Skip to content

थरिथरिका मान्छेलाई थरिथरिका पत्र


प्रिय बेनाम !
–म खुशी छु एकातर्फ, अघोरै दुःखी छु अर्कातिर । दुःख र सुख, आँसु र हाँसो थप्ने तँ को होस् ?

तर, तँ नभई म जीवन अपाङ्ग देख्छु । तेरो मोहनी जालमा फँसेको छु । जब मोहनीले लठ्ठ हुन्छु, जीवनको मज्जा लिन्छु । तैँले लठ्याउन छाडेको बखत मरेतुल्य हुन्छु । तैँले कहिले खुशी पारिस्, कहिले मन अघोरै दुखाइस् । मलाई मात्र हैन सारा जगत्लाई एउटै चक्रमा घुमाइस् । यही सेरोफेरोमा तँलाई कागजमा उतार्दै छु । म तेरो शक्तिलाई लिपिबद्ध गर्दै छु । त्यसैका लागि चिठ्ठी कोर्दै छु ।

–संसार कोठामा ल्याइस् । हरेकको मन–मस्तिष्कमा भित्र्याइस् । पौरख देखाइस् । हृदयमा संसार पसाइस् । यस मानेमा तँलाई साधुवाद !

म लाटो थिएँ, बुङ्गो थिएँ, फुङ्ग उडेको थिएँ । म जङ्गली थिएँ, बाघभालु–चराचुरुङ्गी देख्थेँ । प्रकृतिमा डुब्थेँ । धूलो–मैलो खेल्थेँ । दुईचार अक्षर जानेँ । अरूझैँ लेख्न थालेँ । राजधानी मलाई रद्दीको टोकरीमा मिल्काउँथ्यो । नाथे कागजमा कोर्छ र पनि साहित्यकार बन्न खोज्छ, भन्थ्यो । ठाउँ पाइनँ, नाम पाइनँ । कसैले पत्याउने पनि भइनँ । कता–कताबाट आभास पाएँ । तँलाई सम्झिएँ । तँ कहाँ थिइस्, म जान्दिनँ । तेरो भूत सवार भयो । सहर पसेँ । तेरो साथ मज्जाले पाएँ । फेरि लेख्न थालेँ । पहिले कलमले लेखेँ, पछि त्यसैलाई तँभित्र पसाएँ । अनि, हुइँक्याएँ । तब मात्र सम्पादकको आँखामा बस्न लायकको भएँ । हुँदाहुँदै कहिलेकाहीँ स्थान भेट्न थालेँ । अब त तँ मार्फत नगए, पत्रिकामा मेरो नामको ‘न’ पनि नआउलाझैँ भएँ । जमाना मज्जाले खरिएको भेट्टाएँ ।

–जोगिने उपाय दिइनस्, जोगी नै बनाइस् । भाग्न सकिनँ, फँस्नबाट जोगिइनँ ।

तेरो साथ पाएँ । माथमा राखेँ । एनसेल पोर्ट किनेँ । थोरै चलाउँदा थोरै कट्ने, अँझ चलाउँदै नचलाउँदा कट्दै नकट्ने । सायद यस्तै नारा सुनेँ । त्यो त ठीकै थियो । तर, भन्ने र गर्ने बैधानिक प्रावधान त्यसले मात्र जान्दछ जो छिसिक्क चलायो कि सय एमबी उडेको पत्तै पाउँदैन । फाइल लोड गर्न त ठीकै छ, डाउनलोड गर्दा भने भुसुक्कै मारिस् । भनूँ न एक किसिमले नङ्गट नै पारिस् । फेसबुक चलाउँदा भने सेतो विस्तारामै सुताइस् । नर्स आउँछन्, डाक्टर जाँच्छन् । चिन्ताले खाएको मान्छे भन्छन् । के–को चिन्ता भनी अनुसन्धान गर्छन् । ए यही बेनाम भन्नेले नै चुसेछ, ठान्छन् । धेरै लोड गर् तर थोरै डाउनलोड गर्, फेसबुक नचला, दशतिर मन नडुला, फाइदामा हुन्छस्, भन्छस् । अर्ती दिन्छन्, ओखती छैन, भन्छन् । के गर्नु ! दिनभरि काममा जोतिन्छु, फुर्सदमा तँबाट नै खोसिन्छु । वाध्यताले हैन, रहरले शोषित हुन्छ । फेसबुक खुल्लै रहन्छ, एमबी फुतुफुत कटिरहन्छ । वारपार हेर्या हुन्न, कनेक्सन फेल भन्दिछ । पुरोहितकोमा नगई हुन्न, पात्रो नफेरी हुन्न । प्राइभेट जागिरले गिराएकै छ, त्यसमा पनि तैँले नगिराई छाड्दैनस् । गिरी जा भनी प्रार्थना पो गर्छस् कि, कसो ?

–त्यसले लेखी । तैँले नै ल्याइस् । मैले पढेँ । मनै पगाली । सोरसार द्रव्य तानी । तान्न नै मलाई भगवान् ठानी । भुसुक्कै थाङ्नामै सुताई ।

‘अफ्रिकन सुकुमार युवती हुँ । आमाबुबा युद्धको शिकार भए । २० वर्षे नरसिङ्ग पढ्ने छात्रा पनि हुँ । शरणार्थी क्याम्पमा छु । बाबुको ५८ करोड बैँक ब्यालेन्स छ । विदेशी आफन्तबाट झिक्न सक्ने प्राबधान छ । मलाई पनि तान्नुस्, त्यो ब्यालेन्स पनि आफूसँगै राख्नुस् । सके मलाई नै आफ्नै जीवनसँग गाँस्नुस्, नसके ब्यालेन्सको ७५ प्रतिशत मलाई फिर्ता गर्नुस् । तपाईंकै देशमा लगानी गर्ने व्यवस्था गर्दिनुस् । म त्यहीँ लगानी गर्छु । नालायक हैन, लायक बन्छु ।’

तैँले नै त्यो चिठी दिइस् । म पग्लिएँ । मनी ट्रान्सफरको रकम पठाएँ । तैँले नै पुर्याइस् । फेरि खबर ल्याइनस् । फेरि पत्र पाइनँ । फेरि मन पगाल्ने आवाज सुनिनँ । कुनै बैङ्करले जवाफ लेखेन । कुनै पार्सल भेटिएनँ । मेरो कुनै खातामा रकम ट्रान्सफर भएन । तैँले नै गर्दा अँध्यारामा फँसे । तेरै सहाराले आँखा चिम्लेर वाण चलाएँ । त्यो वाण आफ्नै शरीरमा लाग्यो । धेरै काल थलिएँ । तन्द्रामा आउन धेरैधेरै समय लगाएँ ।

पछि पो ललितपुरे ठिस बूढा भन्ने मित्रबाट थाहा पाएँ । त्यो त साइबर क्राइम रै’छ । घरमा स्वास्नी छे । अर्कीको रहर हैन । विपत्की नारीलाई सहारा दिऊँ, मुलुकमै लगानी भित्र्याऊँ भन्ने चाहना हो । मन मिलेछ भने, विचार एक भएछ भने श्रीमतीको खोजी गर्ने मित्रलाई जोडा बाँधिदिउँ भन्ने मनसाय हो । अरू कुरा जान्नु छ भने बिजुली हुलाक– anita_bedie20065@yahoo.com, assistance_2000_security_service_ci@live.frमा सम्पर्क गर्नुस् । तपाईं पनि फँस्नुहुन्छ । हुन त उतैबाट इन्द्रजाल आ’को हो । फँसाउने धेरै जालहरूमा यो पनि एक जाल हो ।

–डेरा नजिकैकी रानी ! बीबिए परीक्षामा फेल बनी ! शिक्षकबाट के–के सुनी, सुनी । अरूलाई खै के ठानी, ठानी । खबर ल्याउने–लाने तैँ होस् । पासो लागेर माथि नै पुगी !

मेरै डेरा नजिक बस्थी । अनुहारमा राम्री थिई । व्यवहारमा हाम्री थिई । कहिल्यै फेल हुन्नथी । आँसु देखाउँदिनथी । हाँसो मात्र बाहिर ल्याउँथी । ८ मार्चमा कुरा सुनी । ९ मार्चमा संसार छाडी । सबकी मनकी प्यारी थिई । तँ नहुँदो होस् त उसका कानमा हकार, झपार पुग्दैनथ्यो । मनोदशा बदलिँदैनथ्यो । धर्ती छाड्ने कुरा विपना हुँदैनथ्यो ।

–मेरो एउटै मात्र सालो, कतार बस्न थालो । पैसा कमायो, एउटीलाई आफ्नो बनायो । तेरै मद्दत पायो । बिहेवारी गर्यो । तेरै कारण आयो– फेरि फुटायो ।

नेपाल–कतार दुई ठामको मन एक ठाम बनाइस् । संसारभरि झ्याली पिटाइस् । देवदूत–परी मिलन गराइस् । धन्य–धन्य बनाइस् । केही काल वित्न पाएको थिएन–रडाको मच्चियो, तेरै मद्दत पुग्यो । जताततै तँ नै आइस् । मनलाई बहकाइस् । दुवैलाई फुटाइस् । उता ऊ आँसुमा छ, यता यो केमा छे ! त्यो तँ नै जान्दछस् । मसम्म कुनै खबर ल्याइनस् । जोड्ने र फोड्ने दुवै काम तैँले नै गरिस्, गराइस् ।

–आयो, फुन आयो ! नाम हेरेँ, ठूला मान्छेको नाम गाँसिएर आयो । केही दिन भोक न तिर्खा पार्यो ।

नभनी नहुने, भने मन अमिलो हुने ! एक बेला, यता भूमिगतले आगो लगाएका थिए । जसबाट पनि पैसा हसुर्न खटेका थिए । म उकालीको मान्छे रे, यताका ओरालीका मान्छे रे ! मैले हुकुम चलाएँ रे । अर्काको ठाम ओगटेँ रे । गाली सुनेँ, गुहेकीरा नामले पुकारिएँ । नाना भाँतीभाँतीका आशीर्वचन भेट्टाएँ । ठूला मान्छेको नामले मेरो बदनाममा दाम नपाउनुपर्ने हो । मनमा त थियो, मुखमा आएन । कुरा सुन्न सकिनँ । चुपचाप मन थन्क्याएँ । जस्तो आउँछ, मान्छु । जेजे ठान्छन्, ठानिन्छु । यस्तैमा काल वित्यो । वास्तविकता थियो–९८४१५२१७४८बाट हैन, ०३१५२१७४८बाट आएको यशस्वी भवःको बोली । त्यत्ति कुरा नबुझुञ्जेल कति गोली छाडेँ, छाडेँ–९८४१५२१७४८लाई । हाँस्यनीतिको ठेकेदार भनेँ ! दुनियाँ आतङ्कित पारेर जगत्मा भ्रमको बिऊ छर्ने कथित हाँस्यव्यङ्ग्यकार पनि मानेँ । मुख नहेर्ने, बोली नसुन्ने, नाम कहिल्यै नलिने कसम समेत खाएँ । पछि पछुतोमा फँसेँ । आँखा खुलेपछि क्षमा दिनुस् प्रभु भनेँ । बेहोसीमा काम कुरो बिगार्ने, होसमापश्चात्तापमा पर्ने ! म मात्र हैन तपाईं पनि हुनुहुन्छ । नत्र भने मझैं मोबिलमा–९८४१५२१७४८ लेखेर ‘फित्कौली नरनाथ सर’ भन्ने नाम सेभ गर्नुस् । अनि–०३१५२१७४८ डायल गर्नुस् । कसको नाम आउँछ !

–कमसल मान्छे कि राजनीतिमा कि पत्रकारितामा ! तैँले सुविधा दिइस्, एक किसिमको जागिर दिलाइस् । उचालिस् तर जसलाई पनि एकै आसनमा बसालिस् । कुरो बुझिनस्, कुलो मात्र पछ्याइस् ।

कलम चलाउन नजान्ने रहर गर्छन् । जान्नेहरू रहर गर्दैनन् । जान्नेहरू चाहिँ लेखेर जीवन चल्दैन, विचार बाँड्दैमा धन कमिँदैन भन्दै चुपचाप कलम एक कुनामा थन्क्याउँछन् । विचार त होला तर शब्दमा उतार्न नसक्ने पनि छन् पत्रकारितामा ! सत्य बाहिर ल्याउन चाहँदैनन् । यत्ति प्रति पत्रिका निकाली दे भनी ठेक्का दिन्छन् । प्रेस काउन्सिलमा बुझाउन भन्दै बुझाउने प्रति भेला पार्छन् । बजारमा पत्रिका पुग्दैन, पुगे कसैले हेर्दैन । बासी कुरा बासी नै तरिकाले पस्किन्छन् । कपी एण्ड पेष्टको सूत्र अपनाउँछन् । त्यसका लागि समाचारमूलक वेभसाइट छँदैछन् । त्यसैले त पूरै पत्रिका पढेर प्रतिक्रिया जनाइदिनेलाई भगवान् ठान्नुपर्छ । बर्गीकरणमा परिहाल्नेलाई भाग्यमानी मान्नुपर्छ ।

प्रिय बेनाम ! सुविधाको लोभमा, बर्गीकरणमा परिहालिन्छ भन्ने आशमा पत्रिका प्रकाशन भइरहेछन् । सोर्स–फोर्स पुर्याउने, भनसुन ल्याउने, धाकधम्की दिलाउने बर्गीकरणमा परिरहेछन् । नपर्ने चाहिँ वित्थामा सम्पादक/प्रकाशक बनेँछु भनी एक कुनामा थच्चिरहेछन् । गहभरि आँसु बनाएको छ । अन्यायमा परेँ भनी फलाकेको छ । भित्रभित्रै भुट्भुटिएको छ, मुर्मुरिएको छ । इन्तु नचिन्तु भएको छ । परिवारजनले धिक्कारेको छ । अरूले भने गिज्याएको छ । ऊ न यताको छ, न उताको भएको छ ।

अन्तमा भन्नु, मनमा गुन्नु, व्यवहारमा ल्याउनु के–के छ, छ । भनिसाध्य छैन, गरी साध्य छैन । नभनुँ भन्नैपर्ने, भने आफैँ फँसिने ! खै, के गर्ने, गर्ने ! म उचालिएँ पनि, म थेचारिएँ पनि । ठिक उचालिएको भए हुन्थ्यो, ठिक थेच्चारिएको भए हुन्थ्यो । नाम नजान्नाले उचालिएँ, शक्ति नबुझ्नाले थेच्चारिएँ । नगरे पनि नहुने, गरे पनि धर नपाइने । तँ अजबको, तँ गजबको रै’छस् । आखिरमा भन्, भन् बेनाम ! तेरो नाम के हो ?

नन्दलाल आचार्य
श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी
(मो. नं. ९८४२८२९२०६)

4 thoughts on “थरिथरिका मान्छेलाई थरिथरिका पत्र”

  1. यता पनि संचार युगको
    यता पनि संचार युगको पराकाष्टामा पेलिएको पढ्न पाइयो । ल हैं होसियार !

  2. नन्दलालजी कुरा ता सारै नै
    नन्दलालजी कुरा ता सारै नै सामयिक पाे रहेछन् त अहिले विजुली हुलाक मुखभारत र अन्य थरिका विद्युतीय तरङ्गका कारण समाजमा बढेकाे विकृति र बेथितीकाे लेखा लगाउन नसकिने भयाे । समाजलाइ गलत दिशातिर लाने वस्तु ता यी थिएनन् तर यसकाे दुरुपयाेगले समाज भताभुङ्ग हुने हाे कि भन्ने पाे डर भयाे ।

  3. THANKS K.S. & HOM sir
    bhogailai lipibaddha garna khojeko ho.
    sabai ghatana najikaibat mahasus gariyo ra po……………..kalam chaleko ho.
    ………….
    sadbhabka lagi hardik dhanyabad 6…………………..
    ……………….
    aaj akhtiyarko nam ma bhogeko tito anubhab pani lekhne surma 6u.

    ……….
    nam becher eka janale aatank machchae……………………..thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *