पहिला कुरा: म चिसो छु ।
जम्छु भनेर रेफ्रिजेरेटरबाट कसैले निकालिदिए जस्तो ।
दोस्रो: म तात्न चहान्न ।
दिमागका तारहरू पुरानो तानपुराको तार जस्तो भइसकेका छन् । पहिले नै बजिसकेका छन् । झन बजाउने हो भने चुँडिन बेर छैन । दिमाग उड्छ । मान्छे बहुलाउँछ । सोच्नै छोड्छु ।
अब, अगाडि उभिएकि स्वास्नीमान्छेलाई नियाल्न लागें । उत्पातै राम्रि छे । नि लेन्थ ए-लाइन स्कर्ट लगाएकि । गोरि । अंग्रेजि केटी । बिहे भइसकेको छ । म अनुमान गर्छु । वा हुन सक्छ लिभिङ-टुगेदर संगतमा छे । वा भर्खरै डिभोर्स भएता पनि फेसबुकमा रिलेसनसिप स्सटेटस् ‘ईट्स कम्पलिकेटेड्’ राखेकि हुन सक्छे ।
गए राति उसैको अपार्टमेन्टमा गएर उसको भुतपूर्व लोग्नेले रक्सी नलागेकै सुरमा झापु हान्यो । त्यसैले गाला राता छन् वा हुन सक्छ गर्मीले तातेर पनि रगत चुहिएला जस्तो रातो देखिएको हुन सक्छ । अनुमान हो ।
ऊ मेरो सम्मुख उभिएकि छे । हामी बिच तीन चार गजको ह्वाङग छ । त्यही ह्वाङग परेको ठाउँबाट मान्छेहरू ओहरदोहर गरिरहेका छन् । उसको नि लेन्थ ए-लाइन स्कर्ट माथि सर्छ । ऊ तल तान्छे । फेरि सर्छ । फेरि तल तान्छे । उसले निकै बेर पछि ख्याल गरी म उसको उपक्रम हेरिरहेको छु । फेरि भन्छु । ऊ अघोरै राम्रि छे । अब मलाई हाँस्न कर लाग्यो । ऊ पनि हाँस्लि भन्ने लागेको थियो । तर अनुमान गलत भयो । ऊ हाँसिन ।
अर्को ११-१२ मिनेट पछि । उसैले सोधि ।
‘महाशय । तपाई लेखक हो ?’
होइन भन्छु । तर मुखबाट हो निस्कियो । भने । ‘किन खलबलायौ मलाई ?’
‘निजि मामला हो ।’ ऊ त रन्किन खोजी । ‘मेरो बारे के के अनुमान गर्यौ ?’ उसैले सोधि ।
‘धेरै कुरा’ मैले अब वास्ता नराख्न खोजे जसरी जवाफ दिएँ ।
‘जलवायु-मौसम को अनुमान गर्नेले जस्तो किन मुख फेरेको ?’ ऊ सम्हालिन खोजी । या भनु चिसिन खोजी ।
‘म मौसम होइन ।’ केही सेकेण्ड चुप लागें र तुरुन्तै भने ‘न त प्रत्येक बिहान छापिने हरस्कोप’ ।
‘त्यसो भए तिमी आफूलाई गलत साबित गर्न सक्छौ ?’
‘ सक्छु ‘ मलाई त्यो स्वास्निमान्छेले तताउन खोजी ।
‘सकेनौ भने?’ जोरि खोजी ।
‘तिम्रो निम्ता अस्वीकार गरुँला ।’
‘तिमीलाई लाग्छ म आफ्नो ठेगाना टिपाँउछु ।’ नि लेन्थ ए-लाइन स्कर्टले भनी ।
दुई जना मान्छेहरू हामी बिचको ह्वाङग परेको ठाउँबाट निस्कन खोजे । त्यतिनजेल ऊ चुप लागि । त्यही ह्वाङग परेको ठाउँ हुँदै एक लस्कर मान्छे भित्र पसे ।
उसले मलाई आफ्नो ठेगाना भनी । मैले भरे आउने पक्का गरेको कुरा बताइदिएँ ।
अब त्यस स्वास्निमान्छेको कोठामा । म चुपचाप छु । मौन छ भित्ताहरू । एनामा ऊ आफ्नो नाङ्गो शरिर हेरिरहेकि छे । मेरो टाउको तातेको छ । माईक्रोवेभ-वभनबाट भर्खरै झिकेको तातो अण्डा जस्तो ।
‘मलाई बरफका टुक्राहरू देऊ । मेरो टाउको चिस्याउँछु ।’ मैले स्वास्निमान्छेलाई आदेश दिए ।
उसले आदेशको पालना गरी र बरफका टुक्राहरू मेरो टाउकोमा दलि दिन थाली । बरफ पग्लिएर तप तप निधारबाट चुहिन थाल्यो । गर्मी बडेर हो कि । मानिस धेरै भएर हो । पसिना चुहिन थाल्यो । गालाहरू रगत चुहिएला जस्तो रातो भइसकेको थियो ।
अगाडि उभिएकि केटीले चिनेजसरी हेरिरहेकी थिई । मलाई लाग्छ मैले पनि उसलाई कतै देखेको हुनुपर्छ । उसैलाई सोधुं कि जस्तो लाग्यो । मौका गुम्ने डरले सोधिहालें ।
‘तिमीलाई पहिले कतै भेटेको छु ?’
‘छैन’ केटीले जवाफ फर्काई ।
‘त्यसो भए तिम्रा गाला किन राता छैनन्?’ मैले तिमीलाई गाला रातो भएको बेला भेटेको थिएँ । हामी बिच यति अन्तर थियो ।’ मैले ह्वाङग परेको ठाउँ देखाएर उसलाई संझाउन खोजें ।
ऊ बोलिन ।
मैले म मौसम होइन या दैनिक छापिने हरस्कोप होइन भनेको तिमीलाई याद छैन ?’
‘छैन’ । उसले इन्कार गरी ।
‘त्यसो भए..’
‘मान्छेलाई कहिले कहिले भ्रम हुन्छ ।’
‘यो भ्रम होइन ।’
‘लाग्छ तपाई कुनै योजनामा निस्कनु भएको थियो ।’ उसले मबाट कुरा धुत्न खोजे जसरी भनी मानौ ऊ सरकारी वकिल हो ।
‘कस्तो योजना?’
‘कुनै गोप्य योजना जुन अरुलाई भन्न अनुचित पनि हुन्छ ।’
म अब अरु ढाँट्न सक्दिन । मैले उसको कानै छेउ गयर भने ‘हो एउटा योजना छ।’
कसैलाई पनि गोप्यता देखि चाख लाग्छ । ऊ अँझै वर सरि ।
मैले उसलाई मेरो गोप्य योजना सुनाए ।
अर्को दिन । म त्यसैगरी उभिएको बेला त्यस स्वास्निमान्छेलाई देखें । हामी बिच त्यस्तै ह्वाङग परेको ठाउँ थियो । मानिसहरू त्यसमा ओहरदोहर गरिरहेका थिए । तर त्यस दिन पनि त्यस केटीले मलाई पहिले कतै भेटिसकेको जिकिर गर्न सकिन ।
मेरो दिमाग अब फुट्ला जस्तो भयो । तानपुराको पुरानो तार चुडिन थाले जस्तो दिमागको नशाहरू चुडिन थाले । मैले भने
‘मेरो टाउको फुट्न थाल्यो बरफका टुक्राहरू ल्याईदेऊ ।’
बरफका टुक्रा लिएर कोही आएन । बरा ! यो पहेलि नसुल्झिए पछि तानपुरा टुट्यो….. ।
