समयले मलाई नै, खोजेको होला भनेरै
होड गर्छु सधैँभरि, कीर्ति राख्न घरिघरि ।
आफैँलाई जित्न पनि, नौनी आˆनै झिक्न पनि
आफैँलाई मथ्नुपर्छ, फलको सृष्टि कथ्नुपर्छ ।
कल्पवृक्ष बुद्धि हो कि, कामधेनु ‘म नै’ हो कि
भन्ने ठानी आँखा चिम्ली, आफैँ बत्ती बन्ने हो कि ?
मनको बिजुलीका तार, नानाथरी जोरिहेर्छु ।
रङ्गीचङ्गी बत्तीबाट, बुट्टे नक्सा कोरिहेर्छु ।
समयको फित्ता टेकी, पाइला जत्ति सारे पनि
फुर्सदै नभए पनि, किन ठाउँको ठावैँ छु नि ?
मधुपर्क पुष, २०६५
