Skip to content


राजेश धनी बाबुको एक्लो छोरो, लोलोपोतोले बिग्रेको बानी सपार्न चिरञ्जीवीलाई गाह्रो परेको थियो । हुन त मुकुण्डेलाई सैनिक सेवामा भर्ति गराउने ठूलो इच्छा थियो चिरञ्जीवीको तर मुकुण्डेको पढाइ असफल भएपछि चिरञ्जीवीको आशा मरिसकेको थियो ।

एकदिन बूढाबूढीले राजेशलाई घरजमको बारेमा सम्झाउँदै थिए । “बाबु यसरी अल्लारे भएर कति दिन हिँड्छस् । अब त ठूलो भैसकिस् । हामी डाँडापारिको घामजस्तै भइसक्यौँ । केटी दिन आका छन् विचार गरेस् ।”

बाबुआमाका यस्ता कुरा सुनेर राजेशको पारो तातेछ । रिसको झोकमा उसले आँखा देखेन अनि नजिकैको बाँसको भाटोले आमालाई रगताम्य बनाई मुकुण्डे त्यहाँबाट अलप भयो । घरमा कोलाहल मच्चियो । छिमेकीहरू के भो र कसो भो भन्दै त्यहाँ आइपुगे बूढी आमाको हालत देखेर सबैले ‘अस्पताल लैजाउँ’ भने । एक जना बटुवाले सोध्यो- यिनलाई के भो ? ”रगताम्य भएकी छिन् ?” अर्कोले जवाफ दिए- ”के हुनु र एक्लो छोरोको कुकर्म हो, भाटोले हानेर घाइते बनाइदियो नि ।” दोस्रोले थप्यो- ”लोलोपोतोे मात्तिएकोले यस्तो बनाइदियो ।” अर्कोले थप्यो- “कालजस्तो छोरो हुनुभन्दा त, जन्मिंंदै मरेको भए हुन्थ्यो नि ।”

छिमेकीहरूका वचन बूढीआमालाई कटु लागे र मन थाम्न सकिनन् । त्यसपछि यसरी मुख फोरिन्- हेर बाबै, यसरी नभन तिमीहरू । छोरा भन्या छोरै हो । अहिले उसको बुद्धि पलाएको छैन । अल्लारे भएको छ । मलाई घाइते बनाएर पो के भो ? अहिले ऊ सानै छ । बूढी आमैका यस्ता ममतामयी वचन सुनेर छिमेकीहरू एकछिन् स्तब्ध भए । त्यसपछि सबैले आ-आˆनो बाटो तताए ।

-भूरुङ्गखेल

मधुपर्क पुष, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *