Skip to content


मलाई सधै पछुतो र गुनासो हुन्छ कि मेरो नाम आरपि नभई अरु किन भएन । हाम्रो गाउँ, समाज, परिवेश, विद्यालय हुदाँ हुदाँ कक्षा पनि एउटै । पढाइमा कहिले को फस्ट कहिले को फस्ट हुन्थयौ । प्राय कक्षामा त हाम्रो अंक पनि बराबर आएको छ । परिक्षामा अल्फाबेटिकल अर्डर अनुसार म अगाडि पर्थे । भर्ना ऊ पहिला हुन्थ्यो ।

ऊ र म हरेकपल सङगै हुन्थ्यौ । उसलाई मेरा र मलाई उस्का हरेक कुरा अवगत थिए । जब कुरा हाम्रो पढाइको आउथ्यो । दुवै अपरिचित झै गर्थ्यौ । यतिका वर्ष सङगै पढ्दा नि उस्लाई जित्नुपर्छ भन्ने मानसिकता कहिल्यै हटेन । कक्षा दुईमा पढदा हामीले बाजी ठोकेका थियौ । कसले हाम्रो स्कुले जीवनका बढी खेल जितेर देखाउने ।

कक्षा आठमा पढ्ने क्रममा हामी हाफटाईममा मौका मिलाएर क्यान्टीनको खाजा चोरेर खाने बानी परेका थियौ । हामी त्यो बाध्यता वा भोकलेभन्दा पनि रहरले ज्यादा गर्थ्यौ । एकदिन ख्याम सरले देखे । हामी भागेउ । सरले आर्यनलाई मात्र देखे । खासै प्रतिकृया पनि केही जनाएनन् । सरले केही नगर्ने कुरामा विश्वस्त हुदै हामी मख्ख थियौ ।

भोलिपल्ट प्रेयरमा एक्कासि आर्यनको नाम लिएर सरले बोलाउदा । मैले तेत्तिस कोटी देवता सम्झन भ्याइसकेको थिए; हे प्रभु रक्षा गर भन्दै ।

सरले झर्किदै “को को थिइस?” भनेर सोधे ।

आर्यनले मेरो पनि नाम लियो । लौ बर्वाद ! मलाई नफसाई उसको आत्माले शान्ति पाउदैन्थो । सरले मलाई अगाडि लगेर यसरी चार्ज मारे कि अब राम्रै मुखले ला भनेर क्यानटीनको खाजा दिए नि म नखाने भए । थोपडा भित्रको भौतिक सरंचनामा नै प्रभाव पुर्याउने गरी गरेका थिए गुरुले चार्ज । उसो त मानसीन सन्तुलन पनि ठिक ठाउँमा कहाँ थियो र? घरमा फर्केपछि आमाले पुनःचार्ज गर्नुभो । मेरो स्कुले जीवनको पहिलो गाल्ति जसको कारण म यो सब बेहोर्दै थिए । “पोलेमाथि फकुल्टो” भनेझै म असैह पीडा महसुस गर्दै थिए ।

अबका दिन साचिकै ग्रहण लागे बराबरका भए । सारा स्कुले लाटीले पापा हेरेझै हामीलाई हेर्थे । हामी मौन बस्नुमै ठिक मान्यौ । वरिष्ठ बाहुनले हाम्रो न्वारन गर्न भ्याइसकेछन । “खाजा चोर” ! “क” आर्यन ! “ख” चै म !

खाजा चोर नाम यति गुन्जिन थाल्यो कि खाएको खाजा सबै वाँकेलेर स्कुलेको अगाडि मिल्काइदिउ झै हुन्थ्यो । तर मिल्थेन । असम्भव कुरा कल्पनामै सही लाग्दो रहेछ ।

कक्षा आठको एग्जाम दिएर नि रिजल्ट आयो । जिल्लास्तरीय परिक्षामा आर्यन र मेरो नम्बर बराबर । खासै रमाइलो लागेन आखिर मैले आर्यनलाई जित्न सकेको थिइन । उस्लाई नजितेको रिजल्ट मलाई औचित्यहीन लाग्थो । आखिर हाम्रो खेल जारी थियो ।

कक्षा नौ सुरु भयो । छुट्टै भवन ! आफूमा बेग्लै अनुभुत गर्दै थिए म । वरिपरिका स्कुलमा नि.मा.बी. तहसम्म मात्र पढाइ हुन्थ्यो । यसकिसीमले पनि हामी कक्षामा धेरै हुने निश्चित थियो । नयाँ साथीहरूको जमात । कहाँ ती तिस जना कहाँ अहिलेका सत्तरी असी जना । सानोतिनो हल्लाको त प्रवाह नै नहुने । हामीलाई हल्ला गर्नबाट बन्चित गराउने सरहरू पनि अहिले त्यति चासो दिन छाडेका थिए । मान्छे स्वतन्त्रताको नाममा जति खुल्ला छाडिन्छ ऊ त्यति निस्फीक्री बिग्रीदोरहेछ । एक किसीमले हामीलाई “के खोज्छस काना? आँखाँ” भने जस्तो भएको थियो । यौवनले भित्रभित्रै काउकुती जो लगाइरहेथ्यो । के गरु कसो गरु हुने । कक्षा नौका अधिकाशं दिनहरू केटी हेरेर वा हल्ला गरेरै बित्न थाले । क्लासहरू बङ्क हान्न थालियो ।

हामी दुई जनाबाट छ जनाको ग्याङ बनिसकेको थियो । सबै केटा । धन्न केटाहरू लागुपदार्थको दुर्व्यसनमा फसेका थिएनन् होइन भने त चार्ज हुनबाट अछुतो रहन्थेनन् । कसलाई केको मतलब; अरु चार्ज भएको हेर्नुमै मज्जा लिन्थे सब ।

हाम्रो ! अँझ भनौ मेरो खेलमा अर्को खेलाडीको इन्ट्री भयो । उसको नाम चै पूजा ।

“साला कति राम्री केटी !”

“यो सगँ बोल्न पाए त !”

“यसलाई पट्याउन पाए त !”

“हैन भगवानले कति राम्री बनाउन सक्या कोही कोइलाई ?”

“यसलाई पहिल्यै किन देखिन ?”

यस्तै केही सबाल गर्थे सायद उस्लाई पहिलो पटक देख्ने मान्छे ।

मलाई भने पहिलो पटक नै उस्को नजिक पर्दा खाजा चोर्दाकोभन्दा बढी चार्ज लागेथ्यो । मुटु ढकढक् गरेथ्यो ! स्वास छिटोछिटो दौडेथ्यो अनि डरले पसिना आएथ्यो ! देख्दैमा मन उथलपुथल पार्ने रुप थियो उस्को । जय शम्भू ! कतै लभ नपरोस ! यस्तै केही भन्दै निस्केथे, प्रशासन भवनबाट । सायद, ऊ भर्ना हुनलाई त्यहाँ आएकी थिई ।

हामी कोही पनि सङकुचित बिचारबाट माथि उठ्न सकेका थिएनौ न त पूजा नै उठ्न सकेकी थिई । केटा र केटीसँगै बस्दैमा ब्रमाह्न्ड नै खस्छ कि जस्तो गर्ने हाम्रो सोच थियो । तर पनि पुजाको पछाडिको बेन्चमा बस्न त छाड म छाड गर्थे केटाहरू । तर कहिल्यै बस्न पाएनन् खालि हामी बस्थ्यौ छ जना । खाँदिएर । चार जनाको बेन्चमा छ जना बस्नुपर्दा घरी घरी त पूजा न सुजा भनेर पछाडि जान मन लाग्थ्यो । तर पछाडि हट्नु भनेको कायरताबाट च्यूत हुनु भन्ने बुझिन्थ्यो ।

दुखको कुरा ! कक्षामा बेन्चको रोटेरन चल्थ्यो । पुजाहरू अन्तिम बेन्चमा पर्दा हामी सुरुको बेन्च पर्थ्यौ ! साला त्यो दिन त स्कुल जान पनि मन नलाग्ने, गए पनि बस्न मन नलाग्ने ! जहाँ पूजा साथमा हुदीन त्यँहा मेरो के अस्तित्व । लाग्थ्यो पुजाको सामिप्य बिना म अर्थहिन निर्जीव छु । मेरो दिनचर्या स्कुल जानु पुजालाई हेर्न र उस्को पछाडि बस्न भैसकेको थियो ।
उस्को रुप अशृङगारिक सुन्दर बगैचा थियो । त्यहाबाट आउने खुश्वु बिलकुल प्रकृतिक लाग्थ्यो । त्यसकारण पनि केटाहरू मरिहत्ते गर्थे पूजा भनेपछि । उसले जब कर्के नजरको प्याला मलाई सुम्पिन्थी; म मठ्ठीन्थे, लठ्ठीन्थे अनि तन जिरिङ् हुन्थ्यो । अलवा उस्का अक्षर पनि राम्रा थिए । उस्ले कपी सरै कोल्टे पारेर लेख्थी खै हामीलाई देखाउन हो वा उस्को बानी नै उस्तो कहिल्यै बुझ्न सकिएन् । म सोच्थे ! कुनै दिन उस्को कपी मागेर त्यसैको पछाडि चिठ्ठी टासेर दिन पाए ।

समय आफ्नै गतिमा चल्दै थियो । कक्षा आठको टपर ! पढ्नमा पनि राम्रो ! थोपडा पनि ठिकै ! जे पर्छ पर्छ सोचेर प्रेम पत्र लेख्ने निर्णय गरे त्यो पनि पुजाको नाममा । मलाई थाहा थियो केटी भनेका गुड त्यागेका खुल्ला गगनका भुरभुर गर्ने चरी हुन । थाहै हुदैन कस्को कोल्टेमा पर्ने हुन् । सिकारी या प्रकृति ! म सिकारीको भूमिकामा थिए ।

लेटर त लेख्ने तर कसरी लेख्ने ? कसैलाई सोध्ने हिम्मत जुटेन । जे पर्छ पर्छ आफै लेखिन्छ, अरुले प्रेम गर्या हो र अरुले लेख्दिनलाई भन्ने सोच मनमा पलायो । स्कुलबाट फर्केर झोला एउटा कुनामा मिल्काउने र प्रेम पत्रको अभ्यासमा जुट्ने मेरो दैनिकी बन्यो । लगातार एक महिनाको पृथक मेहनतका बाबजुत जेनतेन पत्रको रुपमा ढलिछाडे मेरा प्रयास ।

उफँ ! प्राण पियारीको हातमा कसरी थमाउने ? सम्झदा पनि जिउ सिरीङ् भएर आयो । त्यो पत्र कसैको नजरमा पर्नु भनेको खामुखा बेइज्यती र फुल चार्ज हुनु थियो । उसो त मेरो ब्याट्री फुल भैसक्या थियो खाजा चोरेर । देखाउने हिम्मत जुटेन । सोच्दैमा दिन, हप्ताहरू बित्दै गए । लेखेर भ्याएको एक महिना भैसक्या थियो । अब त आफैसगँ लाज लाग्न थाल्यो । कस्तो कयर म ? प्रश्नवाचक चिन्न खाडा गर्न मन लाग्यो आफैमाथि । दिन्छु जे पर्ला तै टर्ला ।

फाल्गुनको अन्तिम साता ! अब पढाइ हुन केवल पाचँ दिन बाकी थियो यानेकि अब मेरो प्रेम खेलको काउन्डाउन सुरु भयो । यो खेल जित्नपाए सदाको लागि आर्यनलाई हराएको अनुभूति हुन्थ्यो।

पढाइको इतिहास खोतेलेर हेर्ने हो भने सबैभन्दा छिटो बितेको वर्ष त्यही थियो मेरा लागि । पढाइ शुन्य । यतीका दिन जो पुजालाई पढियो ।

अब अन्तिम क्लास बाँकी थियो । आर्यन अनुपस्थित । मलाई गिद्दले सिनो भेटेझै भयो । खुसी भैहाल्ने कारण थिएन सिनो मुखमा नपरेसम्म । आत्मविस्बास क्रमश घट्दो थियो । पढाइ सकिएपश्चात झट्ट पुजाको अगाडि गए ।

मलाई एक्कारी देखेर कर्के नजरको प्याला सुम्पिहाली । अनि मुसुक्क हास्दै भनी “आरपि”

म डरमिश्रित आवाजमा भने “हजुर” ।

उस्ले मतिर चोर औली देखाउदै “केही ?”

म “अँ” भन्दै चिठ्ठी दिने प्रयत्नमा जुटे ।

उस्को हातमा चिठी थमाउदै गर्दा मेरा हात काप्न थाले । बिस्तारै एक-एक अङग गर्दै मेरो शरिर पुरै थरथरायो भाएब्रेटर झै । रातो पिरो भैरहेको थिए । निभ्न लागेको बत्तीझै मेरा आँखाँ पिलपिल गर्न थाले । मैले गुहार मात्र भन्न सकेको थिइन स्वासै जाला जस्तो भएर । साला डर ! मेरो प्रेमको बिपक्षमा मेरै शरिरभित्रबाट मलाई बलत्कार गर्दै थियो । मेरो हलत देखेर पूजा केही बोल्न खोजिन या चाहिन सरासर चिठी लिएर घरतिरको बाटो लागि । मलाई अर्धचेत अवस्थामा छाडेर । केहीबेरको उस्को बसाई मेरो लागि कति घातक हुन्थ्यो उस्ले बुझिछ क्यार ।

“प्रेमको गहिराई थाहा नपाउदै उस्को सुन्दरताको धरातलमा पौडीन खोज्नु कतिको न्यायोचित थियो त ?”

“कतै यसको परीणाम गलत आयो भने ?”

“सबैको नजरमा म नराम्रो बन्नुपर्यो भने ?”

यस्ता यावत प्रश्नका बाबजुत म निदाउने कष्ट उठाइन । छटपटीले बिशौ चोटी मुतायो, दशौ चोटी हगायो के के गराएन ? थकित भएछन क्यारे इन्द्रीय भुसुक्क निदाएछु । बिहानीपख ।

राती सपनीमाः पुजाले मेरो चिठ्ठीको पछाडि “आइ लभ यु टु” लेखेर दिइ । उस्ले चिठी दिदाँ हामी स्कुलपछाडिको चौतारीमा थियौ । सिरसिरे बतास चलेको थियो । मेरो खुशीबाट परावर्तित चहकले उस्को अनुहार झन चमकदार बनिरहेको थियो । अचानक सिरेठोले मेरो हातको चिठी उडायो । म त्यही चिठीतर्फ हेर्दै चिच्चाइरहेको थिए । झल्यास्स ब्युझिएछु । डरले मनमा नौमती बाजा बजाउन थाल्यो ।

त्यो दिन मेरो प्रेमको लागि कोशेढुङगा थियो । आर्यनको घरमा बोलाउन गाको थे । “साला मालाई छाडेर फाडी हान्दिसकेछ’’ अल्लि फरक ब्यावहार गर्दै थियो आर्यन पनि केही दिन यता ।

सरासर क्लस पुगे । सबै प्रेयरको लागि मैदानमा गैसकेका । प्रेयर हुने तयारीमा थियो । म चाहिँ त्यतिका मान्छेको भीडमा पुजाको उपस्थिति खोजिरहेको थिए ।

त्यतिकैमा अगाडिबाट ध्रुब सरले आर्यन, आरपि र पूजा अगाडि आऊ भन्ने । म छागाँबाट खसेझै अनुभाव गरिरहेको थिए । मेरो शरिरको भाइब्रेटर सक्रिय भयो; काप्न थाले । कता कता डाको छाडेर रुन मन लागिरहेको थियो । मामीला आखिर पुजाको र मेरो थियो सरले किन यो आर्यनलाई पनि बोलाए । म बुझ्न सकिन । सुरुमा त गाडीमा हिड्दा रुख हिड्या कि गाडी भनेझै ठम्याउन गार्हो पर्यो । उसो त मेरो दिमाग काम गरिरहेको थिएन कमसेकम त्यो पल । फासी नै किन नहोस पीडा एक्लैभन्दा अरुको साथमा भोग्दा कम दर्द हुन्छ । थोरै आत्मविश्वास बढेर आयो । किनकि त्यहाँ आर्यन पनि थियो ।

म निन्याउरो हुदै अगाडि गए ।

“के हो यो ?” सर झपार्दै थिए, हातको चिठी देखाउदै । म केही बोलिन ।

“दिन सक्छस अनि अहिले चाहिँ किन चुप ?”

“सरी सर” यत्ती भने स्वर कमाँउदै ।

अनि सर आर्यनतिर फर्केर भन्नुभो “त नि तँ; आफ्नै साथीलाई यस्तो नजरले हेर्न लाज लाग्दैन ?” साला केही बोलेन त्यो पनि । त्यतिन्जेल मैले आर्यनले केहीदिन देखी मलाई गरेको ब्यावहारबाट अनुमान गरिसकेको थिए कि साला पनि पुजालाई चिठी लेखेछ ।

हामी दुवैले सारा स्कुलेको अगाडि पुजासगँ माफी माग्यौ । सरले दु-दुई थप्पड हाने । कुखुरी बन्नुपर्यो । अब चै पुजासगँ रिस उठ्न थाल्यो । उही दिन चिठी लिदा भनेको भए हुन्थ्यो नि “आई कान्ट लभ यू” भनेर । के काना बलत्कार नै गरे झै गरी । केटीले आफ्नो सुन्दरताको पब्लिसिटीकै लागि भए पनि अरुको मुटुमा घचक्क लात हान्दा रैछन मैले बुझे । पुजाले जुन किसिमले मेरो मन दुखाएकी थिई त्यसरी नै केटीको मन दुखाउन म जोड घटाउ गर्दै थिए । उसको त्यो ब्यावहारको कारण म भित्र बनेको केटीप्रतीको धारणा नै बदलिएको थियो । सुनेको थिए भावनात्मक चोट ज्यादा केटीलाई लाग्छ रे । आज बुझे पनि आखिर तिनको ब्यावहार पनि त्यस्तै हुदो रहेछ त; घटिया ।

स्कुलबाट फर्कने क्रममा आर्यनलाई भनेः“यो खेल त मैले नै जित्छु भनेको थिए साला त भाझो हाल्न आइस है ?” ।

“मुला, जुन खेल होस जित त मेरै हो नि; जस्ट वेट एन्ड वाचँ’’ भनिरहेको थियो ऊ । कहिल्यै नहारे नगरेझै निर्धक्कसाथ ।

यो विषयले सारा स्कुल नै कब्जा गरिरहेको थियो । खाजा चोर, अब लभ गुरु भए भन्दै । हाम्रो ईज्यत शुन्यमा विलिन हुदै थियो; साथी,गुरु,परिवार सबैबाट । स्कुल भनु या तनाब बेसाउने भारी । बार्षिक परिक्षा मैले केही जानेर लेखिन सब अँध्यारोमा झटारो हानियो । फेल नहुने पक्का थियो तर टप फाईफमा पर्ने झिनो आषसम्म बाकी थिएन । कहाँको मान्छे कहाँ आएर प्रेमको नाममा आफ्नो अभिमान खराब बनाए । सोच्थे । ग्लानि भएर आउथ्यो । प्रतिकार गर्ने सामर्थ्य थिएन ।

सबैले हामीलाई नराम्रो सोच्न थाले । जसले गर्दा आर्यन र मेरो आत्मीयता बढ्दो थियो । कहिल्यै नहारेका हामी आज सबको सामु हारेका थियौ ; चुकाका थियौ अनि भित्र भित्रै दबिएर दुखेका थियौ । आखिर यो खेल कस्तो ? दुवैलाई हराउने ।

################

कक्षा दश सुरु भयो । उत्साहको नामोनिसान थिएन जिउमा । फलामे ढोका मानिन्थ्यो प्रवेशिका । आफूमा फलामे ढोका नाध्ने तागत छ जस्तै नलाग्ने । उसो त दुनियाले तोकेभन्दा ठुलो ढोका दिलमा बन्द थियो । पढाइको दुर्गती । आर्यन र म ; सातौ र आठौ स्थानमा पछारिएका थियौ । यो खबरले घरपरिवार दुख्नुसम्म दुखे । खुशी, न त मेरो परिवार थिए न त आर्यनको परिवार नै । परिवार दुखी बनेका थियो । कताबाट कसरी त्यो बुद्दीमा फसियो पत्तो भएन । समयले फरक मोड लियो । म अनि आर्यन अब प्रवेशिका तयारीको लागि शहर जाने भयौ । फरक फरक माहोलमा । “पिटेनि आमै जाति पोलेनी घामै जाती” भनेझै त्यो स्कुल मेरो आमा समान थियो । मेरो क-ख देखि वाइ-जेड त्यही सुरु भएको थियो । होलान मेरा हजार गल्ती ती सब भुलेर काखमा लुटपुटाउथ्यो त्यो प्रकृति । जहाँबाट मैले आफ्नो अस्तित्व बेइमानीले गुमाएको थिए आखिर म भोलि आफ्नो परीचय खोज्दै जाने भनेको त्यही ठाउँ थियो । मेरो स्कुल !

परिवारको सपना प्राप्तिको लागि शहर झरियो । होस्टेलको बसाई । म कैदी समान हुँदोहु । पढ्नुको शिवाः अरु स्वास लिने फुर्सद हुन्थेन । क्लालेन्डरमा धर्का तानेर घर जाने दिन गन्नु पर्थ्यो । खुब रुन्थे । सबको याद आउने; आमाको याद बढ्ता आउथ्यो । घर हुदाँ एक रात बाहिर गा’को हैन । एकान्त के हो मैले त्यही बेला थाहा पाए । धन्न म बौलाइन त्यसमै खुशी लाग्छ । बिस्तार बिस्तार सबै सामान्य नै चल्दै गयो नयाँ साथी बन्दै गए । सरहरू पनि आफ्नै लाग्न थाले । समयसङगै म पनि बदलिएको आभास हुन थाल्यो । धरी धरी पुजालाई सम्झन्थे । अब उस्को अगाडि पर्दा नमज्जाले झपार्छु भन्दै हास्थे । सालीले गद्दार गरेकै हो हामीसगँ । आर्यन अनि म । साला आर्यनलाई पनि नसम्झेको चै हैन । बिस्तार बिस्तार पुराना दुखद क्षणहरू मुस्कान बोकेर आउन थाले । म कस्तो थिए है । भन्दै आफूसगै हास्थे ।

दशैमा घर गएको थिए पुजाको बिहे भैसकेको रहेछ । आर्यन पनि गाऊँ आउनै छाडेछ । कसैसगँ भेट नगरी फर्किए । प्रवेशिका दिईयो । आर्यन अनि म । दुवैको बराबर अङक आएको रैछ । आखिर यसपालि पनि हामी दुवै समान नै थियो । यसको मतलब यो भन्न मिल्ला कि हामी दुईमा न आर्यनले जितेको थियो न मैले ।

“आखिर जित कस्को भयो त ? ” मैले आर्यनलाई फोनमा सोधे ।

ऊ हास्दै “हाम्रो” भन्यो ।

“अनि त, तँ म जित्छु भन्थिस त ?” मैले हास्दै भने ।

ऊ मस्किदै “हा हा ! आर्यन जित्यो र आरपि हारेन ?”

“यसको मतलब हामी दुवै जित्यौ ? अनि पूजा ?” मैले प्रश्नवाचन लवजमा सोधे ।

“जित हाम्रो भयो । बस् पूजा हाम्री भइन ।” दुवै हासियो ।

मलाई लाग्यो । जिन्दगीमा त्यस्ता अनेकौ खेल हुन्छन जसमा दुवैको जित हुन्छ या दुवैको हार । कक्षा दुईबाट सुरु भएको हाम्रो खेलमा दुवैले बरावर जित्यौ अनि बराबर हार्यौ । हामीले प्रेमको खेल हार्यौ । साथीत्वको खेलमा कहिल्यै हारेनौ । जिन्दगीको हरेक प्रहरसगै खेलहरू आँउछन; पलपल स्वरुप बदल्दै । हामी त्यही खेल जित्ने प्रयत्नका साथ दौडिन्छौ । जीवन सबैले जितेरनै पाँउछ यसर्थ कि जन्मनु जित हो र हार्नु मृत्यू । खेल्नु या जिउनु नै जित रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *