले ।
२०७१ भाद्र २८ गते
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
