Skip to content

जन्म रात र पुनःर्मूल्याङ्कन


जोडिन नसकेका
सपनाका कडीहरू !
जो, मसँगै जन्मिएका थिए
र, देख्नुभएको थियो त्यहाँ हजुरले
भयानक पीडापछि
हाँसेको एउटा सँसार ।

रातहरू हराइरहे रातहरूमै
दिनहरू हराइरहे दिनहरूमै
नखोजी आफूलाई कहिल्यै
हेरिरहनु भयो मेरो उज्यालोलाइ,
एकमुष्ठ अँध्यारो आफैले ओढेर
ध्रुवतारा उदाउँदा
वा दिन वोकेर आउने सूर्य आँगनमा झर्दा
त्यो हजारेको थुँगामा
मेरो मुहारसँगै
स्नेहको चुम्बनले अँगाल्दा
उर्लिएको स्नेहको सागरमा
कहाँ पुगें म ?

हजुरको अन्दाजको दुनियाँ
बस्न सकेन तपाईले सोचेजस्तै
किनकि
तपाईको रचनाको महलमा
आँगन छ, म छैन
छानो छ, चुहिरहन्छन आँशुहरू
र, झिलीमिली छ
तरपनि अँध्यारै छन हिमाँशुहरू ।।

आमा ! तपाईको काख !
प्रस्थान विन्दु रहेछ जीवन गोरेटोको
कुद्नु थियो कुदिरहेछु
जब गलित गलित थकित थकित
म सुस्ताउँछु
हजुरका हजारौं हजार यादहरूको छहारीमा
तर
मेरो बाटो हेरेर थकित
तपाई …?

तीन दिन भयो
झिमिक्कै नगरी
पुनःर्मूल्याङ्कन गर्दैछु
म जन्मेको रातको
जन्मसँगै आउने
हजार हजार सपनाका कडीहरूको ।।

— दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *