आज आश्विन ९ गते, २०७१ घटस्थापनाको दिन नवदुर्गा भवानीको पूजाको थालनी, शुभकामना आदान पदान गर्ने अवसर पारेर हाम्रो मझेरी साहित्य प्रतिष्ठानले कथाकार सानु शीतलको कथासङ्ग्रह ‘परिबन्ध’ कृतिमाथि चर्चा –परिचर्चा कार्यक्रम –२०७१, राखेर भरतपुर नगरपालिकको भवनमा, निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले गर्नुभएकोथियो भने प्रमुख अतिथिमा प्रा. धनराज गिरी हुनुहुन्थ्यो ।
विशिष्ट अतिथिमा केशव राज आमोदीजी हुनुको साथै बरिष्ठ साहित्यकार एल.वी. क्षेत्री, समीक्षकजीहरू मधुसुदन दवाडी, मन्तेश्वरी थापा खड्का, रमेश प्रभात, मोहन वस्याल, कथाकार सानु शीतलकी श्रीमती सोनु श्रेष्ठ, साहित्यकारहरू सदानन्द अभागी, कृष्णदेवी शर्मा श्रेष्ठ, गोर्खे साँइलो, कपिल अत्रात, गणेश शर्मा, लेखाराम, प्रभाकर पण्डित, राजेन्द्र थपलिया लगायतका तीन दर्जन जति साहित्यकारको उपस्थिति (सबैको नाम यहाँ प्रस्तुत गर्न नसकेकोमा क्षमाप्राथी छु) रहेको थियो । यस कथासङ्ग्रहमा ओइलिएको फूल, साँढेको जुधाई बाच्छाको मिचाइ, चुहिएको छानो, मलाई अँध्यारोमा बाँच्न देऊ, गुनी भैंसी, परिवन्ध, म, ऊ र उनी, जङ्गले, भिडन्तमा एक आतङ्क कारीको मृत्यु, बाँझी, भूतको घर, सासूको छोरा, नेपाल आमाको दुखेसो र टुहुराको भाँचिएको मन गरी १४ओटा कथाहरू समावेश गरिएका छन् र आज यी कथाहरूमा चर्चा परिचर्चा गर्नु थियो ।
कार्यक्रमको थालनी १घण्टा ढिलोगरी सञ्चालन गरियो, कार्यक्रम सञ्चालक(उद्घोषक) साहित्यकार श्रीविष्णु तिवारी ‘उषा’को सुमधुर आवाजले हल गुञ्जायमान भयो। प्रमुख अतिथिले कथा पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको थालनी पछि संस्थाका उपादक्ष प्रभाकर पण्डितले उपस्थितिलाई लिएर भन्नुभयो यहाँ संख्याभन्दा पनि गुणात्मक उपस्थितिको साथमा कार्यक्रम अगाडि बढिरहेको छ । यो कामको थालनीले निश्चय नै सकरात्मक उपलब्धी हाँसिल हुने नै छ भन्ने पूर्ण आसामा छु भन्दै स्वागत गर्नुभयो ।
समीक्षकहरूले कृतिको समीक्षा गर्न थाले । प्रथम समीक्षकको रूपमा मधुसुदन दवाडीले साहित्यिक धरातलबाट हेर्दा तथा कथाको सैधान्तिक पक्षबाट यस कृतिका कृतिकारले धेरै मेहनत गर्नु पर्ने देखिन्छ भन्नुभयो । कथा छोटा तथा लामा दुवै प्रकारका छन् । कथाका विषय बस्तुमा विविधता पाइन्छ । दवाडीजीले कथाभित्र समेटिएका घटनाक्रमलाई पनि समेट्ने प्रयास गर्नुभयो । विदेशमा बसेर कृतिलाई प्रकाशनमा ल्याउनु भएकोले उहाँको प्रशंसा गर्नु पर्छ भन्नुभयो ।
मन्तेश्वरी थापा खड्का दोस्रो समीक्षक हुनु हुन्थ्यो । उहाँले सबै कथा पढ्न नभ्याएको भए पनि कथाका घटनाक्रमले यो कथाले नेपालीको हिम्मत हुन्छ भन्ने सत्यतथ्य प्रदर्शन गरेको छ । कथा पढ्दा मन छुन्छ । विदेशमा बसेर कृतिजन्माउनु ठूलो कुरा हो भनेर प्रश्रसा गर्नुभयो ।
तेस्रो समीक्षकको रूपमा रमेश प्रभातले छोटो तर सारगर्भित टिप्पणी प्रस्तुत गर्नुभयो । उहाँको भनाइमा आख्यान बढ्दो क्रममा छ । पाठकको संख्या पनि बढ्दो छ । यस कृतिमा चौध कथाहरू पृथक पृथकरूपमा प्रस्तुत गरिएका छन् । विम्ब, सम्यन्त्र, कथा बस्तु राम्रा छन् । त्रुटीहरू सच्याउन आवश्यक देखिन्छ । सैधान्तिक पक्षमा जानै पर्छ भन्ने छैन । यस कथासङ्ग्रहमा सुन्दर पक्ष पनि छन् । भाषामात्र विषय बस्तु हैन । बास्तवमा कथाले के भन्न चाहेको छ ती तथ्यहरू प्रष्ट हुनु पर्दछ । समग्रमा कथाले प्रस्तुत गर्न चाहेका विषय बस्तुलाई सकरात्मक रूपमा लिन सकिन्छ ।
चौथो समिक्षकको रूपमा मोहन बस्यालले कथाका पंक्ति, पंक्तिमा टीका टिप्पणी गर्नुभयो । आवरण छपाइ राम्रो भएको, रचना गरेकोमा प्रशंसा गर्नु पर्ने, कविताबाट कथा सुरु गरेको भान हुने, कथामा प्रस्तुत गरेका कुरामा आफू कतिपय चिजमा सहमत नरहेको भन्दै ‘ओइलेको फूल’ शीर्षकको‘महान् चाहना र उद्देश्य राखेर सरिताले यस धर्तीमा पाइला टेकेकी थिई ।’ जन्मनुभन्दा पहिला नै महान् चाहना र उद्देश्य राखेर जन्मनु भन्ने धारणा मेल खाँदैनजस्ता अवधारणा राख्नुभयो । मोहन बस्यालजीले कथाकारले कथालेख्दा पाठकले पढ्दा के अनुभूति गर्छ भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ। कथा राम्रो हुन पाठकविच संवाद हुनु आदि थुप्रै सबल र दुर्बल पक्षमा वोकालत गर्नुभयो ।
वक्ताको रूपमा एल.वी. क्षेत्रीले सारगर्भित धारणाहरू राख्नुभयो । उहाँले व्याख्या गरेका विषय बस्तुमा बुँदागत रूपमा यसप्रकार छन् । आख्यान काल्पनिक हो । कथामा पट कथाको भूमिका हुन्छ । कथा लेखनमा सिलसिलेबार मिल्नु पर्छ । आख्यानमा कला हुनै पर्छ । पढाइ गर्दा जेपढे पनि पढने प्रवृति हुनु पर्दछ । कथाको समाप्ती कस्तो हुन्छ सुखान्त या दुखान्त र कथाको शीर्षकले पनि कथाको भाव दर्शाउँछ । यी विविध कुरामा कथालेख्दा ध्यान दिनै पर्छ भन्ने सुझाव दिनु भयो ।
केशवराज आमोदीजीले पनि लेखनमा लेखकका आफ्ना आदर्श हुन्छन् । पात्रमार्फत लेखकले आफ्ना धारणा राख्छ । कथामा प्रभाव पार्ने शक्ति हुनुपर्दछ । झिना मसिना कुरालाई निफन्दै अगाडि बढ्नुु पर्छ । लेखनमा शुद्धता चाहिन्छ । त्यसो हुँदा व्याकरणमा ध्यान दिनु पर्छ भन्नुभयो ।
प्रमुखअतिथिको आसनबाट प्रा. धनराज गिरीले कथा लेखन गर्दा कथाहरूको अध्ययन हुनुपर्दछ र कथा लेख्ने आइडिया हुन्छ । यस कृतिमा भाषा सरल छ । लेख्नेकर्ममा निरन्तरताको खाँचो छ । लेख्दै जाँदा परिमार्जन पनि हुँदै जान्छ । लेखकको प्रयास प्रशंसनीय छ, भन्नुभयो ।
कार्यक्रम सञ्चालक विष्नु तिवारी उषाले आफ्नो भूमिका निभाउँदै सबैलाई धन्यवाद दिंदै, आफ्नो मन्तव्य सहित सभा विशर्जनको लागि माइक्रोफोन सभाका सभापति पुष्प अधिकारी अञ्जलिलाई हस्तान्तरण गर्नुभयो ।
सभापतिले यो कृतिको भुरी भुरी प्रशंसा गर्नुभयो । कथाकारको अर्को कथा चाँडै नै आउने भविष्यवाणी पनि गर्नुभयो । यस कृतिको समीक्षा पनि प्रकाशित हुँदैछन् भन्ने जानकारी दिंदै साथै लेखककी श्रीमती सोनु श्रेष्ठको प्रशंसा गर्दै सभालाई विसर्जन गर्नुभयो ।
अत कार्यक्रम निकै प्रभावकारी रूपमा सञ्चालन भयो । कृतिमाथि चर्चा –परिचर्चा कार्यक्रमले निरन्तरता पाउनु पर्ने महसुस भयो । कृतिमाथि चर्चा परिचर्चा गर्दा लेखकको उपस्थिति हुनुपर्ने कुराहरूपनि छलफलमा आए । लेखकको खाली ठाउँलाई लेखककी श्रीमती कृति प्रकाशक श्रीमती सोनु श्रेष्ठले पूर्णाता दिनु भयो, आफ्नो धारणा पनि राख्नुभयो । ‘परिबन्ध’ समीक्षार्थ आज मात्रै हात पर्यो निश्चय नै यसभित्रका सत्यतथ्य केलाउने नै छु । अन्त्यम विजय दशमीको सुअवसरमा सबैलाई मङ्गलमय शुभ कामना एक मुक्तकबाट,टक्क्रयाउँदै बिदा चाहन्छु ।
शुभ विजया सबलाई शुभ कामना
मङ्गलमय हओस् सबका भावना
देशले पाउन सकोस् सुसंविधान
शिवा तिमीमा छ यो हाम्रो आराधना
सदानन्द अभागी
