पकरी–६, सप्तरीमा जन्मेका धीरकुमार श्रेष्ठको नाम साहित्यमा स्थापित छ । नामभन्दा काम देखाउन खोज्ने उनको बानीले गर्दा उनको योगदान बारे सप्तरीबासी नै अनविज्ञ छन् । यसै सिलसिलामा उनको छोटो चिनारीसहित उनको ‘नजन्मिनुपर्ने मान्छे’ कथा–सङ्ग्रह, २०७० बारे एकाध शब्द खर्च गर्ने ध्याउन्नमा छु ।
वि.सं. २०१८ असार २५ गते २०२८ सालतिर ‘वसन्त’ शीर्षकको कविता लेखेर साहित्ययात्रा थालेका श्रेष्ठ निमिष, अभिमन्युजस्ता साहित्यिक उपनामले समेत लेख्दछन् । नेपाली विषयमा स्नाकोत्तर गर्नुका साथै कानूनमा बी.एल. समेत गरेका उनी सरकारी उच्च पदस्थ कर्मचारी पनि हुन् । उनी साहित्यसेवीको रूपमा परिचित हुन रूचाउँछन् ।
उनी सामाजिक न्यायको स्थापनामा थोपा सहयोग भए पनि पुर्याउन सक्नुलाई आफ्नो लेखनीको अभीष्ट ठान्दछन् । मुलभूत रुपमा उनले कुनै वाद वा धाराको नजिक भएर लेख्ने गरेको छैनन् । एउटा स्वस्थ, इमान्दार, न्यायपूर्ण र सहयोगी समाज स्थापनामा थोरै सहायता पुगे त्यही नै धारा वा वाद जे भने पनि हुन्छ भन्ने उनको ठहर छ । वस्तुतः जनविरोधी वाद वा धारा मेरा दृष्टिमा बिझाउँछन् भन्दै आफ्नो स्पष्ट अभिमत प्रकट गर्न उनी पछि पर्दैनन् ।
‘साहित्य, जीवन र समाजलाई अग्रगति दिनमा सहायक हुनुपर्छ । समाजपरिवर्तनका नाममा विकृतिको रास लगाउने साहित्यले कदापि समाजलाई अगाडि बढाउन सक्दैन । विनिर्माण र विभग्नताका नाममा सही मूल्यमान्यता कुल्चिने र भ्रष्टाचारलाई बढावा दिने साहित्यले केही व्यक्तिको क्षणिक अहंतुष्टि त होला तर त्यसले समग्रतामा जीवन र समाजलाई सबैका लागि बाँच्न योग्य बनाउँदैन । यसर्थ साहित्य जनताको कलमद्वारा लेखिएर जनतामै समर्पित हुनुपर्छ ।’ भन्ने लोकतान्त्रिक अभिमतलाई नै उनले आफ्नो साहित्यसम्बन्धी दृष्टिकोण बनाएका छन् ।
पाठकको मौलिक हकमा हस्तक्षेप गर्न रत्तिभर नचाहने स्वभावका उनी रोलाँ बार्थको ‘लेखक–मृत्यु’को समर्थक हुन् । उनी नेपाली साहित्यमा तिलजति भए पनि काम लाग्न योग्य थोरै रचना दिन सकेको भए आफूलाई सार्थक सम्झन्छु भन्न छाड्दैनन् । उनले नेपाली साहित्यमा कथा, निबन्ध, उपन्यास विधामा दर्विलो स्थान बनाएका छन् । यसका अतिरिक्त कक्षा १ देखि १० सम्मका नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको सहलेखन समेत गरिसकेका उनी वालमनोविज्ञानुकूलका घतलाग्दा कथा लेख्ने बालसाहित्यकारका रूपमा समेत परिचित छन् । उनी ‘शब्दाङ्कुर’, ‘दीपशिखा’, ‘ज्योतिपुञ्ज’ ‘प्रशासन’जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्छन् ।
उनको योगदानलाई हेर्ने भने वि.सं. २०६३तिर झर्नुपर्छ किनभने त्यसै मितिबाट उनी फुटकर रचनामा मात्र सीमित नभएर सङग्रहरू निकाल्न थालेका हुन् ।
१ ‘आरम्भ अर्थात् सुरुवात’ (कथासङ्ग्रह ०६३),
२. ‘घुर’ (उपन्यास ०६४),
३. ‘तन्द्रामा अमेरिका’ (हाँस्यव्यङ्ग्य सङ्ग्रह, २०६५)
४. जेब्रा क्रसिङ (सचित्र बालकथा, २०६५)
५. ‘अग्लो घाँस’ (तथ्य पुस्तक, २०१० सन्)
६. ‘हलो जोते खाए माम’ (बालकथासङ्ग्रह, २०६५)
७. ‘बाइसौँ शताब्दी’ (हिन्दीबाट अनुवाद, २०६७)
८. कक्षा एकदेखि पाँचसम्मका ‘सरल नेपाली बालव्याकरण र रचना’ किताबको सहलेखन र सम्पादन
९. नर्सरीदेखि कक्षा सातसम्मका ‘मेरो प्यारो नेपाली’ किताबको सहलेखन र सम्पादन
१०. कक्षा छदेखि आठसम्मको ‘निम्न माध्यमिक नेपाली व्याकरण र रचना’ किताबको सहलेखन र सम्पादन
११. कक्षा ९ र १०का लागि ‘प्रयोगात्मक नेपाली व्याकरण र रचनाशिल्प’ किताबको सहलेखन र सम्पादन
१२. ‘नजन्मिनुपर्ने मान्छे’ (कथा सङ्ग्रह, २०७०)
उनको सद्य कृति ‘नजन्मिनुपर्ने मान्छे’ (कथा–सङ्ग्रह, २०७०) भित्रका १६ वटा कथाको सेरोफेरोमा रहेर यस आलेखलाई मूर्तरूप दिन खोजिएको छ ।
लेखन र पठन अमूल्य कर्म हो । लेखक र शीर्षक पढ्दै थन्क्याउँदै जाने पाठकीय रोग हो । असल पाठक बन्न नसक्ने मान्छेलाई असल लेखक बन्न सहज हुँदैन । जसले पनि काम लाग्ने कुरा त पढ्नै पर्छ । नलाग्ने कुरा पत्ता लगाउन समेत पढ्नै पर्छ । पाठकीय भूमिका निर्वाह गर्न पनि पढ्नै पर्छ । नपढी नयाँ दिशा देखिदै देखिन्न । वर्तमानलाई बुझ्न र दृष्टि तिखार्न पनि पढ्नै पर्छ । लेखन र पठन संस्कृतिले मलजल भेटेमा मात्र मनग्यै बुद्धिजीवी जन्मन्छन् । अनि, बौद्धिक क्रान्ति सम्भव हुन्छ । विनाबौद्धिक क्रान्ति समाजको अग्रगामी परिवर्तन असम्भव छ । नेपालमा बौद्धिक क्रन्तिको अभाव खट्केको छ । राजनीतिको पिछलग्गु भएर बौद्धिक क्षेत्र धरापमा फँसेको छ । संसार परिवर्तनको अचुक अस्त्र बौद्धिक वर्गमा छ । त्यस अस्त्रको उपयोग नगर्ने मुलुक नै युगौंयुगदेखि पछि परेको छ । त्यही वर्गमा अँझसम्म हामी छौँ । हामी हातमा सारसौंदो लाइट बोकेर प्रकाशको खोजीमा अन्धकारमा भौतारिरहेका छौं । यस कुरालाई ‘आरम्भ र अन्त्य’ शीर्षकको कथाले सम्बोधन गरेको छ । अतः प्रत्येक विहानी लेखन र पठनबाट आरम्भ हुनुपर्छ । अरूले पढून् भनेर लेखिनुपर्छ । लेखनले कुनै न कुनै मानवीय संवेदनालाई समेटेको हुनुपर्छ । पठनबाट अन्तस्करण चिमट्यो वा ऊर्जा प्राप्त भयो त्यसमा हेक्का राखी स्वतन्त्र दृष्टिकोण बनाउने जो कोही पनि स्वतन्त्र छ । लोककल्याणकारी राज्यव्यवस्थामा यही त एउटा मनमा राख्ने काम हो । यस प्रकारका आवाज वुलन्द पार्ने कथा हो– ‘आरम्भ र अन्त्य’ ।
अतृप्त इच्छा नै अनैतिकताको घर हो । त्यस्तो इच्छाले मानिसको होस हराइदिन्छ । सोचसमझ गुमाइदिन्छ । एक थोक गर्छु भने पनि अर्को थोक गर्न अग्रसर गराइदिन्छ । आँखा लोभको सारथि हुन्छ । यसले जे राम्रो देख्छ, त्यो आफ्नै होस् भन्दछ । वास्तविक जीवनमा सबै कुरा प्राप्ति हुँदैन यद्यपि प्राप्त भइदिए हुन्थ्यो भन्दछ । समाजमा मुखले एकातिर सङ्केत गर्ने र व्यवहार अर्कातिर गर्ने प्रवृति नौलो होइन । सन्तानसुखको लालच महिलामा बढी हुनु स्वभाविक हो । प्राप्त भए केही र नभए भयानक स्वभाव देखाउन पनि महिला नै दुईचार हात अघि हुन्छन् ।
‘उफान’ को अर्थ हुन्छ– १. दूध आदि उम्लेर माथि उठेको फिँजसहितको भाग, उमाल । २. मनोद्वेग, मानसिक झोक्का –(नेपाली वृहत् शब्दकोश) प्रस्तुत ‘उफान’ कथाको सङ्केत पनि नारी मनोविज्ञान रहस्यमयी हुन्छ भन्ने देखाउनुमा केन्द्रित छ । भाउजू र देवरको पवित्र नातामा समेत कसरमसर देखिन्छ । कमजोर मनकी भाउजूको व्यवहार अलिक उत्ताउलो छ । सहज भावको देवर धैर्यले काम लिन्छ । भाउजूको सन्तान प्राप्तिको अतृप्त चाहनाले संवेदना जगाउने काम गरेको छ भने देवरको होसपूर्ण कृत्यले समाजको साख अडेको छ । यसरी ‘उफान’ कथाले दोस्रो अर्थलाई सम्बोधन गर्दै भाउजूको मनोद्वेगलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ ।
असल मान्छेलाई मन पराउने असलै हुन्छ । कमसलले असललाई चिन्न सक्दैन । कमसलको जमातमा असलको काम हुन्न । यस युगमा एक्लो वृहस्पति भएर जिउन साह्रै गाह्रो छ । हर ठाउँमा भ्रष्टाचार व्याप्त छ । यसका विरुद्ध कर्मले उभिनेहरू औंलामा गन्न सकिने सङ्ख्यामा मात्र छन् । कुशासनमा आफ्नो भाग्योदय देख्नेहरूको सङ्ख्या गनी साध्य छैनन् । धर्ममा रहेर कार्यसम्पादन गर्नेहरू न सुखानुभूति पाउँछन्, न त इज्जत नै भेट्छन् । तिनीहरू त जहिले पनि परिस्थितिका बन्दी हुन्छन् र अर्कालाई अघि बढ्ने सिँढी भइदिन्छन् । माथिको कुरालाई सम्बोधन गर्ने प्रस्तुत ‘चक्रव्यूह’ कथामा असल हाकिमले कार्यालयको बिग्रदो रीतिथितिलाई सपार्न खोजेका छन् । तर कर्मचारीहरू हाकिम पत्नी र छोराछोरीहरूलाई भ्रममा राखी हाकिमकै जीवनलई शालिकमा परिणत गर्न सफल हुन्छन् । यस प्रकार षडयन्त्रपूर्वकतवरले एक राष्ट्रसेवक जनताको संरक्षणको अभावमा सहादत प्राप्त गर्नुपरेको मार्मिक प्रसङ्ग कथामा चर्चा गरिएको छ । जनता मञ्चीय कुरा बुझ्न सक्ने तर नेपथ्य कुराको जानिफकार हुन नहुने सत्य पाटोलाई कथाले चनाखोका साथ औंल्याएको छ ।
मान्छे सानो ठाउँमा जन्मन्छ । पछि ठूलो मन बनाउँछ । आँखा पनि ठूल्ठूला पार्दछ । मान्छेको चेतनाको स्तर निम्न हुन्न । मानिससँग चेतनाको खानी नै हुन्छ । तर, त्यस चेतनाको खानी काममा आएको हुन्न । जबसम्म चेतनालाई क्रियाशील पारिन्न, तबसम्म चेतनशील बन्ने कुरै आउँदैन । हामीमध्ये धेरैजसो चेतना लिएर श्वास फेरिरहेका छौँ । अनि, लगभग शून्य चेतना उपयोगमा मरिरहेका छौँ । सूचनाको भारी बोकेर दैनन्दिनी चलाउँछौँ । त्यही सूचना लिन चारैतिर भौतारिन्छौँ । सूचनाको भारी सकी नसकी बोक्छौँ । र, केही उपयोगमा ल्याउँछौँ तर अधिकांश त्यत्तिकै खेर फालिरहेका हुन्छौँ । छेउमै सप्तकोशी मलिलो पानी लिएर गङ्गा भेट्न बुर्कुसी मारिरहेछ । किसान भाइ भने आकाशे पानीको आशमा आकाश हेरेर दिन बिताउन विवश छ । बाँझो खेत लमतन्न पसारिन्छ । अभिशप्त किसान दाइ पुर्पुरोमा हात राखी भाग्यलाई खोट दिन व्यस्त छ । यहाँ चेतनाको उपयोग भएको भए काँचुली फेरिने थियो । मान्छे अरूमा हैन आफूमा भर पर्ने थियो । वर्तमानको कर्मको लहरोले भविष्यलाई काबुमा पार्थ्यो । अरूको भरमा भविष्य खोज्दा सधैं विपत्ति आएको छ । मान्छेको मन अज्ञानतामा अलमलिएको छ । प्रस्तुत ‘जुगला मामाको काठमाडौं यात्रा’ कथाका मामा पुरातनी चलनका सिकार छन् । समयानुकूल परिवर्तन हुन चाहदैनन् । यद्यपि परिवर्तन गराउन खोजेमा बाटो नै मोडिदिन्छ । आफ्नो प्रौढस्तर नै बिर्सिदिन्छन् । स्तर बिर्सने रोगले नै समाज अधोगतिमा जाकिन बाध्य छ । एक त जबरजस्त परिवर्तन गर्न खोज्दा अर्को अनिष्ट निम्तन्छ, अर्को नगरे व्यवहार चल्दै चल्दैन । जुगला मामा चाहेर पनि परिवर्तन हुन सक्दैनन् । जबरजस्त गर्दा अज्ञानताबस् एक माथि अर्को झमेला खडा गर्छन् । चेतना प्रयोगमा ल्याउने भूल पाइलैपिच्छे गर्छन् । सानो ठाउँबाट ठूलो र नौलो ठाउँ पुग्दा स्वय म दुःख भोग्न वाध्य हुन्छन् । दुनियाँको हाँस्य पात्र बनी अरूलाई क्षणिक मनोरञ्जन दिन्छन् तर आफ्नो अपरिवर्तित पाखेपन छोड्दै छोड्दैनन् । आफूसँग भएको सूचना उपयोग गर्दा पनि कदमकदममा ठक्कर खान्छन् । पुरानो मनलाई नयाँ नपारीकन जिम्मा लिएर हिँड्ने भूल सूचनाका ज्ञाता ‘म’ पात्रबाट समेत मनग्यै भएको छ । उनको भूमिकामा पर्याप्त कसरमसर देखिन्छ । सुरक्षित यात्रा र सफलयात्राको ठेक्का लिएपछि हाँस्य अवस्था सिर्जना हुने अवस्था आउनु जुगला मामाको कमजोरी कम र ‘म’ पात्रको बेहासी बढी जिम्मेवार छ ।
चिन्तनका लागि समय चाहिन्छ । एकान्तविना नवीन चिन्तन सम्भव छैन । सामाजिक प्राणीका हिसाबले मान्छे एक्लै रहँन मिल्दैन । संसारलाई साथमा लिएर बुर्कुसी मार्नेले मात्र विजयको स्वाद पाउन सक्छ । उल्झन–बल्झनलाई स्वीकार्य भावमा ग्रहण गर्न सक्नेले मात्र नूतन अध्यायको सुरुआत गर्न सक्छन् । यसै परिप्रेक्ष्यमा प्रस्तुत ‘ज्वारभाटा’ कथाले पुरुष साहित्यकारको दिनचर्या र निजकी पत्नीको व्यवहारिक र मानसिक पिरलोलाई यथार्थपरक ढङ्गले समेटिएको छ । श्रीमान् हर्दम कापी–कलमसँग जुधिरहने, बाहिरबाट हेर्दा एक्लै घोत्लिरहने रसबसविहीन देखिन्छ । श्रीमती फरक धारमा उभिएर व्यवहार धानिरहेकी हुन्छिन् । अरू साहित्यकारका तर्फबाट आएको फोनमा श्रीमान्लाई कुरा गराउँदा–गराउँदा हैरान छिन् । अर्कातिर प्रत्यक्ष भेटघाटमा आएका मानिसहरूका निम्ति चिया पकाउँदा–पकाउँदा समेत हैरान छिन् । साहित्य क्षेत्र आर्थिकरूपमा तत्काल अनुत्पादक ठहरिएकोले पनि श्रीमतीको मनदुखाइ भएको हो । यस किसिमको अवस्था हरेक साहित्यकारका घरघरमा छन् । हरेक साहित्यकारका पत्नीले यस खाले दैनन्दिनी बिताउनै पर्छ ।
जन्मेका सबैले सार्थक काम गर्दैनन् । कोही कर्मद्वारा समाजका साहू बन्छन् त कोही ऋणी ठहरिन्छन् । समाजका भारहरू हटे र समाजलाई ऋणी तुल्याउनेहरू बढे मात्र समाजले ऊध्र्वगामी मार्ग पक्रन्छ । सामाजिक प्राणीका नाताले मान्छेले समाज हितमा आफ्नो कर्म समर्पित गर्न सक्नुपर्छ । समाजलाई हेर्ने व्यक्तिपिच्छे फरकफरक आँखा हुन्छन् । कोही पहिले अरूलाई हेरेर पछि आफूलाई हेर्छन् । कोही भने अरूलाई नहेरी आफूलाई मात्र हेर्छन् । त्यस्ता अरूलाई नहेर्ने मान्छे नै समारजका अभिशाप हुन् । तिनीहरूको जन्म नभइदिएको भए समाजको अग्रगामी मार्ग अवरुद्ध हुने थिएन । यिनै भाव र मनसायलाई प्रस्तुत ‘नजन्मिनुपर्ने मान्छे’ कथाले समेट्न खोजेको छ । कथामा असल र इमान्दार कर्मचारीलाई पाखा लगाएर हाकिमहरू मोटाएका छन् । प्रमोशनका लागि चाकरी, चाप्लुसी गर्न माहिर र समयलाई वैयक्तिक लाभमा ढाल्न सफल हुनु नै योग्यताका प्रमाणपत्र भएका छन् । तिनै समाजका अभिशप्त हाकिम र कर्मचारीको बोलवाला छ । सोझासीधाहरू जहिले पनि समस्यामा जकडिएका छन् । यस्तो अवस्थामा समेत जसले जति जोरजुलुम गरे पनि कर्मशील व्यक्तिहरूले उद्यम गरेकै छन् । उनीहरू कर्तव्य फत्ते गर्ने कुराबाट एक इन्च पनि तल झर्न चाहँदैनन् । ‘ऊ’ पात्र पनि पहिलेकै शालीन ध्वनिका साथ प्रस्तुत भएको छ । प्रतिकद्दल परिस्थितिसँग सम्झौता गरेको छैन । उसको होस्सहितको जोसमा कुनै कमी छैन । यसरी कथाकारले कुशासनको जगमा रहेको कर्मचारी प्रशासनको धज्जी उडाउँदै सुशासनका पक्षधरको जित गराएका छन् । र, आशावादी दृष्टिकोणलाई मलजल पुर्याएका छन् ।
हिन्दू चलनमा वरपीपललाई ईश्वरीय रूपका रूपमा पूजाआजा गरिन्छ । तिनीहरूको विधिपूर्वक विवाह गर्दिने चलन पनि छ । विश्वास जे भए पनि दुराचारीहरूको लागि एकान्त स्थल पनि वरपीपल बन्न सक्छ । तिनैलाई साक्षी राखेर अनेकन् क्रीडा हुनसक्छन् । किनभने वरपीपल प्रायः एकान्त स्थलमा नै रोपिन्छ । चौबीसै घण्टा मानिसको आवाजजावत हुन्न । ‘वरपीपल’ कथामा पनि काँचा उमेरका एक जोडीले यौनक्रीडा गरेको चर्चा छ । यौन मामलामा न होस्–न जोस, न परिपक्वता–न आवश्यकता ती जोडीले कस्तो हुँदो रहेछ भनेर परीक्षण गरेका छन् । अरूको देखासिकीलाई नै तिनीहरूले अनुसरण गरेको हुनुपर्छ । वालमनस्थितिमा आउने थरीथरीका मनोभावमध्ये यौनभावले कथामा स्थान भेटेको छ ।
मान्छे विविध परिस्थिति पचाएर जीवनरथमा यात्रा गरिरहन्छ । त्यस्ता परिस्थिति कुनै अनुकूल हुन्छन् भने कुनै प्रतिकूल हुन्छन् । कतिपय परिस्थितिको उठान परिबन्दले गर्दछ । कतिपय मान्छेको भूलले जन्मिएको हुन्छ । मान्छे तीतो–सत्य पचाउन नसकेर भ्रममा बाँच्न पुगेको पनि हुन्छ । एक थरी मान्छे समय र परिस्थिति विचार्दै बखेडा झिकेर अहम्ता प्रदर्शन गर्न पनि खुट्टा कपाउँदैन । यात्रा स्वयम्मा सहज त हुन्न । चुनौतीरहित समेत हुन्न । पलपल जोखिम मोल्ने हिम्मत गर्दा मात्रै यात्रा सम्भव हुन्छ । अनि मात्र गन्तव्यविन्दुमा उभिन सकिन्छ । पाइलैपिच्छे त्रासमा अल्झन खोजेमा पलपल थला परिन्छ । प्रस्तुत ‘बसको खाली सिट’ कथाले समेत दशैंको समयमा हुने भीडभाडे बसयात्राका पीडादायी क्षणहरूलाई स्वभाविक तवरले चर्चा गरेको छ । थरीथरीका मनोदशा भएका यात्रुहरूको सोच र समझ अनि चालकको लापरवाहीका वृत्तान्तले कथामा प्रश्रय पाएको छ । मानिसले यात्रा जोसँग गरे पनि जीवनको वास्तविक यात्रा एक्लै गर्नुपर्ने अवस्थालाई समेत कथामा मार्मिक ढङ्गले चर्चा गरिएको छ ।
‘बाकस’ कथामा प्रेमपूर्ण वातावरणको एक छोरो सुवोध धन कमाउन विदेशिएको छ । उसकी श्रीमती सरला बालक छोराको मुहार हेर्दै र पतिको प्रतीक्षा गर्दै दिन बिताउँछे । यदाकदा हुने फोनवार्तामा रसिला कुरा हुन्छन् । त्यसबाट परिवारजनले ऊर्जा भेट्छ । कुरा गर्ने अर्को दिन तय भए पछि मात्रै फोनवार्ता सिद्धिन्छ । सुवोध आमाबुबाको एक मात्र आशाको जूनका रूपमा छ । विदेशबाट बाकस आउँदै छ भन्ने कुराले उनीहरू दङ्गदास छन् । प्रतीक्षाको घडी समाप्त गर्न सबैलाई हममे हम्मे पर्छ । अन्ततः बाकस आउँछ । खोलेर हेर्दा त सुवोध सुतेको फेला पर्छ । केही क्षण सबैलाई सुबोधले ठट्टा गरेको होला भन्ने भान पर्छ । तर, अन्त्यमा त्यो सुतेको विदेशिएको सुवोधको लास हुन्छ । बडो कौतुहलपूर्ण ढङ्गले कथा आरम्भ हुन्छ र विकसित हुँदै जान्छ । कथाको अन्त्यतिर आउँदा भने बाकसभित्र लास ल्याएको दुःखद प्रसङ्गलाई देखाएर कथाको कारुणिक अन्त्य गरिएको छ ।
गुरुत्वाकर्षण शक्तिले आकर्षण गर्छ । त्यसको शक्ति नभएको ठाउँमा आकर्षण गर्ने कुरै भएन । त्यहाँको जीवन अजीवनझैं लाग्छ । त्यहाँको हिँडाइ उडाइजस्तो लाग्छ । यस्तै वैज्ञानिक तथ्यलाई संयोजन गरी छोटा वाक्यमा संयोजन गरी पोथी गद्यशैलीमा रचिएको आकर्षक कथा हो–‘विकर्षण’ । कथानकहीन कथा र प्रयोगधर्मिताको उत्कृष्ट नमुना कथाको रूपमा ‘विकर्षण’लाई लिन सकिन्छ । ‘म’ पात्रले विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा प्रक्षेपित ‘सगर’ नामक रकेटमा बसी अन्तरिक्ष पर्यटकका रूपमा अन्तरिक्षमा पुगेर देखेका र अनुभव गरेका कुराहरूले कथामा ठाउँ पाएका छन् । कथा बैज्ञानिक तथ्य र सत्यतामा आधारित छ । पाठकलाई मन्त्रमुग्ध पार्न सफल छ । अपरिमेय जीवनलाई कोणकोणबाट चियाउन सकेको छ । सबै कुरा बुझ्न नसके पनि पाठकीय मस्तिष्कलाई जिज्ञासु बनाई राख्दछ । कथाले कविताको सुवास पनि दिन्छ । वैज्ञानिक कथाको एक मात्र नमुना कथाको रूपमा ‘नजन्मनुपर्ने मान्छे’ कथा सङ्ग्रहमा सङ्ग्रहित छ ।
‘विपर्यय’ शब्दको अर्थ हुन्छ– १. तल–माथि वा अगाडि–पछाडि परेको अवस्था, २. क्रम भत्केको अवस्था, सिलसिला टुटेको रूप ३. भ्रम, भ्रान्ति आदि । यसमध्ये ‘क्रम भत्केको अवस्था, सिलसिला टुटेको रूप’ भन्ने अर्थले ‘विपर्यय’ कथाको मर्मलाई सम्बोधन गरेको छ । वि.सं. २२६४मा हुने मातृसतात्मक राज्यव्यवस्था र त्यसले गर्ने अहङ्कारपूर्ण परिस्थितिको स्पष्ट झलक प्रस्तुत कथामा पाइन्छ । अहिलेको नेपाली समाज पितृसतात्मक सोच र पद्धतिअनुसार चलिरहेको छ । आज पुरुषहहले गरिरहेको अराजकता मातृसतात्मक व्यवस्थामा महिलाहरूले दोहोर्याउने स्पष्ट झलक कथाले दिएको छ । वर्तमान टेकेर भविष्यवाणी गरिएको रोचक कथाका रूपमा ‘विपर्यय’ रहेको छ ।
सोझासीधा गाउँलेहरूको आँखामा छारो हालेर मनमौजी गर्न पल्केको सरकारको भण्डाफोर गर्ने काम प्राथमिक विद्यालयका प्रधानाध्यापक रूपमा रहेका ‘म’ पात्र र उनैको प्रेरणा र गाउँलेहरूको योगदानले बी.ए. उत्तीर्ण गरी गाउँकै माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेका ‘ऊ’ पात्र अर्थात् विर्खबहादुर वि.क.ले गरेका छन् । सहकार्यमा दम हुन्छ । त्यसको फल समेत चखिलो र दीर्घकालसम्म लाभदायक हुन्छ । यही नैतिकताबोध गराउन कथा सफल छ ।
वि.सं. १९९७ सालको सहिदकाण्डलाई स्मरण गराउने प्रस्तुत ‘सहिद’ कथा वर्तमानको एक चुनौती हो । यो समयको दस्तावेज समेत हो । घरवार गुमाएर कान्लाको आडमा रात बिताइरहेका एक दम्पति क्रसफायरमा परी मरणासन्न भई ढलेको र ओखतीमुलो गर्न काठमाडौ भित्रिएको कारुणिक चित्र ‘सहिद’ कथामा पाइन्छ । सहिदको परिभाषालाई बङ्ग्याएर दलियकरण गरेको परिप्रेक्ष्यमा श्रीमान् सहिद कहलाउन योग्य छन् । उनी चोर हैनन्, आतङ्कवादी पनि होइनन् । उनले मुलुकको साख गिर्ने कुनै भूल पनि गरेका छैनन् । उनी त आफ्नो कर्ममा रमाउने पौरखी हुन् । उनीमाथि गोली प्रहार भएको छ । त्यसमा सरकारी सुरक्षाकर्मीको हात छ । भनौं न सरकारको भूल छ । उनले क्षतिपूर्ति खोज्नु अधिकार हो । सहिद त त्यो हो जसले आफ्नो जीवनको प्रवाह नगरी अरूको जीवन बचाउँछ, हो यहाँ आफ्जो सकस र घाउ दुनियाँलाई देखाएर उनले पैसा मागेका छन् । त्य पैसाले आफ्नो उपचार नगरी श्रीमतीको उपचारमा खर्च गरेका छन् । जब उनी पूर्ण स्वस्थ भइन्, तब उनी अस्पताल भर्ना भए । श्रीमतीले भरथेग गर्नुपर्नेमा त्यसो गर्न सकिनन् । अन्ततः उपचारको अभावमा ठूलो मन भएका ती बूढाको दुःखद निधन भयो । यस प्रकार करुणा पैदा गर्ने कथानकका साथ ‘सहिद’ कथा लेखिएको र देखिएको छ ।
नकाम लेखकले प्रोत्साहन पाउने र असली लेखक सधैं ओझेलमा पर्ने गरेको अवस्थाको चित्रण गर्ने कथा हो–‘स्तरीय रचना’ । ‘म’ पात्र मापाको छ । लेखक हुँ भन्छ । अरूलाई लेखाउँछ । गुण्डागर्दी गर्छ । धाकधम्की र पैसाको प्रलोभनमा पारेर सबैलाई बसमा पारेको छ । अरू पनि उसैको पक्षमा ‘होमा हो’ मिलाउँदै उसैलाई महान् लेखक ठान्छन् । तर, सम्पूर्ण भेदको ज्ञाता रातआँखे पात्र चाहिँ ‘म’ पात्रलाई अस्वभाविक सम्मान दिने पक्षमा हुन्न । उसको खेदो गर्न ‘म’ पात्र खोज्छ तर सत्यमार्गमा हिँड्ने र बौद्धिक क्षमता भएको ‘ऊ’ पात्रको कुनै विगार गर्न सक्दैन ।
मान्छे स्वार्थी छ । आफ्नो सुख र चयनको ख्याल गर्छ । अरूको ख्याल गर्ने उसलाई फुर्सद हुँदैन । मान्छे ज्ञानी भएर पनि अज्ञानी व्यवहार गर्छ । आफ्नो संसार ठूलो होस् भन्छ । अरूको संसार सङ्कुचित हुनपर्छ भन्ने ठान्छ । मान्छे सौन्दर्यताको पुजारी हो । राम्रो लागेको जति सबै आफ्नै होस् भन्ठान्छ । सुन्दर फूल मान्छेको अगाडि धेरै समय टिक्दैन । कुनै न कुनै मान्छेले त्यसलाई टिपेर आफ्नो बनाई छाड्छ । यहाँ सुन्दरताको सम्मान नगरी ऊ फूलको हत्या गरिरहेको छ । यस कुराको वोध भएर पनि मान्छे डेढ अक्कल लगाइरहेछ । सुन्दरताले जीवनकै स्वतन्त्रता हनन भएका यस्ता धेरै घटना छन् ।
त्यस्तै सुन्दरताको हत्या गर्ने र सुन्दरताका नाममा प्राणीको स्वतन्त्रताको अपहरण भएको कथाका रूपमा प्रस्तुत ‘हनि’ कथा रहेको छ । कथामा हनि नाम गरेको कुकुर छ । त्यो अति सुन्दर हुन्छ । धनी मान्छेको घरमा पालिएको छ । भौतिक सुविधा पर्याप्त पाएको छ । आत्मिक सुख भने रत्तिभर भेट्टाएको छैन । त्यसलाई त्यहाँ कैद गरेर राख्नुको कारण यसको सौन्दर्यता नै हो । त्यसको शरीरमा खटिरा निस्कन्छ । उपचार गरिन्छ । निको हुँदैन । घाउ बढ्दै जान्छ । हिँडडुल गर्न नसक्ने गरी थलिन्छ । अन्ततः त्यो मर्छ । त्यस घरका परिवारजनका आँखा रसाउन्छन् । हनिको प्रेमले मन पग्लिन्छ । त्यसलाई कम्पाउण्ड बाहिर लगिएमा उसप्रतिको प्रेममा कुठाराघात हुन जान्छ भन्ने अड्कल गरिन्छ । अन्ततः कम्पाउण्डैभित्र त्यसलाई समाधिस्थ गरिन्छ । त्यसले जीवन छउँञ्जेल कमाण्डबाहिर निस्कन पाएन । मरेपछि पनि कम्पाउण्डैभित्र आफूलाई सीमित राख्नु पर्यो । यसरी सुन्दरताका कारण हनिको जीवन मान्छेको कैदमा परेको र मरेपछि पनि सहानुभूति/प्रेमका कारण कम्पाउण्डैमा नै कैद भएको मार्मिक प्रसङ्गलाई कथाले समेटेको छ ।
जनतालाई बलीको बोको बनाउने काममा नेपालका नेतानेतृहरू माहिर छन् । सपना देखाउँछन् । भोट तान्छन् । उच्च ठाउँमा पुग्छन् । अनि, मज्जाले आसन जमाएर आफैंलाई मात्र हेर्छन् । देश र जनतालाई भुसुक्कै भुल्छन् । दिएको आश्वान र जनताले राखेको भरोसाको खिल्ली उडाउँछन् । प्रस्तुत ‘हात्ती आयो, हात्ती आयो..’ कथामा पनि नेताका कुरा सुन्दा र चुनावी माहोलको प्रत्यक्ष्यदर्शी हुन पाउँदा गरिब जनताले अब त विकास हाम्रै गाउँमा भित्रिने भयो भन्ने सोचेका हुन्छन् । तर, चुनावी रौनकता समाप्ति पछि पहिलेको झैं गाउँ अन्धकारमय हुन्छ । कोही नौला मान्छे मीठागुलिया कुरा गर्न पनि जाँदैनन् । अभाव र अनिकाल न्यूनिकरण पनि हुँदैन । आशबहादुर र आशादेवीहरूको सपना केवल भ्रम मात्र सावित हुन्छ । उनीहरूलाई सपना देखाउने टाठाबाठाहरूले थाङ्नामा नै सुताउँछन् ।
वर्तमान जेजस्तो भए पनि यसैलाई सर्वोत्तम उपयोग गर्नुको विकल्प हाम्रा सामु उपस्थित छैन । यसर्थ यसैलाई अधिकाधिक मात्रामा सदुपयोग गर्नु नै आजको आवश्यकता हो । धीरकुमार श्रेष्ठका हरेक कथा बेग्लै स्वादका छन् । शैलीगत हिसाबले कुनै कुनै कथाहरू जादुमय छन् । साहित्य लेखनमा लाग्नेहरूको मन लोभ्याउने र जीव्रो रसाउने खालका छन् । कुनैकुनै भने कथाकारको उचाइअनुकूल नभएर बजन घटाउने खालका हडबडमा लेखेजस्ता छन् । बेग्लाबेग्लै प्रकारले मानवीय संवेदनाको सम्बोधन गर्न भने खोजेको देखिन्छ । कुनै कथाले अन्याय–अत्याचारको भण्डाफोर गरेका छन् त कुनैले कर्मचारीतन्त्रका कालाकर्तुतहरूलाई सार्वजनिक गरेका छन् । केहीमा भोकानाङ्गाको पक्षमा शब्द चढाइएका छन् । सहानुभूति खन्याइएका छन् । पात्रहरूको मनोवैज्ञानिक यथार्थपन दर्शाइएका छन् । सामाजिक यथार्थताको कसीमा धेरै जसो कथाहरू घोटिएका छन् । हाँस्यव्यङ्गपूर्ण भएका कारण केही कथाहरू उट्पट्याङ्गजस्ता देखिन्छन् तर तिनीहरूले समेत भाषिक ऊर्जामय कौशललाई सम्बोधन गर्दै पाठकीय मर्मलाई भेद गर्न सफल छन् । कर्मचारीतन्त्रका भित्रिरहस्य समेटिएका र हुँदा खाने सोझासीधा वर्गका दिनचर्यालाई सम्बोधन गरिएका कथाहरू विशेष महत्वपूर्ण छन् । लामो कालखण्डका कथाहरू भएको कारणले पनि होला कथाहरू भिन्न–भिन्न शैलीमा रचित छन् । तिनको कथानकको क्षेत्र समेत फरकफरक छ । गाउँले कुरा र गाउँले जीवनको चर्चा दुवै आधुनिकताका पुजारी सहरवासीहरूका लागि दन्त्यकथाजस्ता छन् । यद्यपि ती नेपाली समाजका यथार्थ दस्तावेज हुन् ।
प्रस्तुत छ, उनको प्रशिद्ध एक कथा–‘जुगला मामाको काठमाडौँ यात्रा’ – https://www.majheri.com/node/15812
धीरकुमार श्रेष्ठका रचनाहरू – https://www.majheri.com/taxonomy_vtn/term/141
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल : श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी,
सम्पर्क– ९८४२८२९२०६
