Skip to content

सानी बैनीलाई जवाफ


आँगनीमा फुलेका फूलहरू टपक् टपक् चुँडेर
फटाफट धागोमा उनेर भाइटिका पुज्ने
तिम्रा रहरहरू यसपाली निरहरकै इनारभित्र हराउने
लगभग पक्कापक्की छ सानी बहिनी !
आँगनी र बलेसीमा घरिघरि निस्कदै आँखामाथि हत्केलाको ढकनी राखेर
निक्कै पर परसम्म आँखा पोलिन्जेल हेरेपनि,
बिहान देखि बेलुकीसम्म केही नखाई पर्खिबसे पनि,
तिम्रा भाइटिका पुज्ने आशाका ठूला ठूला बेलुनहरू
निष्ठुर ती समय र परिस्थितिका तिखा काँडाहरूले ड्याम्म फुटाउने
लगभग पक्कापक्की छ सानी बहिनी !
किनकि म यो पराई भूमिमा आफ्ना समस्याका
रित्ता झोलिहरू भर्ने अथक प्रयासमा छु
थाहा छैन भरिन्छन् या भरिन्न्नन्
तर पनि आफ्नो बल बुँताले भ्याएसम्म कोसिस गरिरहेछु
अरुको घर चुना र डिस्टेम्बरले रंगिदा
हाम्रो घर कमेरो र रातो माटोले रंगिएको
मैले कहाँ भुलेको छु र !
आँगनीमा देउसे भैलीहरू कराइरहदाँ
आमा पल्लोघरतिर खुरुरु दौडेको
मैले कहाँ भुलेको छु र !
त्यसैले तिम्रा आँगनीमा फुलेका ढकमक्क फूलहरूले
अँझै मलाई बोलाउने हिम्मत गर्दैनन् सानी बहिनी !
त्यसैले तिम्रा दशैं र तिहारले मेरो वर्षौ नपोतिएको
निधार पोत्ने साहस अँझै गर्दैनन् सानी बहिनी !
तैपनि तिमीले मिठा मिठा शब्दका बुट्टाहरू भरेर पठाएको निम्तोरुपी
फेसबुक स्टाटसलाई मेरो सम्मान छ
तिमीसम्म आइपुगेर भाइटिका ग्रहण गरेको
अनुभूति गराएको छ यसले

वसन्त दहाल
गोदक – ४, ईलाम
हाल : दक्षीण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *