प्राज्ञ उन्नति बोहरा शीलाको दोस्रो उपन्यास तृष्णा लोकार्पण भएको छ । डा. हर्षबहादुर बुढा मगर स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र नेपाल सङ्गित नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्तले संयुक्त रुपमा तृष्णाको लोकार्पण गर्नुभएको थियो ।
बाल मनोविज्ञान र यथार्थ घटनामा आधारित उपन्यास तृष्णा आमाबाबुबाट तिरस्कृत भएर वयस्क बनेको एक अनाथ बालकको जीवन भोगाई र उसैको जीवनमा सुखदुःखका पक्षलाई समेटेर तयार पारिएको उपन्यास भएको लेखिका बोहराले कार्यक्रममा जानकारी दिनुभयो । उन्नतिले साहित्य र लेखन क्षेत्रमा आफ्नो सक्रियतालाई निरन्तर लैजाने पनि बताइन् ।
उपन्यास बिक्रीबाट आएको ५० प्रतिशत रकम गोदावरीस्थित आमाघरलाई सहयोगार्थ प्रदान गर्ने पनि उनले घोषणा गरिन् । मेरो बुझाईमा साहित्यको अर्को अर्थ परोपकार पनि हो उनले बताइन् । बुबा हर्षबहादुरको ८६ औं जन्मजयन्ती अवसर पारी उनले कृति ल्याएकी हुन् ।
उपन्यास तृष्णाको सन्दर्भमा टिप्पणी गर्दै समालोचक गीता त्रिपाठी र डा. नारायण चालिसेले यथार्थ घटनाको सेरोफेरोमा उपन्यासको कथावस्तु रहेको बताउनुभयो ।
प्रस्तुतिः अरुणबहादुर खत्री “नदी”

